नेपाल बैंक र सेन्ट्रल बैंक अफ ईण्डियाबीच रेमिट सम्झौता

काठमाडौं, २३ असार । नेपाल बैंक र भारतको सेन्ट्रल बैंक अफ ईण्डियाबीच मुम्बईमा रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सो सम्झौता पछि भारतमा विभिन्न रोजगारी तथा व्यवसाय गरी रहेका नेपालीहरुले उक्त सेन्ट्रल बैंक अफ ईण्डियाको कुनै पनि शाखाबाट पठाएको रकम मूलुकभर रहेका नेपाल बैंक लिमिटेडको कुनै पनि शाखाबाट सजिलै भुक्तानी लिन सक्नेछन । सेन्ट्रल बैंक अफ ईण्डियाबाट पठाएको रकम नेपाल बैंकको एनबीएल रेमिट मार्फत क्यास टु क्यास, अकाउन्ट टु अकाउन्ट अथवा क्यास टु अकाउन्ट सुविधाबाट भुक्तानी लिन सक्नेछन् । अहिले मूलुकभर नेपाल बैंकको १२६ वटा शाखा सञ्चालनमा छन् । करिब चार हजार पाँच सय शाखा रहेको भारतको सेन्ट्रल बैंक अफ ईण्डियासँगको रेमिट्यान्स सेवा सम्झौता पछि भारतमा रहेका नेपालीहरुलाई स्वदेश आगमनमा रकम बोक्नु पर्ने झन्झटबाट मुक्ति पाउनुका साथै बाटोमा हुन सक्ने चोरी ठगीबाट समेत सुरक्षित हुने बैंकले जनाएको छ । नेपाल बैंकले यस अघि नै राष्ट्रिय तथा अन्तराष्ट्रिय रेमिट्यान्स कम्पनीहरुसँगको साझेदारीमा युरोप, खाडी मूलुक तथा अन्य राष्ट्रबाट “एनबिएल रेमिट तथा अन्य माध्यमबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ । यसैगरी यस बैंकले वेष्टर्न युनियन, हिमाल रेमिट, प्रभु मनी ट्रान्सफर, आईएमई, मनीग्राम, सिटी एक्सप्रेस लगायतका रेमिट्यान्स कम्पनीसंगको सहकार्यमा विदेशबाट पठाएको रकम भुक्तानी गर्दै आएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लुम्बिनी बैंक र सगरमाथा इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं, २२ असार । लुम्बिनी बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख–बजार व्यवसथापान विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंखु क्षेत्रीले मंगलबार हस्ताक्षर गरेका थिए । यस सेवा अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकवर्गहरुले निरजीवन बिमा सेवा सुलभ र छरितो रुपमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाईएको कम्पनीले जनाएको छ ।

जगदम्बा सिमेन्टको ‘होम इन्स्योरेन्स योजना’ सकिँदै

काठमाडौं, २१ असार । जगदम्बा सिमेन्टको ‘जगदम्बा सिमेन्ट होम इन्स्योरेन्स’ योजना असार महिनाबाट सकिने भएको छ । योजनामार्फत ५० बोरा भन्दा माथिको जगदम्बा सिमेन्टको खरीदमा ग्राहकलाई १ करोड ५० लाख रुपैँयासम्मको घर बीमा सुविधा उपलब्ध गराइएको थियो । कम्पनीका अनुसार ‘मजबुती र बीमा सुरक्षा दुई गुणा’ नाराका साथ ल्याइएको योजना असार ३२ गतेदेखि सकिने भएको छ । कम्पनीले त्यसअघि नै अफरको फाइदा उठाउन ग्राहकहरुलाई आग्रह गरेको छ । कम्पनीको कुनैपनि उत्पादनको लोडिङमा यसअघि उपलब्ध हुँदै आएको कुनैपनि कुपन नआउने तर डिलर तथा उपभोक्ताहरुको मातहतमा रहेका कुपनहरुको हकमा भने मिति २०७४को असार ३१ गतेसम्म यो मान्य हुने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यस योजनामा सहभागी तथा भावी दिनहरुमा सहभागिता जनाउने उपभोक्ताहरुले योजना अन्र्तगत तोकिएको मितिभित्र आफ्नो घरको बीमा गर्न सक्नेछन् ।