आइपीओ ल्याउने तयारीमा रहेको नर्भिकले घोषणा गर्यो ४० प्रतिशत लाभांश
काठमाडौं । साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ)को तयारीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटलले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ । नर्भिक अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो । घोषित कुल लाभांशमध्ये २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत) रहेको छ । हाल नर्भिक अस्पतालको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । यो हिसाबले अस्पतालले ४ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने कर प्रयोजनका लागि आवश्यकसहित ४ करोड ५० लाख रुपैयाँ बराबरकै नगद लाभांश समेत बाँड्नेछ । घोषित लाभांश वितरणपछि नर्भिक अस्पतालको चुक्तापूँजी २७ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको आगामी वार्षिक साधारणसभाबाट लाभांश वितरण सम्बन्धी प्रस्ताव अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ । गत वर्ष नर्भिकले ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । नर्भिक इन्टरनेशनल हस्पिटल २ वर्षअघि पब्लिक लिमिटेडमा रुपान्तरण भइसकेको छ । आइपीओ निश्कासनको योजनासहित पब्लिक लिमिटेडमा रुपान्तरण हुने नर्भिक अस्पताल निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो अस्पताल पनि हो ।
‘सिटामोल र जीवनजलका लागि पाँच घण्टा धाउनुपर्दैन’
गोरखा । विकट उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याकमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । गाउँपालिकाले स्वास्थ्यकर्मी र औषधिको व्यवस्थापन गरेर विकट न्याकमा स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । स्वास्थ्य एकाइ नहुँदा स्थानीय बासिन्दा सिटामोल र जीवनजलका लागि समेत झण्डै पाँच घण्टाको बाटो धाउनुपर्ने बाध्यता रहँदै आएको थियो । एकाइ स्थापना भएसँगै न्याकवासीको आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुगेको गाउँपालिकाका अध्यक्ष लामाको भनाइ छ । ‘न्याकवासीलाई आधारभूत स्वास्थ्योपचारका कठिनाइ थियो’, उनले भने, ‘गाउँपालिकाले पालिकावासीमा आधारभूत स्वास्थ्योपचारको सहज पहुँच पुर्याउने लक्ष्यअनुसार एकाइ स्थापना गरिएको हो ।’ न्याकमा ४० घरपरिवारको बसोबास रहेको जनाइएको छ । ‘त्यहाँका बासिन्दा सामान्य स्वास्थ्योपचारका लागि समेत गाउँपालिकाको केन्द्र रहेको फिलिमसम्म आउनुपर्ने बाध्यता थियो’, उनले भने, ‘गाउँपालिकाले आवश्यक स्वास्थ्यकर्मीसमेतको व्यवस्था गरी न्याकमै औषधिसहित एकाइ स्थापना गरेपछि अब घरआँगनमा उपचार सेवा पाउने भएका छन् ।’ अध्यक्ष लामाले न्याकमा स्वास्थ्य एकाइ स्थापना हुनु स्थानीय बासिन्दाका लागि मात्र नभएर समग्र गाउँपालिका समेत खुसीको कुरा भएको बताए । गाउँपालिका तथा वडा कार्यालयबाट समेत भौगोलिक हिसाबले टाढा पर्ने स्थानीयवासीले लामो समयदेखि स्वास्थ्यचौकी स्थापना गर्न माग गर्दै आएका थिए ।
काभ्रेको खोपासीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं । काभ्रेको खोपासीमा २ गते शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्ट्रल, सहयोगी महिला जागरण मञ्च, कल्पना फाउन्डेसनको सँयुक्त आयोजना तथा लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड वेष्टको समन्वयमा उक्त शिविर सँचालन गरिएको हो । शिविरमा १ सय ८० जनाल वाथ तथा नशा रोग सम्बन्धि स्वास्थ्य जाँच गराए । काभ्रे खोपासीमा रहेको सहारा जेष्ठ नागरिक समाजको भवनमा नेशनल बाथरोग सेन्टर र बद्री तीर्थ आर्थराइटिस समाजको प्राविधिक सहयोगमा शिविर सँचालन भयो । उक्त शिविरमा नेशनल बाथरोग सेन्टरबाट निःशुल्क रुपमा ल्याब परीक्षणको साथै वरिष्ठ चिकित्सकबाट बाथरोग र नशारोगको उपचारबारे पनौंती १० का स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई परामर्स दिनुका साथै स्थानीय वासिन्दाहरुलाई स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो । उक्त शिविरमा लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्ट्रलका अध्यक्ष युवराज श्रेष्ठले सहयोगी विभिन्न संघ सँस्था तथा व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरेका थिए । यस्तो खालको कार्यक्रमहरु हरेक ६/६ महिनामा गरिने आयोजक लायन्स क्लब अफ काठमाण्डौं युनाइटेड सेन्ट्रलका निवर्तमान अध्यक्ष रोशन श्रेष्ठले बताए । दिनदुखी तथा असक्त ग्रामिण वासिन्दाहरुलाई परेको स्वास्थ्य सम्बन्धी समस्यामा सहयोग गर्न पाउँदा आफुलाई निक्कै गौरव महसुस भएको आयोजक सहयोगी महिला जागरण मञ्चकी अध्यक्ष राधा श्रेष्ठले बताइन् । सहारा जेष्ठ नागरिक समाजका अध्यक्ष भरतराज शर्माले यो शिविरका आयोजकहरुलाई माला पहिराई सम्मान गर्दै, निःशुल्क स्वास्थ्य शिविरमा निक्कै टाढा टाढाको ग्रामिण वृद्धवृद्धाको सहभागिता भएकाले पनि शिविर निकैं सफल भएको बताए ।