शिक्षामा लगानी बढाउनुपर्दछ– राष्ट्रपति भण्डारी
काठमाडौं, २६ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पका कारण शिक्षा क्षेत्रमा भएको भौतिक क्षति र शिक्षाको बढ्दो मागका कारण सरकारले यस क्षेत्रमा ठूलो लगानी गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। बानेश्वर बहुमुखी क्याम्पसको रजतजयन्ती समारोहको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले शिक्षा क्षेत्रमा आएको नयाँ अवधारणाले सामुदायिक क्याम्पसले पनि शैक्षिक क्षेत्रका चुनौतीको सामाना गरी अघि बढ्नुपरेको बताइन् । राष्ट्रपति भण्डारीले सामुदायिक क्याम्पसको अफ्ठ्यारा र चुनौतीलाई सामना गर्न सरकार र संबद्ध निकायको उचित ध्यान जानुपनर्ने बताउँदै “समग्र शिक्षा प्रणालीले भोग्नुपरेका समस्याको योजनाबद्ध ढङ्गले निराकरण गर्दै शिक्षा क्षेत्रलाई स्वतन्त्र, हस्तक्षेपमुक्त र सर्वसुलभ कसरी बनाउने भन्ने आजको चुनौती हो” भने । सिर्जना र सक्रियताका संवाहक आजका विद्यार्थी राष्ट्रका भोलिका नीति निर्माता र महत्वपूर्ण बौद्धिक सम्पत्तिका रुपमा समेत रहेकाले नयाँ संविधान जारी भइसकेको अवस्थामा दुर्तरत विकास र समाजिक रुपान्तरणमा विद्यार्थीको अहम भूमिका रहने राष्ट्रपति भण्डारीले बताइन् । शिक्षामन्त्री धनीराम पौडेलले संविधानले शिक्षालाई मौलिक अधिकारका रुपमा अङ्गिकार गरेको अवस्थामा शिक्षालाई सर्वसुलभ बनाउने राज्यको दायित्वमाथि सामुदायिक क्याम्पसले ‘होस्टेमा हैसे’ गरेको छ भने। सामुदायिक क्याम्पसलाई आङ्गिक क्याम्पसका रुपमा अघि बढाउनुपर्ने बताउँदै मन्त्री पौडेलले भने, “उच्च शिक्षा सम्बन्धी राष्ट्रिय नीति र छाता कानुन निर्माणको गृहकार्यमा मन्त्रालय जुटेको छ ।” क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरिबोल भट्टराईले मुलक निर्माणका लागि शिक्षा आधारभूत विषय भएको उल्लेखगर्दै शिक्षाले विपन्न वर्गलाई सम्पन्न बनाउने काम गरेको बताए । क्याम्पस प्रमुख घमानसिंह खड्काले क्याम्पसका गतिविधिका बारेमा अवगत गराउँदै आर्थिक रुपमा विपन्न विद्यार्थीलाई बानेश्वर क्याम्पसले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको बिचार व्यक्त गरे । क्याम्पस व्यवस्थापन समितिका सदस्य डा केदार न्यौपानेले सामुदायिक क्याम्पसले भोग्नुपरेको चुनौतीका बारेमा प्रकाश पार्दै स्थानीयवासीले क्याम्पस सञ्चालनका लागि गरेको सहयोगको प्रशंसा गरेका छन् । रजतजयन्तीका अवसरमा क्याम्पस परिसरमा स्तम्भको शिलन्यास गरिनुका साथै रजहाँस स्मारिकाको लोकार्पण गरिएको थियो । रासस
भूकम्पपछि एउटै स्कुल बनाएन सरकारले, बनाउनुपर्ने स्कूलको संख्या ७ हजार ९२३
काठमाडौं २६, भदौ । भूकम्पले सीतापाइलाको युवा सहभागिता माविको भवन पुरै भत्कियो। विद्यालयले भूकम्पलगत्तै कक्षा चलाउने निजी जग्गामा टहरा बनायो। विनोद थापाको १० आना जग्गामा एकदेखि ६ कक्षासम्मका लागि टहरा बनाइयो भने अर्का एक व्यक्तिको एक रोपनी जग्गामा ७ देखि १० कक्षासम्मको कक्षा चलाउन मान्द्रोले बेरेर कोठा बारियो। मान्द्रो कुहिएपछि वरिपरि जस्तापाता लगाएर १६ महिनादेखि जेनतेन कक्षा चलिरह्यो। अब ७ देखि १० कक्षासम्म पढाइ हुने टहरा भदौ २९ भित्र हटाइसक्नुपर्ने म्याद जग्गाधनीले दिएका छन्। म्याद विद्यालयले पटक पटक सार्दै आएको समाचार आइतबारको कान्तिपुर दैनिकमा छापिएको छ। ‘जग्गाधनीले यो अन्तिम म्याद हो, जसरी भए पनि हटाउन भनेका छन्,’ प्रधानाध्यापक कमल रिमालले भने,‘ अब विद्यार्थीलाई कहाँ राखेर पढाउनुरु’ थापाको जग्गामा रहेको टहरा पनि चैत मसान्तसम्म हटाउन समय दिएका छन्। विद्यालय भवन भत्किएको १६ महिनामा जग खन्ने सुरसारसमेत छैन। जग्गाधनीले आफ्नो घर बनाउन नक्सा तयार भइसकेको भन्दै अन्यत्र सार्न आग्रह गरेको जानकारी प्रधानध्यापक रिमालले दिए। यो विद्यालय गत वर्ष शिक्षा मन्त्रालयको मूल्यांकनमा मुलुककै उत्कृष्ट भएको थियो। अर्काको बारीमा टहरा बनाए पनि सबै कक्षा एकै समयमा चल्दैनन्। कक्षा ६ देखि १० सम्म बिहान र तल्लो तहका कक्षा दिउँसो चल्छ। भवन पुनर्निर्माण गरिदिन सरकालाई बारम्बार हार गुहार गर्दा पनि कतैबाट सहयोग जुटेन। विद्यालय आफैंले दाता खोज्यो। तर सरकारले स्वीकृत दिएन।
विद्यार्थीभन्दा प्राध्यापक धेरै, इतिहास विभागमा एक विद्यार्थी १२ प्राध्यापक
काठमाडौं २३, भदौ । त्रिभुवन विश्व विद्यालय (त्रिवि)का केही केन्द्रीय विभागमा विद्यार्थी संख्या शून्य र केहीमा विद्यार्थीभन्दा प्राध्यापक धेरै रहेका छन् । फाइल तस्बिर त्रिभुवन विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिने भन्दै केन्द्रीय विभागमा सेमेस्टर प्रणाली सुरु गरेको छ। तर, केही केन्द्रीय विभागमा विद्यार्थी संख्या शून्य र केहीमा विद्यार्थीभन्दा प्राध्यापक धेरै भएको समाचार विहिबारको नयाँ पत्रिकामा छापिएको छ। मानविकी संकायअन्तर्गत भूगोल केन्द्रीय विभागमा यस वर्ष प्रथम सेमेस्टरमा विद्यार्थी भर्ना भएनन्। इतिहास केन्द्रीय विभागमा भने एक विद्यार्थी भर्ना भएका छन् । प्राध्यापक भने १२ छन् । त्रिवि भूगोल केन्द्रीय विभाग प्रमुख नरेन्द्रराज खनालले प्रथम सेमेस्टरमा भर्ना शून्य रहेको र तेस्रो सेमेस्टरमा नियमित पाँच विद्यार्थी हाजिर हुने गरेको बताए। सो विभागमा १४ प्राध्यापक छन् । त्रिविका आधा दर्जन केन्द्रीय विभागमा १० जनाभन्दा कम विद्यार्थी छन् । तर, प्राध्यापकको संख्या त्योभन्दा धेरै छ । आधा दर्जन विषयमा विद्यार्थीभन्दा प्राध्यापक संख्या धेरै छ । अहिले त्रिविमा प्रथम सेमेस्टरका विद्यार्थी परीक्षा सकेर बसेका छन तेस्रो सेमेस्टर सञ्चालनमा छ। त्रिविमा स्नातकोत्तर चार सेमेस्टरको हुने गरे पनि एउटै समयमा दुईवटा सेमेस्टर मात्र सञ्चालन हुने गरेको छ । त्रिविको भूगोल केन्द्रीय विभागमा प्रवेश परीक्षा दिन विद्यार्थीले निवेदन दिएका थिए । तर, प्राध्यापकले विद्यार्थीले चाहेको समयमा नपढाउने भएपछि प्रथम सेमेस्टरमा विद्यार्थी शून्य भएको हो।