६ महिनाभित्रै ५० मेगावाट विद्युत उत्पादन गर्दै माथिल्लो मस्र्याङ्दी
७ पुस । ५० मेगावट क्षमताको माथिल्लो मस्र्याङ्दी ए जलविद्युत आयोजनाको निमार्ण कार्य ६५ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ । सो आयोजना आगामी २०७३ सालको असोज महिनामा सकिने लक्ष्य राखिएको भए पनि निर्धारित समयअगावै आयोजनाको काम सकिने आयोजनाको अनुमान रहेको छ । जिल्लामा निर्माण सम्पन्न भएका ४ आयोजनामध्ये ४.४ मेगावाट क्षमताको राँधी खोला र ५ मेगावाट क्षमताको सिउरी खोलाको निर्माण कार्य छिटो गरी सकाएपछि जिल्लाको लगानीमैत्री वातावरण सङ्लिएको विज्ञहरू बताउँछन् । कुल ६ किलोमिटर लामो भूमिगत सुरुङ रहने मध्य मस्र्याङ्दी आयोजनाले साढे ५ किलोमिटर सुरुङको निर्माण कार्य सकिसकेको जनाएको छ । विद्युतगृह, जलाशय, सुरुङ र अन्य गरी कुल २० प्रतिशत कार्य पूरा गर्न बाँकी रहेको आयोजनाका प्रशासन प्रमुख लिउ योङ छ्याङले बताए । उनले भने, “आयोजना प्रभावित क्षेत्रका बासिन्दा र जिल्लाबासीको सहयोगले हामी सफल भएका छौं ।” बाहुनडाँडा गाविसको वडा नम्बर ७ ङादी दोभानमा बाँधबाँधी ङादीबजारबाट ६ किलोमिटर लामो भूमिगत सुरुङमार्फत भुलभुलेको वडा नम्बर ३ स्थित मस्र्याङ्दी तटमा निर्माण गरिने विद्युतगृहमा पानी खसाली विद्युत उत्पादन गरिनेछ । आयोजनाको मुख्य पानीको सुरुङ ४९५२.७९ मिटर लम्बाइ र ५.६ मिटर गोलाकार रहने सिनो सगरमाथा हाइड्रो पावर कम्पनी लिमिटेडका सहायक म्यानेजिङ डाइरेक्टर चाङ फा पिनले बताए । चाङ भन्छन्, “यो कम्पनी भनेको बहुप्रतिष्ठित कम्पनी हो । त्यसैले हामी यो आयोजनालाई तोकिएको समयमा पूरा गर्नेछौं ।” तीन वर्षको समयसीमा पाएको यस आयोजनाले २ वर्षभित्रै ६५ प्रतिशत काम सम्पन्न गरेको हो । आयोजनाले आगामी ६ महिनाभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी विद्युत उत्पादन थाल्ने बताएको छ । यसका साथै प्रबद्र्धक कम्पनीले तत्काल भुलभुलेदेखि मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रसम्म २२ किलोमिटर लामो १३२ केभी सिंगल सर्किटको प्रसारण लाइनको निर्माण गर्ने तयारी गरेको छ । आयोजनाले बाँधस्थल निर्माणका लागि ङादीबजारको नजिकैबाट झन्डै २ सय १४ मिटर लामो भूमिगत सुरुङमार्फत मस्र्याङ्दीको पानीलाई ड्राइभर्सन गरेको छ । आगामी २०१५ को जुन ३१ तारिखमा विद्युत उत्पादन थाल्ने योजनाअनुरुप आयोजनाको निर्माण कार्यलाई तीव्रता दिएको हो । आयोजनको इन्टेक संरचना नदीको बाँया किनारामा निर्माण भइरहेको छ । यस संरचनामा मोड नहर, बालुवा थिग्रयाउने बेसिन, कल्भटको प्रवेश मार्ग, भित्री कल्भर्टको भाग, मोड सुरुङ उच्च दबाबको टैंक तथा साफ्ट रहने छ । आयोजनाले आफ्नो काम समयमा सकाउन प्रभावित क्षेत्रका ४ सय ४ जनासहित जिल्लाका ७ सय जना मजदुरलाई रोजगारी दिएको छ । प्रभावित क्षेत्रका मजदुरले आयोजनाबाट मासिक रूपमा ८० लाखभन्दा बढी र वार्षिक रुपमा १० करोड आम्दानी गर्ने गरेका छन् । आयोजनाले प्रभावित ४ गाविसमा शिक्षा, स्वास्थ्य, तालिम, वातावरण संरक्षण, भौतिक पूर्वाधार निर्माणलगायतका शीर्षकहरूमा १६ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको छ ।
एनसेलको लगानी १० करोड, नाफा ५० अर्ब
६ पुस । १० करोड रुपैयाँ सेयर पुँजी रहेको एनसेल प्राइभेट लिमिटेडले छोटो अवधिमा नै लगानीको ५ सय गुणा नाफा कमाइ सकेको छ । कम्पनीले लगानी गरेको ६ वर्षमा करिब ५० अर्ब रुपैयाँ नाफा गरिसकेको छ । एनसेल २०६५ सालमा स्पाइस नेपालको नाममा सञ्चालमा आएको हो । आर्थिक वर्ष २०७०/७१ को लेखापरीक्षण रिपोर्टअनुसार गत असार मसान्तसम्ममा कम्पनीको संचित नाफा ३९ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ छ । सेयरधनीले नाफा सटही सुविधा नपाएकोले कम्पनीको सञ्चित नाफा बढ्दै गएको छ । यसअघि कम्पनीले आर्थिक वर्ष २०६७/६८ सम्मको नाफाबाट १४ करोड ४० लाख रुपैयाँ लाभांश वितरण गरिसकेको छ । कम्पनीले आर्थिक वर्ष २०६८÷६९ को नाफाबाट ११ अर्ब रुपैयाँ सेयरधनीलाई वितरण गर्न छुट्याएको छ । २०६९ साल पुस ६ गते भएको कम्पनीको साधारणसभाले सेयरधनीलाई ११ अर्ब रुपैयाँ (लगानीको १ सय १० गुणा) लाभांश वितरण गर्ने निर्णय गरेको थियो । तर लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले विदेशी मुद्रामा सटही सुविधा नदिएपछि विदेशी लगानीकर्ताले त्यस्तो लाभांस फिर्ता लान सकेका छैनन् । लगानीकर्ताले तीन वर्षपहिलेको लाभांश नै लिन नसकेको अवस्थामा पछिल्लो दुई वर्षको लाभांस वितरणबारे निर्णय हुन नसकेको कम्पनीका कर्पोरेट कम्युनिकेसन अफिसर मिलनमणि शर्माले बताए । १० करोड रुपैयाँ सेयर पुँजी रहेको एनसेलमा रिनोल्ड होल्डिङ लिमिटेड, वेष्टइन्डिजको स्वामित्वमा ८० प्रतिशत र पाल्पा तानसेन नगरपालिका वडा नम्वर ८ निवासी निरजगोविन्द श्रेष्ठको नाममा २० प्रतिशत सेयर छ । सेयरधनीलाई वितरण गर्न छुट्याएको ११ अर्ब रुपैयाँमध्ये विदेशी लगानीकर्ताले पाउने ८ अर्ब ८० करोड रुपैयाँ विदेशी मुद्रामा परिवर्तन गरी विदेश लैजाना पाउनुपर्ने माग कम्पनीको छ । त्यसबाहेक कम्पनीसँग ३९ अर्ब ४५ करोड रुपैयाँ संचित नाफा छ । कम्पनीले सबै संचित नाफा सेयरधनीलाई वितरण गर्ने निर्णय गरेमा नेपालबाट तत्काल ३१ अर्ब ५६ करोड २८ लाख रुपैयाँ (संचित नाफाको ८० प्रतिशत) बराबरको विदेशी मुद्रा विदेशीने छ । आर्थिक वर्ष २०६९/७० मा सबैभन्दा बढी राजश्व तिरेको एनसेल प्राइभेट कम्पनीले ७०/७१ मा ४८ अर्ब ४१ करोड ५३ लाख रुपैयाँ कारोबार गरेको छ । ठूला करदाता कार्यालयका अनुसार उक्त आर्थिक वर्षमा कारोबार रकमका आधारमा, मुनाफाका आधारमा र आयकर भुक्तानीका आधारमा एनसेल सबैभन्दा ठूलो कम्पनी हो । यो कम्पनी स्थिर सम्पत्ति २८ अर्ब १५ करोड ६५ लाख रुपैयाँ छ । कम्पनी अहिलेसम्म ऋणमा नभएको लेखा परीक्षण प्रतिवेदनबाट देखिन्छ । कम्पनीको बैंक व्यालेन्स, सापटी र उठाउन बाँकी रकम ४९ अर्ब ३९ करोड ३१ लाख रुपैयाँ छ । लाभांश रोकिनुको कारण यति धेरै नाफा गरेर पनि एनसेलमा लगानी गर्ने रिनोल्ड होल्डिङ कम्पनीले गत तीन आर्थिक वर्षको नाफा लैजान सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार कम्पनीले २०६८ चैत २२ गते १४ करोड ४० लाख रुपैयाँ नाफा विदेश लाने प्रयोजनका लागि विदेशी मुद्रामा सटही गरेको छ । उक्त रकम पनि रिनोल्ड होल्डिङ कम्पनीले लगेको हो । पछि किन समस्या भयो ? एनसेलले राष्ट्र बैंकलाई दोष दिन्छ । राष्ट्र बैंकका प्रवक्ता मनमोहन कुमार श्रेष्ठ एनसेलको आरोम गलत भएको बताउ“छन् । उनका अनुसार एनसेल नाफा सटही सुविधा माग गरेपछि प्रक्रिया पूरा गर्न र भुक्तानी विवाद उत्पन्न नहोस् भन्ने उद्देश्यले टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणमा सहमति माग गरेको छ । तर प्राधिकरणले सहमति दिएको छैन । एनसेलले प्रक्रिया पूरा गरेमा मुनाफा वितरणमा रोक्ने अधिकार प्राधिकरणमा नभएको र कानुनी प्रक्रिया पूरा गरेर लाभांश लान पाउने प्राधिकरणका प्रवक्ता कैशाल न्यौपानेले बताए । ‘कुनै पनि कम्पनीको लाभांस सदर वा बदर गर्ने अधिकार प्राधिकरणमा छैन’ उनले भने । स्रोतका अनुसार एनसेलले ‘बैदेशिक लगानी प्रक्रिया कार्यविधि’ पूरा नगरी लाभांश सटही सुविधा माग गरेकोले फाइल अड्केको हो । उक्त प्रक्रिया पूरा गरेर लाभांश लैजान प्राधिकरणले एनसेललाई २ पटक पत्राचार गरिसकेको छ । नाफा लैजानका लागि प्राधिकरणले २०७१ असोज २ मा कम्पनीको ‘वित्तीय अवस्था र संगठनात्मक ढाँचा’ सहित कम्पनी रजिष्ट्रार कार्यालय र बैदेशिक लगानी प्रशासनबाट ‘स्पष्ट र किटान’ सिफारिस पेश गर्न निर्देशन दिएको थियो । उक्त सिफारिस ल्याउन प्राधिकरणले एनसेललाई १५ दिनको म्याद दिएको थियो । तर एनसेलले असोज १४ गते प्राधिकरणलाई पत्र लेखि १५ दिन समय थप गर्न माग गरेको थियो । एनसेलले आपैmले माग गरेका समयमा पनि प्राधिकरणले मागेको कागजपत्र पेश गर्न नसकेपछि प्राधिकरणले मंसिर १९ गते फेरी एनसेललाई पत्र लेख्दै लाभांश फिर्ता लग्न रजिष्ट्रार कार्यालय र बैदेशिक लगानी प्रशासन ‘स्पष्ट र किटान’ सिफारिस पेश गर्न निर्देशन दिएको छ । एनसेलले प्राधिकरणको पत्रसहित गत साता मात्र उद्योग विभागको बैदेशिक लगानी शाखामा सिफारिस माग गरेको छ ।
दरबार मार्गको नाङलो रेष्टुरेन्ट बन्द
६ पुस । दरबार मार्गको नाङलो रेष्टुरेन्ट बन्द भएको छ । नाङ्लो प्रा.लि ले आईतबार सूचना प्रकाशित गरी पुस ६ गतेदेखि नै रेष्टुरेन्ट बन्द गरेको जनाएको छ । ‘दुभाग्यभस प्रतिकूल बातावरणका कारण आजैको मितिदेखि हामीले हाम्रो सेवाबाट अवकाश लिएको घोषणा गर्दछौं’ कम्पनीले जनाएको छ । के कति कारणले व्यवसाय गर्न प्रतिकूल बातावरण भयो भन्नेबारे सूचना उल्लेख गरिएको छैन । केहि समय पहिले नाङलोका प्रबन्ध निर्देशक गोपालसुन्दर कक्षपतिले विदेशमा समेत शाखा विस्तार गर्ने तयारी गरिरहेको बताएका थिए । सन १९७६ मा एक लाख रुपैंयाँको लगानीबाट सुरु गरिएको नाङलो र यसका सिस्टर कम्पनी द वेकरी क्याफेका देशभर १८ शाखा विस्तार भैसकेका छन् भने करोडौंको लगानी रहेको छ । नाङलोमा हाल करिब पाँच सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने झण्डै ५० जना अपाङगहरुले समेत काम गरिरहेका छन् । नाङलोले सार्वजनिक गरेको सुचना अनुसार केहि समय भित्रै उपभोक्ताहरुको चाहनालाई ख्याल गर्दै पुनः सञ्चालनमा आउने समेत उल्लेख छ । कम्पनीले आफ्ना ग्राहक, कर्मचारी, जग्गाको मालिक, व्यवसायका पार्टनर, बैकर्स, आपूर्तिकर्ता सबैलाई धन्यवाद दिएको छ ।नेपालमा रेष्टुरेन्ट व्यवसायलाई प्रवेश गराउनेदेखि लामो समय यो क्षेत्रको रोलमोडल रेष्टुरेन्ट रुपमा चल्दै आएको थियो ।