ग्रीनेदी इनर्जीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । ग्रीनेदी इनर्जी लिमिटेडले स्थानीयवासी तथा सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा प्रभु क्यापिटल लिमिटेडलाई दिइएको कम्पनीले जनाएको छ । उक्त सम्झौता सोमबार सम्पन्न भएको हो । सम्झौतामा ग्रीनेदी इनर्जी लिमिटेडका अध्यक्ष युरेश मान कायस्थ र प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध सञ्चालक आशिष गौचनले हस्ताक्षर गरेका छन् । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणमा छुट्याउने तयारी गरेको छ । कम्पनीले कास्की जिल्लास्थित ईदी खोलामा निर्माण गरेको ‘इदी खोला जलविद्युत योजना’ बाट २०८२ बैशाख ८ गतेदेखि व्यावसायिक उत्पादन गरिरहेको छ । जलविद्युत, बैंकिङ, बिमा तथा पूँजी बजार क्षेत्रका अनुभवी व्यक्तिहरूको सहभागितामा बनेको यस आयोजनालाई हाइड्रोलोजी क्यु–६५ को संरचनामा निर्माण गरिएको कम्पनीले जनाएको छ । ग्रीनेदी इनर्जी लिमिटेडका अध्यक्ष युरेश मान कायस्थका अनुसार कम्पनीले आगामी दिनमा अन्य जलविद्युत आयोजनासँगै सौर्य तथा हरित ऊर्जामा समेत लगानी विस्तार गर्ने योजना बनाएको छ ।

एनआईसी एशिया बैंकको लिलाम बिक्री सम्पत्ति विवरणका लागि अनलाइन पोर्टल सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्रीमा राख्दै आएका बैंकिङ तथा गैर–बैंकिङ सम्पत्ति र धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको विस्तृत विवरण उपलब्ध गराउने उद्देश्यले एक अनलाइन पोर्टल सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त पोर्टलमार्फत लिलाममा रहेका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा स्थान पहिचानका लागि गुगल म्यापसहितका सम्पूर्ण जानकारी एउटै प्लेटफर्मबाट प्राप्त गर्न सकिनेछ । ग्राहकहरूले लिलाम सम्बन्धी प्रकाशनमा उपलब्ध क्युआर कोड स्क्यान गरी उक्त पोर्टलमा प्रवेश गर्न सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ । सम्पत्तिबारे थप जानकारी आवश्यक परेमा ग्राहकहरूले पोर्टलमा उपलब्ध म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल, मोबाइल नम्बर र सम्पर्क ठेगाना राखी सो सम्पत्तिबारे मेल पठाउन सक्ने सुविधा समेत प्रदान गरिएको छ । बैंकका अनुसार पोर्टलमा बैंकिङ, गैर–बैंकिङ्ग तथा धितो सुरक्षणमा रहेका लिलाम योग्य सम्पत्तिहरूको जानकारी नियमित रूपमा प्रकाशन गरिनेछ । जसले लिलाममा राखिएका सम्पत्तिहरूबारे विस्तृत विवरण प्राप्त गरी खरिदमा रुचि राख्ने ग्राहकहरूलाई सहज र पारदर्शी पहुँच उपलब्ध गराउने बैंकको विश्वास छ ।

बढ्यो सेयर बजार, ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ अंकले बढेर २५५० बिन्दुमा पुगेको हो ।  नेप्सेका अनुसार १६७ कम्पनीको सेयर मूल्य बढ्दा ७६ कम्पनीको मूल्य घटेको छ । १३ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । सोमबार ३३५ कम्पनीको ८८ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस ऊर्जाको भएको छ । साहसको १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै शिवम् सिमेन्टको १६ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको १५ करोड ८० लाख, राधी विद्युत कम्पनीको १५ करोड ३२ लाख र युनियन हाइड्रोको १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बन्दीपुर केबलकारको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सागर डिस्टीलरी, बुंगल हाइड्रो र झापा इनर्जीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । सोमबारको कारोबारमा समूहमा नन लाइफ इन्स्योरेन्स र अन्यको सूचक बाहेक अरु सबै सूचक बढेका छन् । बैंकिङ ०.१३, विकास बैंक १.५०, फाइनान्स ०.५६, होटल तथा पर्यटन १.०८, हाइड्रोपावर ०.८८, लगानी ०.५३, जीवन बीमा ०.६४, उत्पादन तथा प्रशोधन ०.५३, माइक्रोफाइनान्स ०.३४ तथा व्यापार समूह ०.०९ प्रतिशतले बढेका छन् ।