एनसीसी बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बीमा पोलिसी बिक्री गर्ने सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र सिटिजन लाइफ इन्स्योरेन्स बीच बीमा पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका तर्फवाट प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । मंसीर २६ गतेको भएको उक्त सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री गरिने भएको छ ।    

कामना सेवा विकास बैंक र यूनियन लाईफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा कामना सेवा बिकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र यूनियन लाईफ ईन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता पश्चात कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट यूनियन लाईफ इन्स्योरेन्सको बीमालेख खरिद गर्न सक्ने छन् ।

बीमा कम्पनीहरुलाई पुँजी वृद्धि गर्ने समय सीमा २०७६ असार मसान्तसम्म

चिरञ्जीवि चापागाई, अध्यक्ष, बीमा समिति काठमाडौं । तोकिएको समयमा न्यूनतम चुक्ता पुँजी पुर्याउन नसकेका बीमा कम्पनीहरुका लागि खुशीकाे खबर आएको छ । बीमा समितिले पुँजी वृद्धिको समय सीमा २०७६ असार मसान्तसम्म बढाउने भएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईले बीमा कम्पनीहरुको लागि पुँजी वृद्धिको समयावधि बढाउन लागिएको जानकारी दिएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको भेटघाटका क्रममा अध्यक्ष चापागाईले सो जानकारी गराएका हुन् । वित्त बजारमा लगानी योग्य पुँजीको कमी रहेको र नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) लागू गर्ने क्रममा बीमा कम्पनीहरुको एक्चुरी र वार्षिक साधारणसभा समेत ढिला हुने भएकोले ६ महिना समय थप्न लागिएको उनले जानकारी दिए । जतिबेला पुँजी बृद्धि गर्न बीमा समितिले निर्देशन दिएकाे थियाे त्यतिबेला तरलता संकट नभएकाे तर अहिले तरलता संकट भएकाले लगानीकर्ताले पुँजी जुटाउन गाह्राे भएकाे जनाएकाे उनले बताए । सराेकार निकायहरूसँग छलफल गरेर पुँजी वृद्धिकाे समय थप्ने तयारी भएकाे  र केही दिनभित्रै पुँजी वृद्धि बारे नयाँ निर्देशन जारी हुने उनले बताए । बीमा समितिले जीवन बीमा कम्पनीको लागि न्यूनतम २ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको लागि न्यूनतम १ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकेको छ । पुँजी वृद्धिको समय २०७५ असार मसान्तसम्म तोकिएको थियो । विशेष अवस्थामा कम्पनीहरुले ३/३ महिना गरी बढीमा छ महिना समय थप्न पाउने व्यवस्था थियो । हालसम्म नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, हिमालय जनरल इन्स्योरेन्स कम्पनीसहित थोरै कम्पनीले मात्र तोकिएको चुक्ता पुँजी पुरा गरेका छन् ।