स्वरोजगार लघुवित्तको साधारण सभा वैशाख २९ गते, १३.५० प्रतिशत बोनस सेयर प्रस्ताव
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न वैशाख २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा दिउँसो ११:३० बजेबाट सुरु हुने लघुवित्तले जनाएको छ । संस्थाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १३.५० प्रतिशत बोनस सेयर र त्यसबाट लाग्ने कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव सभामा पेश गर्नेछ । त्यस्तै, सभाबाट मर्जर तथा एक्विजिशनसम्बन्धी कार्यको लागि सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि पारित गरिनेछ । साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले वैशाख ११ गते बुक क्लोज गर्नेछ । जस अनुसार वैशाख १० गतेसम्म नेप्सेमा कारोबार भई नाम कायम भएका सेयरधनीहरूलाई सभा सहभागी र लाभांश प्राप्त गर्ने छन् ।
नेप्सेमा साढे १४ अर्बको बोनस सेयर सूचीकृत
काठमाडौं । ८ महिनामा साढे १४ अर्ब रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा १४ अर्ब ३९ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १३ अर्ब ९२ करोड रुपैयाँ बराबरको साधारण सेयर, ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ८ करोड ७३ लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य सेयर गरी कुल ३९ अर्ब २३ करोड रुपैयाँ बराबरको थप सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा फागुनसम्ममा सूचीकृत ८ अर्ब ७० करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ५७ अर्ब ५० करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १० अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ९ अर्ब ३० करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ अर्ब ३२ करोड रुपैयाँ बराबरको डिबेन्चर र १ अर्ब २ करोड रुपैयाँ बराबरको साधारण सेयर गरी कुल २१ अर्ब ८३ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
रिलायबल क्यापिटलको १ अर्बको म्युचुअल फण्ड बिक्री खुला
काठमाडौं । रिलायबल क्यापिटल इन्भेष्टेमन्ट एण्ड मर्चेन्टले आज बैशाख ३ गतेदेखि रिलायबल समृद्धि योजना निष्काशनमा तथा बिक्री खुला गरेको छ । क्यापिटलले १० वर्ष अवधि रहेको १ अर्ब रुपैयाँको बन्दमुखी योजना बिक्री खुला गरेको हो । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १० करोड इकाई बिक्री गरेको छ । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्धक कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापकलाई छुट्याएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ । कम्पनीको म्युचुअल फण्डमा लगानीकर्ताहरूले न्यूनतम १०० इकाईदेखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा छिटोमा वैशाख ७ गते र उक्त समयमा सबै इकाई बिक्री नभए वैशाख १७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको म्युचुअल फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् फण्डमा आवेदन दिन सक्नेछन् । कम्पनीले वार्षिक प्रक्षेपित प्रतिफल १५ प्रतिशत रहने दाबी गरेको छ ।