नेपालले जोखिममा आधारित पुँजी र सुपरीवेक्षणको अभ्यास गरेको छ : अध्यक्ष ओझा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र भुटानको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनबीच बीमा सम्बन्धी द्विपक्षीय सहयोग र आपसी ज्ञान एवम् अनुभव आदान–प्रदान सम्बन्धमा छलफल भएको छ । प्राधिकरणका अध्यक्ष ओझासँग भएको भेटमा नेपाल र भुटानको बीमा क्षेत्रको विद्यमान अवस्था, नेपालले अभ्यास गर्दै आएको जोखिममा आधारित पूँजी तथा जोखिममा आधारित सुपरीवेक्षण, पुनर्बीमा सम्बन्धी नेपालको अनुभव र द्विपक्षीय सम्बन्ध सुदृढीकरण लगायतका विषयमा छलफल भएको छ । भेटमा अध्यक्ष ओझाले नेपालले बीमा क्षेत्रमा जोखिममा आधारित पुँजी र जोखिममा आधारित सुपरीवेक्षणको अभ्यास गरिरहेको जानकारी गराए । यस सम्बन्धमा भुटानलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए । अध्यक्ष ओझाले आगामी दिनमा भुटानको रोयल मनिटरी अथोरिटीसँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ गर्न र बीमा क्षेत्रलाई नयाँ उचाई दिनका लागि असल अभ्यासहरू आदान–प्रदान गर्न प्राधिकरण तयार रहेको बताए । भुटानको बीमा क्षेत्रको समेत नियामक निकाय रहेको रोयल मनिटरी अथोरिटीका डेपुटी गभर्नर उगेन छोदेनले नेपाल बीमा प्राधिकरणले जोखिममा आधारित पुँजी, जोखिममा आधारित सुपरीवेक्षण र पुनर्बीमा सम्बन्धमा हासिल गरेका ज्ञान एवम् अनुभव भुटानका लागि समेत लाभदायक हुने बताइन् । डेपुटी गभर्नर छोदेनले बीमा क्षेत्रको समग्र विकासका लागि नेपाल बीमा प्राधिकरणसँगको सम्बन्धलाई अझ सुदृढ गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।
पुनर्बीमा प्रयोजनका लागि विदेशी मुद्रा सटही सिफारिस प्रक्रिया सम्बन्धी व्यवस्था
काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा गर्ने प्रयोजनका लागि विदेशी मुद्रा सटही सम्बन्धी व्यवस्थालाई थप प्रभावकारी बनाउन विभिन्न व्यवस्था गरिएको जानकारी दिँदै सोही अनुसार विदेशी मुद्रा सटहीका लागि कागजातहरू पेश गर्न सबै निर्जीवन बीमकहरूलाई निर्देशन दिएको छ । फ्याकेल्टेटिभ पुनर्बीमा प्रयोजनका लागि विदेशमा रकम पठाउन विदेशी मुद्रा सटहीका लागि प्राधिकरणमा प्रस्ताव पेश गर्दा अनिवार्यरूपमा बीमकको पुनर्बीमा निर्देशिका, २०८० बमोजिम नेपालका पुनर्बीमकलाई प्रस्ताव गरेको प्रमाण र नेपालका पुनर्बीमकले उक्त प्रस्ताव २४ घण्टाभित्र अस्वीकार गरेको प्रमाण बीमकले पेश गर्नुपर्ने व्यवस्था गरिएको प्राधिकरणले दिएको निर्देशनमा उल्लेख छ । यसैगरी, बीमकले विदेशी पुनर्बीमा कम्पनीसँग पुनर्बीमा गर्दा पुनर्बीमा निर्देशिका, २०८० बमोजिम विदेशी पुनर्बीमा कम्पनी रेटेड हुनुपर्ने र पुनर्बीमा वापत विदेशी मुद्रा भुक्तानी गरेपश्चात् प्रत्येक त्रैमास समाप्त भएको १५ दिनभित्र उक्त विदेशी पुनर्बीमकले भुक्तानी बुझिलिएको प्रमाण नेपाल बीमा प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ । विदेशी मुद्राको सटही सिफारिसका लागि नेपाल बीमा प्राधिकरणमा पेश हुने पत्रमा बीमकका प्रमुख कार्यकारी अधिकृतको हस्ताक्षर हुनुपर्ने र विदेशी मुद्रा सटहीका लागि पेश गर्ने सबै कागजातका प्रतिलिपिहरूमा बीमकको छाप सहित सम्बन्धित कर्मचारीले हस्ताक्षर गरेको हुनुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।
‘लगानी व्यवस्थापन इकाइ’ स्थापना गर्न बीमकहरूलाई प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन र्बीमा तथा पुनर्बीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाइ’ स्थापना गर्न निर्देशन दिएको छ । जसअनुसार लगानी व्यवस्थापन गर्नका लागि लगानीसम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी ‘लगानी व्यवस्थापन इकाइ’ स्थापना गरी सात दिनभित्र प्राधिकरणलाई जानकारी दिन बीमा कम्पनीहरूलाई निर्देशन दिइएको छ । यसैगरी, लघुबीमा व्यवसाय गर्ने लघुबीमा कम्पनीहरूलाई लगानी व्यवस्थापन कार्यका लागि सोसम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीलाई जिम्मेवारी दिई सात दिनभित्र प्राधिकरणमा जानकारी दिन प्राधिकरणले निर्देशन दिएको छ । साथै बीमा कम्पनीहरूले यसअघि लगानीसम्बन्धी व्यवस्थाको कार्यान्वयन गरिसकेको भए सोकोसमेत सात दिनभित्र जानकारी दिन प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।