प्रतिकित्ता १ सयमा राधी बिद्युतले कार्तिक २९ देखि सेयर बिक्री गर्दै

काठमाडौं । राधी बिद्युत कम्पनीले अवितरित हकप्रद सेयर कार्तिक २९ गतेदेखि बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको बिक्री हुन बाँकी रहेको अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने जनाएको हो । कम्पनीले यसअघि असोज ५ गतेदेखि असोज २५ गतेसम्म बिक्री गरेको हकप्रद सेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १३ लाख ५ सय २८ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हो । कम्पनीको उक्त सेयरमा लगानीकर्ताले कार्तिक २९ गतेदेखि मंसिर ७ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर १ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले उक्त सेयरमा न्युनतम १ सय कित्ता र अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । उक्त सेयरमा लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंकका ठीमी, कुमारीपाटी, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगञ्ज, नारायणगढ, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

नागरिक स्टक लाभांश घोषणा, मंसिर १८ गते बोलायो साधारणसभा

काठमाडौं । नागरिक स्टक डिलरले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक १६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.८५ प्रतिशत अर्थात् २३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको हालको चुक्ता पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । साथै कम्पनीको सोही बैठकले आफ्नो वार्षिक साधारण सभा समेत बोलाएको छ । कम्पनीले तेस्रो वार्षिक साधारण सभा मंसिर १८ गते नागरिक लगानी कोषको कार्यलय नयाँबानेश्वर, काठमाडौँमा अपरान्ह ४ बजे बोलाएको हो । सभामा लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्निे र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्नेछ । यस्तै, सभाले बोनस सेयरपश्चात् हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गर्ने र रिक्त रहेको सञ्चालक पदमा सञ्चालक नियुक्त गर्नेछ ।

पूँजीबजार विस्तारका काम रोकिए सडकमा उत्रन्छौं : लगानीकर्ता

काठमाडौं । सेयर लगानीकर्ताको साझा ९ संस्थाले पूँजीबजार विस्तारका काम रोकिए सडकमा उत्रिने जनाएका छन् । सोमबार विज्ञप्ती जारी गर्दै ९ संस्थाले यस्तो बताएका हो । उनीहरुले माग बमोजिम नेपाल स्टक एक्सचेञ्ज, नेपाल धितोपत्र बोर्ड तथा नेपाल सरकारबाट अन्य निकायहरुद्धारा चालिएका कदमहरु रोक्ने काम भए ५८ लाख लगानीकर्ताको तर्फबाट सबै संघ संस्थाहरु सडकमा उत्रने विज्ञप्तिमार्फत जनाएका छन् । नेपालको पूँजी बजारलाई सिमित व्यक्ति र संस्थाले पकडमा मात्र राखिरहन खोज्दा ४० खर्बभन्दा बढीको पूँजीकरण अहिले २८ खर्बमा झरेको र लाखौ लगानीकर्ता पलायन हुन बाध्य भएको जारी उनीहरुको भनाइ छ । अहिले हुन लागेका सुधार र विस्तारको काम रोकिए नेपालको पूँजी बजारले झन ठुलो क्षति  भोग्नुपर्ने र वर्षै पछाडि धकेलिने बताउँदै उनीहरुले विरोध सिर्जना नगरी लगानीकर्ताको लगानीको सुरक्षा गरी देशको अर्थतन्त्रको मेरुदण्डलाई मजबुत पार्न माग गरेका छन् ।