प्रेसिडेन्ट होटल एयरपोर्टको १५औँ शाखा सिनामङ्गलमा
काठमाडौं । प्रेसिडेन्ट विजिनेस ग्रुपअन्तर्गत प्रेसिडेन्ट होटल एयरपोर्टको १५औँ शाखाको शुभारम्भ गरिएको छ । सिनामङ्गलस्थित शम्भुमार्गमा निर्माण गरिएको उक्त होटलको एक कार्यक्रमबीच नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशी र होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । सो अवसरमा बोर्डका सीईओ जोशीले पर्यटनलाई उत्कृष्ट सेवा दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे । लगानी विस्तारसँगै आतिथ्यतामा गुणस्तरीय सेवा दिँदै आएको उनले बताए । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले पर्यटनलाई बढावाका साथै गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गरे । होटल सङ्घका अध्यक्ष शाहले होटल पूर्वाधारको उपयोग गरी गुणस्तरीय सेवा प्रदान गर्न सबै लग्नुपर्ने बताए । होटल व्यवसायी महासङ्घका अध्यक्ष शङ्कर भण्डारीले पारिवारिक वातावरणमा स्तरीय सेवा दिइरहेको जानकारी दिए । वि.सं २०६२ देखि हस्पिटालिटी सेवा सुरु गरेको ग्रुपले १८ वर्षमा काठमाडौं, चितवन, बुटवललगायत क्षेत्रमा १५ आउटलेट विस्तार गरेको छ । स्वच्छ वातावरण, सरल ठेगाना, स्तरीय सेवा, स्वादिष्ट खाना भन्ने अवधारणाका साथ लगानी विस्तार गरी स्तरीय सेवा दिने कम्पनीले उल्लेख गरेको छ । गैरआवासीय नेपाली सङ्घका महासचिव सोम सापकोटाले नेपालको पर्यटनमा नयाँ स्वादसहित भिन्न ढङ्गले आउटलेट सुरु गरेको र यसले उच्च विन्दुमा पुर्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले नेपालमा पर्यटकलाई आतिथ्य सेवा दिन मद्दत पुग्ने बताए । तीन वर्षभित्र १० मझौला र तारेहोटल खोलिने जनाइएको छ । लुम्बिनी, चितवन हुँदै गन्तव्यमा जाने लक्ष्य छ । त्यसका लागि गैरआवासीय सङ्घले सम्झौता गरेको उनले जानकारी दिए । करिब चार सय जनालाई रोजगारी दिइनुका साथै परम्परागत परिकार, मौलिक खानाका परिकार प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।
मोरङका अस्पतालमा बिरामी बढेपछि रगत अभाव
बेलबारी । मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन थालेको छ । विराटनगरमा रहेका सानाठूला गरी दुई दर्जनभन्दा बढी अस्पताल छन् । यहाँ बिरामीको सङ्ख्या बढ्न थालेसँगै रगतको माग बढेपछि अभाव हुन थालेको हो । प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र विराटनगरका प्रमुख शिवानन्द यादवले हाल केन्द्रमा दैनिक १२० युनिटभन्दा धेरै रगतको माग हुने गरे पनि ७० देखि ८० युनिटसम्म मात्र संकलन हुने गरेकाले माग धान्न नसकिएको बताए । यहाँबाट माग पूर्ति गर्न नसकेपछि दमक, उर्लाबारीलगायत सेवा केन्द्रबाट पनि रगत ल्याउने गरिएको उनले जानकारी दिए। ‘विगतमा भन्दा बिरामीको सङ्ख्या बढ्नु तर रक्तदान कार्यक्रमको आयोजनामा कमी हुनुले यस्तो समस्या आएको देखिन्छ । अब रक्तदान कार्यक्रम आयोजना गर्ने क्रम बढाउनुपर्ने आवश्यकता छ’, प्रमुख यादवले भने । प्रदेशभर विभिन्न सङ्घसंस्थाले मासिक रूपमा औसत १५ देखि २२ वटासम्म रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको भन्दै उनले गर्मीयाममा रक्तदान कार्यक्रमको आयोजना कम हुने भएकाले रगतको अभाव हुने गरेको बताए। प्रसूति, मिर्गौला डायलासिसका बिरामी, थाल्सेमिया ९रगत नबन्ने० बिरामीका साथै दुर्घटनाका घाइतेहरूलाई धेरै रगत चाहिने गर्दछ । थाल्सेमिया विशेषगरी बालबालिकामा देखापर्ने गरेको छ । प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रको सम्पर्कमा रहेका ९० जना बालबालिकाले थाल्सेमियाका कारण १५/१५ दिनमा नियमित रगत चढाइरहेको कार्यालय प्रमुख यादवले जानकारी दिए। स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहताले जनस्तरमा रक्तदानसम्बन्धी पर्याप्त जनचेतना जगाउन सके रगत संकलनमा केही सहज हुने बताए। बेलबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष भेषकुमार श्रेष्ठले रगत अभाव पूर्ति गर्न आफूहरूले पनि रक्तदान कार्यक्रम आयोजना गरिरहेको बताए । उनले शुक्रबार पनि रक्तदान कार्यक्रम आयोजना गरी ५५ युनिट रगत संकलन गरिएको जानकारी दिए ।
मुलुकको अर्थतन्त्र विकासमा वर्तमान सरकार केन्द्रित छ : सञ्चारमन्त्री गुरुङ
लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशलाई आर्थिक संकटबाट जोगाउनको लागि नेपाली कांग्रेस– एमालेको संयुक्त सरकार गठन भएको बताएका छन् । लमजुङ–बेँसीसहर नगरपालिका– ७ मा आज एमाले लमजुङको तेस्रो बैठक सरकारले देशलाई विकासको बाटोमा अघि बढाउन नसकेपछि दुई ठूला दलले सरकारको नेतृत्व लिएका बताए । उनले भने, ‘वर्तमान सरकारले मुलुकको अर्थतन्त्रको विकास तथा राष्ट्र निर्माणमा केन्द्रित भएर काम गर्नेछ ।’ सञ्चारमन्त्री गुरुङले कांग्रेस–एमाले नेतृत्वको वर्तमान सरकारले नै संविधान संशोधन गर्ने दाबी गरे । संविधान जारी भएपछि १० वर्षमा संविधानको पुनरावलोकन गर्न सकिने संवैधानिक व्यवस्था रहेको बताउँदै उनले आवश्यकताअनुसार राष्ट्रिय सहमतिमा संविधान संशोधन हुँदै जाने तर अहिले बाहिर चर्चा गरिएको जस्तो संविधानका मूलभूत विशेषतामा परिवर्तन नहुने स्पष्ट पारे । मन्त्री गुरूङले भने, ‘खासगरी सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीका विषयमा छलफल हुँदैन, ती विषय संविधानबाट हटाउने कुरा कल्पना पनि गर्न सकिँदैन ।’ उनले जिल्ला समन्वय समिति खारेज गर्न आवश्यक भएको तथा पालिकाहरू घटाउनुपर्ने बताए । एमाले केन्द्रीय सदस्य जमिन्द्रमान घलेले वर्तमान सरकारले मुलुकको विकासका लागि काम गरिरहेको बताए ।
भ्रष्टाचार गरेर चुनाव खर्च उठाउनेतर्फ लागेको देखियो : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गर्ने हो भने अब आफूहरूले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउने बताएका छन् । अखिल नेपाल ट्रेड यूनियन महासङ्घले शनिबार काठमाडौंमा गरेको राजनैतिक वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान संशोधन नै गर्ने हो भने अब यी एजेण्डामा गर्नुपर्ने बताए । अहिले संविधानमार्फत जनताले पाएको अधिकार दलाल पूँजीपति, नोरशाह र माफियाहरूलाई नपचेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले अहिले कथित संविधान संशोधनका नाममा जनताका अधिकार खोस्न खोजिएको बताए । ‘अहिलेको संविधान विस्तृत शान्ति सम्झौताको अङ्गको रुपमा रहेकाले शान्ति सम्झौताको एक हस्ताक्षरकर्ता माओवादीको सहमतिबिना गर्न खोजिने संविधान संशोधनको प्रयास बेइमानी र जालझेल बाहेक अरु हुन सक्दैन,’ उनले भने, ‘हाम्रो सहमतिबिना संविधान संशोधन गर्ने उनीहरूलाई राजनीतिक र नैतिक दुबै अधिकार छैन ।’ प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपतिसहित पूर्ण समानुपातिक निर्वाचन प्रणाली पनि आवश्यक रहेको उनले बताए । ‘अहिले जसरी राजनीतिक भ्रष्टाचार बढिरहेको छ, यो निर्वाचन प्रणालीका कारणले हो,’ अध्यक्ष प्रचण्डले भने, ‘एउटा पालिकामा चुनाव जित्न करोड, प्रदेशमा दश करोड र सङ्घमा पचास करोड खर्च गर्नुपर्ने अवस्थाले जितेर आउने प्रतिनिधि जनताको काम होइन, भ्रष्टाचार गरेर चुनाव खर्च उठाउने काममा बढी लाग्न थालेको देखियो । त्यसैले हाम्रो भनाइ के छ भने भ्रष्टाचारको मुहान नै सुकाउने हो भने निर्वाचन प्रणाली बदलेर त्यसलाई पूर्ण समानुपातिक बनाउनुपर्छ ।’ करोडौं खर्च गरेर सांसद हुने र जितेपछि तँछाडमछाड गरेर मन्त्री बन्ने अवस्थाको अन्त्य गरी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले मन्त्रिमण्डल बनाउने र सांसदहरू कानुन निर्माणमा मात्रै लाग्ने, मन्त्री बन्न नपाउने निर्वाचन प्रणालीले मात्रै मुलुकमा भ्रष्टाचार रोक्न सकिने उनको भनाई थियो ।
पोखरामा डेंगु संक्रमण तीव्र, एक महिनामै ६ गुणाले बढ्यो
गण्डकी । कास्कीको पोखरा महानगरपालिकामा गत भदौ पहिलो सातायता डेंगु सङ्क्रमण छ गुणाले बढेको छ । भदौ पहिलो साता डेंगु सङ्क्रमितको सङ्ख्या सात सयको आसपास रहेकामा महिना दिनमा बढेर चार हजार चार सय ३३ पुगेको हो ।महानगरको स्वास्थ्य महाशाखाका अनुसार सङ्क्रमितको उक्त कुल सङ्ख्या गत पुसयताको हो । महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले सङ्क्रमितको सङ्ख्या ३१ सयबढी पुग्न नदिइ डेंगु रोकथाम गर्ने लक्ष्य लिइएका उक्त लक्ष्य पूरा गर्न नसकिएको बताए । ‘पछिल्लो एक महिनामा डेंगु सङ्क्रमण ह्वात्तै बढ्यो, यही अवस्था रहिरहे पाँच हजार बढीमा सङ्क्रमण देखिन सक्छ’, उनले भने, ‘प्रत्येक व्यक्तिले सावधानी नअपनाएसम्म डेंगु रोकथाम चुनौतीपूर्ण छ ।’ गतवर्ष पोखरा महानगरपालिकाका ती हजार तीन सय ७० जनामा डेगु सङ्क्रमण पुष्टि भएको थियो । कात्तिक महिनासम्म सङ्क्रमणको जोखिम रहने भएकाले यो वर्ष सङ्क्रमितको सङ्ख्या अझै बढ्नसक्ने देखिएको जनस्वास्थ्य निरीक्षक रेग्मीले बताए । उनका अनुसार डेंगु सङ्क्रमणबाट पोखरामा तीन जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको डेंगु कारण मृत्यु भएको उनले जानकारी दिए । पोखरा महानगरपालिका–नं ५, ८ लगायतका वडा डेंगुबाट बढी प्रभावित भएको स्वास्थ्य महाशाखाले जनाएको छ । जनघनत्व बढी भएका ठाउँमा डेंगु छिटो फैलिने हुँदा महानगरको मुख्य सहरी क्षेत्रमा सङ्क्रमण तीव्र बनेको हो । सङ्क्रमण तीव्र बन्दै जाँदा उक्त रोग लाग्नबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाएका छन् । स्वास्थ्य कार्यालय, कास्कीका प्रमुख रामबहादुर नेपालीले सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले डेंगु रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै उक्त रोगबाट बच्ने उत्तम उपाय भएको बताए । प्रमुख नेपालीले असारदेखि कात्तिकसम्म डेंगुको सङ्क्रमण बढी फैलने बताए । समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके डेंगुले महामारीको रुप लिनसक्ने प्रमुख नेपालीले बताए । ‘डेंगुलाई सामान्य रुपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्’, उनले भने, ‘डेंगु भइसकेपछि धेरै पीडा र दर्द हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुनसक्छ ।’ डेंगु रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्ने प्रमुख नेपालीको भनाइ छ । चार प्रकारको भाइरसबाट मानिसमा डेंगु सङ्क्रमण हुने गरेको उनले बताए । उक्त लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा जन्माउने गरेको उनको भनाइ छ । यो लामखुट्टेले दिनमा मात्र टोक्ने गरेको उनले बताए । डेंगु सङ्क्रमणपछि बान्ता भइरहने, नाकबाट रगत आउने, कालो दिसा हुने, थकान जस्ता लक्षण देखिए चिकित्सकको विशेष निगरानीमा उपचार गर्नुपर्ने चिकित्सक बताउँछन् । डेंगु भएमा आराम गर्ने, पानीलगायत झोलिलो पदार्थ पिउने र जथाभावी औषधि सेवन गर्न नहुने उनीहरुको सुझाव छ । वृद्धवृद्धा, दीर्घरोगी, गर्भवती र बालबालिकामा डेंगुको सङ्क्रमण भएमा स्वास्थ्यमा जटिलता निम्तन सक्ने खतरा हुने प्रमुख नेपालीले बताए । डेंगु सार्ने ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टे जमेको सफा पानीमा बस्ने हुँदा घर, कार्यालय र सार्वजनिकस्थलमा पानी जम्न दिन नहुने उनको भनाइ छ । डेंगुको भाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, भाँडाकुँडा, ड्रम आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने प्रमुख नेपालीले बताए । कास्कीमा हालसम्म चार हजार पाँच सय ५२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएकामा पोखरा महानगरपालिकाबाहेक अन्नपूर्ण, रुपा र मादी गाउँपालिकामा नौरनौजना र माछापुछ्रे गाउँपालिकामा ३८ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
चन्द्रागिरिका ८ वडा बालश्रममुक्त घोषणा
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले ‘बालश्रममुक्त वडा’ घोषणा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै धमाधम बालश्रममुक्त वडा घोषणा गरिरहेको छ । नगरपालिकाले चालुआर्थिक वर्षभित्र आफ्ना सबै वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गर्ने लक्ष्य लिएको छ । ‘बालबालिकालाई श्रममा प्रयोग नगरौँ, बालश्रममुक्त समाजको निर्माण गरौँ’ भन्ने नारासहित हालसम्म चन्द्रागिरिका वडानं ३ थानकोट, वडा नं ५किसिपिडि, वडा नं ६ महादेवस्थान, वडा नं ७ चेकपोष्ट , वडा नं ८ मातातीर्थ, वडा नं ११ सतुंगल र वडा नं १४ नयाँ नैकापलाई ‘बालश्रममुक्त वडा’ घोषणा भइसकेका छन्। यसक्रममा शनिबार चन्द्रागिरि –१० सतुंगललाई बालश्रममुक्त घोषणा गरियो । हालसम्म नगरका १५ वडा मध्ये विभिन्न आठ वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिएका छन् । नगरपालिकाले बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यबिधि २०७५ को लक्ष्य अनुसार बालश्रम निवारणको लागि बालश्रम मुक्त स्थानीय तह घोषणा कार्यबिधि २०७७ अबलम्बन गरेको छ । साथै नगरापालिकाले बालश्रम निवारणसम्बन्धी कार्ययोजना बनाई बालश्रम मुक्त नगर तथा बडा निर्माणका लागि बिबिध कार्यक्रम सञ्चालन गरिरहेको छ । बालबालिकासम्बन्धी बालमैत्री स्थानीय शासन कार्यविधि, २०६८ ले विभिन्न ३९ सूचक पूरा गरेको अवस्थामा बालश्रम घटेको हुनुपर्ने उल्लेख छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शनिबार यहाँ आयोजित कार्यक्रममा चन्द्रागिरि-१० लाई ‘बालश्रम मुक्त वडा घोषणा’ गरे । त्यस क्रममा उनले बालश्रम निवारणलाई नगरपालिकाले उच्च प्राथमिकता राखेको बताउँदै घोषणापछिको दिगोपनमा काम गर्नुपर्ने बताए । बालमैत्री नगर घोषणाका लागि प्रारम्भिक चरणमा विभिन्न सूचक पूरा गरी वडालाई बालश्रम मुक्त बनाउँदै लगिएको उनले जानकारी दिए । उनका अनुसार आगामी २०८१ सालको चैतसम्ममा नगरका सबै वडा बालश्रम मुक्त वडा घोषणा भइसक्ने छन् । बालश्रम मुक्त घोषणाअघि बाजागाजासहित र्याली निकालिएको थियो ।
अरनिको राजमार्ग विस्तारमा जग्गा अधिग्रहण र सम्पदा व्यवस्थापनमा समस्या
काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग विस्तार आयोजनाअन्तर्गत उपत्यकाको सीमास्थल काभ्रेको साँगादेखि धुलिखेलसम्म सडक विस्तार सुस्त भएको छ । जग्गा अधिग्रहणको समस्या, अधिक वर्षा तथा सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएपछि केही सुस्ताएको हो । विस्तारित बनेपा–धुलिखेल सडकखण्डमा केही मोड सुधारका लागि थप जग्गा अधिग्रहणका लागि आयोजनाले सोसम्बन्धी प्रक्रिया थालेपछि विवाद सिर्जना भएको छ । उक्त क्षेत्रमा करिव चार सय मिटरमा करिब पाँच रोपनी जग्गा अधिग्रहणका लागि छलफल गर्दा स्थानीयले सरकारी मूल्याङ्कनभन्दा पाँच गुणा बढी मूल्य मागेपछि समस्या सिर्जित भएको आयोजनाले जनाएको छ । सुर्यविनायक–धुलिखेल सडक आयोजनाले बनेपा नगरपालिका–६ र धुलिखेल नगरपालिका–४ स्थित दुई नगरको सीमा क्षेत्रमा दुई वडाका ११ जग्गाधनीको १७ कित्ता जग्गा अधिग्रहणका लागि छलफल अघि बढाएको हो । सडक आयोजनाले जग्गा अधिग्रहण गर्न प्रक्रिया थालेपछि जग्गाधनीले प्रति आना जग्गाको मूल्य ६५ लाख रुपैयाँ मागेपछि थप अन्योलता भएको छ । आयोजना भने जग्गा अधिग्रहण गरेर सडक विस्तार गर्ने गर्ने की अहिले कै अवस्थामा सडक विस्तार गर्ने भन्ने विषयमा अन्यौलमा भएको छ । आयोजनाका इञ्जिनियर विष्णुप्रसाद खनालले भने, ‘सवारीको गति बढाउने उद्देश्यले सडकको मोडसुधार गर्न ती स्थानको जग्गा अधिग्रहण गर्न कठिन देखिएको छ ।’ उनका अनुसार जग्गा अधिग्रहणका लागि जग्गाधनीसँग दुईपटक छलफल गर्दा समेत कुनै समाधान निस्किएको छैन । उनका अनुसार जग्गाधनीको मागअनुसार आयोजनाले अधिग्रहण गर्न सक्दैन । हाल प्रतिघण्टा ३५ किलोमिटर भएकाले स्तरोन्नती भइरहेको सडकको ढाँचामा प्रतिघण्टा ४० किलोमिटर उल्लेख गरिएकोले मोड सुधार गर्नुपर्ने आवश्यकता देखिएको प्राविधिक खनालले बताए । मालपोत कार्यालय काभ्रेका अनुसार बनेपा क्षेत्रको जग्गाको मूल्य प्रतिआना १२ लाख ५४ हजार रुपैयाँ छ भने धुलिखेलतर्फको जग्गाको मूल्य प्रति आना १० लाख ६६ हजार रुपैयाँ कायम भएको छ । सरकारी मूल्याङ्कनअनुसार जग्गाधनीले पाँच गुणाभन्दा बढी मूल्य माग गरेका हुन् । यसैबीच आयोजनालाई हाल यस साँगा–धुलिखेल सडकखण्डअन्तर्गत आठ दशमलव ४ किमी सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना ब्यवस्थापनमा कठिनाइ भएको पाइएको छ । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनालाई विवरण उल्लेखित पोखरी, मन्दिर, कुवा, नासिका मन्दिर र ढुङ्गधारा ब्यवस्थित एवं स्थानान्तरणमा समस्या देखिएको हो । यस्तै भैँसेपाटीमा दुई कुवा, ढुङ्गेधारा तथा जनागालस्थित पिपलबोटमा गणेश मन्दिर ऐतिहासिक सम्पदाको सूचीमा परेका हुन् । यीमध्ये गणेश मन्दिर स्थानीयले अन्यत्र स्थानान्तरण गरिसकेका छन् । आयोजनालाई बाँकी ७ स्थानमा रहेका आठ सम्पदाको संरक्षण, ब्यवस्थापन एवं स्थानान्तरण गर्नेगरी बनाइएको वैकल्पिक ‘डिजाइनन’का विषयमा स्थानीय जनप्रतिनिधि एवं अगुवासँग छलफल थालिने जनाइएको छ । आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले उक्त सडकखण्डमा सम्पदा व्यस्थापन एवं स्थानान्तरण गर्न स्थानीयस्तरमा छलफल थालेको बताए । उनका अनुसार साँगामा रहेको ऐतिहासिक पोखरीलाई नासिका भगवती मन्दिरनजिक वा उपयुक्त स्थानमा स्थानान्तरणको प्रस्ताव गरेको छ भने मन्दिर र कुवालाई पनि सोही मन्दिर आसपास स्थानान्तरण गर्न सकिने गरी छलफल थालिने छ । यस्तै नासिका मन्दिरको कम्पाउण्ड वाल संरक्षण गरी ‘वान–वे’ सडक निर्माण गर्ने वा नगर्नेबारे अनिर्णित भएको छ । स्थानीयले भने नासिका मन्दिरको ऐतिहासिकता महत्वपूर्ण भएकाले भएकाले सोही स्थानमा संरक्षणका लागि सुझाव दिएका छन् । सडक विभागका अनुसार बिस्तारित सूर्यविनायकदेखि धुलिखेलसम्म कुल १५ दशमलव पाँच किमी सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेलम्म आठ दशमलव ४ किमी सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाखका ठेक्का लगाइएको थियो । विसं २०७९ फागुन १६ गतेबाट निर्माण थालिएको आयोजनाको अवधी ३६ महिना हो । दुई लेनबाट छ लेनका लागि बिस्तारकार्य भइरहेको अरनिको राजमार्गको यस सडकखण्ड दायाँबाँया दुई सर्भिस लेन तथा दुई दशमलव पाँच मिटरको फुटपाथ निर्माण हुने छ ।
सरकारको निर्देशन- घटस्थापनाअघि नै सडक मर्मतको काम सक्नू
काठमाडौं । सरकारले दसैं, तिहार र छठ पर्वमा यात्रुलाई सहज रूपमा गन्तव्य स्थलसम्म पुग्न सडक विभागअन्तर्गतका सडकलाई घटस्थापना अगाडि मर्मत सम्भार गरिसक्न निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बिहान बसेको सरकारी प्रतिनिधिसहित यातायात व्यवसायीको बैठकले सडक विभागअन्तर्गत सबै सडक घटस्थापना अगाडि मर्मतसम्भार गरी सञ्चालन गर्न सडक विभागलाई निर्देशन दिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिए । बैठकले बीपी राजमार्गका सडक सुरक्षाका लागि पूर्वनिर्धारित प्रकारका मात्र सवारीसाधन चलाउन एवं रात्रि सवारी सञ्चालन नगर्ने विषय प्रभावकारी रूपमा लागू गर्न गृह मन्त्रालय, नेपाल प्रहरीलाई अनुरोध गर्ने, यात्रुको यात्रा सुनिश्चित एवम् सुरक्षित गर्न यातायात व्यवस्था विभागसँग छलफल गरी शीघ्र अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ । यात्रा सुरक्षित र सहज बनाउन यान्त्रिक परीक्षण गरी सम्बन्धित बसपार्कबाट गन्तव्य स्थलसम्म जाने गरी व्यवस्थित गर्ने, वैज्ञानिक भाडा समायोजन एक वर्षदेखि तथा इन्धनको मूल्यबाहेक अन्य कारणले गर्नुपर्ने भाडा समायोजन छठपछि गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने निर्णय भएको छ । यस्तै, यातायात सुझाव सुधार कार्यादलको प्रतिवेदन कार्यान्वयनको विषयमा तत्काल गर्न सकिने विषयको सम्बोधन गर्ने, यातायात व्यवस्थापनसँग सम्बन्धित सम्मानित अदालतबाट भएका आदेशरफैसला कार्यान्वयनका लागि एक महिनाभित्र कार्ययोजना तयार गरी पेस गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिने निर्णय भएको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मा, सहसचिव कृष्णराज पन्थ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, वरिष्ठ उपाध्यक्ष सिटौला, महासचिव डेकनाथ गौतमलगायत सडक विभाग र यातायात व्यवस्था विभागका कर्मचारीको सहभागिता थियो ।