गरिमा विकास बैंकको १९औं वार्षिकोत्सवमा ‘गरिमा रोड रेड २०८२’ सम्पन्न
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १९औं वार्षिकोत्सवका अवसरमा ‘गरिमा रोड रेड २०८२’ दौड प्रतियोगिता सम्पन्न भएको छ । बैंकको वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित सो प्रतियोगितामा खुला, कर्पोरेट तथा भेट्रान गरी तीन विधामा महिला र पुरुष गरी कुल ६ वटा प्रतिस्पर्धा सम्पन्न गरिएको हो । खुला तर्फ १० किमीको दौड बालुवाटारस्थित विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय अगाडिबाट सुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिका–३ सम्म पुगेको र सोही मार्ग हुँदै पुनः बालुवाटारमै समापन गरिएको थियो । त्यस्तै, कर्पोरेट तथा भेट्रान विधाको ५ किमी दुरीको प्रतियोगिता समेत बालुवाटारबाट सुरु भई नारायणगोपालचोक हुँदै न्यूरो अस्पताल, बाँसबारीसम्म गई पुनः बालुवाटारमै सम्पन्न गरिएको हो । २०७ जनाभन्दा बढी सहभागी रहेको खुला विधामा महिलातर्फ १० किमी दुरी ३४ मिनेट ५४ सेकेन्डमा पूरा गर्दै ओलम्पियन सन्तोषी श्रेष्ठ प्रथम बनेकी छिन् । पुरुषतर्फ २९ मिनेट १२ सेकेन्डमा दूरी पूरा गर्दै नेपाल आर्मीका राजन रोकायले पहिलो स्थान हासिल गरेका छन् । पुरुष खुला विधाका सबै पुरस्कार तथा महिलातर्फ चार पुरस्कार नेपाल आर्मीका धावकहरूले जित्न सफल भएका छन् । खुला विधाका प्रथम, द्वितीय, तृतीय, चतुर्थ र पंचम स्थान हासिल गर्ने धावकहरूलाई क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै, कर्पोरेट तथा भेट्रान ५ किमी विधाका उत्कृष्ट पाँच धावकहरूलाई क्रमशः ३० हजार, २० हजार, १४ हजार, १० हजार र ७ हजार रुपैयाँ नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा विकास बैंकका सञ्चालक, पूर्व सञ्चालक, सेयरधनी, स्थानीय निकायका प्रतिनिधि, संघ–संस्था, पत्रकार तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । स्वागत मन्तव्य दिंदै प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायले कार्यक्रममा स्वास्थ्य–सचेतना र सामुदायिक सहभागिताबाट प्राप्त सकारात्मक प्रभावको बारेमा प्रकाश पारे । समापन सत्रमा बैंकका अध्यक्ष दिलिप प्रताप खाँणले मानव स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूलाई आगामी वर्षहरूमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । यसैगरी, मङ्सिर ७ गते बैंकले १९औं वार्षिकोत्सवका अवसरमा देशका विभिन्न ८ स्थानमा बृहत रक्तदान तथा १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विविध कार्यक्रम आयोजना गरिएको जानकारी गराइएको छ ।
राष्ट्र बैंकले तीन अर्ब ७६ करोड लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ७६ करोड रुपैयाँ बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत आफूले लिन चाहेको रकम र सो रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदरसमेत उल्लेख गरी यही मङ्सिर ८ साँझ ७ः०० बजेभित्र आवेदन दिन आग्रह गरेको छ । सूचनाअनुसार सो रकम एक वर्षका लागि लगानी गर्न लागिएको हो । सूचनाअनुसार क वर्गको वाणिज्य बैंकमा तीन अर्ब ८० लाख रुपैयाँ, ख वर्गका विकास बैंकमा ५६ करोड ४० लाख रुपैयाँ र ग वर्गका वित्त कम्पनीमा १८ करोड ८० लाख रुपैयाँ बराबर लगानी हुनेछ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, केन्द्रीय बैंकबाट तोकिएको न्यूनतम कूल पूँजीकोष कायम गरेको र निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्नेलगायतका शर्त पूरा गरेको हुनुपर्ने छ ।
राष्ट्रिय जीवन बीमा कम्पनीको सञ्चालक समितिको अध्यक्षमा रमेश अर्याल नियुक्त
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमेश अर्याल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले कम्पनीका सञ्चालक र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक रहेका उनलाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनकराज शर्माले अर्याललाई आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराए । त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल अधिकारी र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर पन्थी लगायत पदाधिकारीहरू उपस्थित थिए ।