कथा लेखन प्रतियोगिता सञ्चालन गर्दै बीमा प्राधिकरण, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कथा लेखन प्रतियोगिता सञ्चालन गर्ने भएको छ । प्राधिकरणले बीमा क्षेत्रको विकास, विस्तार, प्रवर्द्धन तथा पहुँच वृद्धि गर्न चित्रकथा निर्माणका लागि कथा लेखन प्रतियोगिता सञ्चालन गरिएको जनाएको छ । उक्त चित्रकथा लेखन प्रतियोगितामा भाग लिन इच्छुक बीमा क्षेत्रमा कार्यरत कर्मचारी तथा सरोकारवाला व्यक्तिहरूलाई नियमअनुसार आवेदन दिन प्राधिकरणले सूचना जारी गरी जानकारी गराएको छ ।  प्राधिकरणका अनुसार बीमाका विविध विषय समेटी नेपाल बीमा प्राधिकरणले तोकेको इमेलमार्फत पठाउन सक्नेछन् ।  कथाको विषयवस्तु तयार गरी मंसिर १५ गतेसम्म उपलब्ध गराउन प्राधिकरणले अनुरोध गरेको छ । कथा बढीमा ५ सय शब्दको हुनुपर्ने छ । मापदण्ड पुरा भएका १० वटा कथालाई प्राधिकरणले छनौट गरी चित्रकथा तयार गर्ने प्राधिकरणले जनाएको छ । छनोट भएका कथाको लागि प्राधिकरणले प्रतिकथा ८ हजार रुपैयाँ पारिश्रमिक प्रदान गरिने भएको छ ।

केही मिनेटमै बीमा, ईसेवा र शिखरले ल्याए छरितो स्वास्थ्य योजना

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवा र निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सको सहकार्यमा नयाँ स्वास्थ्य बीमा योजना ‘सहारा हेल्थ इन्स्योरेन्स’ सार्वजनिक भएको छ । ५ देखि ६५ वर्ष उमेर समूहका नागरिकहरूलाई लक्षित गर्दै तयार गरिएको यस योजनाले हस्पिटल भर्ना, आकस्मिक उपचार, शल्यक्रिया, औषधोपचार खर्च, ल्याब परीक्षण र दुर्घटना उपचारसम्मका सुविधा उपलब्ध गराउँछ ।  बीमांकको विकल्प २ लाख, ३ लाख र ६ लाख रुपैयाँ रहेको छ भने प्रारम्भिक प्रिमियम मात्र १ हजार ३९९ बाट सुरु हुन्छ । यसअन्तर्गत बीमितले नेपालभरिका मान्यता प्राप्त अस्पतालमा उपचार गराएर क्यास रिमबर्समेन्ट प्राप्त गर्न सक्नेछन् । त्यस्तै, शिखर इन्स्योरेन्सका २६ वटा नेटवर्क अस्पतालमा क्यासलेस उपचार सुविधा पनि उपलब्ध हुनेछ, जसले आकस्मिक स्वास्थ्य अवस्थाहरूमा आर्थिक तनाव बिना उपचार सम्भव बनाउँछ । योजनामा एक पटकको निःशुल्क टेलिहेल्थ कन्सल्टेसन सेवासमेत समावेश गरिएको छ, जसले बीमितलाई घरमै स्वास्थ्य सल्लाह लिन सहज बनाउँछ । ईसेवा एपमार्फत केही मिनेटमै ग्राहकले बीमा पोलिसी एसएमएस र इमेलमार्फत प्राप्त गर्न सक्नेछन् ।

नेशनल लाइफले गण्डकी प्रदेशका २२० अभिकर्तालाई गर्‍यो सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरास्थित होटल वाटरफ्रन्टमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश प्रसाद खत्रीको सभापतित्वमा आयोजना गरिएको थियो । आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशबाट बीमाशुल्क संकलन गरी योग्य ठहरिएका २२० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा शाखा प्रमुखहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ । सीईओ खत्रीले पानसमा दीप प्रज्वलन गर्दै कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशबाट सीईओ क्लब सदस्यमा चयन भएका अभिकर्तालाई सदस्यता प्रमाणपत्र वितरण तथा विशेष सम्मान गरिएको थियो । साथै, आफ्नै कोड र संजालमा क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने अभिकर्ताहरूलाई  पुरस्कार प्रदान गरियो । सो अवसरमा गण्डकी प्रदेशबाट ‘नेशनल रत्न’ तथा ‘नेशनल स्टार’ उपाधि प्राप्त अभिकर्ताहरूलाई नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, प्रमाणपत्र र खादासहित सम्मान गरिएको थियो । प्रमुख कार्यकारी अधिकृत खत्रीले भने, 'सीईओ क्लब र नेशनल अवार्ड योजना अन्तर्गत प्रदेश-प्रदेशमा सम्मान कार्यक्रम गर्दै जाने कम्पनीको योजना हो । गण्डकी प्रदेशबाट शुरुवात गरिएको यो कार्यक्रम अब अन्य प्रदेशहरूमा निरन्तर सञ्चालन गरिनेछ ।' उनले थपे, 'कम्पनीले अभिकर्तामैत्री योजना ल्याउने क्रममा ‘सीईओ क्लब सदस्यता योजना’ सुरु गरिएको हो र यसमा हालसम्म १६०० भन्दा बढी अभिकर्ता चयन हुनु योजना सफलताको सूचक हो ।' कार्यक्रममा सहभागी अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले तालिम प्रदान गरेका थिए । बीमा क्षेत्रमा सफल हुनका लागि धेरै व्यक्तिसँग सम्पर्क विस्तार गरी बीमा पोलिसी प्रस्ताव गर्न सक्ने ज्ञान र आत्मविश्वास आवश्यक हुने उनको भनाइ थियो । सम्मान कार्यक्रमपछि अभिकर्ताहरूले यो प्रशिक्षणले आफूहरूमा व्यवसायिक ऊर्जा र प्रेरणा थपेको प्रतिक्रिया दिएका छन् । सम्मान प्राप्त अभिकर्ताहरूले भने, 'हाम्रो मेहनतको कदर गरिएको महसुस भयो, यसले अझ राम्रो काम गर्ने उत्साह जगाएको छ ।'