नबिल बैंकले ३० प्रतिशत लाभांश दिने, बोनस कति ?
काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको आइतबार बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ११.५ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले प्रस्तावत गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
सनिगाड हाइड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त
काठमाडौं । बझाङ जिल्लामा आयोजना क्षेत्र रहेको सनिगाड हाइड्रोले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । ललितपुरको धोवीघाटस्थित रजिष्टर्ड कार्यालय रहेको हाइड्रोले सर्वसाधारणलाई ६७ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । एक सय रुपैयाँ अकिंत दरको उक्त सेयर निष्काशन गर्न कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यपिटललाई नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनीको तर्फबाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । यससँगै कम्पनीले निकट भविष्यमा उक्त साधारण सेयर निष्काशन गर्ने छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेतका लागि सेयर निष्काशन गर्न लागेको हो । जारी पूँजी २ करोड २५ लाख रुपैयाँ रहेको सनिगाड हाइड्रोको विद्युत उत्पादनको क्षमता ३८.४६ मेगावाट रहेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भई केहि साता भित्र विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।
३२ अंकले घट्यो सेयर बजार, सीवाईसीमा सर्किट
काठमाडौं । आईतबारको सेयर बजार दोहोर अंकले घटेको छ । साताको पहिलो दिनमै सेयरबजार ३१.९७ अंकले घटेर १ हजार ८८५.३१ बिन्दुमा झरेको छ । आइतबार सबै समूहका सेयर घटेको छ । जसमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक र अन्य समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ । आज तीन सय ५३ वटा कम्पनीको ३५ लाख १२ लाख कित्ता सेयर एक अर्ब १० करोड ३४ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ९३ लाख र नबिल बैंकको सात करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएकोे छ । आज सबैभन्दा धेरै नदिप लघुवित्तको सेयर १० प्रतिशत र पाँचथर पावर कम्पनीको सेयर सात प्रतिशतले घटेको छ । यस्तै, आइतबारको सेयर बरोबारमा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र समिट लघुवित्तको सेयर मूल्यमा १० प्रतिशत सकारात्मक सर्किट लागेको छ । यस्तैगरी, मैलुङखोला जलविद्युत् कम्पनीको सेयर साढे नौ प्रतिशतले बढेको छ ।