डिभी, पिआरको आवेदन मात्र दिए पनि शिक्षकको जागिर चट
काठमाडौँ, २१असार । निजामती कर्मचारीले स्थायी आवासीय अनुमति लिएको पाइएमा कारबाही भोग्ने कानुन, शिक्षकले भने सो कामका लागि आवेदन दिएमा पनि जागिर चट हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट यही असार १५ गते प्रमाणीकरण भई कार्यान्वयन प्रारम्भ भएको शिक्षा ऐन २०७३ ले शिक्षकका लागि त्यस्तो कडा कानुन बनाएको हो । तत्कालीन सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका पालामा विदेशमा स्थायी बसोबासका लागि अनुमति लिने निजामती कर्मचारीलाई हटाउने अभियान प्रारम्भ गरी त्यससम्बन्धी कानुन आएको थियो । व्यवस्थापिका–संसद्बाट गत २०७२ चैत १४ मा निजामती सेवा ऐन लागू भएपछि ९१ दिनभित्र विदेशमा स्थायी आवासी अनुमति वा जागिरमध्ये एक रोज्न भनेको छ । त्यसको अन्तिम मिति आउँदो साउन मसान्तसम्म छ । शिक्षा मन्त्रालयले त्यसभन्दा अघि बढेर स्थायी आवासका लागि विदेशका अनुमति पाउन आवेदन दिएको थाहा पाएमा पनि आफ्ना शिक्षकलाई हटाउने गरी कानुन संशोधन गराएको छ । सो संशोधित ऐन व्यवस्थापिका–संसद्बाट गत जेठ २२ गते पारित भएको थियो । संशोधित शिक्षा ऐनले शिक्षकलाई रोज्ने ऐनको दफा १६ ९२० मा भनिएको छ, “स्थायी आवासीय अनुमति लिन नहुनेः सामुदायिक विद्यालयमा कार्यरत शिक्षक वा कर्मचारीले स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्नका लागि आवेदन दिन हुँदैन । यो दफा प्रारम्भ हुनुअघि कसैले स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमति प्राप्त गर्न आवेदन गरेको भए त्यस्तो शिक्षक वा कर्मचारीलाई भविष्यमा निजले काम गरेको सेवामा अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिनेछ ।” ‘स्थायी आवासीय अनुमति’ भन्नाले विदेशी मुलुकले कुनै सर्त तोकी वा सो मुलुकमा स्थायी रुपले बसोबास गर्न पाउने गरी नेपाली नागरिकलाई उपलब्ध गराएको डाइभरसिटी इमिग्रेन्ट प्रवेशाज्ञा (डिभी) परमानेन्ट रेजिडेन्ट प्रवेशाज्ञा (पिआर) वा ग्रीन कार्र्ड सम्झनुपर्ने शिक्षा ऐनको व्याख्या छ । सो शब्दले नेपाली नागरिकलाई विदेशमा स्थायी रुपमा बसोबास गर्न दिइएको जुनसुकै नामको स्थायी आवासीय अनुमतिलाई समेत जनाउँछ । हाल करिब ३४ हजार सामुदायिक विद्यालयमा एक लाख सात हजार शिक्षक कार्यरत छन् । यसमध्ये करिब ३०० ले डिभी र पिआर लिएको आशङ्का छ । शिक्षा मन्त्रालयले प्रवक्ता डा हरि लम्सालको संयोजकत्वमा ऐनबमोजिम शिक्षकको आन्तरिक र खुला विज्ञापन खोल्नेलगायत अन्य व्यवस्थाको कार्यान्वयनका लागि नयाँ नियमावली बनाउन कार्यदल बनाएको छ । संयोजक लम्सालले नियमावली आएपछि ऐनको विस्तृत कार्यान्वयन हुने बताए । शिक्षाको ऐनको संशोधनलाई मूलरुपमा स्वागत गरिसकेको नेपाल शिक्षक महासङ्घको एक घटक नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष बाबुराम थापाले भने “शिक्षा ऐनमा आएको डिभी र पिआर लिएका वा लिन चाहने शिक्षकलाई हटाउने व्यवस्था राष्ट्रियताका दृष्टिले सकारात्मक छ । हामी यसको कार्यान्वयनमा सहयोग गर्छौ ।” रासस
गेट कलेजको पूर्वविद्यार्थी सम्मेलन सम्पन्न
काठमाडौं, २० असार । ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज)को पहिलो पूर्वविद्यार्थी सम्मेलन सम्पन्न भएको छ । उक्त सम्मेलानले विवेक पौडलको अध्यक्षतामा गेट आल्मुनाइ फोरम गठन गरेको छ । राजधानीको मण्डिखाटारस्थित रहेको गेट कलेजले विगत नौ वर्षदेखि नेपालमा विश्वस्तरीय होटल व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको छ । “नेपालमै अन्तर्राष्ट्रिय स्तरको होटल व्यवस्थापनको डिग्री लिन चाहने हामी युवाका लागि गेट कलेजले एउटा अवसर प्रदान गरिदियो,” हाल गोकर्ण फरेस्ट रिसोर्टका प्रबन्धक रहेका पौडलले सम्मेलनमा भने, “गेट कलेजमा अध्ययन गरेका विद्यार्थीहरू आज हामी नेपालका विभिन्न पाँच तारे होटलदेखि अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न निकायहरूका कार्यरत छौं ।” सम्मेलनमा दिइएको जानकारीअनुसार गेट कलेजमा अध्ययन गर्ने विद्यार्थीहरू अष्ट्रेलिया, जर्मनी, हङकङ, यूएइए, बहराइन, कतार, मलेसिया र चीनमा अभ्यासरत छन् । सन् २००७ मा सुरु भएको कलेजबाट हालसम्म ३९१ जनाले अध्ययन पूरा गरेका छन् र हाल ३२५ जना विद्यार्थीहरू अध्ययनरत रहेका कलेजले बताएको छ । यसबाहेक गेट कलेजको भातृ संस्था गेट भोकेनसलतर्फ २००० जनाले होटल व्यवस्थापनका विभिन्न आयाममा आवधिक प्रशिक्षण पूरा गरिसकेका छन् । गेट भोकेसनलतर्फ अष्ट्रेलिया सरकारको शैक्षिक प्रतिष्ठान टेफको मान्यताप्राप्त कोर्ष नियमित सञ्चालनमा छ । गेट भोकेसनलको कोर्षलाई सीटीईभीटीद्वारा मान्यता प्रदान गरिएको छ भने त्रिभुवन विश्वविद्यालयले गेटको एकेडेमिक कोर्षलाई मान्यता प्रदान गरेको छ । “गेट कलेजमा हामी नेपाली विद्यार्थीले मात्र नभइ विभिन्न १६ देशका विद्यार्थीले अध्ययन पूरा गरेका छन्,” पौडेलले भने । कार्यक्रममा गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले होटल व्यवस्थापन शिक्षाको अन्तर्राष्ट्रिय प्रचलनअनुसार प्रयोगात्मक पक्षमा बढी ध्यान दिइएको कारणले नै कलेजको शिक्षा विशिष्ट रहेको बताएका छन् । “गेट कलेज मूल्य, मान्यता, नैतिकतायुक्त र स्वच्छ शैक्षिक वातावरणमा विश्वास राख्दछ । हामी यस कलेजमा अध्ययनरत सम्पूर्ण विद्यार्थीको उज्ज्वल भविष्य र उनीहरूको गुणस्तरीय शैक्षिकस्तरप्रति पूर्ण प्रतिबद्ध छौं,” लकाईंले भने । उनले कलेजले गुणस्तरीय शैक्षिक स्तर कामय गर्नमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सम्मेलनमा गेट कलेजको पहिलो ब्याचदेखि एघारौं ब्याचसम्मका नेपाल तथा विभिन्न मुलुकमा होटल, रेष्टुराँ, ट्राभल एजेन्सी र अन्य निकायमा संलग्न, आफ्नै स्वःव्यवसायमा संलग्न करिब सयजना विद्यार्थीको सहभागिता थियो । यस्तो सम्मेलन हरेक वर्ष आयोजना गरिने रहेको गेट आल्मुनाइ फोरमका अध्यक्ष विवेक पौडेलले जानकारी दिएका छन् ।
शिक्षाले जीवनयापनको शिप र दक्षता दिनु पर्छ-भवानी प्रसाद पौडेल
भवानी प्रसाद पौडेल, क्याम्पस प्रमुख–जया मल्टिपल क्याम्पस, जोरपाटी//// एसएलसीपछि अब के पढ्ने र कहाँ पढ्ने भन्ने दोधारमा रहेका विद्यार्थीहरुलाई के भन्नु हुन्छ ? शिक्षा ऐनको आठौं संसोधनले यसलाई अन्तिम एसएलसी बनाएको छ । कोहि पनि अनुतिर्ण हुँदैनन भन्ने थियो तर केहि सिमा तोकि दिएको छ । अनिवार्य बिषयहरुमा डि प्लस ल्याउनै पर्ने मान्यता राखियो । एक लाख २० हजार जति विद्यार्थीले डि र ई ल्याएका छन् । उनीहरुलाई सिटिईभीटीबाट सञ्चालित कार्यक्रममा मात्रै सहभागी हुन पाउने भनिएको । यति ठुलो संख्यामा रहेका विद्यार्थीलाई तत्काल अध्ययन गराउने अवस्थामा सिटिईभीटी पनि छैन् । भवानी प्रसाद पौडेल, क्याम्पस प्रमुख–जया मल्टिपल क्याम्पस, जोरपाटी त्यसो त उच्च माध्यमिक शिक्षा परिषदमा अध्ययन गर्न पाउने विद्यार्थीहरु पनि केहि अन्यौलमै छन् । कहाँ पढ्ने ? के पढ्ने ? जस्ता प्रश्नहरुले विद्यार्थीलाई सताईरहेको हुन्छ । अविभावक पनि आफ्ना सन्तानको रुची र आफ्नो इच्छाकाबिचमा घेरिएका हुन्छन् । शैक्षिक संस्थाको छनौटमा पनि दुबिधा देखिन्छ । राम्रो अंक ल्याउनेले विज्ञान पढ्नु पर्छ, कम अंक ल्याउनेले मानविकी, शिक्षा वा व्यवस्थापन पढ्नु पर्छ भन्ने गलत मान्यता हावी भएको छ । विद्यार्थीको रुचि र सम्भावना के हो ? भन्ने सवाललाई केन्द्रमा राखेर अध्ययनको विषय छनौट गर्नु पर्छ । त्यसपछि शैक्षिक संस्थाको छनौटको सवाल आउँछ । शैक्षिक संस्था छनौट गर्दा शैक्षिक वातावरण, पुर्वाधार, शुल्क, संस्था सञ्चालकहरुको पृष्ठभूमि, परिक्षा नतिजा लगायत बुझ्नु आवश्यक हुन्छ । कस्तो स्वभावका विद्यार्थीले के पढ्ने ? सानैदेखि विज्ञान प्रबिधीमा रुची राख्ने विद्यार्थीलाई विज्ञान पढाउनु पर्छ । सानैबाट लेखा, व्यापारका गतिबिधीमा रुची राख्ने विद्यार्थीलाई कमर्श पढाउनु पर्छ । सरकारी जागिर, कानुनविद, शिक्षक, प्राध्यापक बन्ने लक्षण देखाउनेहरुलाई मानवीकी वा शिक्षा संकाय अध्ययन गराउनु पर्छ । छोटो समय अध्ययन गरेर आर्थिक उपार्जन गर्न चाहने विद्यार्थीलाई सिटिईभीटीका प्राबिधिक कोर्ष अध्ययन गराउनु पर्छ । त्यसका अलवा अन्तराष्ट्रिय कोर्षका रुपमा ए लेभल पनि भित्रिएको छ । त्यो पनि अध्ययनका लागि एउटा उपयुक्त बिषय बन्न सक्छ । के पढ्ने र कहाँ पढ्ने भन्ने बिषयले अविभावक र विद्यार्थीका बिचमा विवाद उत्पन्न गराउँछ, त्यसको निराकरण कसरी गर्ने ? जो कोही अविभावकलाई आफ्नो सन्तान डाक्टर, पाइटल वा इन्जिनियर बनिदिउन भन्ने लाग्नु स्वभाविक हो । तर सबै विद्यार्थी डाक्टर, पाइलट वा इञ्जिनियर बन्न सक्दैनन् । विद्यार्थीको क्षमता र भावनालाई बुझेर अध्ययनको बिषय छनौट गर्नु पर्छ । सामान्यतया विद्यार्थीहरु भावनामा बग्छन् । लहैलहैमा हिड्छन् । साथी कहाँ गयो र के पढ्दैछ भनेर आफु पनि त्यहि पढ्ने भन्छन् । अविभावकहरुले राम्रो वातावरण भएको शैक्षिक संस्था खोज्नु पर्छ । संस्था सञ्चालक, पुर्वाधार, परिक्षाको नतिजा, शैक्षिक वातावरण र आफ्ना सन्तानको अध्ययनको बिषयका बारेमा गहन विचार गर्नु पर्छ । कलेजहरु खुल्ला ठाउँमा हुनु पर्छ भन्ने कुरा अघिल्लो बर्षको भूकम्पले पनि पाठ सिकाएको छ । ठुला र गगनचुम्बी भवनले मात्रै हुँदैन भन्ने कुरा पनि महत्वपुर्ण सवाल भएको छ । सन्तानहरुको इच्छालाई मध्यनजगर गर्दै अध्ययनका बिषय र शैक्षिक संस्था छनौट गरिदिनु पर्छ । कुनै पनि बिषयमा आफैंमा राम्रो र नराम्रो भन्ने हुँदैन । सबै बिषय आ आफ्ना ठाउँमा राम्रा हुन्छन । बिषयलाई राम्रो वा नराम्रो बनाउने भन्ने विद्यार्थीमा भर पर्छ । एउटा अविभावकले आफ्नो सन्तानका लागि जया मल्टिपल क्याम्पस किन रोज्ने ? जया मल्टिपल क्याम्पस शैक्षिक क्षेत्रको एउटा सफल धरोहरका रुपमा स्थापित भैसकेको छ । ३८ वर्षदेखि शैक्षिक जगतमै समर्पित जनशक्तिले सञ्चालन गरेको क्याम्पस हो यो । यहाँ अध्ययनका लागि उपयुक्त वातावरण छ । एकातिर गोकर्ण वन छ भने अर्काे तर्फ बागमति बगिरहेको छ । शान्त वातावरणसहित कम्प्युटर ल्याब, पुस्तकालय, होटल म्यानेजमेन्टको किचेन, ठुलो खेल मैदानसहितको शैक्षिक संस्था सञ्चालनकै लागि निर्माण गरिएको पुर्वाधार छ । हाम्रो क्याम्पसको परिक्षाको नतिजा पनि राम्रो छ । अनुसाशित वातावरणमा शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्छाै । अतिरिक्त क्रियाकलापका लागि पनि हामी कटिवद्ध छौं । एउटा विद्यार्थीको सर्वागिण विकासका लागि समर्पित छौं । त्यसकारण जया मल्टिपल क्याम्पस प्लस टु वा सो भन्दा उच्च शिक्षा अध्ययनका लागि एउटा उपयुक्त शैक्षिक गन्तव्य बन्न सक्छ भन्ने हाम्रो मान्यता हो । नेपालको शैक्षिक प्रणाली माटो सुहाउने भएन र अन्तराष्ट्रिय स्तरको भएन भन्ने दुई खाले विचार छन, शैक्षिक प्रणाली कस्तो छ ? मेरो व्यक्तिगत विचार भन्ने हो भने अहिलेको परिवेशमा कम्तिमा पनि एउटा शिक्षित व्यक्तिले स्वतन्त्र रुपमा जिवन यापन गर्न सक्ने शिप वा दक्षता प्राप्त गर्नु पर्छ । शिक्षाको नीति निर्माताहरुले पनि यो कुरालाई बिशेष ध्यान दिनु पर्छ । छिमेकी मुलुकका शिक्षा नीतिहरुको पनि अध्ययन गर्नु पर्छ । मलाई पनि अहिले हामीले लिईरहेको र दिईरहेको शिक्षा अपेक्षाकृत रुपमा व्यवाहारिक छैन् भन्ने लाग्छ । यसलाई समय सापेक्ष परिमार्जन गरिनु पर्छ । आफुले पाएको शिक्षाले आफ्नो जीवनलाई स्वतन्त्र ढंगले अघि बढाउन सक्ने शिप र दक्षता हासिल हुनुपछए तर अहिले त्यस्तो भैरहेको छैन् । अन्त्यमा, उच्च शिक्षाको अध्ययनको तयारीमा रहेका सबै विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको यो प्रहरमा स्वागत छ । करिअरको सुरुवात भएको छ, अब कलेज छान्दा वा बिषयको छनौट गर्दा धेरै सोच विचार पुर्याउनुस् । शिक्षक, अविभावक, शुभचिन्तक र सुभेच्छुकसँग आवश्यक सल्लाह गर्नुस् । जया मल्टिपल क्याम्पस पनि तपाईहरुका लागि एउटा उपयुक्त शैक्षिक गन्तव्य बन्न सक्छ ।