प्रुडेन्सियल इन्स्योरेन्सको विज्ञ सञ्चालकमा डा. आत्रेय नियुक्त
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको विज्ञ सञ्चालकमा डा. बिनोद आत्रेय नियुक्त भएका छन् । माघ २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले डा. आत्रेयलाई विज्ञ सञ्चालक पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सञ्चालक डा. आत्रेयले एक कार्यकाल अर्थात आगामी चार वर्षसम्म संस्थाको उक्त पदको कार्यभार सम्हाल्ने छन् । यसअघि उनी सूर्या लाइफ इन्स्याेरेन्सकाे सञ्चालक थिए । उक्त पदमा चार वर्षे कार्यकाल सकिएसँगै साे कम्पनीबाट बिदा भएका हुन् । उनले नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर कार्यकारी निर्देशक पदबाट अवकाश पाएका थिए । राष्ट्र बैंकमा रहँदा उनले नेपाल बैंकमा करिव ३ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समालेका थिए । हाल उनी व्यवसायिक घराना विशाल ग्रुप निकट भएर विभिन्न कम्पनीको जिम्मेवारी समाल्दै आएका छन् । डा. आत्रेय हाल इमर्जिङ्ग नेपाल लिमिटेड कम्पनीको प्रमुख कार्यकारी अधिकृत समेत छन् ।
युनाईटेड इदी मर्दीको अध्यक्षमा केसी
काठमाडौं । युनाईटेड इदी मर्दी एण्ड आरबि हाईड्रोपावरको अध्यक्षमा प्रकाश केसी नियुक्त भएका छन् । माघ २१ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सञ्चालक केसीलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो । संस्थापक सेयरधनी केसीलाई माघ २१ गते बसेको संस्थाको बैठकले कम्पनीको रिक्त रहेको संचालक पदमा नियुक्त गरेको थियो । त्यसपछि सोहि दिन बसेको बैठकले उनलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको कम्पनी सचिव निरज पौड्यालले बताए ।
बीमा समितिकाे अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाल नियुक्त
काठमाडौं । बीमा समितिको अध्यक्षमा पूर्वसचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । पूर्व गृहसचिव सिलवाललाई सरकारले बीमा समितिको रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरेको मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले समितिको अध्यक्षमा सिलवाललाई नियुक्त गर्ने निर्णय हाे । उनकाे कार्यकाल चार वर्ष हुनेछ । गृह सचिवबाट अवकाश भए पनि सिलवाल लामाे समय उद्याेग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए । सिलवालकाे लागि बीमा नयाँ क्षेत्र हाे । बीमा क्षेत्रकाे नियामक निकायमा बीमा क्षेत्रकै व्यक्ति नियुक्तीकाे अपेक्षा बजारबाट भएकाे थियाे । तर सरकारले अन्य राजनीतिक नियुक्तीमा झै बीमा समितिकाे अध्यक्षमा पनि पूर्व प्रशासक छनाैट गरेकाे छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिकाे अध्यक्ष पद गत एक महिनायता रिक्त रहेकाे थियाे । यसअघि समितिको अध्यक्षको कार्यभार चिरञ्जीबी चापागाईंले सम्हालेका थिए । आफ्नो चार वर्षे कार्यकाल पूरा भएपछि उनी गत पुस २३ गतेदेखि बाहिरीएका थिए ।