बीमा कम्पनीको प्रमोटर सेयरमा अंकुश, सेयरधितो र खरिदबिक्रीमा नयाँ व्यवस्था
२१ माघ । बीमा समितिले बीमा कम्पनीका प्रवद्र्धक सेयरधनीको अधिकारमा थप अंकुश लगाएको छ । सेयर खरिदबिक्री र सेयर धितो कर्जामा समितिले बिभिन्न अंकुश लगाएको हो । समितिले बीमा कम्पनीमा एक प्रतिशतभन्दा बढि संस्थापक सेयर हुनेले अंकित मुल्यको आधारमा आफुसंग भएको सेयरको ५० प्रतिशतभन्दा बढि रकमको सेयर धितो राख्न नपाउने व्यवस्था गरेको छ । यसअघि बीमा कम्पनीको सेयर धितोमा कर्जा प्रवाह गर्दा मुल्यांकन तथा कर्जा लगानी सिमाको कुनै मापदण्ड रहेको थिएन । बैंकहरुले आफ्नो कर्जा नीति अनुसार कर्जा प्रवाह गर्दै आएका थिए । समितिले दिएको निर्देशन अनुसार अब भने यसरी धितो राख्न लगानीकर्ताले बीमा कम्पनीसंग पनि स्वीकृती लिनुपर्ने व्यवस्था गरेको छ । ऋणीले यस्तो कर्जा एक बर्षभन्दा बढि समयको लागि समेत धितो राख्न पाउँदैन भने यसरी लिइएको कर्जाको पुनरसंरचना र नविकरण समेत गराउन पाउँने छैन । यदी संस्थापकले कर्जा नतिरेर कालो सुचीमा परेमा कम्पनीहरुले बीमा समितिलाई १५ दिनभित्र जानकारी गराउनु पर्ने व्यवस्था गरेको छ । त्यस्तै, संस्थापक तथा सर्वसाधारण दुवै समूहको एक प्रतिशतभन्दा बढि सेयर बिक्री गर्नु परेमा बीमा समितिको स्वीकृती लिनुपर्ने समेत व्यवस्था गरेको छ । धितोपत्र बोर्डको नियम अनुसार संस्थापक समुहको सेयर बिक्री गर्दा पहिले त्यही समुहको लागि बिक्री गर्न सुचना जारी गर्नुपर्ने व्यवस्था छ । यसरी सुचना गरेपछि पनि सेयर बिक्री नभएको अवस्थामा बोलकबोल मार्फत् सर्वसाधारणमा सेयर बिक्रीको लागि सुचना जारी गर्नुपर्छ । केही कम्पनीहरुले यस्तो अभ्यास नगरेर सेयर बिक्री गर्नथालेपछि बीमा समितिले यसअघि नै पनि आफुसंग स्वीकृती लिनुपर्ने व्यवस्था गरेको थियो । तर सानासाना परिमाणको संस्थापक सेयरको बिक्रीमा समेत समितिको स्वीकृती लिन व्यवहारिक नदेखिएपछि समितिले नयाँ निर्देशन जारी गरेर एक प्रतिशतभन्दा बढिको सेयर बिक्रीमा स्वीकृती लिनुपर्ने व्यवस्था गरेको हो ।
कम बोनस सेयर दिने बीमा कम्पनी बीमा समितिको अनुसन्धानमा
१३ माघ । हालै सगरमाथा इन्स्योरेन्सले २१.०५२ प्रतिशत नगद लाभांश र सिद्धार्थ इन्स्योरेन्सले १० प्रतिशत बोनस र १६.३१ प्रतिशत नगद लाभांश दिने घोषणा गर्यो । तर यो प्रस्ताव बीमा समितिको नियम विपरित भएको हुनसक्ने भन्दै समितिले कम्पनीहरुसंग वार्षिक वित्तिय विवरण माग गरेको छ । ‘हामी कहाँ वित्तीय विवरण आइपुगेको छ, अध्ययनको क्रममा छौं, ’ समितिका एक अधिकारीले बताए । बीमा समितिको नियम अनुसार कम्पनीहरुले वितरण योग्य मुनाफाबाट २० प्रतिशतभन्दा बढि नगद लाभांश दिन नपाउँने व्यवस्था छ । तर यी दुई कम्पनीले यो व्यवस्थामाभन्दा बढि नगद लाभांशको घोषणा गरेको बुझाईमा समितिमा अध्ययन भइरहेको हो । कसरी निकालिन्छ वितरण योग्य मुनाफा ? नियम अनुसार कम्पनीहरुले कमाएको नाफाबाट त्योभन्दा अघिको नोक्सान भएमा घटाउने र नाफा भएमा जोड्नु पर्ने ती अधिकारी बताउँछन । उनका अनुसार यसरी आउँने रकम डिफर्ड ट्याक्स (कम्पनी अगाडी नोक्सानमा जाँदा वा अन्य कारणले तिर्न बाँकी रहेको कर लगायत) मा घटाउनु पर्दछ । यसरी घटाएपछिको रकमबाट पुनः १० प्रतिशत रकम क्याटसट्रोफि फण्डमा छुट्याउनु पर्दछ । ‘यसरी छुट्याएपछिको बाँकी रकमबाट २० प्रतिशत मात्र नगद लाभांश दिन पाइने व्यवस्था छ,’ तीनले भने । अन्य रकम भने कम्पनीले बोनस सेयरको रुपमा दिन सक्दछ । सगरमाथा कम्पनीले हालको चुक्तापुँजीको २१.०५ प्रतिशत नगद लाभांश र सिद्धार्थ इन्स्योरेन्सले चुक्तापुँजीको १० प्रतिशत बोनस र १६.३१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । तर कम्पनीले घोषणा गरेको नगद लाभांश वितरण योग्य आयको २० प्रतिशत भए नभएको समितिले अध्ययन गरिरहेको छ । सगरमाथाले गत आवमा २० करोड रुपैयाँ र सिद्धार्थले १२ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
निर्जीबन बीमा ब्यवसायमा आधा हिस्सा मोटर बीमाको
८ माघ । निर्जीबन बीमा कम्पनीहरु मोटर बीमामा नै बढी केन्द्रित भएको पाइएको छ । मोटर बीमा वापद उठेको रकम कूल बीमा शुल्कको झण्डै आधा रहेको छ । सवै निर्जीबन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा उठाएको बीमा शुल्कको तथ्यांकले यस्तो देखाएको हो । बीमा समितिका अनुसार निर्जीबन बीमा ब्यवसायको करिब ५० प्रतिशत हिस्सा भने मोटर बीमा शुल्ककै रहेको छ । चालु आर्थिक बर्षको असोज मसान्तसम्ममा २ अर्ब ८६ करोड रुपैयाँ कुल बीमा शुल्क उठेकोमा मोटर बीमा शुल्क मात्रै १ अर्ब २० करोड रुपैयाँ रहेको छ । कुल बीमा शुल्का मोटर बीमा वापद उठेको शुल्कको हिस्सा ४२ प्रतिशत रहेको तथ्यांकले देखाएको छ । गत असोज महिनामा मात्रै निर्जीबन बीमा वापतको शुल्क ९५ करोड ९० लाख रुपैयाँ संकलन भएको छ । गत भदौ महिनामा सवै निर्जीबन बीमा कम्पनीहरुले १ अर्ब ९० करोड १८ लाख रुपैयाँ बीमा शुल्क उठेकोमा असोज महिनामा बढेर २ अर्ब ८६ करोड ८ लाख रुपैयाँ संकलन भएको छ । असोज मसान्तसम्ममा अग्नि बीमा वापत ७३ करोड ३१ लाख रुपैयाँ शुल्क उठेको छ । भदौ महिनामा यस्तो शुल्क ६१ करोड ३९ लाख रुपैयाँ संकलन भएको थियो । असोज महिनामा मात्रै अग्नि बीमा बापत ११ करोड ९१ लाख रुपैयाँ शुल्क उठेको छ । असोज महिनामा मोटर बीमा शुल्क ५१ करोड ४६ लाख रुपैयाँ संकलन भएको छ । भदौमा ६८ करोड ६३ लाख रुपैयाँ मोटर बीमा शुल्क उठेकोमा असोज महिनामा १ अर्ब २० करोड १० लाख रुपैयाँ संकलन भएको हो । असोज महिनामा सामुन्द्रिक बीमा बापत ६ करोठ ४० लाख रुपैयाँ बीमा शुल्क उठेको छ । भदौ महिनासम्ममा १४ करोड ८५ लाख रुपैयाँ सामुन्द्रिक बीमा शुल्क उठेकोमा असोज महिनासम्ममा यस्तो शुल्क २० करोड ८६ लाख रुपैयाँ उठेको तथ्यांकले देखाएको छ । असोज महिनामा मात्रै हवाइ बीमा वापत ७ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क उठेको छ । भदौ महिनासम्ममा ११ करोड ३१ लाख रुपैयाँको हवाइ बीमा शुल्क उठेकोमा असोजमा यस्तो शुल्क १९ करोड २३ लाख रुपैयाँ उठेको छ । असोज महिनामा इन्जिनियरिङ बीमा शुल्क वापत ३ करोड ३५ लाख रुपैयाँ बीमा शुल्क उठेको छ । भदौ महिनासम्ममा ८ करोड ५५ लाख रुपैयाँ यस्तोबीमा शुल्क उठेकोमा असोज महिनासम्ममा ११ करोड ९० लाख रुपैयाँ उठेको छ । असोज महिनामा विविध बीमा शुल्क भने १४ करोड ८४ लाख रुपैयाँ बीमा शु्ल्क उठेको छ । भदौ महिनासम्ममा २५ करोड ८१ लाख रुपैयाँ विविध बीमा शुल्क उठेकोमा असोज महिनासम्ममा यस्तो शुल्क ४० करोड ६६ लाख रुपैयाँ उठेको समितिको तथ्यांकमा उल्लेख छ ।