पोर्चुगलमा मनाइयो साकेला उभौली पर्व

काठमाडौं । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली पर्वको अवसरमा किरात राई सोसाइटीले पोर्चुगलमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै एनआरएनए पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तानले नेपाल बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक देश भएको उल्लेख गर्दै नेपाली संस्कृति नै हाम्रो पहिचान र गौरव भएको धारणा व्यक्त गरे ।  उनले आवश्यकता अनुसार विभिन्न संस्थाबीच सहकार्य गर्दै आगामी दिनमा पनि यस्ता सांस्कृतिक तथा प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।  साथै साकेला उभौली पर्वले नेपाली समुदायबीच आपसी एकता, सद्भाव, भाइचारा तथा सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे । प्रमुख अतिथि रामबाबु नेपालले विदेशमा रहेर पनि नेपाली कला, संस्कृति तथा मौलिक परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु अत्यन्त महत्वपूर्ण कार्य भएको बताउँदै आयोजक संस्थाको प्रशंसा गरे। कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष अधिराज सोताङ राईले गरेका थिए ।  त्यसैगरी, कार्यक्रममा गैरआवासीय नेपाली संघका युरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बु, एफआइबीआइकी अध्यक्ष मुना राई, जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोप मगर, किरात राई सोसाइटी स्पेनका अध्यक्ष युवा राज राई तथा श्रम तथा संस्कृति पार्टी पोर्चुगलका अध्यक्ष बिकास आले लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो । त्यसैगरी, अतिथिहरूमा प्रवासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष दीपक खत्री,नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका अध्यक्ष भीम लामा, शेर्पा क्यिदुग पोर्चुगलका अध्यक्ष राजेन्द्र शेर्पा लगायत विभिन्न जातीय तथा सामुदायिक संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

अष्ट्रेलियामा २ लाख १३ हजार नेपाली, भूमिका रेिमट्यान्समा सीमित

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले अष्ट्रेलियामा रहेका नेपाली समुदायले नेपाल-अष्ट्रेलिया सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) र नेपालस्थित अष्ट्रेलियाली दूतावासको सहकार्यमा आयोजित ‘नेपाली डायस्पोरा इन अष्ट्रेलिया’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा मन्त्री खनालले गैर-आवासीय नेपाली नागरिकताको व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा सरकारभित्र छलफल भइरहेको जानकारी दिए । उनले नेपालको संविधानमा दोहोरो नागरिकताको व्यवस्था नभएकाले त्यसमा कानुनी जटिलता रहेको उल्लेख गर्दै विद्यमान कानुनी संरचनाभित्र रहेर डायस्पोरासँगको सम्बन्ध थप सुदृढ बनाउने प्रयास भइरहेको बताए । नेपालका लागि अष्ट्रेलियाली राजदूत सिमोन अर्नेस्टले नेपाली डायस्पोरा विप्रेषणको स्रोत मात्र नभई नेपाललाई विश्वसँग जोड्ने महत्वपूर्ण सञ्जाल भएको बताए। उनले नेपाली समुदायले अष्ट्रेलियामा आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा प्रभाव विस्तार गरिरहेको उल्लेख गरे । ‘डायस्पोराको मूल्य केवल रेमिट्यान्समा सीमित छैन, यसले नेपाललाई विश्वव्यापी सम्बन्ध विस्तार गर्ने अवसर दिएको छ,’ उनले भने । प्रतिवेदनअनुसार सन् २०२५ जुनसम्म अष्ट्रेलियामा नेपाली मूलका व्यक्तिको सङ्ख्या २ लाख १३ हजार ५८० पुगेको अनुमान गरिएको छ । यो सङ्ख्या सन् २०२१ को तुलनामा उल्लेख्य वृद्धि हो । अध्ययनमा सहभागीमध्ये ६१.१६ प्रतिशत उच्च शिक्षाका लागि अष्ट्रेलिया गएको उल्लेख छ । अध्ययनले नेपाली समुदाय अष्ट्रेलियामा स्वास्थ्य, सूचना प्रविधि, इञ्जिनियरिङ, आतिथ्य तथा वित्तीय क्षेत्रमा सक्रिय रहेको देखाएको छ। सर्वेक्षणअनुसार ४५.२७ प्रतिशत उत्तरदाताको वार्षिक आम्दानी ६५ हजारदेखि १ लाख २० हजार अष्ट्रेलियन डलरसम्म रहेको छ । आईआईडीएसका कार्यकारी अध्यक्ष डा. विश्वास गौचनले नेपालमा आउने विप्रेषण मुलुकको कुल गार्हस्थ उत्पादनको ३० प्रतिशतभन्दा बढी रहेको उल्लेख गर्दै डायस्पोराको आर्थिक तथा बौद्धिक योगदानलाई प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने बताए । प्रतिवेदनअनुसार ३४.९९ प्रतिशत उत्तरदाताले औपचारिक लगानी गरेको देखिएको छ । तर अधिकांश लगानी अष्ट्रेलियामै केन्द्रित रहेको अध्ययनले जनाएको छ । नेपालमा लगानी विस्तारका लागि नीतिगत स्थायित्व, पारदर्शिता तथा लगानीमैत्री वातावरण आवश्यक रहेको कार्यक्रममा सहभागीहरूले बताएका थिए । आईआईडीएसकी वरिष्ठ कार्यक्रम तथा अनुसन्धान सहायक स्नेहा घिमिरेले नेपाली डायस्पोराको भूमिका विप्रेषणमा मात्रै सीमित नरहेको बताइन् । उनका अनुसार लगानी, उद्यमशीलता, व्यापारिक सम्बन्ध, सांस्कृतिक आदानप्रदान तथा ज्ञान हस्तान्तरणमा नेपाली समुदायको योगदान बढ्दो छ ।

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पती

काठमाडौं । कान्स फिल्म फेस्टिभल–२०२६ को रेड कार्पेटमा नेपाली मूलका उद्यमी भूपेन्द्र खनाल र उनकी श्रीमती स्नेह शर्मा सहभागी भएका छन् ।  मोरङको उर्लाबारी निवासी खनाल दम्पतीले आफ्नो कुकुर ‘मोगली’लाई प्रेमको प्रतीकका रूपमा आफ्ना पोशाकमा कढाइ गरेर प्रस्तुत गरेका थिए ।  एक दशकअघि सामाजिक सञ्जाल विश्लेषण कम्पनी ‘सिम्प्लिफाई ३६०’ स्थापना गरेका खनाल पछिल्लो समय हिमाली छुर्पी उद्योगमा सक्रिय छन् । उनले सन् २०१५ मा स्नेह शर्मासँग मिलेर ‘डग्सी च्यू’ स्थापना गरेका थिए ।  कम्पनीले नेपाल र भारतका हिमाली भेगको दूधबाट तयार हुने छुर्पीलाई कुकुरका लागि स्वास्थ्यकर ‘हिमालयन याक च्यू’का रूपमा विश्वबजारमा पुर्याइरहेको छ । कम्पनीका अनुसार हाल ‘डग्सी च्यू’ ३० भन्दा बढी देशमा विस्तार भइसकेको छ ।  वार्षिक करिब २६० करोड भारतीय रुपैयाँ बराबरको कारोबार गर्ने उक्त ब्रान्डले घरपालुवा जनावरका लागि प्राकृतिक र स्वस्थकर पोषणको अवधारणा अघि बढाइरहेको जनाएको छ । फेस्टिभलमा सहभागी हुन हिजोमात्रै काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल फ्रान्स प्रस्थान गरिसकेकी छन् । यसअघि वर्तमान प्रधानमन्त्री बालेन शाह पनि सन् २०२४ मा कान्स रेड कार्पेटमा सहभागी भएका थिए ।