साधना लघुवित्तको २० प्रतिशत लाभांश घोषणा
काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।
नेप्सेमा ३ कम्पनीको सेयर मूल्य समायोजन, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । प्राइम लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र गरिमा विकास बैंकको सेयर मूल्य समायोजन भएको हो । प्राइम लाइफको १३ प्रतिशत, नेपाल इन्स्योरेन्सको ८ प्रतिशत र गरिमा विकास बैंकको १३ प्रतिशत बोनस सेयर समायोजन भएको हो । यी तीनै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो । साथै नेप्सेले नयाँ नयाँ मूल्य निर्धारण गरेको छ । प्राइम लाइफको सेयर मूल्य ५०३.५४ रुपैयाँ, नेपाल इन्स्योरेन्सको ३८७.९६ रुपैयाँ र गरिमा विकास बैंकको ३३०.९७ रुपैयाँ कायम भएको छ । नेप्सेले बिहीबारको अन्तिम मूल्यका आधारमा मूल्य समायोजन गरेको हो । नयाँ मूल्यलाई आधार मानेर सोमबार दोस्रो बजारमा कारोबार हुनेछ । बिहीबार प्राइम लाइफको सेयर प्रतिकित्ता ५६९ रुपैयाँ, नेपाल इन्स्योरेन्सको ४१९ रुपैयाँ र गरिमा विकास बैंकको ३७४ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
माया खोला हाइड्रोको आईपीओमा आवेदन दिने समय लम्बियो
काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने समय थप गरिएको छ । कम्पनीले मंसिर २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि समय थप गरिएको हो । विदेशमा रहेका नेपालीहरुका लागि आईपीओमा आवेदन दिने आज पुस ८ गते अन्तिम दिन हो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशतले हुन आउने प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३४ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १० लाख कित्ता सेयर अति प्रभावित क्षेत्र संखुवासभाको चैनपुर नगरपालिका ८ र ९ धर्मदेवी नगरपालिकाका ३, ४ र ५, मादी नगरपालिका ४ र ६ का वासिन्दाहरुका लागि ६ लाख कित्ता र प्रभावित क्षेत्र चैनपुर, धर्मदेवी र मादी नगरपालिका माथिका वडा बाहेक स्थानीयका लागि ४ लाख कित्ता छुट्याइएको छ । यस्तै, १० प्रतिशत अर्थात् २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारमा रहेका नपालीहरुले अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । प्राइम कमर्सियल बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंकका तोकिएका शाखा कार्यालय, प्रभु क्यापिटल र माया खोला हाइड्रोपावरको कार्यालयबाट आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारमा रहेको नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।