सानिमा रिलायन्स लाइफले गर्‍यो समता एजुकेशन फाउन्डेशनलाई ५ लाख रुपैयाँ सहयोग

काठमाडौं ।  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत  समता एजुकेशन फाउन्डेशनलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । कम्पनीबाट प्राप्त पाँच लाख रुपैयाँको सहयोग उक्त फाउन्डेशनले विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूका लागि शैक्षिक सामग्री (पाठ्यपुस्तक, कपी, पोशाक, स्टेशनरी) खरिद, भौतिक संरचना सुधार तथा शैक्षिक गुणस्तर वृद्धिमा प्रयोग गर्नेछ ।  यस सहयोगबाट फाउन्डेशनले शिक्षा पाउन कठिनाइमा परेका बालबालिकालाई निरन्तर अध्ययनको अवसर सुनिश्चित गर्न योगदान पुग्ने विश्वास लिएको छ । समता एजुकेशन फाउन्डेशन नेपालको शैक्षिक क्षेत्रमा स्थापित एक गैरनाफामुखी संस्था हो, जसले ‘शिक्षा सबैका लागि’ भन्ने मूल नारा अनुरूप गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।  संस्थाले हाल देशका विभिन्न जिल्लामा समता विद्यालयमार्फत अत्यन्त न्यून शुल्कमा (रु. १०० प्रति महिना) शिक्षा प्रदान गर्दै आएको छ, जसले हजारौं विद्यार्थीहरूलाई विद्यालय शिक्षा प्राप्त गर्न सक्षम बनाएको छ ।  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सहयोग गर्दै समाजप्रतिको उत्तरदायित्वलाई अझ सशक्त बनाउँदै लैजाने योजना बनाएको छ । हाल कम्पनीले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ । कम्पनीको पूँजी ५ अर्बभन्दा बढी रहेको छ भने २० अर्बभन्दा बढीको लगानी भइसकेको छ । कम्पनीमा करिब २० हजारभन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन् । 

यस्तो छ सिद्धार्थ प्रिमियरको तीन महिनाको वित्तीय अवस्था

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ  । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार तीन महिनाको अवधिमा कम्पनीको नाफा घटेको छ । असोज मसान्तसम्ममा कम्पनी २९ करोड ८५ लाख ४१ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ६ करोड ४० लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । असोज मसान्तसम्ममा ६६ करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले यही अवधिमा ६६ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको यसै अवधिको तुलनाका कम्पनीको कुल बीमाशुल्क ०.६६ प्रतिशतले घटेको छ । समिक्षा अवधिमा कम्पनीको खुद बीमाा शुल्क पनि घटेको छ । तीन महिनामा कम्पनीले ३० करोड ९० लाख १२ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवको यही अवधिमा कम्पनीले ३४ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । असोज मसान्तसम्ममा कम्पनीको कुल आम्दानी ४६ करोड ६९ लाख रुपैयाँ छ । त्यस्तै कम्पनीको कुल सम्पति २२ अर्ब ४९ करोड ११ लाख रुपैयाँ छ । २ अर्ब ८० करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीको असोजसम्ममा महाविपत्ती कोषमा २२ करोड ६० लाख रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा ७२ करोड ८८ लाख रुपैयाँ, स्पेशल रिर्जभमा २ अर्ब ५० करोड रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।   

सलिकोको बीमा सचेतना वाकाथन कार्यक्रम सम्पन्न

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले ‌शुक्रबार बिहान काठमाडौंमा ‘बीमाः सुरक्षित भविष्यको आधार’ भन्ने मूल नाराका साथ बीमा सचेतना वाकाथन सम्पन्न गरेको छ । यस वाकाथनको उद्देश्य सर्वसाधारणबीच बीमाको महत्त्वबारे जनचेतना फैलाउनु हो । कार्यक्रम कम्पनीको नक्सालस्थित केन्द्रीय कार्यालयबाट सुरु भई नक्साल भगवती मन्दिर, नागपोखरी, गैरीधारा, हिल्टन होटल, नक्साल भगवती मन्दिर हुँदै पुनः केन्द्रीय कार्यालयमा समापन गरिएको थियो । झन्डै ४  किलोमिटरको यो वाकाथनमा कम्पनीको उपत्यका भित्रका शाखा कार्यालयहरुको करिब १०० जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । उक्त अवसरमा सहभागीहरूले बीमाको आवश्यकता र फाइदाबारे जनचेतना फैलाउने सन्देशसहितको ब्यानर र प्लेकार्ड बोकेका थिए । सलिकोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीका अनुसार यस किसिमका सार्वजनिक अभियानहरूले सर्वसाधारणमा बीमाप्रति सचेतना बढाउँछन् । कम्पनीले भविष्यमा पनि यस्ता जनमुखी सचेतनामूलक गतिविधिहरू निरन्तर रूपमा सञ्चालन गरिनै रहने प्रतिवद्दता जनाएको छ ।