संसदमा पुगे ४ ऊर्जा व्यवसायी

काठमाडौं । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ४ ऊर्जा उद्यमी संसदमा प्रवेश गरेका छन् । चारै जना ऊर्जा उद्यमी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका श्रीराम न्यौपाने तनहुँ-२, भरतप्रसाद पराजुली सिन्धुपाल्चोक-१, जगदीश खरेल दोलखा तथा दीपककुमार साह विजयी भएका हुन् ।  रास्वपाका ऊर्जा तथा जलस्रोत विभाग प्रमुखसमेत रहेका श्रीराम न्यौपानेले तनहुँ-२ मा ३२ हजार ६८७ मत प्राप्त गर्दै विजय हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शंकर भण्डारीले १४ हजार १३५ मत पाए । नागढुङ्गा सुरुङमार्ग आयोजनाका पूर्व आयोजना निर्देशकसमेत रहेका न्यौपाने सुरुङ निर्माण र ऊर्जा क्षेत्रका विज्ञका रूपमा परिचित छन् । यसैगरी, ऊर्जा उद्यमी भरतप्रसाद पराजुली २४ हजार ४१२ मतसहित सिन्धुपाल्चोक-१ बाट विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका माधव सापकोटाले १७ हजार ३२७ मत प्राप्त गरे । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का केन्द्रीय सदस्यसमेत रहेका पराजुली एकीकृत व्यापार कम्पनी तथा ब्रम्हायणी हाइड्रोपावरका अध्यक्ष हुन् । उनी लामो समयदेखि ऊर्जा क्षेत्र र सामाजिक कार्यमा सक्रिय छन् ।  यस्तै, दोलखाबाट जगदीश खरेल ३२ हजार ३७६ मतसहित निर्वाचित भएका छन् । उनी ऊर्जा उद्यमी कुमार खरेलका भाइ हुन् । उनको श्रीस्कार हाइड्रोपावर कम्पनी छ । खरेलका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पार्वत गुरुङले १७ हजार ४४९ मत प्राप्त गरे । खरेलले १४ हजार ९२७ मतान्तरले जित हात पारेका हुन् । सो क्षेत्रमा नेकपाका विशाल खड्काले १३ हजार ६५ मत तथा नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले १२ हजार २९८ मत प्राप्त गरेका छन् ।  यसैगरी, सुनसरी-४ बाट दीपककुमार साह ४२ हजार ७७१ मतसहित विजयी भएका छन् । ऊर्जा व्यवसायीसमेत रहेका साहले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई पछि पारे । कार्कीले १६ हजार ५८७ मत प्राप्त गरे भने नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले ८ हजार ६३१ मत र नेकपा (माओवादी) का महमद महफुज अन्सारीले ३ हजार ४३२ मत प्राप्त गरे । शाह इन्जिनियर, ऊर्जा विशेषज्ञ र समुदाय सशक्तीकरणका पहलकर्ता पनि हुन् । उनी पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा स्नातक र प्राकृतिक स्रोत विकासमा स्नातकोत्तर छन् ।  २३ वर्षभन्दा बढी समयदेखि उनी जलविद्युत् परियोजनाहरूमा इन्जिनियर, विशेषज्ञ र व्यवस्थापकको रूपमा सक्रिय छन् । उनले जलविद्युत् आयोजना सञ्चालन, मर्मतसम्भार, प्राविधिक निरीक्षण र नीति-व्यवस्थापनमा अनुभव हासिल गरेका छन् । ऊर्जा क्षेत्रका विज्ञ तथा व्यवसायीहरू संसदमा प्रवेश गरेसँगै ऊर्जा नीति, जलस्रोत विकास तथा पूर्वाधार निर्माणका विषय संसदमा थप प्राथमिकतामा पर्ने अपेक्षा गरिएको छ ।

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौंं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ ।      समितिले आयोगको समग्र प्रतिवेदन सार्वजनिक गरी पीडित समुदाय, नागरिक समाज, मिडियालगायत आम नागरिकको सुसूचित हुन पाउने अधिकारको सम्मान गर्न माग गरेको हो ।      समितिका संयोजक राजुप्रसाद चापागाईंले मंगलबार प्रेस विज्ञप्ति जारी गरी उक्त आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका हुन् ।    विज्ञप्तिमा भनिएको छ, 'प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने भन्ने कुरा सरकारको तजबिजको विषय होइन प्रतिवेदनबारे जानकारी पाउने आम नागरिकको संविधानप्रदत्त अधिकार हो भने छानबिन प्रतिवेदनलाई यथाशीघ्र सार्वजनिक जानकारीमा ल्याउनु सरकारको दायित्व हो ।'  

कांग्रेसमा केसी, एमालेमा बादल उदाउँदै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको परिणाम लगभग स्पष्ट हुँदै जाँदा परम्परागत दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दलको नेतृत्व अब कसले सम्हाल्ने  भन्ने नयाँ बहस सुरु भएको छ । निर्वाचन परिणामले देखाएको असामान्य राजनीतिक चित्रका कारण अहिले राजनीतिक वृत्तमा यो विषय सबैभन्दा बढी चर्चामा रहेको छ । यस पटकको निर्वाचनले दशकौंदेखि स्थापित राजनीतिक समीकरणलाई नै हल्लाइदिएको छ । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जस्ता शीर्ष नेताहरू प्रत्यक्ष निर्वाचनमै पराजित भएपछि संसद्‌भित्रको नेतृत्व संरचना नै बदलिने संकेत देखिएको हो । सामान्यतया संसद्‌मा सबैभन्दा प्रभावशाली नेताहरू नै संसदीय दलको नेतृत्वमा रहने अभ्यास रहँदै आएको भए पनि यस पटकको परिणामले त्यो परम्परा तोडिने सम्भावना देखाएको छ । प्रत्यक्ष निर्वाचनमा पार्टीका प्रमुख नेताहरू पराजित भएपछि दुवै दलभित्र अब संसद्‌मा रहेका नेतामध्ये कसले नेतृत्व लिने भन्ने विषयमा आन्तरिक छलफल सुरु भएको छ । औपचारिक रूपमा संसदीय दल गठन गर्ने प्रक्रिया भने प्रत्यक्ष र समानुपातिक दुवैतर्फको अन्तिम परिणाम सार्वजनिक भएपछि मात्रै अघि बढ्नेछ । तर परिणाम आउने क्रमसँगै पार्टीभित्र अनौपचारिक छलफल, सम्भावित नामहरूको चर्चा र विभिन्न अनुमानहरू भने तीव्र रूपमा बढ्न थालेका छन् । राजनीतिक विश्लेषक पर्शुराम घिमिरेका अनुसार यो अवस्था केवल संसदीय दलको नेता चयनको विषय मात्र होइन, परम्परागत दलहरूको नेतृत्व संरचनामा सम्भावित पुस्तान्तरण र शक्ति पुन:सन्तुलनको संकेत पनि हो । शीर्ष नेतृत्व नै संसद् बाहिर रहने परिस्थितिले पार्टीहरूभित्र नयाँ अनुहार र नयाँ शक्ति केन्द्र उदाउने सम्भावना बढाएको घिमिरेको दाबी छ । शीर्ष नेतृत्व प्रत्यक्ष निर्वाचनमै पराजित भएर संसद् बाहिर रहने अवस्था बनेपछि दुवै दलभित्र नेतृत्वको नयाँ समीकरण बन्ने संकेत देखिएको छ । संसद्‌भित्र रहेका वरिष्ठ नेताहरू, समानुपातिक सूचीका अगुवा व्यक्तिहरू तथा पार्टीभित्र प्रभावशाली मानिने नेताहरूबीच संसदीय दलको नेतृत्व कसले सम्हाल्ने भन्ने विषय अब निर्णायक बहसको विषय बन्ने देखिएको छ । यस कारण पनि यस पटकको निर्वाचन परिणाम केवल सिटको गणितमा सीमित नभई संसद्‌भित्रको नेतृत्व संरचना, दलहरूको आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक दिशालाई समेत प्रभावित गर्ने मोडको रूपमा हेरिएको छ । कांग्रेसमा केसीको सम्भावना नेपाली कांग्रेसको संसदीय दलको नेतामा समानुपातिक सूचीमा पहिलो नम्बरमा रहेका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीको सम्भावना बलियो देखिएको कांग्रेस नेताहरू बताउँछन् । कांग्रेसका पहिलो प्रवक्तासमेत रहेका केसीको संसदीय अनुभव लामो रहेको छ । विगतमा मन्त्री, संसदीय समिति तथा पार्टी संगठनमा सक्रिय भूमिका खेलेका केसीलाई संसदीय दलको नेतृत्वका लागि स्वाभाविक दावेदारका रूपमा हेरिएको छ । प्रत्यक्ष निर्वाचनमा कांग्रेसका शीर्ष तहका धेरै नेता पराजित भएपछि समानुपातिक सूचीका वरिष्ठ नेताहरूको भूमिका झनै महत्त्वपूर्ण बनेको छ । यस्तो अवस्थामा पूर्वसहमहामन्त्रीसमेत रहेका वरिष्ठ नेता केसी दलको नेता हुनसक्ने विषयलाई अन्यथा ठान्न नहुने नेताहरूको दाबी छ । एमालेमा रामबहादुर थापाको चर्चा यता नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको नाम चर्चामा रहेको एमाले नेताहरू बताउँछन् । २०६३ सालको अन्तरिम संसदबाट संसदीय यात्रा सुरु गरेका थापा माओवादी पृष्ठभूमिबाट एमालेमा आएका प्रभावशाली नेता हुन्। एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा थापा शीर्ष स्थानमा रहेकाले उनी प्रतिनिधिसभा सदस्य बन्ने सम्भावना लगभग निश्चित मानिएको छ । प्रत्यक्षतर्फ एमालेका उच्च तहका धेरै नेता पराजित भएकाले समानुपातिकतर्फबाट आउने नेतामध्ये थापा नै संसदीय दलको नेतृत्वमा पुग्न सक्ने अनुमान गरिएको छ । संसदमा घट्दै स्थापित दलको उपस्थिति यसपटकको निर्वाचन परिणामले प्रतिनिधिसभामा परम्परागत ठूला दलहरूको उपस्थिति उल्लेख्य रूपमा घट्ने देखिएको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा एमाले दुवैको संख्या अपेक्षाभन्दा निकै कम रहने तथ्यांकले देखाएको छ । नेपाली कांग्रेसले प्रत्यक्ष निर्वाचनतर्फबाट हालसम्म १८ सिट जितेको छ भने समानुपातिक प्रणालीबाट करिब २० जना सांसद बन्ने अनुमान गरिएको छ । यस अनुसार कांग्रेसको प्रतिनिधिसभामा कुल संख्या करिब ३८ पुग्ने देखिन्छ । त्यस्तै, नेकपा एमालेले प्रत्यक्षतर्फ केवल ९ सिट जितेको छ । समानुपातिक सूचीबाट करिब १६ जना सांसद बन्ने सम्भावना रहेको छ । यस आधारमा एमालेको प्रतिनिधिसभामा कुल संख्या करिब २५ पुग्ने देखिएको छ । यसरी हेर्दा संसदमा कांग्रेस र एमाले दुवै दलको उपस्थिति विगतको तुलनामा निकै कमजोर हुने स्पष्ट संकेत देखिएको छ । निवर्तमान प्रतिनिधि सभाको सबैभन्दा ठुलो दलको रूपमा कांग्रेसका ८८ जना र दोस्रो दल एमालेका ७९ जना सदस्य रहेका थिए ।