मर्चेन्ट व्यवसाय : नागरिक स्टक र गरिमाको उत्कृष्ट पफर्मेन्स, यी ८ कम्पनी घाटामा
काठमाडौं । धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)हरूले गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब १९ करोड ५७ लाख ३० हजार रुपैयाँ खुद नाफा गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा मर्चेन्ट बैंकरहरूले १ अर्ब ५ करोड ३७ लाख ४६ हजार रुपैयाँ नाफा गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष मर्चेन्ट कम्पनीहरूले १३.४७ प्रतिशत अर्थात् १४ करोड १९ लाख रुपैयाँ बढी नाफा गरेका हुन् । विकासन्युजलाई प्राप्त तथ्याङ्कअनुसार २२ वटा मर्चेन्ट बैंकर कम्पनीमध्ये १२ वटा कम्पनीको नाफा बढेको छ भने विभिन्न ८ कम्पनीको नाफा भने घटेको छ । गत वर्ष ग्लोबल आइएमई क्यापिटलको नाफा भने ऋणात्मक बनेकाे छ । नागरिक स्टक डिलरमा नागरिक लगानी कोषले ७२.८६ प्रतिशत अर्थात २ अर्ब ७२ करोड रुपैयाँको सेयर लगानी गरेको छ । कोषको सहायक कम्पनी नागरिक स्टक डिलरको गत आव २०८०/८१ मा खुद नाफा ३६ करोड ४ लाख ९२ हजार रुपैयाँ रहेको छ । कोषले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा १४ करोड ५३ लाख ५५ हजार रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा १४८ प्रतिशत बढी हो । सिटिजन्स क्यापिटलमा सिटिजन्स बैंकको ५८.६० प्रतिशत अर्थात् कुल २० करोड पुँजीमा बैंकको ११ करोड ७२ लाख ४ हजार लगानी रहेको छ । कम्पनीले गत आव २०८०/८१ मा ३ करोड ३९ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७९/८० मा क्यापिटलको खुद नाफा २ करोड ५२ लाख ८२ हजार रुपैयाँ गरेको थियो । गरिमा क्यापिटलमा गरिमा विकास बैंकको ५१.२० प्रतिशत सेयर लगानी छ । गत वर्ष कम्पनीले ४९ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । क्यापिटलले २०८० असार मसान्तमा २८ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । ग्लोबल आइएमई क्यापिटलमा ग्लोबल आइएमई बैंकको ८१.५० प्रतिशत सेयर लगानी रहेको छ । गत वर्ष कम्पनीले १ करोड १७ लाख ६५ हजार रुपैयाँ नोक्सानी बेहोरेको छ । अघिल्लो वर्ष कम्पनीले ३ करोड ६ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । हिमालयन हिमालयन क्यापिटलमा हिमालयन बैंकको ९२.५ प्रतिशत सेयर लगानी रहेको छ । गत वर्ष क्यापिटलले ४२ लाख ६६ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष क्यापिटलले ६२ लाख ८७ हजार रुपैयाँ नाफा गरेको थियो । ज्योति क्यापिटलमा ज्योति विकास बैंकको सेयर स्वामित्व ७२.८६ प्रतिशत रहेको छ । कम्पनीको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । क्यापिटलले आव २०८०/८१ मा खुद नाफा ६१ लाख ६६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ करोड ६२ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कुमारी क्यापिटलमा कुमारी बैंकको १ सय प्रतिशत सेयर लगानी रहेको छ । कुमारी क्यापिटलले आव २०८०/८१ मा ७ करोड ७४ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ६ करोड ८५ लाख २८ हजार रुपैयाँ नाफा गरेको थियो । लक्ष्मी सन्राइज क्यापिटलमा लक्ष्मी सनराइज बैंकको १ सय प्रतिशत लगानी रहेको छ । लक्ष्मी सन्राइज क्यापिटलले गत वर्ष ८ करोड ५ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ९ करोड ९६ लाख ३ हजार रुपैयाँ नाफा गरेको थियो । अघिल्लो वर्ष लक्ष्मी क्यापिटल र सनराइज क्यापिटलको हो । माछापुच्छ्रे क्यापिटलले गत वर्ष ७३ हजार ५७१ रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीले ८७ लाख १७ हजार रुपैयाँ नाफा गरेको थियो । मुक्तिनाथ क्यापिटलमा मुक्तिनाथ विकास बैंकको ६०.२६ प्रतिशत अर्थात् २४ करोड ४० लाख रुपैयाँ लगानी रहेको छ । क्यापिटलले गत वर्ष ३ करोड ७० लाख १७ हजार रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीले २ करोड ४२ लाख ८५ हजार रुपैयाँ नाफा गरेको थियो । नबिल इन्भेष्टमेन्ट बैंकिङ नबिल बैंकको सहायक कम्पनी हो । कम्पनीले गत आव २०८०/८१ मा ११ करोड ३९ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ९ करोड २८ लाख ४१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष यस कम्पनीको खुद नाफा २२.७ प्रतिशत बढेको हो । नेपाल एसबिआई मर्चेन्ट बैंकिङले गत वर्ष १ करोड ८८ लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ करोड ३८ लाख १२ हजार रुपैयाँ नाफा गरेको थियो । एनआईसी एशिया क्यापिटल एनआईसी एशिया बैंकको सहायक कम्पनी हो । एनआईसी एशिया क्यापिटलले गत आर्थिक वर्ष २०८०/८१ मा १२ करोड १६ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । आव २०७९/८० मा क्यापिटलको खुद नाफा १० करोड ४२ लाख २९ हजार रुपैयाँ गरेको थियो । एनआइएमबि एस क्यापिटलमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शतप्रतिशत लगानी भएको सहायक कम्पनी हो । एनआइएमबि एस क्यापिटलले गत वर्ष १४ करोड ६३ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीले ८ करोड १२ लाख ५४ हजार रुपैयाँ नाफा गरेको थियो । एनएमबि क्यापिटलमा एनएमबि बैंकको शतप्रतिशत स्वामित्वमा रहेको छ । यस कम्पनीको चुक्ता पुँजी रु.४० करोड रहेको छ । आव २०८०/८१ को असारसम्ममा कम्पनीले ९ करोड २६ लाख ७७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । आव २०७९/८० को असारमा कम्पनीले ९ करोड १० लाख ४२ हजार रुपैयाँ नाफा गरेको थियो । प्रभु क्यापिटलको चुक्ता पुँजीमध्ये ५६.७९ प्रतिशत सेयर प्रभु बैंकको स्वामित्वमा रहेको छ । क्यापिटलको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ । कम्पनीले गत वर्ष ९ करोड १० लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ९ करोड १ लाख ३७ हजार रुपैयाँ नाफा गरेको थियो । आरबिबि मर्चेन्ट बैंकिङमा राष्ट्रिय वाणिज्य बैंकको शत प्रतिशत लगानी रहेको छ । कम्पनीको पुँजी २० करोड रुपैयाँ रहेको छ । कम्पनीले आव २०८०/८१ मा ३ करोड ८१ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष कम्पनीले २ करोड ९१ लाख रुपैयाँ नाफा गरेको थियो । सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपालले गत वर्ष ६ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ९ लाख ९ हजार रुपैयाँ नाफा गरेको थियो । सानिमा क्यापिटलमा सानिमा बैंकको शतप्रतिशत लगानी रहेको छ । २५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले गत वर्ष ४ करोड ६२ लाख ८४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४ करोड ९० लाख ५ हजार रुपैयाँ नाफा गरेको थियो । सिद्धार्थ क्यापिटलमा सिद्धार्थ बैंकको ५१ प्रतिशत लगानी रहेको छ । उक्त कम्पनीको हालको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ । आव २०८०/८१ मा कम्पनीले ६ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । आव २०७९/८० मा क्यापिटलले ६ करोड २४ लाख रुपैयाँ र आव २०७८/७९ मा ५ करोड ६२ लाख रुपैयाँ नाफा गरेको थियो । रिलायबल इन्भेष्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शतप्रतिशत लगानी रहेको छ । कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ । गत वर्ष ३२ लाख ३४ हजार रुपैयाँ नाफा गरेको थियो । व्यवसाय सुरु नगरेको हुँदा अघिल्लो वर्ष कम्पनीले ५१ लाख १९ हजार रुपैयाँ नोक्सानी थियो । नेपाल लाइफ क्यापिटलले गत आव २०८०/८१ मा ८३ लाख ३१ हजार रुपैयाँ नाफा गरेको छ । आव ७९/८० मा १ करोड ६३ लाख ५० हजार रुपैयाँ खुद नाफा गरेको थियो । हिमालय सेक्युरिटीज बैंकर र हिमालयन इन्भेष्टमेन्ट बैंकरले गत कार्तिकमा मात्रै सञ्चालन अनुमति पत्र पाएका हुन् । इलाइट मर्चेन्ट क्यापिटल, प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ, मार्केट पुंडित क्यापिटल एण्ड मर्चेन्ट बैंकिङ्ग, सनलाइफ क्यापिटल, एशियन क्यापिटल, आकाश क्यापिटल र आर्कस क्यापिटल एडभाइजरले भने आफ्नो तथ्याङ्क उपलब्ध गराएनन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को वि.सं २०७५ साउन ८ गतेको निर्णयअनुसार धितोपत्र व्यवसायी नियमावली, २०६४ बमोजिम मर्चेन्ट बैंकिङ व्यवसाय अन्तर्गत निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेशन सेवा सञ्चालन गर्ने धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)को अनुमतिपत्र रोकेको थियो । तर, बोर्डको गत माघ २३ गते बसेको बैठकले भने अनुमतिपत्र प्रदान गर्ने कार्य पुनः सुचारु गरेको छ । पछिल्लो तथ्याङ्कअनुसार नेपाल धितोपत्र बोर्डबाट ३१ वटा मर्चेन्ट बैंकरले मर्चेन्ट बैंकिङ व्यवसाय सञ्चालनका लागि अनुमति लिएका छन् । पुनः अनुमति प्रदान गर्ने कार्य सुचारु भएसँगै मर्चेन्ट कम्पनीहरूको संख्या थप बढ्ने देखिन्छ । विगतमा व्यक्तिगत लगानीमा समेत सञ्चालनमा आएका मर्चेन्ट कम्पनीहरूमा पछिल्लो समय संस्थागत लगानी भित्रिएको देखिन्छ । व्यक्तिगत लगानीकर्ताहरू बाहिरिएपछि बैंक र बीमा कम्पनीहरूले यो व्यवसायमा लगानी गरेको देखिन्छ ।
आज सेयरधनी बने विशाल बजारको १४ प्रतिशत लाभांश पाउने
काठमाडौं । विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज फागुन ८ गते अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज फागुन ८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीको सञ्चालक समितिको गत माघ २८ गते बसेको बैठकले १४ प्रतिशत अन्तरिम नगद लाभांश घोषणा गरी अर्थ मन्त्रालयको सहमति अनुसार अन्य सेयरधनीहरूलाई वितरण गर्ने भएको हो । लाभांशसहित विभिन्न प्रस्ताव पारित गर्न कम्पनीले फागुन २८ गते बिहान ११ बजे त्रिभुवन आर्मी अफिसर क्लव काठमाण्डौंमा वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले सर्वोच्च अदालतको र उच्च अदालत पाटनबाट आदेश तथा फैसाला बमोजिम कम्पनी रजिष्ट्रार कार्यलयमा अभिलेखिकरण गरिएको कम्पनीको सेयर पुँजी ४ अर्ब १ करोड रुपैयाँ अनुमोदन गर्ने, कम्पनी ऐन, २०६३ अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको ढाँचा परिवर्तन र पसलकवलसँग सेयर गाभी स्वतः नविकरण हुने गरेको सम्झौता खारेज गर्नेछ । यस्तै, सभाले अध्यक्षबाट प्रस्तुत हुने सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यस्तै लेखा परीक्षकद्वारा लेखा परीक्षण सम्पन्न भएको कम्पनीको आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्मको आर्थिक विवरण तथा लेखा परीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्नेछ । सभाले सञ्चालक समितिवाट नियुक्त लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन र आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्नेछ । साथै सञ्चालक समितिको आर्थिक वर्ष २०७५/७६ सम्मको भत्ता एवं सुविधाहरु अनुमोदन र सोको निरन्तरता दिनेछ । सञ्चालक राजेन्द्र कुमार वैद्यले दिएको राजिनामा सभाबाट अनुमोदन गर्ने र सर्वसाधरण सेयरधनीको तर्फवाट नयाँ सञ्चालक निर्वाचन गरी नियुक्त गर्नेछ ।
एनएमबि हाईब्रिड फण्ड एल-२ मा आवेदन दिने आज अन्तिम दिन
ठमाडौं । एनएमबि क्यापिटलको एनएमबि हाईब्रिड फण्ड एल-२ मा आवेदन दिने आज फागुन ८ गते अन्तिम दिन रहेको छ । माघ २४ गतेदेखि क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्य दरका १ अर्ब २० करोड रुपैयाँको १२ करोड इकाइ बिक्री खुला गरेको हो । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एनएमबि हाईब्रिड फण्ड एल-२ बन्दमुखी योजनाको १० वर्ष अवधि तोकिएको छ । फण्डले १५ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाइ कोष प्रवर्द्धक एनएमबि बैंक, १ प्रतिशत अर्थात् १२ लाख इकाई योजना व्यवस्थापक एनएमबि क्यापिटल र बाँकी १० करोड २० लाख इकाई सर्वसाधरण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको हो । उक्त फण्डमा लगानीकर्ताहरूले न्यूनतम १ सय इकाइदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । साथै उक्त फण्ड निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट फण्डको इकाईमा आवेदन दिन सक्नेछन् ।