सदर चिडियाखानामा शैक्षिक केन्द्र उद्घाटन, इन्भेस्टमेन्ट बैंकको ५० लाख सहयोग

काठमाडौँ । जावालाखेल स्थित सदर चिडियाखानामा ‘फिल्ड मार्शल सर जोन च्यापल शैक्षिक केन्द्र’को उद्घाटन भएको छ । वन तथा वातावरण मन्त्री एवम् राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष शक्तिबहादुर बस्नेतले मंगलबार केन्द्रको उद्घाटन गरेका हुन् । सो समारोहमा नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले सर जोन च्यापलको प्रतिनिधित्व गरेकोे थियो । समारोहमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. बी.एन. ओली, राष्ट्रिय प्रकृति संरक्षण कोष-सदर चिडियाखानाको परियोजना व्यवस्थापक डा. चिरञ्जीवीप्रसाद पोखरेल तथा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे लगायतको उपस्थिति रहेको थियो । ११ लाखले गरे अवलोकन आर्थिक वर्ष २०७४/७५मा ११ लाख ५९ हजार ११४ जनाले सदर चिडियाखानाको अवलोकन गरेका छन् । विद्यालयमा अध्ययनरत बालबालिकाहरूमा संरक्षण शिक्षासम्बन्धी कार्यक्रम सञ्चालित गरिने सदस्यतामा आधारित कार्यक्रम ‘फ्रेन्ड्स अफ जू’ मा हाल काठमाडौं उपत्यका भित्रका १२३ विद्यालयका ८० हजार विद्यार्थीहरू सदस्य भइसकेका छन् । इन्भेस्टमेन्ट बैंकको सहयोग नेपाल इन्भेस्टमेन्ट बैंकले आफ्नो संगठित व्यावसायिक उत्तरदायित्व रणनीति अन्तर्गत नेपाल प्राकृतिक संरक्षण कोषको यस कार्यमा सहकार्य गरेको छ । नेपालको एकमात्र चिडियाखानामा शैक्षिक श्रव्यदृष्य केन्द्र स्थापना गर्न स्वेच्छिक सहयोग गरेको हो । प्रविधिको प्रयोगबाट सिकाईको अनुभवद्वारा बढाउन सकिन्छ भन्नेमा विश्वास नेपाल इन्भेस्टमेन्ट बैंकले लिएको छ । चिडियाखानामा संरक्षण र सार्वजनिक शिक्षा, विशेषतः युवा पिढीका लागि सूचना केन्द्रको आवश्यकता देखिएको छ । त्यसैले नेपाल इन्भेस्टमेन्ट बैंकले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई ५० लाखको वित्तीय सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । जसले अन्ततः केन्द्रीय चिडियाखानामा आगन्तुकहरूको सिकाइका अनुभव र समग्र वन्यजन्तुको व्यवस्थापनमा सुधार गर्ने बैंकले जनाएको छ ।

चैत मसान्तभित्र स्ववियु निर्वाचन: मन्त्री पोखरेल

प्यूठान । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले २०७५ सालभित्रै स्ववियु निर्वाचन गरिसक्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ प्यूठान जिल्ला शाखाले आज मङ्गलबार नयाँबजार जुम्रीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले नयाँ शैक्षिक वर्षका लागि कार्यतालिकामा सुधार गर्न सरकार लागिएकाले यही शैक्षिक वर्षभित्रै स्ववियु निर्वाचन गरेर आगामी शैक्षिक वर्ष सुधारको वर्षको रुपमा अघि बढ्नुपर्ने बताएका हुन् । उक्त कार्यक्रममा ऐन, नीति, नियम निर्माणका साथैे समाजवादउन्मुख शिक्षा प्रणाली बनाइने उनको भनाइ थियो । केही नीति पारित भएको केही निर्माणको क्रममा रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको विकासमा सङ्घ, प्रदेश र स्थानीय सरकारको पनि साझा जिम्मेवारी भएको बताए ।

स्ववियु निर्वाचनका लागि ‘अनुगमन तथा समन्वय’ समिति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनका लागि शिक्षाध्यक्ष डा. सुधा त्रिपाठीको संयोजकत्वमा ‘स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय’ समिति गठन गरेको छ । आज बसेको त्रिवि पदाधिकारीको बैठकले स्ववियु निर्वाचनका लागि त्रिपाठीको संयोजकत्वमा १६ सदस्यीय समिति गठन गरिएको त्रिविका रजिष्ट्रार डिल्लीप्रसाद उप्रेतिले जानकारी गराए । उनले समितिले चाँडै नै स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने र निर्वाचन हुने सबै क्याम्पसमा निर्वाचन गर्न समन्वय गर्ने बताए । उनका अनुसार उक्त समितिको काम कारवाही छिटो छरितोरुपले सञ्चालन गर्नका लागि शिक्षाध्यक्ष डा त्रिपाठीको संयोजत्वकमा सात सदस्यीय कार्यसमिति गठन गरिएको छ । समितिको सहसंयोजकमा रजिष्ट्रार उप्रेती, सदस्यमा विष्णुप्रसाद खनाल, नरेन्द्रप्रसाद शिवाकोटी, विष्णु केसी, वैकुण्ठ खनाल, नारायणप्रसाद खनाल र सदस्य सचिवमा गङ्गाबहादुर थापामगर रहेका छन् । त्रिविले प्रत्येक दुई÷दुई वर्षमा गर्ने निर्वाचनको कार्यकाल यही फागुन १८ गते सकिँदैछ । त्रिविले यसअघि सबै आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन तयारी गर्न निर्देशन दिइसकेको छ । विसं २०६५ यता त्रिविमा निर्वाचन पूर्णरुपमा हुन सकेको छैन । विसं २०७३ मा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमार्फत केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो । यसैगरी निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले त्रिवि उपकुलपति कार्यालय घेराउ गरेका छन् । आज बिहान ११ बजे स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै त्रिवि कार्यालय घेराउ गरिएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । घेराउ कार्यक्रममा क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले निर्वाचनका लागि समिति बन्नु सकारात्मक भएकाले निर्वाचनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने बताए । क्रान्तिकारीका उपाध्यक्ष बस्नेतले निर्वाचनको कार्यतालिका सार्वजनिक नहुँदासम्म आफ्ना आन्दोलनका कार्यक्रम यथावत् रहने जानकारी गराए । भोलि दुवै विद्यार्थी सङ्गठनले स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न दबाब दिन देशभरका स्ववियु निर्वाचन हुने क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा प्रदर्शन गर्ने कार्यतालिका रहेको छ । रासस