एकलाख घुससहित महोत्तरीका अमिन पक्राउ
महोत्तरी, ७ मङ्सिर । महोत्तरी जिल्लाको नापी कार्यालय, जलेश्वरमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबासले एक लाख रुपैयाँ घुससहित एक अमिनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका घर भई विगत चारवर्षदेखि नापी कार्यालय जलेश्वरमा काम गर्दै आएका अमिन सन्तोषकुमार महासेठ रहेको अख्तियार कार्यालय, बर्दिवासले जनाएको छ । सोमबार सेवाग्राहीसँग लिएको घुस रकम कार्यालयपछि लिएर जान लाग्दा अमिन महासेठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासका निमित्त प्रमुख नायब प्रहरी उपरीक्षक राजकुमार लम्सालको टोलीले उनलाई पैसासहित रङ्गेहात पक्राउ गरेका हुन् । अमिन महासेठले सेवाग्राहीसँग अंशबन्डा गराइदिने भन्दै सोबापत घुस मागेकोमा सेवाग्राहीले अदुअआको कार्यालय बर्दिवासमा अमिन महासेठविरुद्ध लिखित उजुरी दिएको थियो भने सोही आधारमा आयोगको टोलीले सोमबार बिहानैदेखि उनको रेकी गर्दै बसेको र निज अमिनले पैसा लिनासाथ उनलाई पक्राउ गरेको थियो । घुस रकमसहित पक्राउ परेका अमिन महासेठलाई आवश्यक अनुसन्धानका लागि बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा लगिएको छ भने उनी विरुद्ध आवश्यक अनुसन्धान सुरु भइसकेको नायब प्रहरी उपरीक्षक लम्सालले बताए । रासस
सांसदलाई दिने ३ करोडमा पूर्वसभामुख नेम्वाङका २४ योजना
इलाम, ६ मङ्सिर । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत इलाम क्षेत्र नं २ का सांसद तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले जिल्ला विकास समितिमा आफ्नो निर्वाचन क्षेत्रमा २४ वटा योजना पेस गरेका छन् । आव ०७३÷०७४ का लागि सरकारको बजेट वक्तव्यमा व्यवस्था गरे अनुसार प्रत्येक निर्वाचन क्षेत्रका निर्वाचन सांसदका लागि तीन करोड रुपैयाँका दरले सरकारले दिने व्यवस्था भए बमोजिम निर्वाचित सांसद नेम्वाङले बजेट कार्यान्वयनका निम्ति २४ वटा योजना पेस गरेका हुन् । उनले जिल्लाको पश्चिमी क्षेत्रका आमचोक, फुएतप्पा, लुम्दे, गजुरमुखी इभाङको ग्रामीण विद्युतीकरणका लागि रु ५० लाख विनियोजन गरेका छन् । बाँझो–२, चुलाचुली–८ र साकफाराको तोरीबारीको विद्युतीकरणमा १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यसबाहेक उनको रोजाइमा परेको धेरै सडकमा १० लाख विनियोजन भएका छन् । केही सडक मर्मतमा १५ लाख छुट्याइएको छ । जीतपुर–आमबोटे–देनपा जोड्ने सडकका लागि १० लाख रुपैयाँ प्रहरी चौकीको भान्साघर निर्माणका लागि १४ लाख रुपैयाँ, एकतप्पा–९ रुपटारमा निर्माणाधीन किराँत हाङसाम माङहिम (मन्दिर) निर्माणका लागि १० लाख, मङ्गलबारे बहुमुखी क्याम्पसको भौतिक निर्माणका लागि ११ लाख रुपैयाँ बजेट विनियोजन गरेका हुन् । योजना छनोट गर्दा अधिकांश सांसदको रोजाइमा सडकनै पर्ने गरेको छ । रासस
भूकम्पबाट प्रभावित १४ जिल्लामा ८०० खानेपानीका योजना निर्माण सुरु
हेटौँडा, २ मङ्सिर । मकवानपुरमा भूकम्पबाट भत्किएका खानेपानी र सरसफाइको क्षेत्रमा काम सुरु गरिएको छ । भूकम्पका कारण पूर्ण र आंशिक रुपमा क्षति पुगेका १४ जिल्लामा ८०० वटा खानेपानी योजना निर्माणअन्तर्गत मकवानपुरमा पनि काम सुरु भएको हो । सरकारी स्वामित्वमा रहेको ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फन्टबोर्डले भूकम्पबाट प्रभावित जिल्लालाई लक्षित गरेर खानेपानी र सरसफाइको क्षेत्रमा क्षति पुगेका सबै संरचना निर्माणको काम सुरु गरेको हो । पहिलो चरणमा समितिले ४६८ वटा खानेपानी योजना सुरु गरिसकिएको र केही समयपछि अरु बाँकी योजनाको काम सुरु गर्ने ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फन्टबोर्डका कार्यकारी निर्देशक भूपेन्द्र अर्यालले जानकारी दिए । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फन्टबोर्डको आयोजनामा मध्यमाञ्चल र पूर्वाञ्चलका विभिन्न जिल्लाका इन्जिनियरलाई हेटाँैडामा पाँच दिनसम्म खटाइएको छ । खानेपानीका योजनासँगै समितिले सबै घरमा शौचालय, खानेपानीका धारा, सार्वजनिक निकाय गाविस, नगरपालिका, स्वास्थ्य संस्था, विद्यालय, सामुदायिक भवन सबैमा खानेपानी र सरसफाइको क्षेत्रमा पूर्ण रुपमा काम गर्न सुरु गरिसकिएको कार्यकारी निर्देशक अर्यालले बताए । भूकम्पबाट प्रभावित १४ जिल्लाका प्रत्येक घरमा शौचालय निर्माण, प्रत्येक घरमा धारा निर्माण गर्ने गरी काम सुरु गरिएको हो । यसैगरी देशका ७४ वटा जिल्लामा समितिले एक घर एक धारा, एक घर एक चर्पी भन्ने अवधारणाका साथ काम सुरु गरिएको फन्डबोडका मानव संशाधन महाशाखाका प्रमुख टीका अधिकारीले जानकारी दिए । पहिले गाउँका एकवटा टोलमा एउटा धारा निर्माण गरेर केही चर्पी निर्माण गरिए पनि अबको समयमा प्रत्येक घरमा धारा जडान गर्ने नीतिका साथ काम सुरु गरिएको बताउँदै उनले भने “हामी अब टोलमा हैन सबै नागरिकलाई खानेपानी र सरसफाइको क्षेत्रमा सुविधा दिने गरी प्रत्येक घरघरमा यो सुविधा दिन लागेका छौ ।” हेटौँडामा प्राविधिकलाई तालिम दिएर यो काम सुरु गर्न लागिएको उनले बताए । यसको मुख्य अभियान भनेको खानेपानी र सरसफाइको क्षेत्रमा सबै जिल्लामा प्रभावकारी रुपमा काम गर्ने नै हो ।” समितिले सिधै आफैँ गएर गाउँमा खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्नुभन्दा पनि रकम स्थानीय उपभोक्ता समितिको खातामा हाली दिने र समितिमार्फत गैरसरकारी संस्थाबाट प्राविधिक सहयोगको काम मात्र गर्दै आएको छ । सिधै स्थानीय उपभोक्ता समितिको खातामा रकम जाँदा उनीहरुलाई काम गर्नका लागि पनि सजिलो हुने र प्राविधिक रुपमा कसरी काम गर्ने भनेर सहयोग पु¥याउँदा सजिलो हुने भएकाले यसरी नै काम गरिएको उनले बताए । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फन्टबोर्डले यो दुई वर्षको अवधिमा आफ्नो कार्य क्षेत्रका ४०० वटा गाविसलाई खुला दिसामुक्त तथा पूर्ण सरसफाइयुक्त गाविस तयार गर्ने गरी काम अगाडि बढाइएको छ । जहाँ खानेपानीको काम सुरु भएका छन् त्यहाँ सरसफाइका लागि पनि बोर्डले काम गरेको छ । सन् २०२० सम्मको पाँच वर्षको अवधिमा खानेपानीमा १५ लाख र सरसफाइमा १० लाख जनतालाई लाभान्वित हुनेगरी काम गर्ने तयारी भएको छ । मकवानपुरमा हालसम्ममा यसअघि ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फन्टबोर्डले ११९ वटा खानेपानीका योजना सकिसकेको छ । जिल्लाको सबै गाविसमा सञ्चालन भएका योजनाबाट एक लाख एक हजार १५० जना नागरिक प्रत्यक्ष रुपमा लाभान्वित भएको बोर्डको काममा प्राविधिक रुपमा सहयोग गरेको सल्भ नेपालका कार्यक्रम संयोजक सरोज पोख्रेलले बताए । खानेपानीको ठूलो समस्या भोगिरहेका अति प्रभावित गाउँलाई लक्षित गरेर खानेपानीका योजना सञ्चालन गरिएको थियो । यो योजना सञ्चालन भएपछि मर्मत सम्भार गर्ने निर्माण गर्ने काममा स्थानीय उपभोक्ता नै अग्रसर भएर काम गरेका थिए । रासस