९ महिनामा ११ प्रतिशतले बढ्यो पोलिसी सरेण्डर, यस्तो छ पाँच वर्षको तथ्यांक

काठमाडौं । पछिल्लो केही वर्षयता बीमा पोलिसी सरेण्डर (समर्पण) को संख्या बढ्दै गएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा ८० हजार १८७ बीमितले ११ अर्ब ९ करोड ७१ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर अर्थात बीमालेख समर्पण गरेका छन् । चालु आवको ९ महिनामा भएको पोलिसी सरेण्डर रकम गत आवको भन्दा ११.५९ प्रतिशतले बढेको छ भने पोलिसी सरेण्डर संख्या १.८७ प्रतिशतले घटेको छ । प्राधिकरणको तथ्यांकअनुसार गत आवको यही अवधिमा ८१ हजार १३६ बीमितले ९ अर्ब ९४ करोड ४८ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर गरेका थिए । बीमा सरेण्डरको साथसाथै बीमितले तोकिएको समयमा पोलिसी नवीकरण र किस्ता नतिर्ने बीमितको संख्या पनि बढ्दै गएको छ ।  प्राधिकरणको तथ्यांकअनुसार चालु आवको ९ महिनामा १२ लाख ४६ हजार ३०१ बीमालेख व्यतित भएका छन् । उक्त संख्याको बीमालेख व्यतित हुँदा ३६ अर्ब ८७ करोड २० लाख रुपैयाँ बीमा कम्पनीलाई घाटा भएको छ । बीमा पोलिसी सरेण्डरको पाँच वर्षे तथ्यांक पछिल्लो पाँच आवको तथ्यांक केलाउँदा वार्षिक पोलिसी त्याग्ने बीमितको संख्या बढ्दै गएको छ । आव २०७७/७८ मा ६ लाख ३३ हजार ३१ बीमितले ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बीमा पोलिसी सरेण्डर गरेका थिए । आव २०७८/७९ मा आइपुग्दा २२३.२६ प्रतिशतले बढेको छ ।  उक्त आवमा ८१ हजार ८६० बीमितले १२ अर्ब १८ करोड ८ लाख रुपैयाँको पोलिसी त्यागेका छन् । आव २०७९/८० मा पोलिसी त्याग्ने बीमितको संख्या ९६ हजार ९३८ रहेको भने १२ अर्ब ३४ करोड रुपैयाँको सरेण्डर रकम रहेको छ । त्यस्तै आव २०८०/८१ मा १ लाख १३ हजार ९७६ बीमितले १४ अर्ब ५० करोड १२ लाख रुपैयाँ बीमालेख परित्याग भएका छन् ।  किन हुन्छ पोलिसी सरेण्डर ? बीमा पोलिसी खरिद गर्ने बीमितले तोकिएको समयअगाडि नै बीमालेख त्याग्नुलाई  पोलिसी सरेण्डर भनिन्छ । बीमितलाई ऐनलाई बीमालेख सरेण्डर गर्न पाउने अधिकार दिएको छ । जीवन बीमालेखसम्बन्धी निर्देशिका २०७८ अनुसार बीमितले बीमा प्रारम्भ भएको तीन वर्षसम्म निरन्तर बीमा शुल्क तिरिसकेपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था छ । जीवन बीमा बजारमा पोलिसी सरेण्डर बढ्दै जानुमा दुई/तीन कारण औल्याउँछन् जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेल । देशको आर्थिक अवस्थाले पनि पोलिसी सरेण्डरको दर बढ्ने अध्यक्ष पौडेल बताउँछन् । उनले भने, ‘ विगत केही वर्षयता अर्थतन्त्रलाई असर पार्ने गतिविधि एकपछि अर्को भयो । नाकाबन्दी, कोरोनाले अर्थतन्त्रलाई ठूलो धक्का पुर्यायो । त्यो बेला कयौंको आम्दानीका स्रोतहरू खुम्चिन पुगे । त्यसपछि पनि हामी आर्थिक हिसाबले दौडिन सकेनौं । जसको कारणले गर्दा पोलिसी त्याग्ने बीमित बढेको हो ।’ अध्यक्ष पौडेल आर्थिक अवस्था संकुचित हुँदै गएपछि डिपोजिट राखेको पैसा झिक्न थालेको र पोलिसी पनि डिपोजिट जस्तै भएको हुँदा बीमितले यही पैसा आफ्नो आवश्यकता चलाउन प्रयोग गरेको बताउँछन् । ‘देशको अर्थतन्त्र विभिन्न हिसाबले सुस्त छ । जसले गर्दा कयौंको रोजगारीमा असर पुगेको छ । त्यस्तै निरन्तरता दिन नसकने अवस्थामा पनि मान्छेले पोलिसी सरेण्डर गर्छन्,’ अध्यक्ष पौडेलले भने । अध्यक्ष पौडेलले पोलिसी सरेण्डर नियमित चल्ने प्रक्रिया भएको र पछिल्लो तथ्यांकअनसार आतिहाल्नुनपर्ने बताए । बीमा विज्ञ रविन्द्र घिमिरे बीमाको अर्थ नबुझी बीमा गर्नु गराउनुले पनि सरेण्डर बढेको बताउँछन् । बीमा गराउने अभिकर्ताले बीमितलाई राम्रोसँग नबुझाई बीमा गराउँदा बीचमा निरन्तरता दिन नसक्दा पोलिसी त्याग्नुपर्ने अवस्था आउने उनको भनाइ छ । नबुझिकनै बढी प्रिमियमको पोलिसी किन्ने पछि त्यसलाई निरन्तरता दिन नसक्दा यस्तो हुने उनले बताए । नेपाल बीमा प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारी पोलिसी सरेण्डर नियमित प्रक्रिया भएकाले कुनै पनि बीमितलाई नत्याग भन्न नमिल्ने बताउँछन् । उनका अनुसार प्राधिकरणले पछिल्लो समय सरेण्डरको दर कम गर्नका लागि प्राधिकरणले पहल भइरहेको छ । प्राधिकरणले पोलिसी सरेण्डर दरलाई न्यूनिकरण गर्नको लागि समर्पणको अवधि २ बाट तीन वर्ष पु¥याएको बताए । 

सिटिजन लाइफले व्यतीत बीमालेख नवीकरण गरे १ सय प्रतिशत ब्याज छुट दिने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेखमा विलम्ब शुल्क (ब्याज) छुट दिने भएको छ । कम्पनीबाट जारी बीमालेखहरु चालु राख्न बीमितले भुक्तानी गर्नुपर्ने नवीकरण बीमा शुल्क तोकिएको समयमा भुक्तानी नभई व्यतीत भएका बीमालेख नवीकरण गरेमा विलम्ब शुल्क छुट दिने भएको हो ।  कम्पनीका अनुसार जेठ १२ गतेदेखि जेठ २७ गतेसम्म व्यतीत भएका बीमालेख पुनर्जागरण गरेमा नेपाल बीमा प्राधिकरणद्वारा जारी जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७९ को दफा ११ को उप (२) र (३) को अधीनमा रही छुट प्रदान गरिनेछ ।  २ वर्षसम्म व्यतीत रहेका बीमालेखमा १ सय प्रतिशत, २ वर्षदेखि ३ वर्षसम्म व्यतीत बीमालेखमा ७५ प्रतिशत र ३ वर्षदेखि माथि व्यतीत रहेका बीमालेखमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।  यो सुविधा बीमा अवधि भरी एक पटक मात्र पाइने कम्पनीले जनाएको छ । बीमालेख निरन्तर गर्ने प्रयोजनका लागि मात्र रहेको हुँदा पुनर्जागरण गरेको २ वर्षभित्र समर्पण भएमा प्रदान गरिएको विलम्ब शुल्क (ब्याज) छुट सुविधाको सम्पूर्ण रकम कट्टा गरिनेछ । 

मधेस प्रदेशमा साढे ८६ हजारले गरे जीवन बीमा, निर्जीवन बीमालेख साढे २ लाख

काठमाडौं । बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको ९ महिनामा मधेश प्रदेशमा निर्जीवन बीमातर्फ २ अर्ब १५ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क सङ्कलन गरेका छन् । सोही अवधिमा निर्जीवन बीमातर्फ जारी बीमा लेख सङ्ख्या २ लाख ५९ हजार ४७५ रहेका छन् ।   निर्जीवन बीमातर्फ ७ हजार १२४ सङ्ख्याले १ अर्ब ६० करोड २६ लाख  रुपैयाँ दाबी भुक्तानी माग गरेका छन् । तर, दाबी भुक्तानीा लागि आवेदन दिएकामध्ये ५ हजार ५८५ लाई १ अर्ब ८ करोड ४३ करोड दाबी भुक्तानी गरिसकेको नेपाल बीमा प्राधिकरण मधेस प्रदेश कार्यालयले जनाएको छ । नेपाल बीमाप्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख प्रीति देवले मधेस प्रदेशमा पर्याप्त जनचेतनाको अभावले बीमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रुपमा बढ्न नसकेको बताए ।  ‘हामीले बीमा सम्बन्धित साक्षारता अभियान सञ्चालन गर्दै आइरहेका छौँ । आगामी दिनमा बीमाको पहुँच अभिवृद्धि हुनेमा आशावादी रहेका छौँ,’ उनले भने ।  यस्तै, चालु आवको ९ महिनामा जीवन बीमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रुपैयाँ रकम सङ्कलन गरेको छ । सो अवधिमा मधेस प्रदेशमा ८६ हजार ६७० वटा जीवन बीमाको बीमालेख सङ्ख्या रहेको छ । जीवन बीमा शुल्क सङ्कलनमा मधेस प्रदेशको हिस्सा ९.२४ प्रतिशत रहेको छ । चैतसम्ममा जीवन बीमातर्फको दाबी भुक्तानी सङ्ख्या १७ हजार २६८ बाट २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । गत आवको वर्षभरिमा जीवन बीमाकोतर्फको दाबी भुक्तानी सङ्ख्या २१ हजार ९०४ सङ्ख्याबाट २ अर्ब ८७ करोड ७४ लाख रुपैयाँ रकम भुक्तानी गरेको थियो ।