भरतपुर अस्पतालले लियो १ अर्ब ८९ करोड बीमा दाबी भुक्तानी
चितवन । स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागु भएयता १ अर्ब ८८ करोड ९६ लाख ७८ हजार १ सय ५८ रुपैयाँ प्राप्त गरेको छ । यो अवधिमा बीमितले १० लाख ३५ हजार १ सय १५ पटक सेवा पाएका छन् । सेवा दिएबापत अस्पतालले बीमा बोर्डबाट सो रकम प्राप्त गरेको हो । अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलका अनुसार विसं २०७४ भदौ १ गतेदेखि भरतपुर अस्पतालमा बीमा कार्यक्रम लागु भएको हो । पहिलो वर्ष ३२ हजार ६ सय २ पटक सेवा दिइएको थियो । त्यसबापत अस्पतालले बीमा बोर्डबाट १ करोड २८ लाख ९२ हजार २ सय २० रुपैयाँ प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७५÷७६ मा १ लाख १२ हजार ९ सय ९१ पटक सेवा दिएबापत अस्पतालले १४ करोड ५७ लाख २८ हजार २ सय २२ रुपैयाँ प्राप्त गरेको थियो । इञ्चार्ज पौडेलका अनुसार आव २०७६/७७ मा १ लाख १४ हजार ८ सय ५२ पटक सेवा दिएर २३ करोड ८८ लाख ४ सय ५० रुपैयाँ प्राप्त गरेको थियो । आव २०७७/७८ मा कोभिडका कारण सेवा लिनेको संख्या घटेर ८५ हजार ५ सय ३६ पटक मात्रै सेवा लिएका छन् । त्यसबापत अस्पतालले ९ करोड ७२ लाख ५२ हजार १ सय ८१ रुपैयाँ प्राप्त गरेको थियो । आव २०७८/८९ बाट बीमामार्फत उपचार गराउनेको सङ्ख्या पुनः बढेको छ । सो वर्ष १ लाख ७८ हजार ५ सय ५३ पटक सेवा लिइएको थियो । त्यसबापत अस्पतालले ३० करोड ७९ लाख ७४ हजार ५ सय १२ रुपैयाँ प्राप्त गरेको थियो । आव २०८९/८० मा २ लाख ५० हजार ६ सय १७ पटक सेवा दिएर अस्पतालले ५२ करोड ५३ लाख ३७ हजार ५ सय १२ रुपैयाँ प्राप्त गरेको छ । गएको आवमा २ लाख ६० हजार पटक सेवा दिएर अस्पतालले ५६ करोड १६ लाख ८८ हजार ७ सय ५९ रुपैैयाँ प्राप्त गरेको छ । अस्पतालले अझै १५ करोड रुपैयाँ हाराहारी दाबी गरेको रकम भुक्तानी पाउन बाँकी रहेको छ । अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशतभन्दा बढी बीमाका हुने गर्दछन् । सोहीअनुरूप अस्पतालमा उठ्ने सेवा शुल्क पनि हुने गर्दछ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार स्वास्थ्य बीमाको सेवा अस्पतालमा राम्रो भएकाले आकर्षण बढ्दो छ । करिब १८ भन्दा बढी जिल्लाका बीमाका बिरामी यहाँ उपचारका लागि आउने गर्दछन् । चितवनसहित गोरखा, तनहुँ, नवलपरासी र मकवानपुरका कतिपय पालिकाका सेवाग्राहीले भरतपुर अस्पताललाई बीमाको प्रथम बिन्दु बनाएका छन् । नेपालमा विसं २०७२ चैत २५ गते कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो । अहिले नेपालका ७७ जिल्लामा यो कार्यक्रम लागु छ । देशभरिका ४ सय ७६ स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा रहेको छ । प्राडा पौडेलले स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम भएको जनाउँदै भरतपुर अस्पतालको मुख्य आम्दानीको स्रोत बीमा नै भएको बताए । बीमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजान अस्पताल प्रशासन लागेको उनको भनाइ छ । यद्यपि, अहिले स्वास्थ्य बीमा कार्यक्रम लागु भएका अस्पतालमध्ये भरतपुर अस्पताल उत्कृष्ट रहेको जनाउँदै पौडेलले अस्वीकृत निकै न्यून रहेको जानकारी दिए ।
कर्णाली सरकारको सामूहिक दुर्घटना बीमाअन्तर्गत विपद् पीडितले पाए ६ करोड राहत
काँक्रेविहार । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्का घटनामा परी ज्यान गुमाएका परिवारलाई ६ करोड रुपैयाँबराबरको राहत रकम उपलब्ध गरएको छ । विसं २०७६ चैतदेखि साउन पहिलो साता २०८१ सम्म ३ सय ४४ पीडितपरिवारलाई प्रदेश सरकारले सामूहिक बीमावापत ६ करोड ८८ लाख रुपैयाँ राहतस्वरूप उपलब्ध गराएको हो । पहिलो चरणमा विभिन्न प्राकृतिक विपदमा परी ज्यान गुमाएका ५९ जनाका परिवारलाई बीमावापत १ करोड १८ लाख रकम प्रदान गरिएको थियो । प्रतिव्यक्ति २ लाखका दरले दोस्रो चरणमा ४७ जनालाई ९४ लाख, तेस्रो चरणमा ६६ जनालाई १ करोड ३२ लाख र चौथो चरणमा १ सय ७२ जनालाई ३ करोड ४४ लाख बीमा रकम प्रदान गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । उक्त रकम राष्ट्रिय बीमा कम्पनीमार्फत उपलब्ध गराइएको हो । मन्त्रालयले आव २०८०÷८१ को साउनदेखि असार मसान्तसम्म भूकम्प, बाढी, पहिरो, चट्याङ, आगलागीजस्ता प्राकृतिक विपद्बाट मृत्यु भएका १ सय ७१ जनाका परिवारलाई ३ करोड ४२ लाख रुपैयाँ भुक्तानी गरेको छ । विशेषगरी जाजरकोट भूकम्पमा परी मृत्यु भएका १ सय ५१ व्यक्तिका परिवारलाई २ लाखका दरले ३ करोड रुपैयाँ बीमामार्फत भुक्तानी गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकायाले जानकारी दिए । उनका अनुसार कागजी प्रक्रिया नमिलेका कारण जाजरकोट भूकम्पबाट मृत्यु भएका तीनजनाको रकम भुक्तानी प्रक्रियामा रहेको छ । त्यसैगरी गत वर्ष भूकम्पबाहेक अन्य विपदमा परी मृत्यु भएका २० जनाका परिवारलाई ४० लाख रुपयाँ बीमामार्फत भुक्तानी गरिएको छ । कर्णालीका १७ लाख व्यक्तिको विपद् सामूहिक दुर्घटना बीमा गरेअनुसार बीमा रकम उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।
कर्णाली सरकारले सबै जोखिमयुक्त घरहरूको बीमा गर्ने
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका सबै जोखिमयुक्त घरहरुको बीमा गर्ने तयारीमा प्रदेश सरकार रहेको बताएका छन् । किर्डाक नेपालको समन्वय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा ‘प्रकोप प्रतिरोधमा पुनर्विचार तथा मानवीय सहायता, प्रतिरोधी प्रणालीदेखि पूर्वाधार’ भन्ने मूल नाराका साथ सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा घर बीमामा बजेट छुट्याएको उनले बताएका हुन् । प्रदेश सरकारले यसका लागि ४ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए । ‘राष्ट्रियस्तरको यो बहसमा सङ्घ, प्रदेश र स्थानीय सबै तहका सरकार तथा साझेदार निकायहरु छौं, विपद् जोखिम न्यूनीकरण र प्रतिकार्य सम्बन्धी यसले जारी गर्ने घोषणापत्र कर्णाली सरकारले सम्बोधन गर्ने होस्,’ मुख्यमन्त्री कँडेलले भने । उनले प्रदेश सरकारले गत वर्षको जाजरकोट भुकम्पमा जीवन गुमाउने मृतकका परिवारलाई २ लाखका दर विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बीमा रकम दिइएको बताए । चालु आर्थिक वर्षमा विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना बीमाका लागि प्रदेश सरकारले १ करोड ७५ लाख रुपैयाँ बजेट छुट्याएको छ । खाद्य तथा कृषि सङ्गठनका नेपाल–भुटानका देशीय प्रतिनिधि केन सिमिजुले विपद जोखिमको बेला सक्दो मानवीय सहायता प्रदान गरिआएको बताए । विपद् जोखिम प्रतिकार्यमा सबै सरोकारवाला एक भएर जानुपर्ने उनले सुझाए । उक्त बहसमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुली समेतले विपद् जोखिम बढ्दो रुपमा देखिन थालेकामा चिन्ता व्यक्त गरे ।