गुहेश्वरी मर्चेन्ट बैंकिङको २३ औं साधारण सभा सम्पन्न

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको २३ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । सभामा सञ्चालक समितिका अध्यक्ष युवराज भण्डारीले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेश गरे । हाल संस्थाको कूल निक्षेप ८ अर्व ३५ करोड र कर्जा.५ अर्व ८४ करोड रुपैयाँ रहेको छ । यस संस्थाले हाल चिप बेस डेबिट कार्ड, एसएमएस अलर्ट, ईबैंकिङ, ईसीसी, मोबाइल बैंकिङ, सेफ डिपोजिट लकर, टपअप फेसिलिटी, विप्रेषण सेवा, डीपी, सी-एसबीए, क्यूआर टेलरलगायतका सेवा प्रदान गर्नुका साथै व्यक्तिगत खाताको हकमा ५ लाख रुपैयाँसम्मको निक्षेप वीमाको समेतको व्यवस्था गरेको छ । राष्ट्रियस्तरको यस वित्तीय संस्थाले राज्यभर २३ वटा शाखा कार्यालय र ४ वटा विस्तारित काउन्टरबाट ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल टेलिकमको सत्रौँ वार्षिक साधारणसभा सम्पन्न, लाभांश पारित

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सत्रौँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । राष्ट्रिय सभा गृह, काठमाडौंमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ३० रुपियाँका दरले सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । साधारणसभामा करिब ९१.६२ प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीहरूको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ । यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आव २०८१/८२ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र प्रकाशजंग थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ । सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले साधारणसभामा उपस्थित सेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीको सत्रौँ वार्षिक प्रतिवेदन पेस गरेकी थिइन् । प्रतिवेदन प्रस्तुत गर्दै उनले यस क्षेत्रमा रहेको तीव्र प्रतिष्पर्धि वातावरणमा मुनाफाभन्दा बढी सेवाभावलाई उच्च प्राथमिकतामा राखी भौगोलिक रुपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा सदा झैं थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाईबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी डिजिटल डिभाइड कम गर्ने तर्फ कम्पनीले आफ्ना कार्यक्रमहरुलाई परिलक्षित गरिरहेको बताइन् । समीक्षा अवधिमा कम्पनीको २ करोड ३० लाखभन्दा बढी सन्तुुष्ट ग्राहक पुगेको उल्लेख गर्दै अध्यक्ष अर्यालले भनिन्, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल रु ४२ अर्ब ११ करोड आम्दानी गरी रु ६ अर्ब २३ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कवापत आफ्नो कूल आयमध्ये ४१ अर्ब ५९ करोड राजस्वको रुपमा नेपाल सरकारलाई बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको छ ।’ कम्पनीले सत्रौँ साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम आजदेखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण सेयरधनीहरूलाई वितरण गर्ने व्यवस्था मिलाएको टेलिकमका प्रवक्ता हरि ढकालले उल्लेख गरेका छन् ।

२५ अंकले घट्यो सेयर, सबै उपसूचक राताम्ये

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ४३ कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आइतबार ३०१ कम्पनीको ८० लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको रहेको छ । एनआरएनको २० करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, सीन्धु विकास बैंकको १८ करोड ८० लाख, सिंगटी हाइड्रो इनर्जीको १६ करोड ४९ लाख, हिमालयन पावर पार्टनरको १३ करोड ३४ लाख र नेपाल लाइफ इन्स्याेरेन्सकाे ७५ लाख रुपैयाँ बढीकाे काराेबार भएकाे छ । आज सबै उपसूचक राताम्ये भएकाे नेप्सेले जनाएकाे छ ।