वीरगञ्जमा आर्थिक पत्रकारहरूसँग बीमासम्बन्धी अन्तरक्रिया सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बुधबार मधेश प्रदेशको वीरगञ्जमा आर्थिक पत्रकारहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पत्रकारहरूलाई नागरिकको हितमा बीमाका बारेमा बोल्न र सत्यतथ्य लेख्न आग्रह गरे। अध्यक्ष सिलवालले केही बीमालेखमा समस्या रहेको बाहेक बीमा कम्पनीहरूले लाखौं दाबी भुक्तानी दिएको उल्लेख गर्दै भने, ‘बीमा गर्दा बीमालेखका प्रावधान र शर्तहरू राम्रोसँग पढ्नुपर्छ, आफ्नो हितमा छ कि छैन बुझ्नुपर्छ । झुठो बोलेर तथा सत्यतथ्य लुकाएर गरेको बीमाको दाबी लाग्दैन भन्ने थाहा पाउनु पर्छ । विदेशी बीमा कम्पनीसँग बीमा गर्नु गैरकानुनी हो, गर्न मिल्दैन ।’ सरकारले कृषि बीमामा ८० प्रतिशत अनुदान दिएकाले स्थानीय सरकारले त्यसमा अनुदान थप्नुभन्दा विपन्न तथा गरिव बर्गको बीमा गर्नु उपयुक्त हुने र त्यसबाट उनीहरूको कल्याण हुने उनकाे भनाइ छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको विद्यमान अवस्था, बीमाको विकास एवम् विस्तारमा पत्रकारहरूको भूमिकालगायत बीमासम्बन्धी समग्र विषयमा प्रस्तुति गरेका थिए । कार्यक्रममा सहभागी पत्रकारहरूले बीमा कम्पनीहरूले देशको भूगोलअनुसार बीमालेख ल्याउनुपर्ने, मधेश प्रदेशमा न्यून रहेको बीमाको पहुँच बढाउन जोड दिनुपर्ने, सीमापारिका बीमा कम्पनीहरूमा बीमा हुन नदिन विशेष ध्यान दिनुपर्ने, बीमा कम्पनीहरूले सञ्चार माध्यममार्फत बीमा सचेतना अभिवृद्धिका लागि बजेट छुट्याउनुपर्ने लगायतका धारणा राखेका थिए । साथै उनीहरूले बीमा गर्न सजिलो तर दाबी भुक्तानी पाउन बीमतिले निकै दुःख पाउने गरेको, कोरोना बीमाको बाँकी दाबी भुक्तानी अझै नभएको र बीमाप्रतिको आकर्षण बढाउन सचेता अभिवृद्धि आवश्यक भएको विचार व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ, पर्साका अध्यक्ष तथा पदाधिकारी, विभिन्न सञ्चारमाध्यमका पत्रकार र बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत तथा प्रदेश कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।
सलिकोले सञ्चालनमा ल्यायो गण्डकी प्रादेशिक कार्यालय
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले गण्डकी प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले कास्कीको पोखरास्थित अमरसिंहचोकमा प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त कार्यालय सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्री र नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालय प्रमुख केशवप्रसाद दाहालले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । सलिकोको व्यापार र दावी भुक्तानी राम्रो रहेकाले सो साख जोगाइराख्नुपर्ने नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख दाहालले बताए । सीईओ क्षेत्रीले सम्पूर्ण कर्मचारीलाई उच्च मनोबलका साथ इमान्दारीपूर्वक बीमालेख बुझाएर बेच्न आग्रह गरे । कार्यक्रममा पोखरामा रहेका कम्पनीका शाखा प्रमुखलगायत सम्पूर्ण कर्मचारीको उपस्थिति रहेको थियो ।
बीमा बोर्डले भन्यो- ५ लाखको स्वास्थ्य बीमाका लागि २० हजार बीमाशुल्क लाग्छ
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ५ लाख रुपैयाँ बीमांक पुर्याउन के गर्नुपर्छ भन्नेबारे राय पेश गरेको छ । बोर्डले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई राय पेश गरेको हाे । बाेडले पेश गरेको रायमा ५ लाख बीमांक रकम कायम गर्दा बीमितबाट २० हजार रुपैयाँ बीमाशुल्क संकलन गर्नुपर्ने राय दिएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले केही साताअघि स्वास्थ्य बीमाको बीमांक रकम एक लाख रुपैयाँबाट ५ लाख रुपैयाँ पुर्याउने घोषणा गरेका थिए । मन्त्रीको सो घोषणासँगै ५ लाख पुर्याउन के गर्नुपर्छ भनेर मन्त्रालयले बोर्डसँग योजना माग गरेको थियो । मन्त्रालयले यस्तो योजना तथा राय माग गरेपछि बोर्डले एक्चुरियल भ्यालुएसन गराएको बोर्डका कार्यकारी निर्देशन डा. दामोदर बसौलाले बताए । एक्चुरियल भ्यालुएसन अनुसार ५ लाख बीमांक पुर्याउन २० हजार बीमाशुल्क संकलन गर्नुपर्ने उल्लेख भएको र सोहीअनुसार राय पेश गरेको उनले बताए ।