२५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलियो
काठमाडौं । प्राचीनस्वरूपमा पुनःरुत्थान गर्ने योजनाअनुरूप काठमाडौं महानगरपालिकाले २५ वर्षदेखि थुनिएको सुन्धाराको निकास खोलेको छ । पाशुपत क्षेत्र जयवागीश्वरी मन्दिरसँगै रहेको सुन्धाराको बन्द पानीको निकास खोलिएको हो । यही पुस ६ गते र ९ गते रातभरको प्रयास गरेपछि १० गते बिहान पाइप राखेर निकास खोलिएको वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिए । उक्त यो ढुङ्गेधारा लिच्छवीकालीन हो । महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजकसमेत रहेका सङ्गत भन्छन्, ‘प्राचीन यो संरचनाबाट पानीको निकासका लागि बनाइएको ढलमा मानिस पसेर सफाइ गर्नसक्ने थियो । सहरीकरणसँगै खानेपानी वितरण लाइन जडान गर्दा मौलिक र परम्परागत बृहत् ढल संरचना नासेर पाइप राखेपछि करिब २५ वर्षअघि धाराबाट पानीको निकास बन्द भएको थियो ।’ निकास खोल्ने प्रयासका बारेमा कुरा गर्दै उनले भने, ‘विगत १० वर्षअघि पनि प्रयास गरिएको थियो । तर, त्यसबेला सम्भव भएन । यसपटक करिब ६० मिटर लम्बाइ र नौदेखि १२ फिटसम्मको गहिराइ पहिल्याएर नियमित काम गरेपछि निकास खोल्न सकियो ।’ पानीको निकास भएपछिको योजनाका विषयमा कुरा गर्दै सङ्गत भन्छन्, ‘यो केवल पानीको धारो मात्र होइन । नेवार सभ्यताको पहिचान पनि हो । जल व्यवस्थापन प्रणाली र मौलिक प्राचीन इन्जिनियरिङिको जीवन्त दशी हो । हामी यसलाई पुनस्थापित गराउँछौँ ।’ उनका अनुसार सुन्धारा वास्तुकलात्मक छ । ढुुङ्गाहरूमा कलात्मक वुट्टा छन् । ठाउँठाउँमा देवी देवताका मूर्ति राखिएका छन् । जयबागेश्वरी मन्दिरका पुजारी रमेश कर्माचार्य भन्छन्, ‘यस धारामा गणेश र भैरवलाई द्वारपाल राखेर जयवागीश्वरी माताले नुहाउने गरेको विश्वाश गरिन्छ । अहिले माताको चरण पखाल्न तथा यस क्षेत्रमा हुने धार्मिक अनुष्ठानका लागि यही धाराको शुद्ध जल प्रयोग गर्ने चलन छ ।’ जयवागीश्वरी माताको मन्दिर र सुन्धाराको स्थापनाका विषयमा स्थानीय मुकुन्दराज वैद्य भन्छन्, ‘लिच्छवीकालीन राजा नरेन्द्र देवले आफ्ना जनतामाथि कुनै समस्या नहोस् । सबै टाठाबाठा हुन् भनेर माताको आह्वान गर्नुभएको थियो । उहाँको आह्वानपछि शिवजीको आशीर्वाद प्राप्त गरेर मानसरोवरबाट जयवागीश्वरी आउनुभएको हो । शिला नदी तरेर आएपछि माताको इच्छाअनुसार उहाँले स्नान गर्ने पानी शिलानदीबाट ल्याइएको हो । माताको दर्शन गर्दा मुहारको होइन । पाउको दर्शन गर्ने चलन छ ।’
काठमाडौं महानगरको आम्दानी ४ अर्ब २१ करोड , खर्च ४ अर्ब ६४ करोड
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को पुस ९ गतेसम्ममा कुल ४ अर्ब २१ करोड १३ लाख ६७ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । जुन कुल आम्दानी लक्ष्यको २७.८६ प्रतिशत हो । महानगरले चालु आवको लागि राजश्व आम्दानीतर्फ १५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ राजश्व लक्ष निर्धारण गरिएको थियो । जसमा आन्तरिकतर्फ १० अर्ब १२ करोड ६४ लाख रुपैयाँ रहेको छ भने नेपाल सरकार र प्रदेश सरकारबाट सशर्त, समानीकरण र राजश्व बाँडफाँटबाट प्राप्त हुने लक्ष्य ४ अर्ब ४ करोड ३४ लाख रुपैया अनुमान गरेको थियो । पुस ९ गतेसम्म महानगरले आन्तरिक आयतर्फ कुल २ अर्ब ६७ कराृेड ७३ लाख ८८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ भने राजश्व बाँडफाँटबाट ७७ करोड ९९ लाख ८० हजार रपैयाँ संकलन गरेको छ । महानगरको आन्तरिकतर्फ कुल लक्ष्यको २६.४४ प्रतिशत प्रगति भएको देखिन्छ । त्यस्तै, महानगरले राजश्व बाडफाँटबाट ७७ करोड ९९ लाख ८० हजार रुपैयाँ र संघ र प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान ७५ करोड ३९ लाख ९८ हजार रुपैयाँ संकलन गरेको छ । ४ अर्ब ६४ करोड खर्च महानगरले चालु आवको पुस ९ गतेसम्ममा ४ अर्ब ६४ करोड ३४ लाख ७१ हजार रुपैयाँ खर्च गरेको छ । जुन कुल विनियोजनको १८.४८ प्रतिशत हो । समग्रलाई खर्च प्रतिशतमा हेर्ने हो भने चालू खर्च २८.४४ प्रतिशत र पूँजीगत खर्च १२.३९ प्रतिशत भएको छ । महानगरले चालु आवको लागि २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सञ्चितकोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेगरी कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँ बजेट छुट्याएको थियो । त्यस्तै, पुस ९ गतेसम्ममा महानगरले कार्यालय सञ्चालन तथा प्रशासन क्षेत्रमा सबैभन्दा बढी ४५.९९ प्रतिशत खर्च भएको छ । पूर्वाधार विकासमा १४.०१ प्रतिशत, आर्थिक विकासमा १५.१५ प्रतिशत, सामाजिक विकासमा १६.२२ प्रतिशत खर्च भएको छ । त्यस्तै, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२.०६ प्रतिशत खर्च भएको छ। विभागअनुसार विनियोजित बजेटमा खर्चको विश्लेषण गर्दा प्रशासन विभागले कुल विनियोजित बजेटको ४६.५९ प्रतिशत खर्च गरेको छ । जसमा चालुतर्फ ४९.१८ प्रतिशत र पुँजीगततर्फ १०.२३ प्रतिशत विनियोजित बजेटमा खर्च भएको महानगरले जनाएको छ । त्यसैगरी, आन्तरिक लेखा परीक्षण एकाईको खर्च प्रतिशत ३८.७२ प्रतिशत, हनुमान ढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको २७.७३ प्रतिशत र अन्तर्राष्ट्रियसम्बद्ध सचिवालयको २४.७९ प्रतिशत खर्च भएको छ । काठमाडौं महानगरको वडा कार्यालयहरूमा निकासा हुने रकमका आधारमा खर्चलाई विश्लेषण गर्दा पुस ९ गतेसम्ममा कुल निकासा भएको रकममध्ये काठमाडौं महानगरपालिका वडा नं. ७ ले सबैभन्दा बढी खर्च गरेको देखिन्छ । सो वडाले चालू खर्च शीर्षकमा २४.९२ प्रतिशत र पुँजीगत खर्चमा ३२.३३ प्रतिशत खर्च गरी समग्र कुल ३१.५३ प्रतिशत खर्च गरेको छ । त्यसैगरी, वडा नं. १६ ले कुल समग्र खर्च २६.१४ प्रतिशत खर्च गरेको छ भने वडा नं. २३ ले २३.३१ प्रतिशत खर्च गरेको देखिएको छ । वडा नं. १४ र वडा नं. १९ ले कमश: २१.९२ प्रतिशत र १९.६५ प्रतिशत खर्च गरेको छ ।
भेडापालक किसानका लागि निसीखोलामा १ करोड १२ लाख बजेट विनियोजन
ढोरपाटन । बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ । परम्परागत रुपमा भेडापालन गर्दै आएका किसानलाई गाउँपालिकाले आधुनिक खोर व्यवस्थापनसहित अनुदान उपलब्ध गराउन थालेको हो । उच्च पहाडी क्षेत्रमा पालन गर्दै आएका भेडाको बजारीकरण र औषधि उपचारका लागि पनि पालिकाले सहयोग गर्न लागेको छ । गाउँपालिकाको वडा नम्बर ५ र ६ का सयौँ किसान भेडापालनमा आबद्ध छन् । हिउँदमा बेँसी र बर्खामा लेकमा बस्ने किसानले अव्यवस्थित रुपमा भेडापालन गर्दै आएको हुँदा व्यवस्थित गराउन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगरले बताए । यस वर्ष गाउँपालिकाले भेडाका लागि खोप, खानेपानी व्यवस्थापन औषधिसहित सोलार बत्ती र गोठ निर्माणका सामग्री उपलब्ध गराउने उनको भनाइ छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले एक करोड १२ लाख बजेट विनियोजन गरेर भेडापालक किसानका लागि काम गर्न थालेको प्रमुख प्रशासकीय अधिकृत पुन मगरले बताए । पालिकाले परम्परागतसँगै नयाँ प्रविधिसँग किसानलाई जोड्ने गरी काम गर्न थालेको उनको भनाइ छ । पालिकाले किसानलाई अनुदानका लागि प्रस्ताव आह्वान गरिसकेको पुन मगरले बताए । 'निसीखोलामा धेरै किसान भेडापालनमा आबद्ध हुनुहुन्छ, उहाँहरु वर्षभरि धेरै ठाउँमा पुगेर भेडा पाल्नुहुन्छ, उहाँहरुका अनगिन्ती समस्या छन्, ती समस्याहरुलाई पालिकाले सम्बोधन गर्नुपर्छ भनेर यसपालि भेडासहित किसानको औषधि उपाचार, खोर निर्माण लगायतका काम गर्दैछौँ', उनले भने, 'घुम्ती चरनका लागि किसानहरु धेरै ठाउँमा पुग्दा गोठ सार्दा समस्या हुने गरेको छ र खानेपानीको पनि अभाव हुने हुँदा त्यसको व्यवस्थापन गर्ने योजना छ, बजारीकरणका लागि पनि गाउँपालिकाले पहलकदमी चाल्ने छ ।' किसानले समूह र व्यक्तिगत फर्मबाट प्रस्ताव पेस गर्न सक्ने छन् । निसीखोला गाउँपालिका–६ का भेडापालक किसान थमबहादुर घर्ती मगरले पालिकाबाट खोप र औषधि पाए भेडालाई रोगबाट बचाउन सकिने बताए । हरेक वर्ष विभिन्न रोगबाट भेडा मर्दा लाखौँको क्षति बेहोर्दै आएको उनको भनाइ छ । अहिलेसम्म पालिकाबाट कुनै पनि सेवा नपाएको घर्ती मगरको गुनासो छ । उनले भने, 'गाउँपालिकाले गोठ बनाइदिन्छ, औषधि र खोप पनि दिन्छ भन्ने सुनेको छु, यसपालि त हामीहरुले पनि पाउँछौँ कि, बर्खाको चार/पाँच महिना लेकमा बस्दा धेरै समस्या हुने गरेको छ, अँध्यारोमा बस्नुपर्छ, गोठ पनि गतिलो हुँदैन, त्यसका लागि राम्रो त्रिपाल, सोलार बत्ती दिए धेरै सहज हुन्थ्यो, दिन्छन् भन्ने आश त लागेको छ ।' अर्का किसान नरेन्द्र बुढा मगरले पालिकाले लेकको विभिन्न स्थानमा व्यवस्थित घुम्ती गोठ बनाइदिए सहज हुने बताए । बर्खामा रोल्पा, रुकुम र बागलुङको सीमा क्षेत्रमा बस्दा निकै जाडो हुने भन्दै चिसोका कारण भेडाहरु मर्ने गरेको उनको भनाइ छ । रासस