दोर्दी खोला जलविद्युतले चैत १९ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले चैत १९ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो । कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ । हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुकक्लोज गरेको थियो । त्यसैले फागुन १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा २०८२ बैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको विराटनगर, विरगञ्ज, पोखरा कास्की, रुपन्देही, बाँके, सुर्खेत, धनगढी, लमुजुङ र नक्साल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।
५ करोड चुक्ता पुँजी र १० करोड कारोबार गर्ने इन्भेस्टमेन्ट धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्ने
काठमाडौं । सर्वसाधारणलाई आईपीओ जारी नगरेका लगानीमुलक कम्प पनि नेपाल नेपाल धितोपत्र बोर्ड (सेबोन)मा सूचीकृत हुनुपर्ने भएको छ । धितोपत्र बोर्डले लगानीमुलक (इन्भेस्टमेन्ट) कम्पनीहरूलाई सूचीकृत हुन आउन आग्रह गरेको हो । सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ को उपदफा (२)ले दिएको अधिकार प्रयोगरी समन्वय समितिको सिफारिसमा ५ करोड रुपैयाँ वा सोभन्दा बढी चुक्ता पुँजी वा १० करोड रुपैयाँ वा सोभन्दा बढी कारोबार भएका इन्भेस्टमेन्ट कम्पनीको हकमा धितोपत्र बोर्डलाई नियमनकारी निकाय तोक्ने निर्णय भएको छ । सोही निर्णय बमोजिम धितोपत्र बोर्डले त्यस्ता कम्पनीहरूलाई सम्पत्ति शुद्धीकरण निवारण नियमावली, २०८१ को नियम २० को व्यवस्था अनुसार सूचीकृत हुन जानकारी गराएको हो । बोर्डका अनुसार सूचीकृत हुनका निवेदन दिनुपर्ने, सञ्चालक समितिको विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर तथा सेयरधनीको लगत), कम्पनीको अद्यावधिक प्रबन्धपत्र तथा नियमावली, कम्पनी अद्यावधिक दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्र हुनुपर्नेछ । यस्तै, कार्यकारी प्रमुखको विवरण (नाम, ठेगाना, सम्पर्क नम्बर), कम्पनीको सञ्चालक समितिबाट धितोपत्र बोर्डमा सूचीकृत हुने सम्बन्धमा भएको निर्णयको प्रतिलिपि, कम्पनीको सञ्चालक समितिबाट सूचीकृत हुने सम्बन्धमा दिएको अख्तियारी, कम्पनीको वार्षिक कारोबारसमेत खुल्ने लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरीक्षण प्रतिवेदन र कम्पनीको चुक्तापुँजी खुल्ने कागजात तथा विवरण समावेश गर्नुपर्नेछ ।
४ लगानी कम्पनीलाई पुँजी बजारमा सूचीकृत कम्पनीको सेयर कारोबारमा रोक
काठमाडौं । पुँजी बजारमा सूचीकृत ४ कम्पनीले सूचीकृत कम्पनीहरूको सेयर खरिद गर्न नपाउने व्यवस्था गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ४ कम्पनीलाई दोस्रो बजार र लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको सेयर खरिदमा रोक लगाएको हो । धितोपत्र बोर्डका अनुसार लगानी समूहका ती ४ कम्पनीले दोस्रो बजार र लिलामी प्रक्रियामार्फत सेयर किन्न नपाउने भएका हुन् । नेप्सेको लगानी समूहमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, सीईडीबी होल्डिङ्स, इमर्जिङ नेपाल र हाथवे इन्भेस्टमेन्ट नेपाल सूचीकृत छन् । यी कम्पनीले नेप्सेमा सूचीकृत कम्पनीको सेयर र लिलामी सेयर किन्न नपाउने धितोपत्र बोर्डले जनाएको छ । ‘धितोपत्र बोर्डको २०७५ मंसिर १२ गते र २०७६ वैशाख ३० गतेको निर्णयानुसार प्रारम्भिक सार्वजनिक निष्कासन गर्न अनुमति प्राप्त लगानी कम्पनीले आर्थिक पूर्वाधार (ऊर्जा, यातायात र सञ्चार) सँग सम्बन्धित संगठित संस्थाको संस्थापक सेयरबाहेक अन्य धितोपत्र र प्राथमिक तथा दोस्रो बजारमार्फत धितोपत्र खरिद गर्न नसक्ने नीतिगत व्यवस्था रहेको छ । त्यस्ता संस्थाहरुले हकप्रद सेयरको लिलाम बढाबढमा सहभागी भएको भन्ने गुनासो प्राप्त भएकोले नीतिगत व्यवस्थाअनुसार सेयर खरिद रोक्ने निर्णय गरेको हो,’ बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।