अपरमादी जलविद्युत् आयोजनाले मङ्सिरदेखि विद्युत् उत्पादन गर्ने
पोखरा, २ भदौ । कास्कीको सिल्दुजुरे गाविस–९ बाहुनडाँडामा निर्माणाधीन अपरमादी जलविद्युत् आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भएको छ । मादी खोलाबाट निकालिने २५ मेगावाट क्षमताको सो आयोजनाले आगामी मङ्सिरदेखि नियमित रुपमा विद्युत् उत्पादन गर्ने आयोजनाको संयोजक राजकुमार बरालले जानकारी दिए। आयोजनाको चार हजार २०० मिटर सुरुङ खन्ने काम सकिएको छ । सुरुङभित्रको भागमा कङ्क्रिट लाइनिङ गर्ने काम ७० प्रतिशत सकिएको छ । विद्युत् लाइनलाई सव स्टेसनसम्म जोड्न ३२ वटा विद्युत् टावर निर्माण र त्यसमा तार तान्ने काम सम्पन्न भएको छ । पाँच अर्ब २८ करोड रुपैयाँ स्वदेशी तथा वैदेशिक सहयोग जुटाइ निर्माण सुरु गरिएको सो आयोजना निर्माण अवधिमा नाकाबन्दी, मधेस आन्दोलन, भूकम्प र सुरुङ खन्ने क्रममा पहिरो गएकाले लागत बढेर रु आठ अर्ब पुगेको बरालको भनाइ छ । कुल लागतमध्ये आयोजनाका कार्यकारी अध्यक्ष विजय मल्लको २० प्रतिशत र चाइना ‘थ्री’ गर्जेज कर्पोरेसनको ८० प्रतिशत लगानीमा विसं २०६९ पुस महिनाबाट सो आयोजना निर्माण सुरु गरिएको हो । तीस महिनामा सक्ने लक्ष राखिए पनि ४८ महिनासम्ममा समेत निर्माण कार्य सम्पन्न हुन सकेको छैन । रासस
स्वच्छन्द विकोइ विल्डर्सले काठमाडौं टावरको निर्माण सुरु गर्यो
काठमाडौं ३२ साउन। पुरानो बसपार्कमा निर्माण हुन लागेको काठमाडौं टावर निर्माणको काम अघि बढेको छ। भारतबाट निर्माण सामग्री नआएको बताउदै आएको स्वच्छन्द विकोइ विल्डर्सले आइतबार महानगरपालिकाको कार्य आदेश पाएपछि काम सुरु गरेको हो। यस अघि सामान आइनपुगेको भन्दै निर्माण नै सुरु गरिएको थिएन । कम्पनीका अनुसार साउन २२ गते भारतबाट निर्माण सामग्री आइपुगेको हो। सामान आइपुगेको जानकारी पाएपछि ३० गते महानगरले कम्पनीलाई काम अघि बढाउन आदेश दिएको महानगरपालिकाका सूचना अधिकारी महेश काफ्लेले जानकारी दिए। तीन महिना अघि महानगरपालिका र स्वच्छन्द विकोइ बीच बहुउद्देश्यीय भवन निर्माण गर्ने सम्झौता भएको थियो। अहिले कम्पनीले उक्त क्षेत्र आसपासका पूराना संरचनाहरु भत्काउने काम गरिरहेको कम्पनीका प्रमुख मनोज भेटुवाललाई जानकारी दिए। सम्झौताअनुसार कम्पनीले आफ्नै लगानीमा टावर बनाएर ३० वर्षसम्म चलाउने छ। २९ तल्ला बनाउने भनिएको सो टावर भूकम्पपछि १२ तल्ला बनाउने नक्सा स्वीकृत भएको थियो। काम सुरु भएको पाँच वर्षभित्र टावर बनाइसक्नु पर्नेछ । २३ रोपनी पाँच आना जग्गा रहेको उक्त क्षेत्रमा ४० प्रतिशत क्षेत्रफल टावरले ओगट्ने भेटवालले जानकारी दिए। भवनको सबैभन्दा तल्लो तलामा बस पार्किङ स्थल रहनेछ । त्यस्तै त्यसको माथि दोस्रो तल्लामा हलुका गाडीको पार्किङ, व्यवस्थित चलचित्र कक्ष, पौडी पोखरी, खाजाघर, बैंक तथा वडा कार्यालय समेत रहनेछ। टावर निर्माणको लागत तीन अर्ब ५० करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ। ६ महिनापछि बसपार्कको पुन: स्थानान्तरण असम्भव तीन महिना अगाडी महानगरले टावर निर्माणका लागि भनेर पूरानो बसपार्क टुडिखेलमा सारेको थियो। महानगरले ६ महिनापछि हाल पुरानो बसपार्क रहेको ठाउँमा दुई तल्लेसम्मको अण्डरग्राउण्ड बसपार्कसहितको टावर निर्माण हुने पुरानो बसपार्कलाई पहिले कै स्थानमा सार्ने बताएको थियो।
साढे तीन लाख घरधनीसँग अनुदान सम्झौता, पुनःनिर्माणमा पहिलो किस्ता उपलब्ध गराउन विशेष अभियान
काठमाडौं, ३१ साउन । सोमबारसम्म तीन लाख ३९ हजार ४६२ घरधनीसँग अनुदान सम्झौता सम्पन्न भएको प्राधिकरणले जनाएको छ । यस्तै ४९ हजार ७४९ घरधनीको बैंक खातामा पहिलो किस्ताको ५० हजार रुपैयाँ पुगेको छ । नयाँ आव सुरु भएपछि यही साउन २८ गतेदेखि अनुदान सहयोग रकम निकासा गरिएको थियो । भूकम्प अति प्रभावित काठमाडौँ उपत्यका बाहिरका सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभे्रपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट र रसुवा जिल्लामा अनुदान सम्झौताको काम अगाडि बढेको छ । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा भदौ मध्यसम्म सर्वेक्षण सम्पन्न हुने जनाइएको छ । गाविसमा अनुदान सम्झौता भएपछि त्यसको विवरण जिविसमा पुग्नेछ । कोष तथा लेखा नियन्त्रकको कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी बैंक खातामा रकम जम्मा गर्ने व्यवस्था छ । प्राधिकरण, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र त्यस अन्तर्गतका निकाय एवम् महालेखा नियन्त्रकको कार्यालय अन्तर्गतका निकाय भूकम्पपीडित जनताको बैंक खातामा रकम उपलब्ध गराउने काममा लागेका छन् । अनुदान सम्झौता र अनुदान वितरणको कार्य स्थानीय विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाई र महालेखा नियन्त्रकको कार्यालयसँगको सहकार्यमा हुन्छ । घर बनाउनका लागि प्राविधिक सहयोग सहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ र सो अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत उपलब्ध हुने व्यवस्था मिलाइएको छ । यसका लागि गाविस तथा नगरपालिकामा इन्जिनियर परिचालन भएका छन् । पुनःनिर्माणमा पहिलो किस्ता उपलब्ध गराउन विशेष अभियान भूकम्प गएको १६ महिनापछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पीडितलाई पुःनिर्माण रकम उपलब्ध गराउन एकमहिने विशेष अभियान सुरु गरेको छ । सरकारले डेढ महिनामा भूकम्प प्रभावित जिल्लाका जनतालाई अनुदान रकम उपलब्ध गराउने घोषणा गरेपछि प्राधिकरणले विशेष अभियान सुरु गरेको आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए । “सरकारको घोषणा र प्राधिकरणको कार्ययोजनालाई पूरा गर्न हामीले आजदेखि एक महिनासम्म विशेष अभियान सुरु गरेका छौंँ, यो अभियान अन्तर्गत सम्झौता सम्पन्न भएका घरधनीका लागि अनुदानको पहिलो किस्ता रकम बैंँक खातामा पु¥याउने, अनुदान सम्झौताको काम सम्पन्न गर्ने र अहिलेसम्म दर्ता भएका गुनासोको सुनुवाइ गरिनेछ”–उनले भने । विशेष अभियान सफल पार्न प्राधिकरणले आवश्यकता अनुसार साँझ, बिहान र सार्वजनिक बिदाका दिनमा पनि काम गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । अभियानका क्रममा प्राधिकरणको उपक्षेत्रीय कार्यालयमा रहेको जनशक्तिलाई सहयोग गर्न जिल्लामै बसेर काम गर्ने गरी ११ वटै जिल्लामा प्राधिकरणको केन्द्रीय कार्यालयबाट आवश्यकतानुसार थप कर्मचारी खटाइने भएको छ । प्रभावित जिल्लामा भएका काम र गतिविधिको अनुगमन गर्न कार्यकारी समितिका सदस्य, सम्बन्धित उपक्षेत्रीय कार्यालयका प्रमुख एवम् अन्य कर्मचारी सहितको घुम्ती टोली बनाएर जिल्ला जिल्लामा पठाइने ज्ञवालीले बताए । भूकम्प अतिप्रभावित जिल्लामा हुने काम र गतिविधिलाई समन्वय, सहजीकरण र अनुगमन गर्नका लागि प्रमुख कार्यकारी अधिकृतको नेतृत्वमा सम्बद्ध मन्त्रालयका सचिव एवम् केन्द्रीय आयोजना कार्यान्वयन एकाइ प्रमुखहरु सहितको केन्द्रीय अनुगमन समिति समेत गठन गरिएको छ । विशेष अभियान सञ्चालनमा समस्या देखा परेमा उपक्षेत्रीय कार्यालय र जिल्लास्थित सम्बन्धित कार्यालयले केन्द्रमा गठित अनुगमन समितिलाई जानकारी गराउनुपर्नेछ । समस्यालाई केन्द्रबाट तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । रासस