मोरङ- ६ मा रास्वपाकी आचार्य अगाडि
काठमाडौं । मोरङ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रुविना आचार्यले फराकिलो अग्रता बनाएकी छन् । उनले ३ हजार ४२३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार शेखर कोइरालाले ७२८ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार विनोद ढकालले ६२७ मत पाएका छन् ।
चितवन -२ अपडेट : रास्वपाका लामिछाने ४ हजार ३७१ मतले अगाडि
काठमाडौं । पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने निकटतम प्रतिस्पर्धीभन्दा ४ हजार ३७१ मतले अगाडि रहेका छन् । अहिलेसम्म रास्वपाका सभापति रवि लामिछानेले ६ हजार ७०० मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले २ हजार ३२९ मत ल्याएका छन् । त्यस्तै, नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले २ हजार ३२२ मत प्राप्त गरेकी छिन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रताव गुरुङले १ हजार ५५७ मत ल्याएका छन् । हालसम्म १४ हजार २२ मत गणना भएको छ ।
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले १ हजार २७१ मतले अगाडि
दमौली । तनहुँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायमै छ । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार बिहान ११ बजेसम्मको प्राप्त परिणामअनुसार रास्वपाका डा. स्वर्णिम वाग्लेले २ हजार ९२८ मत प्राप्त गरेका छन् । पछिल्लो मतगणना अनुसार वाग्ले १ हजार २७१ मतले अगाडि छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले एक हजार ६५७ र नेकपा (एमाले) का भगवती न्यौपानेले एक हजार १०१ प्राप्त गरेका छन् । यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का विद्यानाथ ढकालले ३२३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रामदत्त जोशीले ८६ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा देवघाट गाउँपालिकाको ६ हजार ५६६ मतगणना भएकामा छ हजार २३४ मत सदर भएको छ । यस क्षेत्रमा कुल एक लाख २६ हजार ८८२ मतदाता रहेकामा ६८ हजार १२९ मत खसेको थियो । यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी १६ जना प्रतिस्पर्धामा छन् ।