नबिल बैंकको अध्यक्षमा बैंकर उपेन्द्र पौड्याल नियुक्त, बैंकिङ क्षेत्रमा ३४ वर्षको अनुभव
काठमाडौं । नबिल बैंकको अध्यक्षमा बैंकर उपेन्द्र पौड्याल नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई बैंककाे अध्यक्ष पदमा नियुक्त गरेको हो । अध्यक्षमा शम्भुप्रसाद पौड्यालको पदावधि सकिएसँगै बैंकले पौड्याललाई नयाँ अध्यक्षमा नियुक्त गरेकाे हाे । २०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका पौड्याललाई सञ्चालक समितिले करिब ३ वर्षपछि अध्यक्ष बनाएको छ । उनी पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि समेत हुन् । विश्वव्यापी रूपमा फैलिएको यो संस्थाले दिगो बैंकिङ विकास, सुशासन र समुदायको जीवनस्तर रूपान्तरण गर्ने खालका काम गर्दै आएको छ । नेशनल बैंकिङ इन्स्टिच्यूटको निर्देशक रहेका उनी सफल बैंकरसँगै समाजसेवीका रूपमा समेत परिचित छन् । तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी यसअघि एनएमबी बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । जहाँ उनको संलग्नता स्थापनाकालदेखि नै थियो । सन् १९८६ मा ग्रिनलेज बैंकबाट उनले बैंकिङ करिअर सुरु गरेका थिए । त्यहाँ १४ वर्ष जिम्मेवारी सम्हालेपछि उनी एनएमबी फाइनान्समा पुगेका थिए । एनएमबीमा उनले १७ वर्ष अनवरत सेवा गरे । १४ वर्ष ग्रिनलेज बैंक, १७ वर्ष एनएमबी र ३ वर्ष नबिल बैंकसहित उनले ३४ वर्षको बैंकिङ अनुभव बटुलेका छन् । होटलबाट आफ्नो व्यावसायिक करिअर सुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष काम गरेका थिए । पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष थिए । दशकौंको बैंकिङ अनुभव र दक्षताले उनलाई नबिल बैंकको अध्यक्षसम्म पुर्याएको छ । बैंकले उनको नेतृत्वमा नयाँ उचाई प्राप्त गर्ने अपेक्षा राखेको छ । सकियाे पौड्याल र अग्रवालको पदावधि नबिल बैंकमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका दुई जनाको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ । शम्भु प्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको पदावधि सकिएको हो । २०७२ बैंशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आएका पौड्यालको पदावधि असोज १७ गते सकिएको छ । नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ करिअर सुरु गरेका पौड्याल सर्वसाधारण शेयरधनीका तर्फबाट २०४२ माघ २७ गते सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए । यसैगरी, अग्रवाल करिब २६ वर्षभन्दा बढी बैंकको सञ्चालक रहे । उनी पहिलो पटक २०५१ भदौ १५ गते सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक नियुक्त भएका थिए ।
सरकारको मुख्य सचिवमा वैरागी, आजै पदभार ग्रहण
काठमाडाैं । नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । सरकारले आज नै लोकदर्शन रेग्मीले दिएका राजीनामा स्वीकृत गरेको छ । त्यस लगत्तै पराराष्ट्र मन्त्रालयमा सचिव रहेका वैरागीलाई सरकारले मुख्य सचिवमा नियुक्त गरेको हो । मुख्य सचिव वैरागीले आजै पदभार ग्रहण गरेका छन् । मुख्य सचिवबाट राजीनामा दिएका रेग्मीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गरेपछि आज नै उनको बिदाई गरिएको छ । सरकारले रेग्मीलाई बेलायतका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस समेत गरेको छ । उनको तीन वर्षे कार्यकाल आगामी कार्तिक ३ पुरा हुँदै थियो । तर अनिवार्य अवकाश पाउनु अगाडी नै रेग्मीले राजीनामा दिएका हुन् । रेग्मी २०७४ साल कार्तिक ६ गते नेपाल सरकारको २४ औं मुख्य सचिवमा नियुक्त भएका थिए ।
शिखर इन्स्योरेन्सको सीईओमा पाण्डेको निरन्तरता, समितिले दियाे सहमति
काठमाडौं । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीप्रकाश पाण्डेलाई नियुक्त गर्ने सञ्चालक समितिकाे प्रस्ताव बीमा समितिले स्वीकृत गरेकाे छ । गत विहीबार बीमा समितिले पाण्डेको नियुक्तीमा सहमति दिएको सम्बद्ध स्रोतले बतायो । दुई साताअघि शिखर इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले उनलाई पुनः चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्न बीमा समितिसँग सहमति मागेको थियो । बीमा समितिको सहमति पत्र शिखर इन्स्योरेन्स कम्पनीले आइतबार प्राप्त गरेको छ । नेपाल बीमक संघकाे अध्यक्ष समेत रहेका पाण्डेकाे पुर्न नियुक्तीको विषय बीमा क्षेत्रमा निकै चासोको विषय बनेको थियो । भारतको सेन्ट जेभियर कलेजबाट विविएस र त्रिभुव विश्वविद्यालयबाट एमबीए गरेका पाण्डेले एभरेष्ट र शिखर इन्स्योरेन्समा गरि २५ वर्ष काम गरेका छन् । २०६१ सालमा स्थापना भएको शिखर इन्स्योरेन्स कम्पनीको व्यवस्थापकीय नेतृत्व गर्दै आएका पाण्डे १२ वर्षसम्म स्थायी कर्मचारी भएर काम गरेका थिए । बीमकको संस्थागत सुशासन निर्देशिकाले बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत करारमा मात्र नियुक्त हुनु पर्ने व्यवस्था गरिएपछि उनी २०७३ सालदेखि शिखरमा करारमा नियुक्त छन् । ‘शिखर इन्स्योरेन्सले पुँजी वृद्धि गर्दा लगानीकर्तासँग गरेको प्रतिवद्धता अनुसार हामी काम गछौं’ पाण्डेले विकासन्युसँग भने–‘नयाँ प्रडक्टहरु ल्याउने, प्रविधिको अधिकतम प्रयोग गर्दै सर्वसाधारणमा बीमाको पहुँच पुर्याउने काम गर्नुछ । समग्र बीमा क्षेत्रलाई गरिमा र प्रतिष्ठा माथि लैजान विगतमा भन्दा राम्रो भूमिका खेल्ने प्रयास गर्छु ।’ सम्बन्धित समाचार दीपप्रकाश पाण्डेको के गल्ती ?