राजधानीमा पुर्वाञ्चल युनिभर्सीटी एजुकेशन फेयर हुने

काठमाडौं, १४ असार । राजधानीमा पूर्वाञ्चल विश्वविद्यालय एजुकेशन फेयर २०१६ हुने भएकको छ । पुर्वाञ्चल विश्वविद्यालयले आयोजना गर्ने फेयर त्रिपुरेश्वरस्थित वल्र्ट ट्रेड सेन्टरमा असार १७ देखि २० गतेसम्म सञ्चालन हुनेछ । फेयरमा विश्वविद्यालयमा सञ्चालित इन्जिनियरिङ, जेनरल साइन्स, हेल्थ साइन्स, मेनेजमेन्ट, फेसन डिजाइन, वायोमेडिकल इन्जिनियरिङ, एग्रिकल्चर भेटनरी, कम्प्यूटर, मास कम्यूनिकसेन, ल र लिभरल आर्टस लगायतका विषय अध्यापन गराइरहेका ६० भन्दा बढी कलेजहरुको सहभागिता रहनेछ । फेयरमा फेसन सो र फुड स्टल पनि समावेश गरिने आयोजकले जनाएका छन । फेयरमा शैक्षिक परामर्श, प्रेजेन्टेसन र सेमिनारहरुमा पनि विद्यार्थीहरु सहभागीता जनाउने अवसर पाउनेछन् ।अवलोकनमा आउने विद्यार्थीलाई विभिन्न शिर्षकमा छात्रवृद्धि, एजुकेसन लोनसहितको सुबिधा प्रदान गरिने आयोजकले जनाएका छन् ।

एसएलसीको ग्रेडिङ्ग पद्धतिले अन्यौलता बढायो

काठमाडौ, १३ असार । सरकारले पूर्व तयारी विनै एसएलसी परिक्षामा लेटर ग्रेडिङ्ग (अक्षरांकन) पद्धति ल्याएको भन्दै शिक्षा सम्वद्ध निकायले विरोध गरेका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा हिसान, एन प्याब्सन लगायतका संस्थाका प्रतिनिधीले लेटर ग्रेडिङ्ग प्रणालीले अन्यौलता बढाएको आरोप लगाएका हुन् । व्यवस्थापिका संसद सदस्य समेत रहेकी एन प्याब्सनकि पूर्व अध्यक्ष गिता राणाले ग्रेडिङ्ग पद्धति विद्यार्थीहरुले आफ्नो क्षमताको मुल्याङकन आफै गर्ने पद्धति भएपनि नेपालमा तीन घण्टाको परिक्षाबाट प्राप्त अंकलाई ग्रेडिङ्गमा रुपान्तरण् गरिएको भन्दै यसले शिक्षाको गुणस्तर बृद्धि नगर्ने दावी गरिन । राणाले भनिन,‘ ग्रेडिङ्ग प्रणाली कक्षा ९ देखि १२ सम्म चार वर्षको हुनु पर्नेमा हाम्रो एक वर्षको मात्रै भएकोले यसले नतिजा दिन सक्दैन । ग्रेडिङ्ग पद्धतिमा विद्यार्थीको क्षमता अनुसार पढन पाउनु पर्छ । त्यसकोलागि पूर्वाधारहरुको आवश्यकता पर्छ तर हाम्रोमा त्यस्तो छैन ।’ हिसानका अध्यक्ष रमेश सिल्वालले गे्रडिङ्ग पद्धतिमा गृहकार्य नपुग्दा यसले अन्यौलता बढाएको भन्दै डी र ई ग्रेड पाउनेहरुले पढन नपाउने ब्यवस्थाले समस्या उत्पन्न गर्ने दावी गरे । उनले एसएलसी पास गरेका विद्यार्थीले आफ्नो क्षमता अनुसार जुनसुकै विषय अध्ययन गर्न पाउनु पर्नेमा केही अवरोध गरेको भन्दै विद्यार्थीको समस्याको विषयमा सरोकारवालाहरु मुकदर्शक बनेर बसेको आरोप लगाए । उनले भने,‘ डी र ई ग्रेडका विद्यार्थीहरुले साधारण शिक्षा पढ्न नपाउने तर प्राविधिक शिक्षा पढन पाउने ब्यवस्थाले अन्यौल उत्पन्न गरेको छ । साधारण शिक्षा लिन नसक्नेले प्राविधिक शिक्षा कसरी लिन सक्छ ? सिलवालले लेटर ग्रेडिङ पद्धति लागु गर्दैमा शिक्षाको गुणस्तर नबढ्ने दावी गर्दै गुणस्तर बढाउन शिक्षकको गुणस्तर, शिक्षण पद्धति लगायतका विषयमा पनि परिवर्तनको आवश्यकतामा जोड दिए । उनले अहिलेको शिक्षा ऐन संविधानसँग बाझिएकोले यो संसोधन नभई लागु हुन नसक्ने ठोकुवा गर्दै शिक्षा ऐनले अस्थायी शिक्षकको समस्या बाहेक कुनै पनि शिक्षा क्षेत्रको समस्या समाधान गर्न नसकेको दावी गरे । उनले अहिलेको ऐनले शिक्षा क्षेत्रमा ठूलो योगदान गरेको निजी क्षेत्रलाई प्रोत्सान नगर्ने भएकोले यसमा संसोधनको आवश्यकता औल्याए । एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले पहिला अभ्यास नै नगरी हचुवाको भरमा गे्रडिङ्ग सिष्टम लागु गरेको भन्दै ग्रेडिङ्ग सिष्टम लागु गर्ने भए कक्षा नौ बाटै लागनु पर्ने आवश्यकता औल्याए । अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले पूर्व तयारी नगर्दा लेटर ग्रेडिङ्ग पद्धति राम्रो हुँदा हुँदै पनि अन्यौलता बढाएको गुनासो गर्दै १ दशमलब ६ अंक ल्याउनेले उच्चशिक्षा पनि पढ्न नपाउने, लोकसेवा पनि दिन नपाउने तर एसएसली पास भएको सर्टिफिकेट पाउने ब्यवस्थाले अन्यौलता बढाएको बताए । शिक्षामन्त्रालयका सह–सचिव लबदेब अवस्थीले शिक्षा मन्त्रालयले प्राविधिक शिक्षामा ग्रेडिङ्ग पद्धतिलाई लागु गरेर अनुभव पछि मात्रै एसएलसीमा लागु गरेको भन्दै विद्यार्थीको सिकाईको मुल्याङक गर्ने पद्धति भएकोले सबै विद्यार्थीले थप शिक्षाकोलागि भर्ना हुन नसक्ने अवस्था नरहने तर्क गरे । उनले अहिले देखिएका समस्याहरु परिणाममुखी कार्यब्यवस्थामा बाधिएर मन्त्तालय सुधार गर्ने विश्वास ब्यक्त गर्दै विद्यालय सुधारमा अब विशेष ध्यान दिने स्पष्ट पारे । उनले भने,‘ सबै ग्रेडले अवसर पाउँछन । हामी बैकल्पिक ब्यवस्था गरेर जान्छौ ।’

एसएलसी परीक्षाको नतिजा अपराह्न ३ बजे प्रकाशित हुँदै, रिजल्ट यसरी हेर्न सकिनेछ

भक्तपुर, असार  २ गते । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको प्रवेशिका अर्थात् एसएलसी परीक्षाको नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी भएको जानकारी दिँदै भने, “बिहीबार मध्याह्न बोर्ड बैठक आह्वान गरेका छौँ, प्राविधिक समस्या नआएमा बिहीबार अपराह्न ३ बजे शिक्षा विभागमा पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्छौैँ ।” गत चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालित परीक्षाको नतिजा यस वर्षदेखि अक्षराङ्क अर्थात् ग्रेडिङ प्रणालीमा हुनेछ । परीक्षामा छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ चार लाख ५२ हजार ८८१ र पूरकतर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रक काप्रीले जानकारी दिए । नौ ग्रेडिङमा परीक्षाफल एसएलसीको ८२ वर्षे इतिहासमा यस वर्षदेखि ग्रेडिङ पद्धति लागू भएको छ । विभिन्न नौ ग्रेडिङमा परीक्षाफल प्रकाशन गरिने परीक्षा नियन्त्रक काप्रीले जानकारी गराए । उनले ९० देखि १०० प्रतिशत ल्याउने ‘ए प्लस’, ८० देखि ९० प्रतिशत ‘ए’, ७० देखि ८० प्रतिशत ‘बी प्लस’, ६० देखि ७० प्रतिशत ‘बी’, ५० देखि ६० प्रतिशत ‘सी प्लस’,४० देखि ५० प्रतिशत ‘सी’, ३० देखि ४० ‘डी’ प्लस, २० देखि ३० ‘डी’ र १० देखि २० प्रतिशत ल्याउनेलाई ‘इ’ ग्रेडिङमा राखिएको जानकारी दिए । नियमित, प्राविधिक र पूरक परीक्षामा संलग्न सबै विद्यार्थीको नतिजा अक्षराङ्क पद्धतिअनुसार प्रकाशन गरिनेछ । पहिलो लेटर ग्रेडिङ र अन्तिम एसएलसी भएका कारण यो नतिजाप्रति धेरैको चासो रहेको छ । वेबसाइट www.moe.gov.no, www.doe.gov.np, www.slcresult.soce.gov.np, www.slc.nt.ntc.net.np नेपाल टेलिकमको PQM\N, CDMA, Postpaid,Prepaid मार्फत १६०० नं डायल गरी प्राप्त सन्देशअनुसार नतिजा प्राप्त गर्न सकिने छ । त्यसैगरी sms बाट नजिता थाहा पाउन PQM\N, CDMA, Postpaid,Prepaid  मोबाइलको मेसेज बक्समा गएर  slc<space>  सिम्बोल नं र अल्फाबेट टाइप गरी १६०० एसएमएस पठाउन सकिनेछ । परीक्षा नियन्त्रण कार्यालयले मौका परीक्षाको पनि व्यवस्था गरेको छ । ‘लेटर ग्रेडिङ’ प्रणालीमा नतिजा प्रकाशन हुने र कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने भनिए पनि ‘डी’ र ‘इ’ गे्रड ल्याउने विद्यार्थीका लागि साउनमा मौका परीक्षा सञ्चालन गरिने भएको छ । मौका परीक्षा दिनैपर्ने अनिवार्य व्यवस्था भने नगरिएको र स्वेच्छिक रुपमा मौका परीक्षा दिन चाहनेले परीक्षा दिन सक्ने छ ।