राजस्व अनुसन्धान विभाग आवश्यक छैन : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राजस्व अनुसन्धान विभाग आवश्यक नरहेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।  मन्त्री खनालले अमेरिकालगायतका मुलुकहरुको दृष्टान्त दिँदै राजस्व सम्बन्धि केही समस्या भए त्यसलाई समाधान गर्न सोही सम्बन्धि विभागले नै काम गर्ने व्यवस्था गर्न उपयुक्त हुने स्पष्ट पारे । उनले वर्तमान सरकारसँग काम गर्ने समय करिव साढे ३ महिना मात्रै भएको उल्लेख गर्दै त्यस बीचमा आफूले अर्थतन्त्र सुधारका लागि आवश्यक प्रणालीको विकासमा आफू केन्द्रित हुने समेत बताए ।  अर्थमन्त्री खनालले भने,‘मेरो कार्यकाल अव साढे ३ महिना मात्रै बाँकि छ । फागुन २१ गते निर्वाचन भईसकेपछि त म मन्त्री पदमा रहन्न । त्यो भन्दा एक महिना अघिनै निर्वाचन आचार संहिता लागू होला । त्यो बेला पनि आर्थिक सुधारका कामहरु गर्न पाइन्न । सरकारी, निजी क्षेत्र वा समुदायमा पनि गलत कारोबार गर्ने केही अवश्य पनि हुन्छन । त्यसलाई कारबाही गर्ने निकाय सम्बन्धित निकायमा नै हुनुपर्छ । केही मुलुकहरुमा भन्सार सम्बन्धि काम त्यस अन्तर्गतकै निकायले हेर्छन् ।’ अर्थमन्त्री खनालले आपसी विश्वासमा आधारित प्रणालीको विकास गरेर मात्रै मुलुकको अर्थतन्त्रलाई सवल बनाउन सकिने बताए । सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गरेर अघि बढ्ने नीति लिएको पनि दोहोर्याए । 

एनपीएल सिजन २ का लागि काठमाडौं गोर्खाजसँग फोनपे प्लाटिनम प्रायोजक

काठमाडौं । फोनपेले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ का लागि काठमाडौं गोर्खाजसँग प्लाटिनम प्रायोजकको रूपमा सहकार्य गरेको घोषणा गरेको छ । यस साझेदारीमार्फत फोनपेले राष्ट्रिय खेलकुदको प्रवर्द्धन, स्थानीय प्रतिभा विकास र समुदायस्तरमा सहभागिता वृद्धि गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धता पुनः दोहोर्याएको छ ।  फोनपेका अनुसार यो प्रायोजन युवालाई सशक्त बनाउने, खेलकुदमार्फत एकता र अनुशासनको संस्कृति विस्तार गर्ने, तथा राष्ट्रव्यापी डिजिटल भुक्तानीको प्रयोगलाई अझ प्रोत्साहित गर्ने उद्देश्यसहित अघि बढाइएको हो । फोनपे नेपालका सीईओ दिवासकुमारले सहकार्यप्रति खुशी व्यक्त गर्दै भने, 'हामी एनपीएल सिजन २ मा काठमाडौं गोर्खाजलाई समर्थन गर्न पाउँदा गर्व गर्छौँ । फोनपेले युवालाई प्रेरणा दिने, राष्ट्रिय गौरव बढाउने, र सुरक्षित तथा सहज डिजिटल भुक्तानी प्रवर्द्धन गर्ने अभियानलाई निरन्तर अघि बढाइरहेको छ । खेलकुद मानिसहरूलाई एकत्रित गर्ने माध्यम हो, र त्यही भावना बोकेको टोलीसँग सहकार्य गर्न पाउँदा हामी उत्साहित छौँ ।' काठमाडौं गोर्खाजले पनि फोनपेले प्रदान गरेको समर्थनप्रति आभार व्यक्त गर्दै आगामी सिजनमा यो सहकार्यले टोलीलाई थप ऊर्जा र आत्मविश्वास प्रदान गर्ने प्रतिक्रिया दिएको छ ।  एनपीएल सिजन २ का लागि भएको यो प्रायोजनले देशमा खेलकुदको विकास र व्यावसायिक क्रिकेटको उचाइ बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

निर्वाचन आयोगमा १२२ दल दर्ता, सात खारेज, २८ प्रक्रियामै

काठमाडौं । निर्वाचन आयोगमा १२२ दल दर्ता भएका छन् । आयोगले आइतबार (कात्तिक ३०) पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणाका दिन १२२ दल दर्ता थियो भने अहिले पनि सोही संख्यामा दल दर्ता कायम रहेका छन् । उनका अनुसार,  यस अवधिमा सातवटा दल खारेज भएका छन् भने सातवटा नयाँ दलले प्रमाणपत्र पाएका छन् ।  एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिएअनुसार र बाँकी ६ दल नेतृत्वको आग्रहमा खारेज गरिएको उनको भनाइ छ । उनले हाल २८ दल दर्ता प्रक्रियामा रहेको बताए । भदौ २७ गते प्रतिनिधिसभा विघटन भई नयाँ निर्वचन मिति घोषणा भएको थियो । भट्टराईले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन भए पनि दल दर्ता प्रक्रिया नियमित चलिरहने बताए । प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा सहभागी हुने प्रयोजनको अवधिभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरूले निर्वाचनमा सहभागस् हुन पाउने जानकारी दिए ।  उनले भने, 'आज हामीले मुख्य दुई वटा कामहरु गरिरहेका छौं । एउटा दल दर्ता र अर्को मतदाता नामावलीमा नाम दर्ता गर्ने काम समेत भइरहेको छ । निर्वाचन घोषणा हुने मितिमा जम्मा १२२ वटा दल दर्ता भएको अवस्था थियो । यो बीचमा राजनीतिक दल दर्ता हुने क्रम पनि बढिरहेको छ । र, खारेज हुने क्रम पनि बढिरहेको छ ।'  उनले मतदाता नामावलीमा नाम संकलनको कार्य जारी रहेको उल्लेख गरे । उनका अनुसार मतदाता नामावलीमा नाम संकलन गर्ने कार्य अगामी मंसिर ५ गतेसम्म जारी रहने छ । शनिबार साँझसम्मको तथ्यांकअनुसार मतदाता नामावलीको लागि आयोगमा पुगेर सनाखत गर्नेको संख्या दुई लाख ८५ हजार र राष्ट्रिय परिचय पत्रबाट आवेदन दिनेको संख्या दुई लाख रहेको समेत प्रवक्ता भट्टराईले बताए ।