विकासन्युज

सन नेपालको दशैँ फोटो प्रतियोगिताः टिकाको फोटो पोष्ट गरी १० हजार रुपैयाँ जित्ने मौका

काठमाडौं । नेपालीहरूको महान चाड विजयादशमीको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ’हाम्रो परिवार हाम्रो दशैँको टीका’ नामक फोटो प्रतियोगिता गर्ने भएको छ । नेपाली दाजु भाई तथा दिदी बहिनी माझ अझ धेरै सद्भाव बढाउने उद्देश्यका साथ कम्पनीले यस्तो प्रतियोगिता आयोजना गर्न लागेको हो । यस प्रतियोगितामा भाग लिनको लागि सन नेपाल लाइफको आधिकारिक फेसबुक र इन्स्टाग्राम अकाउन्टलाई लाइक र फलो गरि आफ्नो परिवारसँग खिचिएको विजयादशमीको टिकाको फोटो आफ्नो फेसबुक र इन्स्टा अकाउन्टमा पोस्ट गरि क्याप्सनमा दशैँको मिठो सन्देश लेखी सन नेपालको आधिकारिक पेजलाई मेन्सन गर्नु पर्नेछ । फोटो पोष्ट गर्दा ह्याश ट्याग हाम्रो दशैँको टीका भनेर अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेछ । यसरी फोटो प्रस्तुत गर्नेहरू मध्ये एक भावशाली विजेताले १० हजार जित्न सक्ने कम्पनीले जनाएको छ । दशैँको टिकाको रमाइलो पललाई सबैले मनमा सजाउनुका साथै सामाजिक सञ्जालमा प्रस्तुत गर्दा सन नेपाल लाइफलाई पनि मेन्सन गर्न कम्पनीले आह्वान गरेको छ ।

अमेरिकी डलरले बनायो नयाँ रेकर्ड, अधिकांश देशको मुद्राको भाउ बढ्यो

काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रकेर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि गत भदौमा डलरको मूल्य १३४.६८ रुपैयाँमा कारोबार भएको थियो । युरोपियन यूरोको एकको खरिदर १४६.६६ रुपैयाँ र बिक्रीदर १४७.३२ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५.१८ रुपैयाँ र बिक्रीदर १७५.९६ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५६.४७ रुपैयाँ र बिक्रीदर १५७.१७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.३० रुपैयाँ र बिक्रीदर ९०.७० रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.४२ रुपैयाँ र बिक्रीदर ९७.८५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.७२ रुपैयाँ र बिक्रीदर १०३.१८ रुपैयाँ, जापानी येन १० को खरिददर ९.०० रुपैयाँ र बिक्रीदर ९.०४ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९९ रुपैयाँ र बिक्रीदर १९.०७ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७४ रुपैयाँ र बिक्रीदर ३५.९० रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९७ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०३ रुपैयाँ र बिक्रीदर ४.०४ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६.७० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.३० रुपैयाँ र बिक्रीदर ३१.४४ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.९३ रुपैयाँ र बिक्रीदर ९.९८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.९१ रुपैयाँ र बिक्रीदर १२.९७ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.६६ रुपैयाँ र बिक्रीदर १९.७४ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२७ रुपैयाँ र बिक्रीदर १७.३५ पैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.७० रुपैयाँ र बिक्रीदर ४३९.६६ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.९६ रुपैयाँ र बिक्रीदर ३५७.५५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

दशैंमा यसरी गरौं खानपान

ग्राण्डी इन्टरनेश्नल अस्पतालका कन्सलटेन्ट फिजिसियन डा.प्रशान्त त्रिपाठी । काठमाडौं । दशैंलाई खानपानको चाड पनि भनिन्छ । यो बेला नहुनेहरूले पनि ऋण काढेर अघिपछिको भन्दा मीठोमसिनो खाने गर्छन् । दशैंको बेलामा प्राय: सबैको घरमा अघिपछि खानेभन्दा अलि फरक पकवान पाक्छ । अझ चिल्लो गुलियो भएको खानेकुरा धेरै पाक्ने गर्छ । यो बेला मासु, मिठाइँलगायत धेरै खाने गरिन्छ । त्यसैले विचार पुर्‍याएर मात्र चाडपर्व मनाउनुपर्छ ।  पहिलो कुरा चाडबाडको समयमा मासु कम चिल्लो गरेर पकाउनुपर्छ । दोस्रो गुलियो चिनीबाट बनेको कुरा खाँदा ध्यान दिनुपर्छ । गुलियो खानेकुरालाई अहिले विभिन्न अध्ययनले अत्यधिक हानिकार भनेको छ । चिनीको कम प्रयोग गर्ने बानी बसालौं । यही बेला रमाइलो गर्न अत्यधिक मात्रामा धुम्रपान, मद्यपान गर्ने चलन पनि बढ्दै गएको छ । आजभोलि नेपालमा रिफाइन्ड खानेकुरा खाने चलन बढ्दो छ । पहिले घट्ट मिलमा पिनेको पिठो खाइन्थ्यो भने अहिले मैदाको चलन आएको छ । पहिलो शख्खर, गुड खाने चलन थियो भने अहिले चिनीको चलन । रिफाइन्ड खानेकुरा  हानिकारक छ । अर्को कुरा- मासु खाने चलन पहिलेको भन्दा अहिले बढेको छ । पहिले मासु खान दशैं कुर्नुपर्थ्यो, अहिले त्यस्तो छैन । कतियले दिउँसोको खाजामा पनि मासु खाने गर्छन् । मासुमा बढी मात्रामा तेल, मरमसला हाल्ने, मासु खाँदा पनि अत्यधिक मात्रामा खाने चलन अहिले बढेको छ । मासु ठीक्क मात्रामा कसरी खाने? मासु खाँदा आफ्नो शरीरलाई अप्ठ्यारो नपर्ने गरी ठीक्क मात्रामा मिलाएर खानुपर्छ ।  सामान्य मान्छेले ०.५२१ मिलीग्राम परकेजी बोडीको हिसाबले प्रोटिन खाँदा राम्रो भनिन्छ । तर, यो हामीले भनेर हुँदैन । व्यक्ति आफैले आफ्नो शरीरलाई हेरी त्यसमा चिल्लो कम गरेर, स्वास्थ्यवर्धक तरिकाले पकाएर खान सकिन्छ । मासु भनेको मानव शरीरको लागि एउटा प्रोटिनको राम्रो स्रोत हो । त्यसबाहेक अन्य भिटामिन पनि पाइन्छ । मासु खाँदा विचार पुर्‍याउनुपर्ने कुरा भनेको बोसो धेरै भएको खान हुँदैन । अर्को सकेसम्म छाला नखाएकै बेस । किनकि छालामुनि बोसोको लेयर हुन्छ । अर्को आजभोलि पशुपालन गर्दा पनि पशुहरूलाई चाँडो बढाउन एन्टिबायोटिकदेखि लिएर हर्मोनको औषधि प्रयोग गर्ने गरेको सुनिन्छ । यसले स्वास्थ्यमा झन् समस्या बढाउँछ । यो बेला घरमै खसी काट्दा एकैचोटि धेरै मासु हुन्छ । जसलाई धेरै दिनसम्म खाने गरिन्छ ।  मासु कति दिनसम्म राख्न सकिन्छ त?  मासु डीपफ्रीजमा राखेको कुरा खासै फरक पर्दैन । विदेशबाट पनि डीपफ्रीज भएर मासु आइरहेको हुन्छ । मासु कति दिनसम्म खान मिल्छ भन्ने कुरा वातावरणले पनि फरक पार्छ । अलिकति गर्मी ठाउँ छ भने बाहिर राख्दा मासु चाँडै बिग्रिन्छ । जाडो ठाउँमा अलि लामो समयसम्म पनि खान मिल्ला । सबैकुरा हेरेर भन्न सकिन्छ । अर्को कुरा सुकुटी बनाएर पनि मासु राख्न सकिन्छ । राताे मासुको जोखिम रातो मासु स्वास्थ्यका लागि हानिकारक मानिन्छ । सेतो मासुमा बोसो, प्रोटिन र कम क्यालोरी हुन्छ । साथै ओमेगा–३ र ओमेगा–६ फ्याटी एसिड पनि पाइन्छ । रातो मासुमा बोसो, आइरन र प्रोटिनको मात्रा बढी हुन्छ । यी तत्वले मान्छेको तौल बढाउन मुख्य भूमिका खेल्छ । सेतो मासुका स्रोत कुखुरा, हाँस, टर्की र माछा हुन् । हानिकारक पेयपदार्थ दशैंकाे बेला नेपालीहरूले धेरै अल्कोहल खाने गरेको पनि पाइन्छ । तर यसो गर्नु स्वास्थ्यका हिसाबले खतरा हो । धेरैमात्रामा खाँदा पेट गडबड हुने, अपच हुने, वाकवाक लाग्ने समस्या देखा पर्न सक्छ । कसैलाई कोलेस्ट्रोल, सुगर,  प्रेसर हुन सक्छ । दीर्घरोगीहरूले झन् बढी सतर्कता अपनाउनुपर्छ । अल्कोहल नखानेहरूले पनि कोकाकाेला, माउन्टेन ड्यू लगायतका काेल्डड्रिङ्स खाने गरेको पाइन्छ । यसले पनि शरीरलाई राम्रो गर्दैन । मासुको सट्टा फलफुल र सलाद धेरै मासुको सट्टा हरियो साग, फलफुल र सलादको प्रयोग गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । रसिलो खानेकुरा खान मन लाग्दा फलफुलको जुस बनाएर खान सकिन्छ । सहजै पाइने दूध, दही र मोही खान सकिन्छ । अर्को कुरा मिठाइँ पनि धेरै मात्रामा खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । अधिकांश मिठाइँमा धेरै चिनी हुन्छ, जसले रगतमा चिनीको स्तर बढाउँछ । यसले मधुमेह (डायबीटीज), मोटोपन र मुटुरोगको खतरा हुन्छ । धेरै मिठाइँहरूमा कृत्रिम रंग र स्वाद दिने पदार्थहरू हुन्छन्, जसले शरीरमा एलर्जी, पाचन समस्या र दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउँछ । शारीरिक कसरत जरुरी मान्छेले जति मात्रामा खानेकुरा लिन्छ त्यहीअनुसार शरीरले पचाउनु पनि पर्छ । खानेकुरालाई पचाउन व्यायामले महत्त्वपूर्ण भूमिका खेल्छ । व्यायाम गर्दा शरीरको रक्त सञ्चार बढ्छ, जसले पाचन प्रणालीमा पर्याप्त अक्सिजन र पोषण पुर्‍याउँछ । यसले पाचन प्रक्रियालाई द्रुत र प्रभावकारी बनाउँछ । व्यायामले शरीरमा इन्सुलिनको प्रभावकारिता बढाउँछ, जसले रगतमा चिनीको स्तर सन्तुलित राख्छ । यसले बोसोको पाचन र चिनीको प्रशोधनमा मद्दत गर्छ भने खानेकुराबाट प्राप्त क्यालोरीलाई ऊर्जा उत्पादनमा परिवर्तन गर्न मद्दत गर्छ । जसले मोटोपन नियन्त्रणमा राख्न मद्दत पुर्‍याउँछ । दशैंको समयमा प्राय: सबैजना गाउँ फर्कने गर्छन् । गाउँमा गएर बारीमा पसेर अलिकति काम गर्दा पनि व्यायाम गरेजत्तिकै फाइदा हुन्छ । गाउँ जाँदा केमा ध्यान दिने? कुनै पनि औषधी चिकित्सकको सल्लाह बिना खान हुँदैन । कसैलाई लामो समयसम्म हुने दीर्घरोग (प्रेसर, सुँगर, थाइराइड) छ भने गाउँ फर्किँदा आफ्नो औषधि लिएर जानुपर्छ । त्योबाहेक पेनकिलर, सिटामोलदेखि लिएर ग्यास्ट्रिकको औषधि, जीवनजलजस्ता औषधिहरू पनि बोकिराख्नुपर्छ । औषधि खाएर पनि निकाे भएन भने नजिकैको स्वास्थ्य केन्द्रमा जानुपर्छ । ग्राण्डी इन्टरनेश्नल अस्पतालका कन्सलटेन्ट फिजिसियन डा.प्रशान्त त्रिपाठीसँग गरिएको कुराकानीमा आधारित

दसैँमा बाध्यताले मुलुक छाड्नेहरू भन्छन्- अरु घर आउँछन्, हामी छाड्नु परेको छ

देशभित्र बडादसैँको रौनक चलिरहँदा रोजगारी, अध्ययनलगायतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार विदेश जान लागेका र उनीहरुलाई विदाइ गर्नेहरुको घुइँचो । काठमाडौं । ‘एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दसैँको टीका लगाएर प्लेन चढ्छु भनेको थिए, मलेसियाबाट कम्पनी साउले बरु जागिर छाड्न सक्छौँ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दसैँ र परिवारभन्दा जागिर प्यारो भयो,’ सर्लाहीका अजय मेहताले भने । दसैँको अघिल्लो दिन घरबाट केही थान कपडा बोकेर वैदेशिक रोजगारीमा हिँडेका मेहताका लागि यो बाध्यता रह्यो । शुक्रबार साँझपख बोर्डिङ पास लिनु अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको भीडमा भेटिएका मेहताका लागि दसैँको अघिल्लो दिन घर छाड्नु निकै कष्टहर भयो । सर्लाहीको घरमा हिजो गर्भवती श्रीमति चाँदनीदेवी र आमा उर्मिलादेवीले रुँदै हात हल्लाएर बिदा गरेको क्षण सम्झँदै गर्दा उनका पनि आँखा टिल्पिलाए । मेहताको जस्तै पीडा सिराहाका घनश्याम यादवको पनि छ । दसैँको टीका र अभिभावकको आशीर्वाद लिएर विमानमा बस्ने योजना समय र परिस्थितीले पूरा हुन दिएन । ‘दसैँ मनाएरै जान्छु भन्ने त थियो तर मेरो रहरलाई बाध्यताले जित्यो,’ उनले भने । वैदेशिक रोजगारीका लागि साउदी हिँडेका यादवले कम्पनीले दुई महिनाको छुट्टी दिएको थियो । तर, दुई महिनाको लामो छुट्टीमा पनि दसैँ एक दिनले अट्न सकेन । ‘कम्पनीममा फोन गरेर बिदा लम्बाउन सकिन्छ कि ट्राइ गरेको हो नि, तर मिलेन, उनीहरुलाई हाम्रो दसैँको महत्व थाहा नभएर पनि हुनसक्छ,’ उनले भने । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलमा शुक्रबार विदेश जान आएका यात्रु । दसैँको अघिल्लो दिन विमानस्थलको भीडमा धनुषाका विनयकुमार यादव पनि भेटिए । विमान चढ्नुअघि सम्झनाका लागि केही थान तस्बिर लिँदै गरेका उनी पनि कामको सिलसिलामा साउदी अरब हिँडेका रहेछन् । महान पर्व दसैँका बीचमा परिवार र आफन्त छाड्नुपर्दाको पीडा उनको मनमा पनि गडेर बसेको छ । ‘अरु दसैँमा घर आउँछन्, हामी दसैँमा छाड्नु परेको छ । यो हाम्रो बाध्यता भयो, यहाँ म जस्ता हजारौँको पीडा पनि उस्तै त होला भनेर चित्त बुझाएको छु,’ उनले भने । उनले साउदी अरबमा मर्मतसम्बन्धी कम्पनीमा काम गरिरहेको बताए । वैदेशिक रोजगारीका लागि दसैँ छाडेर कतार हिँडेका चितवनका अरुण रम्तेलको मन पनि निको छैन । प्लस टुमा होटल व्यवस्थापनको पढाइ पूरा गरेपछि उनी जागिर खोज्दै विदेश हिँडेका रहेछन् । बुबा मलेसियामै काम गरिरहनुभएकाले आफू पनि विदेश नै रोजेको उनले सुनाए । आमा सम्झना रम्तेलले आशु पुछ्दै विमानस्थलको टर्मिनलमा छोरालाई नेपालको झण्डा पहिराएर बिदाई गर्दा अरुणका पनि आँखा रसाए । रम्तेलले भने, ‘बाबा पनि विदेशतिरै हुनुहुन्छ, भाइको पढाइ र घरखर्चका लागि म पनि त्यतै जानुपर्ने भयो, भिसा र टिकटको काम सकिएपछि दसैँका लागि कुर्न सकिएन ।’ त्यसैगरी लुम्बिनीका ओमप्रकाश चौबे वैदेशिक रोजगारीका लागि दुबईका लागि प्लेन चढ्नु अघि विमानस्थलको टर्मिनल मै भेटिए । केही समयअघि बिदा लिएर घर आएका चौबेले दसैँमा आफै मात्रै होइन भतिज अजय चौबेलाई पनि सँगै लैजादै थिए । अजय चौबेले कक्षा नौको पढाइलाई अधुरै छाडी विदेश हिँडेका रहेछन् । नेपालगञ्जकी २४ वर्षीय रेखा खत्रीको पनि जापान जाने टिकट दसैँको अघिल्लो दिन नै परेछ । नेपालमा अध्ययन गरेपनि रोजगार नपाएपछि विदेशिन बाध्य भएको उनले सुनाइन् । देशभित्र बडादसैँको रौनक चलिरहँदा रोजगारी, अध्ययनलगायतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार विदेश जान लागेका र उनीहरुलाई विदाइ गर्नेहरुको घुइँचो । ‘प्लस टु सकेर चार वर्ष कृषि विषय पढे तर केही पनि काम पाइन । अहिले डेढ वर्ष जापानिज भाषा पढेर जापान हिँडेकी छु,’ उनले भनिन् । जापान जाँदै गरेकी बहिनीलाई बिदाइ गर्न विमानस्थल पुगेका काठमाडौं तारकेश्वरका इन्द्र रानामगरले टिकट नमिलेका कारण दसैँको मुखमा छुट्टिनु परेको दुःखेसो पोखे । ‘परिवारका सबै सदस्य सँगै बसेर दसैँको टीका लगाउन त मन थियो नि, परिस्थितिले त्यस्तै गर्यो, टिकट मिलाउनै सकिएन,’ उनले भने । महानवमीको दिन गाउँ तथा सहरमा दसैँ मनाइरहँदा उनीहरु जस्ता हजारौँले शुक्रबार पैसा कमाउनका लागि मुलुक छाडे । उनीहरुलाई बिदाइ गर्र्न विमानस्थलसम्म पुग्नेहरुका अधिकांशले भिजेका आँखाले बिदाइ गरेको दृश्य अत्यासलाग्दो देखिन्थ्यो ।

राष्ट्रपतिले दिउँसो ३:३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन् । उनले यही असोज २६ गते शनिबार दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिनुहुने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विजया दशमीका उपलक्ष्यमा शनिबारै दिउँसो राष्ट्रपति पौडेलले ३ देखि ३ः३० बजेसम्म अतिविशिष्ट र विशिष्ट व्यक्तित्वलाई टीकाजमरा लगाइदिने कार्यक्रम छ । राष्ट्रपति कार्यालयका अनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म सम्माननीयहरू, उपप्रधानमन्त्री, प्रदेश प्रमुख, मन्त्री, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारीलगायत विशिष्ट महानुभावहरूलाई राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलले टीकाजमरा लगाइदिने छन् । साथै, सोही समयमा निजामती, जङ्गी, प्रहरीतर्फका अधिकृतस्तरका राष्ट्रसेवकलाई पनि टीकाजमरा लगाइदिनुहुने कार्यक्रम छ । राष्ट्रपतिले दाइका हातबाट टीका लाउने राष्ट्रपति पौडेलले बडा दसैँ २०८१ का अवसरमा विजया दशमीको टीका ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट लगाउने भएका छन् । राष्ट्रपति पौडेलले दाजु डुण्डराजबाट यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आर्शिवाद ग्रहण गर्ने भएका हुन् । सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गर्नेछन् । राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान यस वर्षको दसैँको शुभ साइत ११ः३६ बजे टीका र जमरा ग्रहण गर्नेछन् ।सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

आज तीन प्रदेशमा वर्षा हुने, मौसमविद् भन्छन्- आत्तिनुपर्ने अवस्था छैन

काठमाडौं । मनसुनी वायुका साथै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेकाले कोशी प्रदेशलगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्दकुमार झा अनुसार आज तीन प्रदेशका पहाडी भू-भागका हल्का वर्षाको सम्भावना पूर्वानुमान गरिएको छ । वर्षा भएपनि खासै ठूलो भारी वर्षाको सम्भावना छैन । ‘आज दिउँसो बदली र वर्षाको सम्भावना छ, तर, ठूलो भारी वर्षा भने हुनेछैन, त्यसैले आत्तिनुपर्ने अवस्था छैन, बदली रहेपनि झरी पर्नेछैन, क्षति पुर्याउने किसिमको पानी पर्दैन,’ झाले भने । मौसमविद् झाले वर्षा भएपनि दसैँको टीका विथोल्ने किसिमको झरी पर्ने अवस्था नरहेको उल्लेख गरे । दिउँसो कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरिएको छ । कोशी प्रदेशलगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ । न्यूनतम तापक्रम क्रमशः घट्र्दै गएकाले काठमाडौंमा सामान्य चिसो बढेको छ । अबको एकसाता न्यूनतम तापक्रम घट्ने भएकाले चिसोबाट बच्न आवश्यक सतर्कत अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज को अधिकतम तापक्र २७ देखि २९ सम्म र न्यूनतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियस रहनेछ ।

आज विजया दशमी मनाइँदै, टिका लगाइदिने पश्चिम फर्कनुपर्ने

काठमाडौं । बडादसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः३६ बजेको साइत उत्तम रहेको जनाएको छ । विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । ‘राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,’ उनले भने । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा थापेर मनाइन्छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । समितिले घटस्थापना गरी जमरा राखेको स्थानमा आह्वान गरिएका देवीलाई विसर्जनको साइत आज बिहान ८ः३३ बजे रहेको छ । लगाइमाग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने बताउँछन् धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराई । यसरी बस्दा आशीर्वाद लिनेको दाहिने चन्द्रमा पर्छन् । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनले सुनाए । टीका लगाइमाग्ने र लगाइदिने मानिस फर्कने दिशा कोजाग्रत पूर्णिमाका दिनसम्म चन्द्रमा रहेको राशिका आधारमा निर्धारण हुनेछ । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग व्याधमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ । अहिले पनि नेपालका धेरै जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिरहेकाले जमराको जुस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदका चिकित्सकको भनाइ छ । घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दसैँकै सबैभन्दा महत्वपूर्ण दिन हो । त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ । यसैले आजको दिनलाई विजयको प्रतीकका रुपमा पनि लिइन्छ । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ । विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ– आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।। शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते । विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।। अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो शत्रु नाश होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, वायुको जस्तो गति होस्, दुर्योधनको जस्तो मान होस्, भीष्मको जस्तो शुरता होस्, बलरामको जस्तो बल होस्, कुन्तीका छोरा कर्णको जस्तो दानशीलता होस्, विदुरको जस्तो ज्ञान विज्ञान होस्, नारायणको जस्तो कीर्ति होस् भनी आशीर्वाद दिने गरिन्छ । यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गा देवीको स्वरुप मानेर निम्न लिखित मन्त्रले आशीर्वाद दिइन्छ । जयन्ती मङ्गला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।। जयन्ती, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा यी नाम गरेकी देवी तपाइँलाई धेरै धेरै नमस्कार छ । यिनै मन्त्रले आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंड्ने मानिसको बाटामा भीड लाग्छ । नेपालका केही भागमा भने कुल, परम्परा अनुसार आजमात्र दुर्गा देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने गरिन्छ । अधिकांश स्थानमा भने कोजाग्रत पूर्णिमाका दिनसम्मनै टीका, जमरा लगाई आशीर्वाद थापिन्छ ।

सौतेनी भाइ बने रतन टाटाको उत्तराधिकारी, नोएलले सम्हाले १ खर्ब ६५ अर्ब डलरको सम्पत्ति

काठमाडौं । १ खर्ब ६५ अर्ब डलरको टाटा समूहमाथि अप्रत्यक्ष नियन्त्रण राख्ने दिवङ्गत भारतीय उद्योगपति रतन टाटाको सौतेनी भाइलाई शुक्रबार उनको उत्तराधिकारीका रूपमा परोपकारी संस्थाहरूको समूहको अध्यक्षमा नियुक्त गरिएको छ । बुधबार निधन भएका रतन टाटाको स्थान नोएल टाटाले लिएका छन् । रतनले परिवारद्वारा सञ्चालित टाटा समूह सङ्गठनलाई विश्वव्यापी दिग्गजमा परिणत गरेका थिए । आफ्नो निधन हुँदासम्म रतन टाटा ट्रस्ट्सका अध्यक्ष थिए । ट्रस्ट्सको जटिल स्वामित्व संरचनामार्फत समूहको होल्डिङ कम्पनी टाटा सन्समा करिब ६६ प्रतिशत हिस्सा छ । बजार पूँजीकरणको आधारमा भारतको दोस्रो ठूलो कम्पनी आइटी दिग्गज टाटा कन्सल्टेन्सी सर्भिसेज र बेलायती लक्जरी कार निर्माता जगुआर ल्यान्ड रोभरको स्वामित्व राख्ने टाटा मोटर्सजस्ता फर्महरूमा टाटा सन्स सबैभन्दा ठूलो एकल सेयरधारक हो । ‘टाटा ट्रस्ट्स गठन गर्ने विभिन्न ट्रस्टहरूको अध्यक्षका रूपमा श्री नोएल नवल टाटालाई नियुक्त गर्ने र उहाँलाई अध्यक्षका रूपमा पदनाम दिने सर्वसम्मत निर्णय गरिएको छ,’ एक प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उहाँको नियुक्ति तत्काल प्रभावकारी हुनेछ ।’ नोएल टाटाले वक्तव्यमार्फत आफू जिम्मेबारीप्रति गहिरो रूपमा सम्मानित र विनम्र रहेको र आफ्नो सौतेनी दाजुको विरासतलाई निरन्तरता दिन तत्पर रहेको बताएका छन् । नोएल दशकौँदेखि समूहसँग जोडिएका छन् । यद्यपि उनी विशेषगरी समूहको अन्त्यन्त सफल पोशाक खुद्रा व्यवसाय ट्रेन्टको अध्यक्षका रूपमा सार्वजनिक रूपमा चिनिन्छन् । टाटा ट्रस्ट्स सन् १८९२ मा स्थापना भएको थियो । यसले टाटा ब्रान्डअन्तर्गत आउने सूचीबद्ध फर्महरूको दैनिक कार्यमा कुनै भूमिका निर्वाह गर्दैन बरु आवास, स्वास्थ्य सेवा र शिक्षा परोपकारी संस्थाहरूलाई समर्थन गर्दछ । टाटा सन्स समूहको रणनीतिको जिम्मेबारीमा छ र हाल अध्यक्ष एन चन्द्रशेखरनको नेतृत्वमा छ । उनलाई सन् २०१७ मा नियुक्त गरिएको थियो । टाटा ट्रस्ट्स टाटा सन्सको सबैभन्दा ठूलो सेयरधारक भएकाले यसको अध्यक्षले प्रभावकारी रूपमा विशाल साम्राज्यको निरीक्षण गर्दछ र चन्द्रशेखरनले सम्भावित उत्तराधिकारी निर्णय गर्नमा महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।