सेयर किन्न बैंक खातामा पैसा अनिवार्य हुनुपर्ने

काठमाडौं । सेयर खरिद गर्न चाहने व्यक्तिको बैंक खातामा रकम अनिवार्य रूपमा हुनुपर्ने व्यवस्था लागू हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको ‘नीति तथा कार्यक्रम’ मा यस्तो व्यवस्था अघि बढाउने घोषणा गरेको हो । बोर्डको नीतिमा उल्लेख गरिएको छ, ‘’ दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भएपश्चात मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाइनेछ ।’  त्यस्तै, आईपीओ (प्राथमिक निष्काशन) मा आवेदन दिने क्रममा बैंक खाताको रकम रोक्का हुने व्यवस्था पनि अघि सारिएको छ । यसका लागि आस्वा सदस्य बैंकरवित्तीय संस्थाले सिडिएस मार्फत ‘एपीआई’ प्रणाली प्रयोग गरी आवेदन भेरिफिकेसनको साथै रकम रोक्का गर्ने प्रणाली लागू गरिनेछ । बोर्डका अनुसार, धितोपत्र बजारको प्रणालीगत जोखिम कम गर्न, लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न र बजारमा जनविश्वास बढाउन यी सुधारहरू आवश्यक छन् । साथै, बोर्डले इक्विटी डेरिभेटिभ बजारको पूर्वाधार निर्माण, मर्चेण्ट बैंकर, दलाल व्यवसायी, सामूहिक लगानी कोष लगायतका संस्थाहरूले पेश गर्नुपर्ने विवरणहरूको ढाँचा लागू गर्ने, जोखिममा आधारित सुपरीवेक्षण प्रणाली ल्याउने, र सूचीकृत कम्पनी वर्गीकरणलाई सुधार गर्ने नीति पनि सार्वजनिक गरेको छ । त्यस्तै, आईपीओबाट उठाइएका रकम वास्तवमै तोकिएको उद्देश्यअनुसार प्रयोग भएको छ कि छैन भन्ने अनुगमन सुरु गर्ने निर्णय पनि बोर्डले गरेको छ । दलाल व्यवसायीले लगानीकर्ताको आदेश अनुसार सेवा दिन आवश्यक प्राविधिक पूर्वाधारहरू प्रभावकारी छन् वा छैनन् भन्ने मूल्यांकनको अनुगमन व्यवस्था पनि गरिनेछ ।

झापा इनर्जीले साउन १४ गतेदेखि आईपीओ बिक्री गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । झापा इनर्जीले साउन १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्ने भएको हो ।  कम्पनीले जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ८० लाख १९ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३ लाख ८० हजार १९० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गर्नेछ ।  जसमध्ये १ लाख ९० हजार ९५ कित्ता सेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरका बासिन्दालाई र १ लाख ९० हजार ९५ कित्ता सेयर झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का बासिन्दालाई छुट्याइएको छ ।  साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५७ लाख २ हजार ९०० रुपैयाँको ५७ हजार २९ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले हिमालय बैंकको दुधे, दमक तथा सुरुङ्गाका शाखा कार्यालय तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।  इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

होटल सिराइचुलीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

काठमाडौं । चितवनको भरतपुरमा अवस्थित चारतारे होटल सिराइचुली लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले धितोपत्र बोर्डको नियमावली र निर्देशिकाअनुसार आवश्यक स्वीकृति प्राप्त गरेपछि शेयर निष्कासन प्रक्रिया अघि बढाउने बताएको छ । सो कार्यका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।  आयोजित औपचारिक सम्झौता कार्यक्रममा होटल सिराइचुली तर्फबाट अध्यक्ष चुडामणी खनाल र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीबीच सम्झौतामा हस्ताक्षर गरिएको हो । कार्यक्रममा होटल सिराइचुलीका प्रबन्ध सञ्चालक विष्णु कुँवर र सञ्चालक बाबुराम उपाध्यायको पनि उपस्थिति रहेको थियो । भरतपुर–१० मा अवस्थित सिराइचुली होटल एक आधुनिक र सुविधासम्पन्न चारतारे होटल हो । होटलमा समकालीन आवास, मल्टिकुजिन रेस्टुरेन्ट, ३ वटा बैंक्वेट हल, ५ वटा बोर्डरुम, इन्फिनिटी स्विमिङ पूल, रुफटप रेस्टुरेन्ट, पुलसाइड बार, जिम र स्पा लगायतका सेवा उपलब्ध छन् । होटलको विशेषता भनेको हिमालय पर्वत शृङ्खलाको दृश्यावलोकन गर्न मिल्ने सिटी सेन्टर लोकेशनमा रहेको शानदार सुविधा हो, जसले आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षण गर्ने कम्पनीको विश्वास छ ।