परिसूचक र कारोबार रकम दुबैमा गिरावट, सबै समूहले देखाए रातो रङ
काठमाडौं, १९ साउन । बजारमा बुधबार परिसूचक र कारोबार रकम दुबैमा गिरावट देखिएको छ । नेप्से परिसूचक १२ दशमलब ७५ अंकले घटेर १८१३ अंकमा पुगेको छ । सो दिन १३७ कम्पनीको २४ लाख ८३ हजार कित्ता सेयर करिब एक अर्ब २७ करोड ९२ लाख रुपैयाँमा किनबेच भएको छ । बजारमा सबैभन्दा बढी नेपाल बङ्गलादेश बैंकको करिब ९ करोड २२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सिद्धार्थ बैंकको ७ करोड २१ लाख रुपैयाँ र नेपाल बैंकको ६ करोड ९१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सको ५ करोड ३८ रुपैयाँको र अन्य कम्पनीको ५ करोड भन्दा थौरै रुपैयाँको सेयर किनबेच भएको छ । दोहोरो अंकले घटेको दिन बजारमा सबै समूहमा रातो रङ देखिएको छ । सबैभन्दा बढी उत्पादनमूलक समूहको परिसूचक ४१ अंकले ओरालो लागेको छ । बीमा, हाइड्रोपावर, बैकिङ् र विकास बैंक समूहको परिसूचक क्रमशः ३३, १७, १३ र ११ अंकले घटेको छ । होटल र फाइनान्स समूहको बराबर अंक १० ले घटेको छ । त्यस्तै अन्य समूहको सामान्य अंक ३ ले घटेको छ ।
सेञ्चुरी बैंकको ८५ लाख कित्ता हकप्रद सेयर आयो, भदौ ५ देखि निष्काशन
काठमाडौं, १९ साउन । सेञ्चुरी कमर्सियल बैंकले हकप्रद सेयरको बिक्रि खुल्ला गरेको छ । बैंकले ८५ लाख २२ हजार ४ सय कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । कुल चुक्ता पुँजीको १० बराबर ३ कित्ताको अनुपातमा प्रति कित्ता एक सय रुपैंयाँ मुल्य अंकित सेयर भदौं ५ गतेबाट निष्काशन सुरु भएर असोज ९ गते बन्द हुनेछ । २ अर्ब ८५ करोड चुक्ता पुँजी रहेको बैंकले पुँजी वृद्धिको योजना अनुसार हकप्रद सेयर निष्काशन गर्न लागेको हो । बैंकले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई बिक्रि प्रबन्धक तोकेको छ । सिभिल क्यापिटलको कार्यालय कमलादी र सेञ्चुरी बैंक लिमिटेडका शाखा कार्यालयहरुबाट दरखास्त दिन सकिने व्यवस्था गरिएको छ ।
नागरिक लगानी कोषको चार लाख कित्ता संस्थापक सेयर बेच्दै नेपाल बैंक
काठमाडौं, १७ साउन । नेपाल बैंक लिमिटेटमा नागरिक लगानी कोषमा रहेको चार लाख कित्ता संस्थापक सेयर बेच्ने भएको छ । बैंकले नागरिक लगानी कोषमा रहेको ३ लाख ९९ हजर ९ सय ४० कित्ता संस्थापक सेयर बिक्रि गर्न लागेको हो । बैंकले प्रति कित्ता ३ हजार पाँच सय नघट्ने गरि सेयर खरिदका लागि बोल पत्र आव्हान गरेको हो । बैंकले साउन १७ गतेदेखि भदौ ५ गतेभित्र बैंक, वित्तिय संस्था तथा बीमा कम्पनीहरुले सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । नेपाल बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्रि प्रबन्धक तोकेको छ ।