विकासन्युज

तनहुँको जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र र ट्रमा सेन्टर निर्माण थाल्ने

काठमाडौं । भारत सरकारले शुक्लागण्डकी नगरपालिकाको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रलाई तीन सय शैय्या र सुविधासम्पन्न उपकरणसहितको भवन निर्माण थाल्न सम्झौता गर्ने प्रतिबद्धता जनाएको छ । भारत भ्रमणमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र भारतीय जनता पार्टीका अध्यक्ष एवं स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डाबीच नयाँ दिल्लीस्थित निर्वाण भवनमा भएको द्विपक्षीय वार्ताका क्रममा भारतले यस्तो प्रतिबद्धता जनाएको हो । त्यसक्रममा मन्त्री पौडेलले प्रस्ताव गरेको ट्रमा सेन्टरको स्तरोन्नति, डायलसिस सेवा थप्नका लागि आवश्यक सहयोगमा पनि सघाउने मन्त्री नड्डाले प्रतिबद्धता जनाए । यसैगरी, सर्पदंशका बिरामीको उपचार र डिजिटल हेल्थ अभियान कार्यान्वयनका लागि सघाउन स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले गरेको आग्रहमा पनि भारतीय समकक्षी नड्डाले सघाउने प्रतिबद्धता जनाएका छन् । अब केही समयमा यसबारे दिव्पक्षीय समझदारी गर्ने सहमति भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर विकास देवकोटाले जानकारी दिए । मन्त्री पौडेलले नेपाल भ्रमणका लागि दिएको निम्तोसमेत भारतीय समकक्षी नड्डाले स्वीकारेका छन् । ‘नेपालको स्वास्थ्य पूर्वाधार विकासमा भारतले महत्वपूर्ण योगदान दिएको छ,’ भेटपछि मन्त्री पौडेलले भने, ‘भारतीय पक्षबाट प्राप्त सहयोग प्रतिबद्धताले सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत गर्नेछ ।’ विश्व स्वास्थ्य संगठनको क्षेत्रीय सम्मेलनका लागि भारत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले आज साँझ सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

गरिमा क्यापिटलले स्टार माइक्रोको आईपीओ निष्काशनको काम गर्ने

‍काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्सले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएकाे छ । कम्पनीले कुल २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हाे । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा गरिमा क्यापिटल नियुक्त भएकाे छ । आईपीओ निष्कासनसम्बन्धि कार्यका लागि गरिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले आइतबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । इन्स्योरेन्स कम्पनीले आइपिओ निष्काशन गर्न लागेको कुल कित्ता २२ लाख ५० हजारको १०० का दरले हुन आउने कुल रकम २२ कराेड ५० लाख रुपैयाँ बराबरको प्रत्याभूति गर्ने सम्झौता भएको छ । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ पुष १४ मा दर्ता भइ २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ । गरिमा विकास बैंकको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।

लुम्बिनी विकासले बेष्ट बैंक नेपालसहित ५ उपाधि जित्यो

काठमाडौं । इण्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधा मध्ये लुम्बिनी विकास बैंकले ५ विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि जित्न सफल भएको छ । इण्डियन चेम्बर अफ कमर्सले भारतको नयाँ दिल्लीमा आयोजना गरेको बैंकिङ कन्क्लेभ २०२४ मा लुम्बिनी विकास बैंकले बेष्ट बैंक, बेष्ट पर्फमेन्स अन रिस्क मेनेजमेन्ट नेपाल, बेष्ट पर्फमेन्स अन असेष्ट मेनेजमेन्ट नेपालमा विजेता एवंम् बेष्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी नेपाल र बेष्ट पर्फमेन्स अन ग्रोथ नेपालमा उपविजेताको उपाधि जित्न सफल भएको छ । अवार्डमा विमस्टेक अन्तर्गतका राष्ट्रहरू भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमार लगायत देशका बैंकहरूले प्रतिस्पर्धा गरेका थिए । इण्डियन चेम्बर अफ कर्मसले गतवर्षदेखि नै यो अवार्ड वितरण गर्न सुरु गरेको हो । अवार्डका लागि इण्डियन चेम्बर अफ कमर्सको आर्थिक मामिला तथा नीति विभागले विभिन्न सूचक निर्धारण गरेको थियो ।

अनलाइन कारोबारलाई सुरक्षित बनाउन महालक्ष्मी बैंकले ल्यायो ‘भिसा ३ डी सेक्युअर्ड कार्ड’

काठमाडौं । महालक्ष्मी विकास बैंकले भिसा ३ डी सुविधा थप गरेकाे छ । डलर तथा एनपीआर कार्डहरूमार्फत हुने अनलाइन कारोबारलाई सुरक्षित बनाउन भिसा ३ डी सुविधा थप गरेकाे हाे । यससँगै नेपालमा यस्तो सुविधा प्रदान गर्ने महालक्ष्मी पहिलाे विकास बैंक बनेकाे छ । भिसा ३ डी ले अनलाइन कारोबारको सुरक्षा तहमा थप वृद्धि हुने र ग्राहकहरूको कार्डको विवरण अनाधिकृत रूपबाट प्रयोग हुनबाट जोगिने बैंकले जनाएकाे छ । साथै प्रत्येक कारोबारसमेत प्रमाणीकरण हुने पनि बैंकको विज्ञप्तिमा उल्लेख छ । यस प्रक्रियाअन्तर्गत ग्राहकहरूले डेबिट कार्ड तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइन कारोबार गर्दा प्रत्येक कारोबारलाई प्रमाणीकरण गर्न इमेल वा मेसेजमार्फत एक पटक मात्र प्रयोग हुने पासवर्ड (‌ओटीपी) प्राप्त गर्नेछन् र सो पासवर्ड प्रविष्ट गरेपछि मात्र कारोबार सम्पन्न हुनेछ । ३ डी सुविधाका फाइदाहरू यस प्रविधिको प्रयोगबाट अनलाइन कारोबारलाई थप प्रमाणीकरणको आवश्यक पर्ने भएकोले ग्राहकहरू अनलाइनमार्फत हुने ठगीबाट बच्न सक्ने ग्राहकहरूको वित्तीय जानकारी सुरक्षित हुने साथै अनधिकृत पँहुचबाट सुरक्षित हुने भएकोले ढुक्कसँग कारोबार गर्न सकिने रियल टाइममा नै कारोबारको प्रमाणीकरण हुने विश्वभर रहेका हजारौं इ­कमर्श वेभसाइटहरुले भिसा ३ डी सुरक्षित रहेका डेबिट तथा क्रेडिट कार्डहरू सजिलै स्वीकार गर्ने भएकोले ग्राहकहरूले जुनसुकै ठाँउबाट तथा जुनसुकै सयममा पनि किनमेल गर्न सक्ने। यससम्बन्धी थप जानकारीका लागि बैंकको नजिकको शाखा कार्यालयमा समेत सम्पर्क गर्न सकिने बैंकले जनाएकाे छ ।

दशैंमा पनि वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दशैंमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ । विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ । महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताइन् । ‘यसपटक मनसुन बाहिरिने समय र दशैं एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उनले भनिन्, “तसर्थ यो दशैंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।’

३७ अंकले बढ्यो सेयर बजार, चन्द्रागिरि हिल्सको उच्च कारोबार

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजार परिसूचक (नेप्से) बढेको छ । आज ३७.१३ अंकले बजार बढेर २ हजार ६९०.७२ बिन्दुमा पुगेको छ । आज १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर ७३ हजार ११९ पटक कारोबार भएको छ । ७ अर्ब ९ करोड ५९ लाख ३० हजार बढी रुपैयाँको कारोबार भएकाे छ । यसैगरी, एक सय ७६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । त्यसैगरी, ६६ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा २ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । आज श्री स्टार हाइड्रोपावर, डोल्टी पावर कम्पनी, एनआईसी एशिया फ्लेक्सी क्यापिटल फण्ड, जोशी हाइड्रो पावर, पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले धेरै कमाएका छन् भने ईस्ट्रर्न हाइड्रो पावर, कुमारी सबल योजना, विन नेपाल लघुवित्त, जनउथान सामुदायिक लघुवित्त र पोखरा फाइनान्सका लगानीकर्ताले धेरै गुमाएका छन् । चन्द्रागिरि हिल्सको २६ करोड २३ लाख १७ हजार रुपैयाँ बढीको कारोबार भएको छ । त्यसैगरी, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २४ करोड ११ लाख ९८ हजार, हिमालयन रिइन्स्योरेन्सको २३ करोड ७८ लाख ३२ हजार, नेपाल फाइनान्सको २३ करोड ५१ लाख २४ हजार र गुडविल फाइनान्सको २३ कराड ८ लाख ७० हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आज होटल समूहको उपसूचक सबैभन्दा धेरै ३.५० प्रतिशतल वृद्धि हुँदा म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूहको उपसूचक १.२९ प्रतिशतले गिरावट आएको छ ।

सेवाग्राहीलाई स्त्रीरोग अस्पतालले भन्यो – दशैंतिहार बिदामा पनि उपचार हुन्छ

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालले सार्वजनिक बिदाको दिनमा पनि बिरामीहरुको उपचार सेवा सुचारु हुने जनाएको छ । सोमबार अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले सार्वजनिक बिदाको दिन पनि बिरामीहरूले अस्पतालमा उपचार सेवा पाउने स्पष्ट पारेका हुन् । दशैं, तिहारलगायतका चाडपर्वको बेला सार्वजनिक बिदा अस्पतालहरूमा पनि हुने गर्दछ । ती बिदाका दिनमा पनि आफूहरूले उपचार सेवा दिने काम २४ घण्टा नै हुने र त्यो इमर्जेन्सी कक्षमार्फत हुने पनि निर्देशक अधिकारीले बताए । सार्वजनिक बिदाको दिनमा पनि कुनै स्वास्थ्य समस्या भएका इमर्जेन्सीमार्फत २४ घण्टा नै बिरामीहरूको उपचार हुने भएकाले त्यस्ता बिरामीहरूले अस्पताल बन्द छ भनेर सोच्न नपर्ने जानकारी दिए । अस्पतालले दशैँमा ४ दिन र तिहारमा ३ दिन सार्वजनिक बिदा दिर्ने गर्दछ । तर ती सार्वजनिक बिदाको दिनमा ओपीडी सेवा बन्द भएपनि सबै बिरामीको उपचार इमर्जेन्सी सेवाबाट हुनेगरी २४ घण्टा नै चिकित्सकहरू परिचालित हुने निर्देशक अधिकारीले बताए । ‘डयुटीमा कम्तिमा ६ जना एमडी गरेका डाक्टरहरू र ६ जना एमडी गरिसकेका डाक्टरहरु १२ जना डाक्टरहरूको टिम एभ्री डे २४ घण्टा नै बसिरहेका हुन्छन्’, उनले भने । दशैंको ४ दिन, तिहारको ३ दिन र कृष्ण जन्माष्टमी र शिवरात्रीको दिन अस्पतालले सार्वजनिक बिदा दिने गरेको छ । त्यसबाहेका अन्य सार्वजनिक बिदाहरुमा आधा दिन अस्पतालले बिरामीहरूका लाग सेवा दिने काम गर्ने पनि अस्पतालले जनाएको छ । निर्देशक डा. अधिकारीले बिदाको दिनमा पनि करिव १२ जना चिकित्सकहरूको समूह २४ घण्टानै उपचारका लागि परिचालन हुने गरेको बताए । ‘अर्को चाहीँ इमर्जेन्सीमा जुन विरामीले चाँडो सेवा पाउनुपर्ने हो, ओपीडीका बिरोमी जम्मा भईदिने बित्तिकै उक्त बिरामीले वा इमर्जेन्सीका बिरामीले सेवा ढिलो पाउन सक्छ’, उनले भने । अस्पतालमा हाल गर्भवती महिलाहरुको चाप बढेको छ । असार, साउन, भदौ, असोजमा गर्भवतीको संख्या बढेर महिनामा करिब २ हजारको संख्या पुग्ने गरेको पनि निर्देशक डा. अधिकारीले बताए ।

प्रधानमन्त्री उद्धार कोषमा प्रभु समूहको एक करोड ७५ लाख सहयोग

काठमाडौं । प्रभु समूह प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ७५ लाख रुपैयाँ बराबरको रकम सहयोग स्वरूप प्रदान गरेको छ । प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक कराेड ७५ लाख रुपैयाँ रकमकाे चेक हस्तान्तरण गरेका हुन् । उक्त सहयोगले बाढी पहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुन:स्थापना गराउन र बिग्रिएका भत्किएका संरचनाहरूको पुनर्निर्माण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास समूहले लिएको छ । प्रभु समूहअन्तर्गत प्रभु बैंक लिमिटेड, प्रभु महालक्ष्मी लाईफ इन्साेरेन्स लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र प्रभु इन्साेरेन्स लिमिटेड रहेका छन् । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरूपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरूबाट सहयोगको क्रम जारी रहेको कोषले जनाको छ ।