द्वन्द्वग्रस्त मुलुकबाट फर्कन चाहने नेपालीलाई तत्काल फर्काउन निर्देशन
काठमाडौं, ८ असार । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले अफगानिस्तानमा गत असार ६ गते भएको आत्मघाती आक्रमणमा परेर मृत्यु भएका नेपाली मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरुको उपचार गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले नेपाली सवार बसमाथि भएको आक्रमणमा मृत्यु हुनेहरुलाई हार्दिक श्रद्धाजलि अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । उक्त आपराधिक आतकङ्कारी घटनाको भत्र्सना गर्दै बैठकले खेद प्रस्ताव पारित गरेको छ । बैठकले मृत्यु भएकाहरुको शव तत्काल नेपाल ल्याउन हवाईजहाज पठाएकामा सरकारलाई धन्यवाद ज्ञापन गर्दै उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको छ । अफगानिस्तानलगायत द्वन्द्वग्रस्त मुलुकबाट नेपाल फर्कन चाहने नेपालीलाई तत्काल फर्काउने व्यवस्था मिलाउन बैठकले सरकारलाई निर्देशन दिएको छ । श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जान नपाउने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न र श्रम स्वीकृति नलिइ अफगानिस्तानलगायतका मुलुकमा गैरकानुनीरुपमा कामदार पठाउने वा पठाउनमा संलग्न म्यानपावर कम्पनी, तस्कर, दलाल र कन्सल्टेन्सीलाई कडा कारबाही गर्न सरकार र श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले भारतलगायत अन्य देशका विमानस्थल प्रयोग गरी गैरकानुनी रुपमा तेस्रो मुलुक जाने नेपालीलाई सम्बन्धित देशका सरकारसँग प्रभावकारी कुटनीतिक पहल गरी रोक्न परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा बोल्ने सांसदहरुले द्वन्द्वग्रस्तमुलुक अफगानिस्तानमा रोजगारीका लागि खुला गर्ने सरकारी निर्णयकै कारण अहिलको दुःखद घटना भएको टिप्पणी गरे । उनीहरुले मृत्यु भएकाहरुलाई उचित क्षतिपूर्ति परिवारलाई रोजगारी तथा छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गरिनुपर्ने, द्वन्द्वग्रस्त मुलुकमा रोजगारीका लागि बन्द गरिनुपर्ने, त्यहाँ रहेका नेपालीहरुको उद्धार गर्नुपर्ने, अवैधानिक बाटोबाट पठाउने संस्था र व्यक्तिलाई कडा कारबाही गर्नुपर्ने, म्यानपावरको सङ्ख्या घटाउनुपर्नेलगायतका सुझाव दिएका थिए । बैठकमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले घटनामा १२ नेपालीको मत्यु सात घाइते भएको तथा तीमध्ये एक नेपालीको अवस्था चिन्ताजनक रहेको जानकारी दिए । श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले आर्थिक वर्ष २०६२/६३ मा अफगानिस्तानको निश्चित क्षेत्रमा रोजगारीका लागि खुला गरिएयता पनि हालसम्म वैधानिक ढङ्गबाट आठ हजार ६१४ जना नेपाली रोजगारीका लागि वैधानिक ढङ्गबाट अफगानिस्तान गएको जानकारी दिए । रासस
काबुलबाट १२ जना नेपालीको शव काठमाडौंं ल्याइयो
काठमाडौं, ८ असार । अफगानिस्तानको राजधानी काबुलमा गत सोमबार भएको आतङ्ककारी आक्रमणमा परी निधन भएका १२ जना नेपालीको शव काठमाडौं ल्याइएको छ । दिउँसो २ बजेर ४० मिनेटमा नेपाल वायु सेवा निगमको विमानबाट अन्य २४ नेपाली कामदार पनि आजै ल्याइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र गृहमन्त्री शक्तिबहादुर बस्नेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । अहिले विमानस्थलमा मृतकका परिवार र आफन्तजनको घुइँचो लागेको छ । शवमा फूलमाला अर्पण गरेपछि आफन्तलाई शव बुझाइने गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले बताए । उनका अनुसार सरकारले मृतककै जिल्लामा शव पठाउने प्रबन्ध मिलाएको छ । सो आक्रमणमा परी घाइते भएका पाँच जनालाई उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ भने दुई जनाको उपचार काबुलमै भइरहेको छ । रासस
आधुनिक कृषि प्रविधितर्फ किसान तानिए
बैतडी, ८ असार । बैतडीका किसान आधुनिक कृषि प्रविधितर्फ आकर्षित भएका छन् । वासुलिङ्ग–२ मा रहेको प्रगतिशील कृषक समूहका किसान आधुनिक कृषि प्रविधितर्फ आकर्षित भएका हुन् । बैतडीमा सञ्चालनमा रहेको किसान परियोजनाको सहयोगमा उनीहरु आधुनिक कृषि प्रविधितर्फ आकर्षित भएका हुन् । किसान परियोजनाको सहयोगमा तरकारी खेती, मकै खेती तथा मुसुरो खेतीमा नयाँ प्रविधि सुरुवात गरिएको प्रगतिशील कृषक समूहका अध्यक्ष मोहन बिष्टले बताए। उनले भने, “अहिले मकै खेतीमा पनि नयाँ प्रविधि अपनाएका छौँ ।” हाल तरकारी खेतीमा प्लास्टिक मल्चिङ प्रविधि, थोपा सिँचाइ प्रविधिका माध्यमबाट तरकारी खेती सुरु गरिएको समूहका सदस्य प्रेमबहादुर बिष्टले भने, “नयाँ प्रविधिबाट आफूहरुलाई धेरै फाइदा भएको छ ।” परम्परागत खेतीभन्दा आधुनिक प्रविधिका माध्यमबाट खेती गर्दा फाइदा हुने गरेको समेत उनले बताए । आधुनिक प्रविधिबाट खेती गरेमा उत्पादनमा वृद्धि हुने कृषि प्राविधिकहरुले बताएका छन् । समूहमार्फत गहुँत सङ्कलन गर्दै वासुलिङ्ग–२ का किसान समूहमार्फत गहुँत सङ्कलन गर्न थालेका छन् । गहुँत सङ्कलनको माध्यमबाट गोठ सुधार गर्ने र मलका रुपमा प्रयोग गर्नका लागि गहुँत सङ्कलन गर्न थालेको प्रगतिशील कृषक समूहका अध्यक्ष मोहनबहादुर बिष्टले बताए। “सङ्कलन गरिएको गहुँत जैविक विषादी र मलका रुपमा प्रयोग गर्न सकिने भएकाले सङ्कलन गरिरहेका छौँ”, उनले भने, “सङ्कलन गरेको गहुँतले विभिन्न बालीमा लाग्ने रोगकीरा नियन्त्रणका साथसाथै मलभको समेत काम गर्ने गरेको छ ।” कृषक समूहका १० जनाले गहुँत सङ्कलन गरेर प्रयोग गर्न थालेको बताइएको छ । आफूहरुले सङ्कलन गरेको गहुँतलाई आवश्यकताअनुसार तरकारी बालीमा मल र विषादीका रुपमा प्रयोग गर्ने गरेको किसान प्रेमबहादुर बिष्टले बताए । उनले भने, “यसका साथै गोठमा वस्तुभाउलाई लाग्ने रोगमा समेत कमी आएको छ ।” गहुँत सङ्कलनका माध्यमबाट गोठको सुधार हुनुका साथै बालीनालीमा प्रयोग गरेमा बाली सप्रिने कृषि प्राविधिकले बताएका छन् । जिल्ला कृषि विकास कार्यालयले समेत वासुलिङ्ग गाविसमा भकारो सुधार कार्यक्रमका माध्यमबाट किसानलाई गहुँत सङ्कलन गर्ने सीप सिकाएको बताइएको छ । रासस