अवरोधले दुई जिल्ला जोड्ने सडक विस्तार अलपत्र

भक्तपुर । सडक विस्तारका क्रममा ‘रिटेनिङ वाल’ अर्थात टेवा पर्खाल भत्किएर तरकारी तथा अन्नबाली नष्ट भएको भन्दै एक वर्षदेखि स्थानीयवासीले अवरोध गरेपछि भक्तपुर र काठमाडौँ जोड्ने सडक निर्माण अलपत्र बनेको छ । भक्तपुरको बोडेबाट काठमाडौँंको मूलपानी जोड्ने बोडे–मूलपानी सडक विस्तारका क्रममा नीलबाराही चेकपोस्ट नजिकै निर्माण भइरहेको ‘रिटेनिङ बाल’ अर्थात टेवा पर्खाल गतवर्ष भत्किएको थियो । सडक निर्माण ठेकेदार कम्पनी ‘सन्तोषी पिआर जेभी ललितपुर’ ले बाली क्षति भएका कृषकलाई नष्ट भएको तरकारी, अन्नबालीको क्षतिपूर्ति स्वरूप ६ लाख रुपैयाँ दिए पनि कृषकले भने ३७ लाख रुपैयाँ माग गरेर सडक निर्माण कार्यमा अवरोध गरेपछि समस्या आएको डिभिजन सडक कार्यालय भक्तपुर प्रमुख इञ्जिनियर गुरुप्रसाद अधिकारीले जानकारी दिए । आर्थिक वर्ष २०७२/७३ मा थिमिको बाहाखाबजार, पुरानो बाटो हुलाक मार्ग र नगरपालिका भवन हुँदै मिलरोड, बोडै हुँदै मनोहरासम्म जोड्ने २ दशमलव ८ किलोमिटर सडक निर्माण सम्पन्न गर्न समस्या आएको छ । सात मिटर फराकिलो कालोपत्रे एवं फुटपाथसहित निर्माण हुने उक्त सडकको मापदण्डभित्र परेका घरटहरा, बिजुली, टेलिफोनको पोल नहटाउँदासमेत सडक विस्तारमा समस्या आएको अधिकारीले बताए । उक्त सडकमा मापदण्डभित्र ३८ घरटहरा, ३५ बिजुलीको पोल, ३२ टेलिफोनको पोल, दुईवटा मन्दिर र ढुंगेधारा, दुईवटा कम्पाउन्ड पर्खाल परे पनि त्यसलाई नहटाइदिँदा सडक विस्तारमा समस्या परेको छ । रासस

बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु

काठमाडौ । कीर्तिपुर नगरपालिकाले पर्यटनको प्रवद्र्धनका लागि स्थानीय बल्खु खोलामा नजिकै सहासिक खेल बन्जी जम्पको सम्भाव्यता अध्ययन शुरु गरेको छ । कीर्तिपुर र तीनथानाको सिमानास्थलमा पर्ने त्यस क्षेत्रमा रहेको डाँडामा बन्जी जम्प संरचनाका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माणको कार्य शुरु भएको छ । कीर्तिपुर नगरपालिका–२ स्थित उक्त क्षेत्रमा गरिएको भौगोलिक सर्भेक्षणबाट बन्जी जम्पका लागि उपयुक्त देखिएपछि नगरपालिकाले पर्यटकीय गन्तव्यका रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकाबाट नजिक पर्ने त्यस क्षेत्रमा सो खेलको विकासका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणका लागि नगरपालिकाले चालु आवमा १ करोड विनियोजन गरेको नगर प्रमुख रमेश महर्जनले जानकारी दिए । विस्तृत परियोजना प्रतिवेदनपछि उक्त पूर्वाधार सम्पन्न गर्न के कति खर्च लाग्ने र कसरी निर्माण पूरा गर्ने भन्ने विषयमा टुंगो लाग्ने छ । नगरपालिकाले त्यहाँ गर्ने लगानीबाट त्यस क्षेत्र आसपासका स्थानीय लाभान्वित हुने र रोजगारीको अवसर बढ्ने विश्वास गरिएको छ । रासस

बाढीले चितवनका ४९९ घर क्षति, २१ करोड रुपैयाँ बराबरको नोक्सानी

रत्ननगर । बाढीका कारण चितवन जिल्लामा ४९९ घर पूर्ण क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । समितिका स्रोत व्यक्ति हरिबाबु ढकालले आजसम्मको प्राप्त विवरणबारे जानकारी दिँदै ४९९ घर क्षति भएकामध्ये रत्ननगर, राप्ती र माडी नगरपालिका बढी प्रभावित भएका छन् । साउन अन्तिम साताको बाढीले जिल्लाको सात स्थानीय निकायमध्ये रत्ननगर नगरपालिकामा १११, राप्ती नगरपालिकामा १३१ र माडी नगरपालिकामा १२३ घर पूर्ण क्षतिको विवरण संकलन भएको ढकालले बताए । उनले स्थानीय निकायका प्रमुखलाई व्यक्तिगत भेटेर तथा पटकपटक पत्राचार गर्दासमेत सम्पूर्ण क्षतिको विवरण नपठाइदिँदा समस्या भएको दुखेसो गरे। ‘भौतिक तथा आर्थिक क्षतिको विवरण माग गरेको कुनै पनि स्थानीय निकायले पठाएकै छैनन्,’ ढकालले भने, “अलिअलि कृषि, पशु कार्यालयको तथा तटबन्धको क्षतिको तथ्यांक आएको छ, अरु विवरण आउन सकेको छैन ।’ जसका कारण सरकारले दिनुपर्ने प्रतिव्यक्ति ७० रुपैयाँको राहत वितरणसमेत राम्ररी हुन नपाएको र आंशिक मात्रै वितरण भएको उनले बताए । जिल्ला विपद् व्यवस्थापन समितिबाट प्राप्त तथ्यांकमा जिल्लाको कालिका नगरपालिकामा आठ घर, भरतपुर महानगरपालिकामा ८२ घर, माडी नगरपालिकामा १२३ घर, खैरहनी नगरपालिकामा ३६, रत्ननगर नगरपालिकामा १११, राप्तीमा १३१ र इच्छाकामना गाउँपालिकामा आठ घर पूर्ण क्षति भएको विवरण छ । यसपटक स्थानीय निकायमार्फत राहत वितरण भएकाले व्यवस्थापनमा सहज भएको चितवनका प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समिति चितवनका संयोजक नारायणप्रसाद भट्टले बताए । उहाँका अनुसार शुरुमा स्थानीय निकाय आफैँले खरिद गरेरसमेत राहत वितरण गरेका थिए । थोत्रा कपडा र जंक फुड वितरणमा रोकेको प्रजिअ भट्टले बताए । कति ठाउँबाट फिर्तासमेत पठाएको उनले बताए । कृषि पशु र तटबन्धको गरी कूल २१ करोड रुपैयाँ नोक्सान  चितवनमा साउन २८ गते आएको वर्षा र बाढीका कारण कृषि पशु र नारायणी तटबन्धनमा झण्डै २१ करोड रुपैयाँको क्षति भएको छ । कृषिमा १५ करोड ६० लाख रुपैयाँ, पशुमा तीन करोड ८७ लाख रुपैयाँ तथा नारायणी तटबन्धनको एक करोड ५० लाख रुपैयाँ क्षति भएको पाइएको छ । अन्य केही सरकारी निकायले क्षतिको क्षेत्रफल मात्रैको विवरण पेश गरेका छन् भने स्थानीय निकायबाट भने क्षतिको विवरण आइनसकेको समितिका स्रोत व्यक्ति तथा जिल्ला प्रशासन कार्यालय चितवनका नायब सुब्बा हरिबाबु ढकालले बताए । जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सुधीर श्रेष्ठ जिल्लामा एक हजार ७९५ बिगाहा १४ कट्ठामा बाढीले क्षति पु¥याएको र यसबाट किसानलाई रु १५ करोड ६० लाख बढी क्षति भएको बताए । अझै पनि विवरण आउने क्रम रहेको जनाइएको छ । पशु सेवा कार्यालय चितवनका अनुसार सबैभन्दा बढी कुखुरामा क्षति भएको छ । प्राप्त विवरणमा लेयर्स कुखुरा १४ हजार ७५२ वटा र ब्रोइलर कुखुरा ४६ हजार ६३२ वटा मरेको र १४ हजार ७२८ किलो दाना नष्ट भएको जनाइएको छ । कार्यालय प्रमुख डा डिल्लीराम सेढाईंले जिल्ला विपद् व्यवस्थापनमा पेश गर्नुभएको विवरणअनुसार गाई २१, बाख्रा १०७, बंगुर ७९ वटा मरेको र १५ वटा खोर नष्ट भएको जनाइएको छ । स्थानीय निकायबाट विवरण नआउँदा समस्या हुँदै आएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । रासस