धनकुटाको बस दुर्घटनामा पूर्व अर्थ राज्यमन्त्रीसहित सातको मृत्यु
धनकुटा, १३ साउन । संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको मुनाल यातायातको बा२ख ७३६६ नम्बरको यात्रुबाहक बस आज धनकुटाको परेवादिन–५ सिधुवा बजारमा दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक विभूतिराज पाण्डेका अनुसार दुर्घटनामा परी पूर्व अर्थ राज्यमन्त्री खेवाको मृत्यु भएको छ । खेवा डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अर्थ राज्यमन्त्री थिए। सो बस दुर्घटनामा परी मृत्यु भएकामध्ये अहिलेसम्म खेवासहित तीन जनाको मात्रै सनाखत हुनसकेको छ । मृत्यु हुनेमा धरानको वेदप्रकाश अग्रवाल र परेवादिन–४ को तारा बस्नेत रहेका छन् । दुर्घटनामा परी दर्जनौँ यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उद्धारका लागि सदरमुकाम र सिधुवालगायत क्षेत्रबाट प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
अनुसन्धान ब्युरोद्वारा एकसय एक घटनाको अनुसन्धान
काठमाडौं, १३ साउन । ओमकार शाहको नेतृत्वको अपराधी टोलीले धादिङको एक महिलालाई पूजाआजा गर्ने र महिलालाई नै बलि दिने उद्देश्यले अपहरण गरे । पीडित महिलाको परिवारले दिएको निवेदनका आधारमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अपराधीलाई समात्न सफल भयो र महिला बलि हुनबाट जोगिइन् । यो गत वर्षको भदौको घटना थियो । यस्तै दुई जना महिलालाई कल्पना लिम्बू, जीतबहादुर दर्जीलगायतको टोलीले यौन शोषण गर्ने तथा बन्धक बनाउने उद्देश्यले नयाँदिल्ली हुँदै साउदी दूतावास पु¥यायो । उनीहरुको यौनको माग साउदीमा नभइकन भारतमा नै भएको भनी दलालीमार्फत फेरि नयाँदिल्ली नै फर्काइयो । पीडित महिलाले आफूलाई दिल्लीमा बन्धक बनाएर राखेको खबर आफन्तलाई पठाएपछि आफन्तले तुरुन्त केन्द्रीय अनुसन्धान ब्युरोमा निवेदन दियो सोही निवेदनका आधारमा पीडित महिलालाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरियो । यी केवल समाजमा हुने केही उदाहरणीय घटनामात्र हुन् । काठमाडौं उपत्यकालगायत देशभर यस्ता घटना दिनहुँ थुप्रै घटिरहेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जले हाल यस्ता घटनाको अनुसन्धानका लागि सक्रियता बढाएको छ । आव २०७२/७३ मा ब्युरोले १०१ घटनाको सफल अनुसन्धान गरेको छ । ब्युरोका लागि गत आव नक्कली डाक्टर प्रकरण महत्वपूर्ण बन्यो । केही महिनाअघि मेडिकल क्षेत्रमा एउटा परीक्षार्थीले अर्काको नाममा परीक्षा दिएको फेला पारेपछि नक्कली डाक्टरको अनुसन्धान सुरु गरियो । ब्युरोका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल नक्कली परीक्षार्थी फेला परेपछि नक्कली डाक्टर पनि अवश्य हुन सक्छन् भन्ने विश्वासका आधारमा अनुसन्धान गर्दा ५४ जना नक्कली डाक्टर फेला परेको बताउछन् । उनले नेपालमा भन्दा पनि भारतका विभिन्न मेडिकल कलेज पढेर आएका डाक्टर बढी नक्कली हुने गरेको बताए । उनले भने – “मेडिकल काउन्सिल, केन्द्रीय अनुसन्धान ब्युरो र मेडिकल परीक्षा बोर्डको संयुक्त टोलीले विहार विश्वविद्यालयको बोर्डमा गएर अनुसन्धान गरेपछि नक्कली प्रमाणपत्र फेला पारेका हौँ ।” प्रहरीले ५४ जना नक्कली डाक्टरमध्ये १७ जनालाई नेपाल मेडिकल काउन्सिल ऐन र बाँकी ३७ जनालाई ठगीको मुद्दा चलाएको छ । यस्तै आव २०७२/७३ मै ब्युरोले तान्जनिया, किर्गिस्तान, लिविया, सिरियालगायतका देशमा मानव बेचबिखन गरेको आरोपमा १६ घटनाको अनुसन्धान गरेको छ । दूरसञ्चार हानिनोक्सानी गरी (ओआपी) कल वाइपास गर्ने गरेको आरोपमा तीन घटनाको अनुसन्धान गरेको छ । छ वर्ष अगाडि ललितपुरको च्यासलमा तीन वर्षको बालिकालाई करणी गरी घाँटी रेटी मारेको एक घटनाको अनुसन्धानका दोषीलाई समेत पक्राउ गरिसकेकोे ब्युरोले जनाएको छ । नक्कली नागरिकता तथा राहदानी बनाउने र विदेश जान पेस गर्ने गरेको आरोपमा चार, किर्ते छ, चोरी एक र ठगीका ५० घटनाको अनुसन्धान गरेको छ । आव २०७१/७२ मा ७० मुद्दा हेरेर १३० जनालाई पक्राउ गरेको ब्युरोले आव २०७२/७३ मा १०१ मुद्दा हेरी १०९ जनालाई कानुनी दायरामा ल्याएको छ । यस्तै सरकारी मुद्दासम्बन्धी ऐनको अनुसूची–१ बाहिर परेको मानिने नेपाल मेडिकल काउन्सिल ऐनअन्तर्गतको मुद्दासमेत ब्युरोले अनुसन्धान गर्ने भन्ने सरकारी निर्णयअनुसार १७ नक्कली डाक्टरलाई सो ऐनअन्तर्गत कारबाही गरिएको ब्युरोले जनाएको छ । रासस
शुक्रबार सार्वजनिक विदा, उपत्यकामा रातो मत्स्येन्द्रनाथको भोटो देखाइने
काठमाडौं, १३ साउन । सरकारले भोली (साउन १४ गते) शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । सो दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा भएकोले सरकारले सार्वजनिक विदा दिएको हो । भोली उपत्यकामा रहेका सरकारी कार्यालय, स्कुल, कलेज, बैंक तथा वित्तिय संस्थाहरु विदा हुनेछन् ।