ज्योति लाईफकाे प्रमुख कार्यकारी अधिकृतमा प्रकाश खत्रीकाे नाम स्वीकृत
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा बीमा समितिले प्रकाश बिक्रम खत्रीकाे नाम स्वीकृत गरेकाे छ । कम्पनीकाे सञ्चालक समितिले खत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने प्रस्ताव गर्दै बीमा समितिसँग स्वीकृत मागेकाे थियाे । कम्पनीकाे प्रस्तावअनुसार समितिले खत्रीकाे नाममा सहमति दिएकाे बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पाैडेलले जानकारी दिए । समितिले स्वीकृत गरेकाे जानकारी भएपनि नियुक्ति सम्बन्धि अन्तिम निर्णय कम्पनीकाे सञ्चालक समितिबाट हुन बाँकी रहेकाे खत्रीले बताए । आगामी साता बस्ने कम्पनीकाे सञ्चालक समितिले निर्णय लिने उनले बताए । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको स्थापना कालदेखि नै नायव प्रमुख कार्यकारी अधिकृत थिए । साथै, उनले विगत तीन वर्षदेखि कामु प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारी समेत समालेका थिए । कम्प्युटर साईन्समा स्नातकोत्तर गरेका खत्रीसँग संसारकै ठूलो मानिने बाराक्लेज बैंकमा ५ बर्ष काम गरेकाे अनुभव छ । बेलायतको केन्द्रिय कार्यालयमा काम गरेका उनी नेपाल फर्किएर लक्ष्मी बैंकको मेनेजरका रुपमा ४ वर्ष थप जिम्मेवारीमा रहे । नेपाल लाइफ र एनआईसी एसिया बैंकको सञ्चालककाे समेत अनुभव हासिल गरेकाे छन् ।
नेशनल लाईफ इन्स्योरेन्सले भुक्तानी गर्यो एक करोड ८४ लाख रुपैयाँ
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पूर्णावधि दावी(Maturity Claim) वापत १ करोड ८४ लाख ४१ हजार ९८५ रुपैयाँ रकम बीमितलाई भुक्तानी गरेको छ । लकडाउनको अवधिमा डिजिटल माध्यमबाट विविध बीमासेवा उपलब्ध गराउँदै आएको यस कम्पनीले सो अवधिमा उक्त रकम भुक्तानी गरेको हो । कम्पनीले डिजिटल प्रविधिवाट बीमाशुल्क भुक्तानी लिने र बीमितलाई अन्य सेवा सुविधा समेत उपलब्ध गराइरहेको छ । कम्पनीले आफ्नो सम्पूर्ण कर्मचारीहरुको कोरोना (कोभिड १९) रोग वापत एक वर्षको लागि बीमा गरेको कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले जानकारी गराएका छन् । सो रोग लागेको पि.सि.आर. प्रविधिवाट प्रमाणित भएमा तुरुन्त बीमाङ्क रकम प्रदान गर्ने व्यवस्था रहेको छ । यसवाट कम्पनीमा कार्यरत कर्मचारीहरुको मनोवल उच्च हुने र ब्यवसायमा सकारात्मक प्रभाव पार्ने कम्पनीको विश्वास छ ।
ज्योति लाईफ इन्स्योरेन्सकाे बीमा शुल्क ९७ प्रतिशतले वृद्धि
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स बीमा शुल्क गत वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रोत्रयमा ९७ प्रतिशतले वृद्धि भएको छ । लकडाउनको अवधिमा नै इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेश्रोत्रय प्रकाशित गरेको थियो । प्रकाशित सो वित्तीय विवरण अध्ययन विश्लेषण गर्दा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यस आर्थिक वर्षको तेश्रोत्रयमा समाकुल बीमा शुल्कमा ९७ प्रतिशतले वृद्धि गर्दै १.१४अर्ब रुपैयाँ आर्जन गर्न सफल भएको देखिन्छ । व्यवसाय वृद्धिसंगै जीवन बीमा कोष ज्योति लाईफ इन्स्योरेन्स बलियो बनाउँदै गएकाे छ । कम्पनीले अल्पकालिन लगानी घटाई दिर्घकालिन लगानीलाई प्राथमकिता दिएको कारणले दिर्घकालिन लगानी ८३ प्रतिशतले वृद्धी भएको छ । त्यस्तै अल्पकालिन लगानीमा ५८ प्रतिशतले गिरावट आएको छ । व्यवस्थापन खर्चमा भएको वृद्धिको बाबजुद कम्पनीले खुदनाफामा समेत १४ प्रतिशतले सुधार गर्दै ११.५१ करोड रुपैयाँ नाफा गर्न सफल भएको छ भने नाफाको रकम बीमाङ्किय मूल्याङ्कन पश्चात परिवर्तन हुन सक्नेछ । व्यवसाय तथा बीमितको संख्या वृद्धीसंगै कम्पनीको दाबी भुक्तानी रकम पनि १३६ प्रतिशतले वृद्धी भईदाबी वापत ८९.५९ लाख रुपैयाँ भुक्तानी गरेको देखिन्छ । व्यवसाय तथा लगानी बृद्धि, संचालन खर्चमा सन्तुलन लगायतको कारणले कम्पनीको तेश्रोत्रय मासमा जगेडा कोषमा समेत ८३ प्रतिशतले वृद्धि भइ ३७.३९ करोड रुपैयाँ कायम हुन गएको देखिन्छ । भने जिवनबीमा कोषमा १९१ प्रतिशतले वृद्धि भइ १.४० अर्ब रुपैयाँ रहेकोे देखिन्छ । कम्पनीको वित्तीय विवरण अध्ययन गर्दा दिर्घकालिन लगानीको अनुपात बढी रहेको र वित्तीय बजारमा निक्षेपको ब्याजदरमा कमी आएता पनि कम्पनीको नाफा आगामी दिनमा समेत सन्तुलित हुने विश्लेषण गर्न सकिन्छ ।