सिटिजन्स बैंकको ६२औं शाखा मकवानपुरको मनहरीमा
काठमाडौं । सिटिजन्स बैंकले ६२औं शाखा मकवानपुरको मनहरीमा उद्घाटन गरेको छ । आइतबार बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकिङ्ग कारोवारको सरुवात गरेका छन् । सो अवसरमा बैंकले दुई स्थानिय विद्यालयहरुलाई १–१ थान कम्प्यूटर वितरण गर्नुका साथै मनहरी बजारमा आयोजना हुन लागेको दुर्गा उत्सव सम्पन्न गर्नका लागि आर्थिक सहयोग स्वरुप १० हजार रुपैयाँ प्रदान गरेको जानकारी िदएकाे छ । मनहरी शाखाको उद्घाटन सँगै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई यस बैंकको ६२ वटा शाखा, ५९ वटा एटिएम काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरूबाट करिव ३ लाख ५० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । साथै, ग्राहकलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु िदनुकाे साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने लगायतका सुविधाहरु उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ । देशको विभिन्न क्षेत्रका ग्रहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले बैंकले भविष्यमा हुम्लाको सर्केगाड, डांगको बंगलाचुली, झापाको हाल्डीबारी, महोत्तरीको औरही तथा बर्दियाको बडैयातालमा शाखा विस्तार गर्ने योजना अगाडी सारेको जानकारी दिएको छ ।
किसान बंगुरपालनतर्फ आकर्षित
नुवाकोट । जिल्लामा पछिल्लो समय किसान बंगुरपालनतर्फ आकर्षित भएका छन् । बंगुरपालनबाट मनग्य आम्दानी भएपछि किसान बंगुरपालनतर्फ आकर्षित भएका हुन् । जिल्ला पशुसेवा कार्यालयका अनुसार जिल्लामा अहिले किसानले व्यावसायिक रुपमा पालेको बंगुरको संख्या १४ हजार रहेको छ । उक्त संख्या बर्सेनि बढ्दै गएको छ । जिल्ला पशुसेवा कार्यालयमा बंगुरपालनको लागि ६२ वटा फार्म दर्ता भएको कार्यालयका पशु विकास अधिकृत डा चन्द्रविक्रम कुँवरले जानकारी दिए । “बंगुरपालन फस्टाउँदै गएको छ । दर्ता नगरी धेरै किसानले बंगुरपालन गर्दै आएका छन्,” उनले भने । निम्न आयस्तर भएका नागरिकको उत्थानका लागि सरकारले सहकारीमार्फत बंगुरपालनमा अनुदान दिँदै आएको छ । खाद्य सुरक्षा र आयआर्जनका लागि बंगुरपालन कार्यक्रमअन्तर्गत सूर्यगढी गाउँपालिका–३ फँलाटेको अग्रसर कृषि सहकारी संस्थाले बंगुरपालनका लागि सरकारले दिएको अनुदान किसानलाई वितरण गर्दै आएको अध्यक्ष निशा अधिकारीले बताए । उक्त सहकारीले २ वर्षदेखि बंगुरपालनका लागि कृषकलाई अनुदान दिँदै आएको छ । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष सिंहदरबारद्वारा प्राप्त रकम सहकारीले जिल्लाका विभिन्न ठाउँमा परिचालन गरिरहेको छ । हालसम्ममा १ सय २० जनालाई दुई-दुई वटा बंगुर र खोरका लागि सहकारीले ३० लाख रुपैयाँ अनुदान प्रदान गरेको अधिकारीले बताए । बागेश्वरी, खानीगाउँ र गेर्खुका ४०/४० कृषकलाई अनुदान रकम प्रदान गरेको छ । राष्ट्रिय कृषि अनुसन्धान तथा विकास कोष सिंहदरबारले उपलब्ध गराउने अनुदान रकम वितरण गर्ने सो संस्थाले जनाएको छ । रासस
पर्वतका एक सय विपन्न परिवारलाई घर निर्माण
पर्वत । पुख्र्यौली पेशाले हातमुख जोर्न धौ–धौ, टहराको बास, आकाशबाट परेको पानी चुहिएर लत्ताकपडा र अन्नपात सबै भिजेर बालबच्चा जोगाउनै मुस्किलजस्ता पीडा भग्दै आएका बिहादी–१ बाच्छाको माझी समुदाय आजभोलि फुरुङ्ग छ । कमजोर आर्थिक अवस्थाका कारण लामो समयदेखि कष्टपूर्ण जीवनयापन गर्दै आएको माझी समुदाय नयाँ घर पाएपछि दंग परेको हो । जनता आवास कार्यक्रममार्फत १० घरपरिवार माझी घर निर्माणका लागि सहयोग पाएपछि खुशी हुँदै अहिले धमाधम घर निर्माणमा कस्सिएका छन् । आफूहरुको पीडा देखेर सरकारबाटै घर निर्माणमा सहयोग भएकामा खुशी लागेको उल्लेख गर्दै दीपक माझीले भने, “आफूले कमाएर घर निर्माण गर्ने धेरै परको कुरा थियो, दैनिक नदीमा माछा मारेर परिवारको छाक टार्नै मुस्किल थियो तर हाम्रो मर्म बुझेर सहयोग गरेकोमा धन्यवाद दिन्छु ।” गत वैशाखदेखि घर निर्माण गर्न थाल्नुभएका उनले आफूले पाउने तीन किस्ताको रकम पाइसकेको जानकारी दिैँदै बताए, “अब छानो हाल्ने र झ्याल, ढोकाको काम बाँकी छ त्यसपछि शौचालय बनाउन थाल्छु ।” स्थानीय माझी बस्तीकी विमला माझी पनि कम्ती खुशी छैनन् । “घर बनाउन सहयोग पाउँदा धेरै खुशी छौँ” उनले भने, “टहरामा बस्नुपर्दा निकै सास्ती भोग्नुपरेको थियो, घर निर्माण गर्न पैसा दिए पछि बिहानदेखि कस्सिएर आफ्नो घर आफैँ निर्माण गर्न जुटेका हौँ ।” दीपक र विमलाजस्तै बाच्छाका रामबहादुर माझी, डिलकुमारी माझी, डिलबहादुर माझी, सपना माझी, राजमान माझी र टीका माझीलगायतले घर निर्माणका लागि सहयोग पाएका हुन् । घर निर्माणमा सहयोग पाएका यी सबै परिवार जीर्ण टहरोमा बस्दै आएका थिए । “आफ्नो सम्पत्तिले पुरानो टहरो मर्मत गर्नसक्ने अवस्था पनि थिएन” रामबहादुरले भने– “अहिले बल्ल सरकार भएको अनुभूति भएको छ ।” उनले वर्षौंदेखि कष्टपूर्णरूपमा बस्दै आए पनि गुनासो राख्ने ठाउँसमेत नपाएको बताए । बाच्छाका समाजसेवी सेवकनाथ आचार्यले जनता आवास कार्यक्रमले वास्तविक पीडितलाई समेटेको बताए । “माझीको पीडा देखिरहेका थियौँ तर केही गर्नसक्ने अवस्था थिएन” उनले भने, “जनता आवास कार्यक्रममा आएको जानकारी पाएपछि माझी बस्तीमा ल्याउन पहल पहल गर्यौँ ।” घर निर्माणका लागि उनीहरुले जम्मा कर कटाएर २ लाख ३३ हजार रुपैयाँ पाउनेछन् । समन्वय समितिले घरको जग हाल्दा पहिलो किस्तादेखि निर्माण सम्पन्न गर्दासम्म जम्मा रकमलाई चार किस्तामा वितरण गर्ने व्यवस्था मिलाएको छ । पहिलो किस्ता ५२ हजार रुपैयाँ, दोस्रो किस्ता ६३ हजार रुपैयाँ तेस्रो किस्ता ७३ हजार रुपैयाँ र चौथो किस्तामा बाँकी सबै रकम प्रदान गर्ने व्यवस्था मिलाएको जिल्ला समन्वय समितिले जनाएको छ । चौथो किस्ता भने शौचालय निर्माणपछि मात्रै जिल्ला समन्वय समितिले उपलब्ध गराउनेछ । जिल्ला समन्वय समितिमार्फत पर्वतका आर्थिक रुपमा विपन्न र गरिब परिवारलाई १ सय वटा घर निर्माण गर्ने योजनाअनुरुप बाच्छाका १० घरपरिवार माझीले सहयोग पाएको जनता आवास कार्यक्रम पर्वतका संयोजक अर्जुनप्रसाद जोशीले बताए । पर्वतको बिहादी–२ बाच्छा, महाशिला–६ फलामखानी, फलेबास–६ देवीस्थान, फलेवास–१ कार्कीनेटा, कुश्मा–२ खुर्कोट, कुश्मा–१३ खौलालाकुरी, कुश्मा–१४ आर्थरडाडाखर्क र मोदी–१ भुकताङ्लेमा गरी विपन्नलाई १०० वटा घर निर्माणका लागि जनता आवास कार्यक्रम सञ्चालन गरिएकोे छ । रासस