प्रभु महालक्ष्मी लाइफको बीमालेख नवीकरणमा शतप्रतिशत छुट

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीबाट जारी भई व्यतित भएका बीमालेखहरू असार १२ देखि २७ गतेसम्म नवीकरण गरेमा विलम्ब शुल्क (समुन्नति जीवन बीमा योजना बाहेक) मा छुट दिने भएको हो । कम्पनीले ५ वर्षभन्दा बढी अवधिदेखि व्यतित बीमालेखमा २० प्रतिशत छुट, ३ देखि ५ वर्ष अवधिसम्म व्यतित बीमालेखमा ५० प्रतिशत छुट र ३ वर्षभित्रको व्यतित बीमालेखमा १०० प्रतिशत छुट दिने जनाएको छ । साथै, यस प्रकारको छुट बीमालेख अवधिभरि एकपटक मात्र पाइने र छुट सुविधाको उपयोग गरी नवीकरण गरिएको बीमालेख दुई वर्षभित्र सरेन्डर गरेमा छुट कट्टा गरिन कम्पनीको भनाइ छ ।

साढे ७ प्रतिशत बढ्यो जीवन बीमा व्यवसाय, एशियनलाई पच्छ्याउँदै प्रभु महालक्ष्मी, आइएमई र नेशनल लाइफ

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा जीवन बीमा कम्पनीहरूले साढे ७ प्रतिशत बढाएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठसम्म १४ वटा जीवन बीमा कम्पनीहरूको व्यवसाय ७.२९ प्रतिशत बढेर १ खर्ब ३३ अर्ब ६२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । प्राधिकरणका अनुसार बीमा कम्पनीहरूले समीक्षा अवधिमा १ करोड ४० लाख १२ हजार ३०२ वटा बीमालेख बिक्री गरी सो बराबर व्यवसाय आर्जन गरेका हुन् । गत आर्थिक वर्षको सोही अवधिमा बीमा कम्पनीहरूले १ खर्ब २४ अर्ब ५४ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका थिए । गत वर्षको ११ महिनामा १ करोड ४० लाख ६९ हजार ९३७ वटा बीमालेख बिक्री गरेका थिए । समीक्षा अवधिमा एशियन लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै बीमा व्यवसाय विस्तार गरेको देखिन्छ । यस कम्पनीले गत वर्षको तुलनामा १५ प्रतिशत व्यवसाय वृद्धि गरेर ७ अर्ब २ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ११ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । यस्तै प्रभु महालक्ष्मी लाइफले १३.७२ प्रतिशत बढाएर ३ अर्ब ७१ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्र्ब २७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । यस्तै आइएमई लाइफले १३.६४ प्रतिशत वृद्धि गरेर ४ अर्ब ४ करोड रुपैयाँ आर्जन गरेको छ । गत वर्षको जेठमा कम्पनीले ३ अर्ब ५६ करोड रुपैयाँ बराबर व्यवसाय गरेको थियो । यस्तै नेशनल लाइफले १३.५७ प्रतिशत बढाएर १५ अर्ब ९८ करोड रुपैयाँ, रिलायबल लाइफले १२.३० प्रतिशत बढाएर ३ अर्ब ६९ करोड रुपैयाँ, हिमालयन लाइफले ११.५० प्रतिशत बढाएर १४ अर्ब ६४ करोड रुपैयाँ, नेपाल लाइफले ९.८७ प्रतिशत बढाएर ३५ अर्ब ५६ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको प्राधिकरणको तथ्याङ्क छ । सानीमा रिलायन्सको ९.५३ प्रतिशत बढेर ५ अर्ब ३२ करोड रुपैयाँ, सिटिजन लाइफको ९.३३ प्रतिशत बढेर ५ अर्ब २९ करोड रुपैयाँ, सूर्यज्योति लाइफको ६.८३ प्रतिशत बढेर ८ अर्ब ६८ लाख रुपैयाँ, मेट लाइफको ६.५२ प्रतिशत बढेर ५ अर्ब ८ करोड रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालको २.६५ प्रतिशत बढेर १५ अर्ब ८९ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय आर्जन गरेका हुन् । समीक्षा अवधिमा दुई कम्पनीको बीमाशुल्क आर्जन भने गत वर्षको तुलनामा घटेको देखिन्छ । सन नेपाल लाइफको ०.९० प्रतिशत घटेर ३ अर्ब ३९ करोड रुपैयाँ र राष्ट्रिय जीवन बीमाको २४.२८ प्रतिशत घटेर ५ अर्ब ९५ करोड रुपैयाँ बराबर बीमा व्यवसाय गरेका हुन् ।

यूनाइटेड अजोडले १५ प्रतिशत हकप्रद जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको १५ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएको हो । कम्पनीले हकप्रद सेयर निष्काशनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ । मंगलबार (असार ११ गते) इन्स्योरेन्स र क्यापिटलबीच हकप्रद सेयर निष्काशनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यूनाइटेड अजोडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवण रावल र लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट सीईओ विजय लाल श्रेष्ठले हस्तारक्षर गरेका हुन् ।