राजधानीका विद्यालयमा श्रृंखलावद्ध बम बिस्फोट

काठमाडौं, ४ असोज । राजधानीका विभिन्न विद्यालयहरुमा बम बिस्फोटन भएको छ । बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा बम बिस्फोट भएको छ भने बौद्धकै राई स्कुल र इस्टपोल स्कुलमा बम फेला परेको छ । त्यस्तै, ललितपुरको रेडियन्ट स्कुलमा पनि बम फेला परेको छ । ती बमहरुलाई नेपाली सेनाको बम डिस्फोजल टोलीले निष्क्रिय बनाएको छ । त्यस्तै डल्लुको कञ्चनजंगा इन्टिग्रेटेड स्कूलमा पनि बम फेला परेको छ । विहान ६ः१५ बजे बम भएको सूचना स्थानीय प्रहरीले पाएको स्वयम्भु बृत्तका प्रहरी सहायक निरिक्षक केके श्रेष्ठले बताए । घटनस्थलमा दुई लिटरको नयाँ प्रेसर कुकरमा ब्याट्री बाहिरबाट जोडेर सेफ्टी भल्भमार्फत तार भित्र छिराएको अवस्थामा भेटिएका थिए ।

दशैंका लागि टिकट बुकिङ खुल्ला, डिलक्स र सुपर डिलक्सको भाडा तोकियो

काठमाडौं, ३ असोज । दशैंका लागि असोज ७ गतेदेखि बसको टिकट बुकिङ खुल्ला हुने भएको छ । नयाँ बसपार्क, पुरानो बसपार्क सहित उपत्यकाका बिभिन्न १२ वटा स्थानबाट टिकट बुकिङ गर्न लागिएको हो । यातायात व्यवस्थापन विभाग र यातायात व्यवसायीबिच भएको सहमतिले असोज ७ गतेदेखि अग्रिम बुकिङ खोल्ने निर्णय गरेको हो ।  अस्थाई रुट परमिट  रुट परमिट तथा डिलक्सको भाडा वृद्धि लगायतका बिषयमा बिभाग र व्यवसायीबिच विवाद थियो । सो दिनदेखि तराई र पहाडी भेगका अन्य १० वटा स्थानबाट पनि अग्रिम बुकिङ लिइने यातायात बिभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताए । बिभागले असोज १० गतेदेखि ३० गतेसम्म मुग्लिन-नारायणगढ सडक खण्डको निर्माण कार्य रोक्ने निर्णय समेत गरेको छ । त्यस बाहेक कलंकी देखि  नागढुंगा खण्डको सडकमा रहेका खाल्डाखुल्डी तत्कालै पुर्ने निर्ण पनि बिभागले गरेको छ । डिलक्स बसले सामान्य भन्दा २० प्रतिशत बढि र सुपर डिलक्सले डिलक्स भन्दा २० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था समेत गरिएको छ ।

उद्यमशिलता विकासमा योगदान गर्ने एक दर्जन व्यक्तिलाई सम्मान

काठमाडौं, २ असोज । एक्सपोज नेपालले उद्यमशिलता विकासमा संलग्न एक दर्जन युवा उद्यमी व्यवसायी तथा बैंकरहरुलाई सम्मान गरेको छ । राजधानीमा आयोजीत एक कार्यक्रममा पुर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता डा. रामशरण महतले उनीहरुलाई सम्मान गरेका हुन् । यसरी सम्मानित हुनेहरुमा युवा उद्यमी प्रतापजंग पाण्डे, बैंकर रबिना देशराज श्रेष्ठ र तिलकराज पाण्डे, शिक्षा विद तिर्थ डा. तिर्थ खानियाँ, खगेन्द्र ओझा, उर्जा विद रामप्रसाद धिताल, इञ्जिनियर दिपेन्द्र भट्ट, वातावरण विद केडि यादव, परराष्ट्रविद चिरञ्जीवी थापा, समाज सेवी क्षितिज भण्डारी तथा उपभोक्ता अधिकार कर्मी भिम चन्द, आइटी व्यवसायी नरेन्द्र चन्द लगायतका रहेका छन् । सम्मानले नेपाली अर्थतन्त्रको उन्नति मार्फत देश विकासमा लागिरहने उर्जा प्राप्त गरेको युवा उद्यमी प्रतापजंग पाण्डेले बताए । कार्यक्रममा नेपाली युवाहरुको क्षमता प्रस्फुटनका लागि मिस्टर वल्र्ड २०१६ मा सहभागीताको व्यवस्था गरिएको एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले बताएका थिए ।