सिद्धार्थ प्रिमियरद्वारा २१ करोडको बीमा दाबी भुक्तानी

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले २१ करोड बढीको बीमा दाबी भुक्तानी गरेको छ । २०८० असार २ गते संखुवासभामा गएको भीषण बाढीबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अगुवाइमा युनाइटेड अजोड इन्स्योरेन्ससँग सह–बीमा रहेको अपर हेवा खोला हाइड्रो पावर कम्पनीमा ठूलो क्षति भएको थियो । सो हाइड्रो पावरको भौतिक संरचना, वाँध, पेनस्टक पाइप, सिल्टीङ्ग वेसिन सस्पेन्सन ब्रीज,   लगायतको सम्पत्तिको क्षति तथा घटना पश्चात विद्युत उत्पादन अवरुद्ध भएको करिव ६ महिनाको क्षति समेतको जम्मा २११,९६०,५०० रूपैयाँको दावी फछ्र्यौट गरेको छ । कम्पनीमा आयोजित एक समारोहमा सो हाइड्रो पावरका प्रवन्ध सञ्चालक डेढराज खड्कालाई नाफाको नोक्सान वापत १०४,५३१,५०० रूपैयाँ बराबरको चेक इन्स्योरेन्सका कार्यकारी प्रमुख वीरेन्द्र बैदवार क्षेत्री द्धारा हस्तान्तरण गरियो भने सम्पत्ति क्षति वापतको बीमा रकम १०७,४२९,००० रूपैयाँ दावी फछ्यौट पूर्जा समेत हस्तान्तरण गरियो । सो अवसरमा  दुवै कम्पनीका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति रहेको थियो । चेक हस्तान्तरण पश्चात इन्स्योरेन्सका कार्यकारी प्रमुख क्षेत्रीले इन्स्योरेन्समा पर्न आएको दावीहरुलाई उच्च प्राथमिकताका साथ फछ्र्यौट गर्दै आएको बताए भने हाइड्रो पावरका प्रवन्ध सञ्चालक खड्काले बीमा भुक्तानीमा कम्पनीले पुर्याएको सेवा प्रति सन्तुष्ट रहेको बताए ।

सिटिजन लाइफको जेन जेड लक्षित कार्यक्रम तयार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले जेन जेड लक्षित कार्यक्रम तयार गरेको छ । नव वर्ष २०८१ सालको आगमन सँगै कम्पनीले नयाँ र अद्वितीय ढङ्गले सेवा ग्राहिहरुलाई सहायता पुर्याउने उद्देश्यका साथ कार्यक्रमहरु तयार पारेको हो । उक्त कार्यक्रमहरु मध्यको एक, जेन जेड अन्तर्गत पर्ने युवा पुस्ताहरुलाई मध्य–नजर गर्दै ‘सिटिजन विथ जेन जेड’ कार्यक्रमहरु सञ्चालन गर्ने, भविष्यका लागि जीवन बीमा र लगानिको महत्व बारे बुझाउने र युवा वर्गहरु आकर्षित हुने कार्यक्रमहरु सञ्चालन गरी उनिहरुलाई सचेत गराउने र चाहिने सहयोग पुर्याउने रहेको छ । सिटिजन आफैमा नेपालको जीवन बीमा कम्पनीहरु मध्धे कान्छो कम्पनीहरुमा पर्दछ । यस कम्पनीमा कार्यरत कर्मचारीहरु पनि धेरै जसो युवा उमेर समूहकै छन् । सायद त्यसैले नै होला यस कम्पनीले सधै जोश र जागरका साथ नयाँ र आक्रमक रणनिती लिएर व्यापार प्रतिसप्रधामा उच्च स्थान हासिल गरी सधै आफुलाई प्रमाणित गर्दै आइरहेको कम्पनीले जनाएको छ । हाल सिटिजनले कम्पनीको आन्तरिक कर्मचारीहरु आकर्षित हुने रचनात्मक र चुनौतीपूर्ण कार्य, आफ्नो कुशलता प्रस्तुत गर्ने अवसर, विभिन्न तालिम र सीप विकास कार्यक्रमहरुमा सहभागी हुने साथै विभिन्न खेल्कुद प्रतियोगिताहरुमा सहभागी हुने अवसर प्रदान गरिरहेको छ । साथै, यसै वर्ष देखी विविधतामा एकता पहलका साथै कम्पनी भित्र विभिन्न जात, धर्म र संस्कृतिक परिभाषाका कर्मचारीहरु मध्य विविधतामा समावेशिताको भावना जागाउनका लागी विभिन्न संस्कृतिक कार्यक्रमहरुको आयोजना गराउने तयारी गरेको कम्पनीले जनाएको छ । पछिल्लो समयमा सिटिजन लाइफ, युवा वर्ग लक्षित कम्पनीको डिजिटल सिटिजन अभियान अन्तर्गत, डायनामिक क्युआर पेमेन्ट सिस्टम संचालन लगायत अनलाईन मार्फत बीमा प्रस्ताव दाखिला गर्ने सफ्टवेयर प्राणलिको सुरुवात गर्ने पहिलो कम्पनी हो । अहिलेको प्राविधिक युगमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै यस क्रमलाई अझै सकृय र अप टु डेट बनाउने प्रयासमा छ । जसका लागी कम्पनीको व्यवस्थापन समुहले अनुसन्धान, विकास र प्राविधिमा लगानी बढाउने तय गरेको कम्पनीले जनाएको छ ।

बागलुङका गाउँमा स्वास्थ्य बीमा पुग्यो तर सेवा पुगेन

गलकोट । बागलुङमा एक लाख १६ हजार नागरिक स्वास्थ बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमाको पहुँच वृद्धि गरी नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०७३ असारदेखि लागू भएको यस कार्यक्रममा नागरिकको आकर्षण थप बढ्दो छ । सो बीमाबाट लाभ लिनका लागि स्वास्थ्य सेवाको पहुँच भने अझै पुग्न सकेको छैन । स्वास्थ्य बीमामा पहुँच पुगे पनि आफ्नै पालिकामा त्यसबाट लाभ लिन नपाएकामा बीमितहरू निराश देखिएका छन् । निसीखोला गाउँपालिका-३ का हुमलाल रेग्मीले आफ्नै पालिकामा निःशुल्क स्वास्थ्य सेवा पाउने आशले स्वास्थ्य बीमा गरे पनि हालसम्म बीमामार्फत औषधोपचार नपाएको गुनासो गरे । हुमलालमात्रै होइन निःशुल्क स्वास्थ्य सेवा पाउने आशमा स्वास्थ्य बीमा गरेका यस पालिकाका १४ हजार तीन ४२ जनामध्ये कसैले पनि आफ्नै घरछेउमा बीमाबाट लाभ लिन सकेका छैनन् । गाउँपालिकाले त सबै नागरिकलाई स्वास्थ्य बीमाको पहुँचमा ल्याउने अभियान नै सञ्चालन गरेको छ । त्यसका लागि आफ्नै स्रोतबाट पहिलोपटक स्वास्थ्य बीमा गर्ने नागरिकको प्रिमियम बराबरको रकम तिर्ने गरेको छ । यस कार्यले सबै नागरिकलाई बीमाको पहुँचमा ल्याउन सघाउ पुगे पनि स्वास्थ्य सेवा पाउन ढोरपाटन नगरपालिकास्थित बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र धाउनुपर्ने बाध्यता रहेको रेग्मीको भनाइ छ । ‘गाउँगाउँमा स्वास्थ्य चौकी, स्वास्थ्य चौकी नभएका ठाउँमा सामुदायिक स्वास्थ्य केन्द्र र गाउँघर क्लिनिक स्थापना गरिएका छन् तर स्वास्थ्य बीमाबाट लाभ लिन धेरै टाढाको बुर्तिवाङ धाउनुपरेको छ’, रेग्मीले भने, ‘चिकित्सकसहितको आधारभूत अस्पताल आफ्नै ठाउँमा सञ्चालनमा आए त हामीले यही ठाउँबाट लाभ लिन पाउथ्यौँ नि !’ निसीखोलाका पूर्णबहादुर चन्दले पनि सामान्य उपचारका गर्न लागि जाँदासमेत स्वास्थ्य बीमाबाट सेवा लिन नपाउँदा आफूहरू निराश भएको बताए । गाउँपालिकाका अध्यक्ष अध्यक्ष सूर्यबहादुर घर्ती भने पालिकामा दस श्ययाको आधारभूत अस्पताल निर्माणको काम अन्तिम चरणमा रहेकाले अब केही महिनामै स्वास्थ्य बीमाबाट लाभ लिने अवस्था बन्ने बताउँछन् । दशवटा स्थानीय तह रहेको बागलुङमा बागलुङ नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका र ढोरपाटन नगरपालिकाका गरी चार पालिकाका नागरिकले मात्रै आफ्नै ठाउँमा सेवा लिने गरेको स्वास्थ्य बीमा बोर्ड बागलुङका दर्ता अधिकारी नारायणप्रसाद पौडेलले बताए । त्यसबाहेक निसीखोला, तमानखोला, बरेङ, बडिगाड, ताराखोला र काठेखोला गरी छवटा गाउँपालिकामा स्वास्थ्य बीमाका प्रथम सेवाबिन्दु नहुँदा त्यहाँका नागरिक सेवा पाउनकै लागि सदरमुकामलगायत छिमेकी जिल्लामा जानुपर्ने बाध्यता रहेको पौडेलको भनाइ छ । स्वास्थ्य बीमाबाट बीमित परिवारलाई एक वर्षसम्म एक लाख रुपैयाँ बराबरको निःशुल्क उपचारको सेवा प्रदान गर्ने व्यवस्था छ । हाल स्वास्थ्य बीमाबाट जिल्ला सदरमुकाममा रहेको धवलागिरि अस्पताल, ढोरपाटनमा रहेका बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, गलकोट नगर अस्पताल, जैमिनीको कुश्मीसेरामा रहेको नगर अस्पतालमा प्रथम सेवाबिन्दुका रूपमा रहेका छन् । रासस