नेपाल बीमा प्राधिकरणको ५६औँ वार्षिकोत्सवमा प्रभातफेरी कार्यक्रम (फोटो फिचर)
काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५६औँ वार्षिकोत्सवका अवसरमा आज (सोमबार) बिहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट सुरू भएको प्रभातफेरी र्याालीमा बीमा सम्बन्धी जानकारीमूलक सन्देशहरू अङ्कित ब्यानरहरू प्रदर्शन गर्दै सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । प्रभावतफेरी कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशील देव सुवेदी, निर्देशक पूजन ढुङ्गेल (अधिकारी), निर्देशक दिनेश कुमार लाल र कर्मचारीहरू सहभागि भएका थिए । साथै, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा कर्मचारीहरू, जीवन बीमक संघ, नेपाल बीमक संघ, बीमा सर्भेयर संघ, पेशागत बीमा अभिकर्ता संघ लगायतको सहभागिता रहेको थियो । सभालाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सबैको प्रयासमा सफलताका साथ अगाडि बढिरहेको बीमा बजारको भविष्य उज्ज्वल रहेको बताए । उनका अनुसार बीमा कम्पनीहरूले न्यून आय भएका र विपन्न वर्गलाई लक्षित गरी गाउँगाउँमा सेवा विस्तार गर्नुपर्छ । बीमा कम्पनीका राम्रा काममा प्राधिकरणको सधैं साथ र समर्थन रहने र निर्देशिका, मार्गदर्शन जारी गर्नुभन्दा अगाडि बीमकहरूको सुझाव लिने गरेको उनको भनाइ छ । ‘नागरिकमा बीमा गर्ने बानी बसाल्न पहल गर्नुपर्छ, बीमा विश्वासिलो बजार हो, बीमा कम्पनीले कहिल्यै धोका दिँदैनन् भन्ने विश्वास स्थापित गर्नुपर्छ, कम्पनीहरूले आफूलाई परिमार्जन गरेर आफ्ना कामहरूका बारेमा आमरूपमा जानकारी गराउनुपर्छ,’ उनले भने । सरकारका नीति, रणनीति र पञ्चवर्षीय योजनामा बीमा प्रवद्र्धनका विषय समावेश हुनु आवश्यक छ, भूकम्प, बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपहरूबाट सिर्जना हुने जोखिम विरूद्ध आर्थिक सुरक्षण गर्न पूर्वाधारहरू लगायत सबै सरकारी सम्पत्तिको बीमा गर्न सरकारबाट पहल हुने उनको भनाइ छ । बीमा प्राधिकरणका संचालक समितिका सदस्य कपिल देव ओलीले प्राधिकरण, बीमक लगायत सम्बद्ध सबैको प्रयासमा बीमा व्यवसाय व्यवस्थित, विकसित र समृद्ध हुँदै अगाडि बढिरहेको बताए । बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले ग्रामीण क्षेत्रसम्म बीमा सेवा विस्तार गर्न तथा न्यून आय भएका र विपन्न वर्गलाई बीमाको दायरामा ल्याउन जोड दिनुपर्ने आवश्यकता औंल्याए । कार्यक्रमको संचालन नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले गरेका थिए । जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले प्राधिकरणको ५६औँ वार्षिकोत्सवको सुभकामना दिँदै बीमा क्षेत्रलाई अझ विश्वासिलो र गर्विलो बनाउनुपर्ने बताए । नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बीमाको पहुँच बढाउन गाउँघरसम्म पुग्नु पर्ने बताए ।
लघुबीमामा भ्याट छुट, स्वास्थ्य बीमा बोर्डलाई कम्पनीमा रूपान्तरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमामा भ्याट छुट दिन सुझाव दिएको छ । प्राधिकरणले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमका लागि सुझाव दिँदै ग्रामिण क्षेत्रमा बसोबास गर्ने विपन्न एवं न्यून आए भएका नागरिकको बीमा गर्न लघु बीमालाई नेपाल सरकारबाट अनुदान प्रदान गर्नुका साथै लघु बीमामा भ्याट छुट दिने व्यवस्था गर्न सुझाव दिएको हो । प्राधिकरणले कोरोना बीमाको बाँकी रहेको दाबी भुक्तानीका लागि आवश्यक बजेट व्यवस्था गर्न पनि सुझाव दिएको छ । कोरोना बीमाको बाँकी रहेको दावी भुक्तानीका लागि नेपाल सरकारबाट बजेट विनियोजन गर्नु पर्ने र विनियोजित बजेटलाई प्राथमिकता तोकी दाबी भुक्तानी गर्ने व्यवस्था मिलाउन सरकारलाई प्राधिकरणले सुझाव दिएको हो । हाल तेस्रो मुलुकमा जाने श्रमिकका लागि मात्र म्यादी जीवन बीमा अनिवार्य रहेकोमा भारतमा जाने श्रमिकका लागि समेत उक्त अनिवार्य गर्न सरकारलाई सुझाव दिएको छ । भारतमा जाने श्रमिकका लागि म्यादी जीवन बीमा अनिवार्य गर्न लक्षित वर्गका लागि आवश्यकताअनुसार कानून निर्माण तथा संशोधन गर्न आग्रह गरेको छ । प्राधिकरणले स्थानीय तहहरूसँगको समन्वयमा भारतमा जाने श्रमिकको म्यादी जीवन बीमा गर्न सकिने पनि स्पष्ट पारेको छ । यस्तै, उपभोक्ता समितिमार्फत् निर्माण हुने संरचना तथा भौतिक सम्पत्तिको समेत अनिवार्य बीमा गर्नु पर्ने, न्यून आय भएका वर्ग र सीमान्तकृत समुदायलाई लघुबीमाको माध्यमबाट आर्थिक सुरक्षण प्रदान गर्न सुझाव दिएको छ । प्राधिकरणले हाल ठेकेदारमार्फत् निर्माण हुने आयोजनाको मात्रै बीमा हुने भएकोले अब उपभोक्ता समितिमार्फत् निर्माण हुने आयोजनाको पनि बीमा गर्नु पर्ने बताएको हो । प्राधिकरणले नीति तथा कार्यक्रममार्फत् कृषि, पशुपंक्षी तथा जडिबुटी बीमामा प्रदान गरिँदै आएको अनुदान स्थानीय तहमार्फत् भुक्तानी दिने व्यवस्था मिलाउने, स्वास्थ्य बीमा बोर्डलाई सरकारी स्वामित्वको स्वास्थ्य बीमा कम्पनीमा रुपान्तरण गरी नेपाल बीमा प्राधिकरणको नियमनको दायरामा ल्याउनु पर्ने सुझाव पनि दिएको छ । यस्तै, देशभित्र आन्तरिक परिवहनबाट ढुवानी हुने मालवस्तुको अनिवार्यरुपमा बीमा गर्ने र साइबर घटनाबाट उत्पन्न हुने जोखिमको बीमाको माध्यमबाट सुरक्षण गर्नु पर्ने सुझाव पनि प्राधिकरणको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दियो प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बेबिवारम प्रदान गरेको छ । इन्स्योरेन्सको ३१ औं वार्षिकोत्सवको अवसरमा प्राथमिक स्वास्थ्य केन्द्र सुर्खेतको पञ्चपुरी सालकोटलाइ २ थान बेबी वार्मर प्रदान गरेको हो । कार्यक्रममा पञ्चपुरी २ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र पञ्चपुरीका व्यवस्थापन समितीका अध्यक्ष याम बहादुर बि.सी, स्वास्थ्य केन्द्र प्रमुख डा.जयन्त कुमार साहु, लगायत पदाधिकारीको उपस्थितीमा इन्स्योरेन्सको कर्णाली प्रदेश प्रमुख राकेश बिसीले डा. जयन्त कुमार साहुलाई हस्तान्तरण गरेएका थिए । कार्यक्रममा स्वास्थ्य केन्द्र प्रमुख डा. साहुले सुर्खेत पश्चिमका सम्पुर्ण र अछाम जिल्लाका केहि बिरामीहरु समेतले स्वास्थ्य केन्द्रमा सेवा लिन आउने गरेको बताउँदै बेबी वार्मरअति नै आवश्यक रेहेको र महत्वपूर्ण सामग्री प्राप्त भएको बताए । त्यस्तै अध्यक्ष बि.सीले स्वास्थ्य केन्द्रलाई आवश्यक रहेको सामाग्री उपलब्ध गराउनु भएकोमा धन्यवाद दिँदै धेरै बिरामीको चाप रहेको स्वास्थ्य केन्द्रलाई यस्ता मेडिकल सामग्री दिनु भनेको यो बिकट क्षेत्रका बिरामीहरुलाई नयाँ जिवन दिनु जस्तै हो भन्दै कार्यक्रमको समापन गरेका थिए ।