धनुषाका १९४ मतदानस्थल अतिसंवेदनशील
जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले यहाँका १९४ मतदानस्थल अतिसंवेदनशील रहेको जनाएको छ। जिल्लामा रहेका ३२२ मतदानस्थलमध्ये १९४ अति अतिसंवेदनशील,१०६ वटा संवेदनशील र २२ वटा सामान्य सूचीमा वर्गीकरण गरिएको कार्यालयको भनाइ छ । जिल्लामा मतदान केन्द्रको सङ्ख्या ६४५ छ । खुल्ला सीमा नाका, बढी मतदाता, विगतका निर्वाचनमा मतदानको वर्षमा भएको विभिन्न किसिमको उत्पन्न समस्याका कारण मतदानस्थलहरूको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी दिए । एक मतदान केन्द्रमा १० देखि १२ जना सुरक्षाकर्मी परिचालन गरिने उनले बताए । प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सबै सुरक्षा प्रमुखको सहभागितामा अति संवेदनशील मतदानस्थलको आज पनि अनुगमन गरिएको छ । नेपाल–भारतको सीमानासँग जोडिएको मतदानस्थलको अनुगमन भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी लुइँटेलले जानकारी दिए । मधेस प्रदेश निर्वाचन कार्यालयका अनुसार धनुषाका चार निर्वाचन क्षेत्रमा पाँच लाख १४ हजार ५७१ जना मतदाता छ । जसमा पुरुष दुई लाख ७६ हजार १२६ जना, महिला दुई लाख ३८ हजार ४३५ र लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक (अन्य) १० जना मतदाता छन् । सो निर्वाचनमा छ हजार ५०० कर्मचारी खटिनेछन् । खटिने कर्मचारीको विवरण सङ्कलन भइरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषामा चारवटा निर्वाचन क्षेत्रमा १४२, क्षेत्र नं २ मा ३४, क्षेत्र नं ३ मा ४५ र क्षेत्र नं ४ मा ३७ जना उम्मेदवार छन् ।
सन नेपाल लाइफको नेशनल एजेन्सी मिट २०८२ पोखरामा सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पोखरामा दुईदिने नेशनल एजेन्सी मिट २०८२ सफलतापूर्वक सम्पन्न गरेको छ । होटल ग्रान्ड पोखरामा आयोजित उक्त कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो । देशभरिका प्रतिष्ठित एजेन्सी लिडर तथा उत्कृष्ट अभिकर्ताहरूको सहभागितामा सम्पन्न कार्यक्रममा कम्पनीले असाधारण व्यवसायिक प्रदर्शन गर्ने अभिकर्ता तथा एमडीआरटी २०२६ (MDRT 2026) हासिल गर्ने सदस्यहरूलाई विशेष सम्मान प्रदान गरेको छ । कार्यक्रमको पहिलो दिन उत्कृष्ट व्यवसाय, निरन्तर योगदान र समर्पणमार्फत कम्पनीको वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभिकर्ताहरूलाई कदर गर्दै सम्मान समारोह आयोजना गरिएको थियो । एमडीआरटी हासिल गर्ने अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको उपलब्धिका रूपमा विशेष सम्मान गर्दै कम्पनीले उनीहरूको पेशागत उत्कृष्टता र नेतृत्व क्षमताको उच्च मूल्याङ्कन गरेको थियो । दोस्रो दिन अभिकर्ताहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासमा केन्द्रित प्रशिक्षण सत्र सञ्चालन गरिएको थियो । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेल्स ट्रेनर तथा लिडरसिप कोच अनिल झाले बिक्री कौशल, नेतृत्व क्षमता, सोचको रूपान्तरण तथा ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माणका विषयमा प्रेरणादायी प्रशिक्षण प्रदान गरेका थिए । उनको प्रस्तुति र व्यावहारिक अनुभवले सहभागी अभिकर्ताहरूलाई उच्च लक्ष्यसहित अघि बढ्न उत्प्रेरित गरेको कम्पनीले जनाएको छ । कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष उपस्थिति रहेको थियो । साथै उत्कृष्ट नतिजा हासिल गर्ने शाखा प्रमुखहरूको पनि सहभागिता रहेको थियो । सुन्दर पर्यटकीय नगरी पोखरामा सम्पन्न नेशनल एजेन्सी मिटले विगतका उपलब्धिहरूको उत्सव मनाउनुका साथै भविष्यमा अझ सशक्त, व्यावसायिक र ग्राहककेन्द्रित सेवा प्रदान गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाएको कम्पनीको भनाइ छ । हाल सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका देशभर १४८ शाखा तथा उपशाखा सञ्चालनमा रहेका छन् ।
निर्वाचन आयोगले बालेनलाई सोध्यो स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले झापा ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई स्पष्टीकरण सोधेको छ । केही दिनअघि शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीको सामाजिक सञ्जालमा कमेन्ट गरेका थिए । उनले प्रतिस्पर्धी उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको पोस्टमा कमेन्ट गर्दै ‘हत्यारा’ भनेर टिप्पणी गरेका थिए । शाहले बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा संलग्न रहेको बुझिने बताएका थिए ।
जमलमा माइक्रो, मोटरसाइकल र स्कुटर ठोक्किँदा एकजना घाइते
काठमाडौं । काठमाडौंको जमलस्थित सिद्धि भवन अगाडि तीनवटा सवारीसाधन एक-आपसमा ठोक्किएर दुर्घटना भएको छ । मंगलबार (आज) केहीबेरअघि मोटरसाइकल, स्कुटर र एउटा माइक्रो एक-आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । दुर्घटनामा परेर एक जना घाइते भएका छन् । ‘मोटरसाइकलमा आगो लागेको छ । मोटरसाइकल चालक सामान्य घाइते भएका छन्,’ एसपी भट्टराईले भने,’ आगलागी नियन्त्रणमा आइसकेको छ ।’
करिब दुई दर्जनभन्दा बढी इन्टरनेट कम्पनी प्रतिस्पर्धामा
काठमाडौं । नेपाली बजारमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको बाढी नै देखिएको छ । हाल करिब दुई दर्जनभन्दा बढी इन्टरनेट कम्पनीहरू बजारमा प्रतिस्पर्धामा छन् । ती कम्पनीहरू सेवा गुणस्तर सुधारभन्दा पनि ग्राहक संख्या बढाउन प्रतिस्पर्धामा उत्रिएका देखिन्छन् । वर्ल्डलिंक, डिसहोम, नेपाल टेलिकमसहित करिब दुई दर्जन कम्पनीको बजारमा हालिमुहाली रहेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार इन्टरनेट सेवा प्रदायकमध्ये सबैभन्दा बढी बजार हिस्सा वर्ल्डलिंकको रहेको छ । प्राधिकरणका अनुसार मंसिरसम्मको तथ्यांकमा बजार हिस्साका आधारमा वर्ल्डलिंकका सबैभन्दा धेरै ग्राहक छन् । वर्ल्डलिंकका ग्राहक संख्या १० लाख ५५ हजार पुगेको छ । इन्टरनेट कम्पनीहरूमध्ये वर्ल्डलिंकपछि दोस्रो ठूलो बजार हिस्सा डिसहोमको रहेको छ, जसका ग्राहक ३ लाख ८२ हजार पुगेका छन् । बजार हिस्साको हिसाबले तेस्रो स्थानमा सरकारी लगानी रहेको नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) रहेको छ । टेलिकमका ग्राहक ३ लाख ७४ हजार पुगेका छन् । चौथो स्थानमा भायनेट रहेको छ । बजार विस्तारमा आक्रामक देखिएको भायनेटका ग्राहक संख्या ३ लाख ४० हजार पुगेको छ । त्यसैगरी, पाँचौँ स्थानमा क्लासिक टेक रहेको छ । क्लासिक टेकले मंसिर मसान्तसम्म २ लाख ६८ हजार ग्राहक संख्या पुर्याएको छ । छैटौँ स्थानमा सुबिसु इन्टरनेट रहेको छ, जसका ग्राहक २ लाख ५५ हजार पुगेका छन् । सातौँ स्थानमा वेभसर्फर रहेको छ । वेभसर्फरका ग्राहक १ लाख ७६ हजार छन् । यस्तै, बजार हिस्साका आधारमा आठौँ स्थानमा टेकमाइन्स रहेको छ, जसका ग्राहक १ लाख २३ हजार छन् । नवौँ स्थानमा वाइफाइ नेपाल र दशौँ स्थानमा सिजी कम्युनिकेसन रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । इन्टरनेट कम्पनीहरू यसरी ग्राहक तानातानमा लागिरहे पनि उपभोक्ता भने इन्टरनेट सेवाप्रति सन्तुष्ट देखिँदैनन् । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवा प्रवाहमा देखिने समस्या समयमै समाधान नगरेको गुनासो उपभोक्ताबाट निरन्तर आइरहेको छ ।
नेपाल पुनर्बीमाको संस्थापक समूहको २१ लाख ७१ हजार कित्ता सेयर लिलाम बिक्रीमा
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीको संस्थापक समूह तर्फका २१ लाख ७१ हजार ९३५ कित्ता सेयर सिलबन्दी बोलपत्र प्रक्रियामार्फत लिलाम बिक्रीमा राखेको हो । कम्पनीका अनुसार उक्त सेयरको न्यूनतम बोलकबोल मूल्य प्रतिसेयर ४०० रुपैयाँ तोकिएको छ भने न्यूनतम १ लाख कित्ता सेयरका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । लिलाम प्रक्रियामा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका संस्थापक सेयरधनीसहित प्रचलित कानुनबमोजिम योग्य रहेका व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरूले सहभागिता जनाउन सक्नेछन् । इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित तोकिएको समयसीमाभित्र बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंमा सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । तोकिएका सर्त तथा प्रक्रिया पूरा नगरेका बोलपत्रहरू स्वतः अमान्य हुने कम्पनीले जनाएको छ । लिलाम प्रक्रियासम्बन्धी सम्पूर्ण अधिकार प्रचलित कानुनअनुसार बिक्री प्रबन्धकमा निहित रहने पनि कम्पनीले स्पष्ट पारेको छ ।
सर्लाहीमा मतदातासँग भेटघाट गर्दै गगन, यस्तो छ आज दिनभरको कार्यक्रम
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्रका मददातासँगको भेटघाटमा व्यस्त छन् । सोमबार मध्यान्ह सर्लाही पुगेका थापाले मंगलबार (आज) बाट स्थानीय नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरिरहेका हुन् । स्थानीय कांग्रेस नेता रघु कार्कीका अनुसार थापाले आज बलरा गाउँपालिकास्तरीय स्थानिय नेता कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । त्यसैको तयारीस्वरूप थापा अहिले अगुवा कार्यकर्तासँग भेटघाट गरिरहेका छन्। आज अपरान्ह १ बजे गगनले बलराका अगुवा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कार्कीले जानकारी दिए । बलराको कार्यक्रम सकिएपछि थापा अर्को दक्षिणी पालिका गोडैचा नगरपालिका पुग्नेछन् । थापाले गोडैचामा पनि सम्बोधन गर्ने र स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय भएको कार्कीले जानकारी दिए । त्यसपछि समय रह्यो भने थापाले दक्षिणी पालिकामै भेटघाट गर्नेछन् ।
एक मिनेटमै बिजनेस प्लान, १०-१५ हजार खर्चेर बनावटी प्लानको अन्त्य
काठमाडौं । ‘करोडौं लगानी गर्ने ठूला किसानहरूले कन्सल्टेण्ट हायर गरेर, प्राविधिक राखेर आफ्ना प्रोजेक्ट डिजाइन गर्नुहुन्छ, आफै व्यावसायिक योजना बनाउनुहुन्छ । तर, १०-२० लाख रुपैयाँ ऋण लिएर १०-१५ वटा गाई- भैंसी पालन वा ५-१० रोपनीमा तरकारी खेती गर्ने साना किसानहरूले आफै कन्सल्टेण्ट र प्राविधिक राखेर बिजनेस प्लान बनाउन सक्नुहुन्न । व्यवसाय गर्ने भन्नु हुन्छ, तर कति लागत लाग्छ, कति आम्दानी हुन्छ भन्ने नै जानकारी हुँदैन,’ कृषि विकास बैंकको कृषि कर्जा तथा परियोजना व्यवस्थापन विभागका वरिष्ठ शाखा प्रमुख केशव कुमार कट्टेल भन्छन् । उनका अनुसार साना किसान कर्जा लिने योजना बोकेर बैंक त आउँछन्, तर आवश्यक बिजनेस प्लान हुँदैन । त्यसपछि उनीहरू अडिटर कहाँ गएर १०-१५ हजार रुपैयाँ खर्च गरेर बनावटी बिजनेस प्लान बनाउँछन् । बैंकले पनि त्यही प्लानका आधारमा कर्जा दिन्छ । तर, यस्ता बनावटी प्लानका आधारमा कर्जा दिँदा पछि समस्या आउने गरेको कट्टेलको भनाइ छ । ‘बैंकका कर्मचारीहरूलाई पनि गाई-भैंसीको मूल्य कति हो, गोठको लागत कति आउँछ, के-के उपकरण चाहिन्छ भन्ने प्राविधिक ज्ञान हुँदैन,’ उनी भन्छन्, ‘यी सबै कारणले साना किसानलाई कर्जा दिनु जोखिमपूर्ण हुँदै गएको थियो ।’ यही समस्याको समाधान खोज्दै कृषि विकास बैंकले चितवन स्थित ‘डाइनामिक सोलुसन’सँग सहकार्य गर्यो र तयार गरियो- ‘वन मिनेट बिजनेस प्लान’ सफ्टवेयर । ‘साना किसानलाई कर्जा प्रवाह गर्दा हुने तमाम समस्यालाई समाधान गर्ने गरी कृषि विकास बैंकले विकल्प खोज्दै थियो । गत वर्षतिर कृषिमा काम गर्ने चितवनको डाइनामिक सोलुसनसँग भेट भयो । कृषिसँग सम्बन्धित काम गर्ने डाइनामिक सोलुसनसँग बैंकको कृषि कर्जा तथा परियोजना व्यवस्थापन विभागले सहकार्य गरेर तयार पार्याे ‘वन मिनेट विजनेश प्लान’ सफ्टवेयर ।’ कट्टेलका अनुसार कृषिको बिजनेस प्लान बनाउनु सजिलो विषय होइन । चितवनमा उत्पादन लागत एउटा हुन्छ भने रसुवामा अर्कै हुन्छ । चितवनमा दूधको मूल्य र रसुवामा दूधको मूल्य पनि फरक-फरक हुन्छ । डाइनामिक सोलुसनले विभिन्न स्थानीय तहसँग सम्झौता गरेर ठाउँ अनुसारको तथ्याङ्क सिस्टममा अपडेट गरेको छ । पशुपन्छी विकास निर्देशनालय, कृषि विकास निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र स्थानीय निकायबाट प्राप्त तथ्याङ्कका आधारमा यो सफ्टवेयर सञ्चालन हुन्छ । ‘बैंकसँग न त यति विस्तृत तथ्याङ्क संकलन गर्ने समय छ, न आवश्यक एक्सपर्टिज,’ कट्टेल भन्छन्, ‘त्यसैले डाइनामिक सोलुसनसँगको सहकार्यमा नेपालको बैंकिङ क्षेत्रमा पहिलोपटक अटोमेटेड बिजनेस प्लान प्रणाली ल्याइएको हो ।’ कम्पनीको दाबी अनुसार यो संसारमै पहिलो प्रयास हो । अहिले पनि किसान बैंकमा आउँदा बैंकले बिजनेस प्लान माग्छ । तर किसान अडिटर कहाँ जान बाध्य हुन्छन् । अडिटरले कृषिबारे खासै जानकारी नभए पनि कर्जाका लागि मात्र प्लान बनाइदिन्छन्, जुन व्यवहारिक नहुने समस्या देखिँदै आएको थियो । अब भने कृषि विकास बैंकले निःशुल्क ‘वन मिनेट बिजनेस प्लान’ सेवा दिने भएको छ । यसका लागि आवश्यक खर्च बैंकले नै बेहोर्नेछ । ‘कुनै किसान कर्जा माग्न आउनुभयो भने शाखा प्रमुख वा कर्जा हेर्ने आरएमले आफै सिस्टममा विवरण हालेर बिजनेस प्लान बनाइदिन्छ,’ कट्टेल भन्छन् । उदाहरणका लागि सिन्धुलीको कुनै किसान १० वटा भैंसी पालनका लागि कर्जा लिन आए भने सिस्टमले सिन्धुलीकै लागत र दूधको मूल्यका आधारमा प्लान बनाउँछ । त्यसमा कुल लगानी कति चाहिन्छ, कति आम्दानी हुन्छ, परियोजना फाइदाजनक छ कि छैन र बैंकले स्थिर पुँजी र चालु पुँजी कति लगानी गर्ने भन्ने सबै विवरण स्वतः देखिन्छन् । अहिले शाखा कार्यालयहरूमा युजर आइडी बनाउने काम भइरहेको छ । केही दिनभित्रै यो प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याइने बैंकले जनाएको छ । केशवकुमार कट्टेल । यो कत्तिको विश्वासिलो छ ? कट्टेलका अनुसार प्रारम्भिक परीक्षणमा यो प्रणाली प्रभावकारी देखिएको छ, यद्यपि समयअनुसार मोडिफाई गर्दै लैजानुपर्ने आवश्यकता छ । ‘कुनै गाईको मूल्य १ लाख देखाइए पनि बजारमा डेढ-दुई लाख पर्नसक्ने हुन सक्छ । यस्तो अवस्थामा सिस्टम एडिट गरेर मिलाउन सकिन्छ,’ उनी भन्छन् । दूधको मूल्य पनि किसानअनुसार फरक हुन सक्छ । कसैले घरघरमै शुद्ध दूध बेच्दा प्रतिलिटर १२०-१५० रुपैयाँ पाउन सक्छ । यस्तो अवस्थामा उत्पादन र बिक्री मूल्य एडजस्ट गर्न मिल्छ । यो प्रणाली ठूला किसानभन्दा बढी साना र मध्यम किसानका लागि लक्षित हो । हाल २० लाख रुपैयाँसम्मका कर्जाका लागि यो प्रयोग हुनेछ । भविष्यमा यसको दायरा बढाएर ५० लाखदेखि १ करोड रुपैयाँसम्म पुर्याउने योजना बैंकको छ । ‘महँगो गाई, विदेशबाट उपकरण ल्याउने ठूला फार्मभन्दा ग्रामीण क्षेत्रका सहुलियतपूर्ण कर्जा लिने किसानलाई यो बढी उपयोगी हुन्छ,’ कट्टेल भन्छन् । यो सफ्टवेयरले पाँचदेखि छ पृष्ठको विस्तृत बिजनेस प्लान तयार गर्छ । जसमा गोठ निर्माण लागत, कटिङ मेसिन, दाना र घाँसको खर्च, वार्षिक दूध उत्पादन, पाँच वर्षको नगद प्रवाह, बेनिफिट-कस्ट रेसियो, नेट प्रिजेन्ट भ्यालू र सेन्सेटिभिटी एनालाइसिस सबै समेटिन्छन् । दूधको मूल्य १० प्रतिशत घट्दा के हुन्छ, लागत १० प्रतिशत बढ्दा के हुन्छ भन्ने क्याल्कुलेसन पनि सिस्टमले नै गर्छ । यसअघि एउटा भैंसी पालनका लागि कति कर्जा दिने भन्ने मापदण्ड समय र ठाउँअनुसार मिल्दो थिएन । प्रविधि, उपकरण र नश्ल बदलिँदै गए पनि मापदण्ड उही थियो । अब भने सेवा प्रदायकले तथ्याङ्क अपडेट गर्ने भएकाले प्रणाली बढी विश्वसनीय हुने बैंकको विश्वास छ । ‘यो सिस्टमले साना किसानले पाउने कर्जाको बाधा अन्त्य गर्छ,’ कट्टेल भन्छन्, ‘बैंक कृषिको लिड बैंक भएकाले हामीले फरक ढंगले काम गर्नैपर्छ भन्ने लाग्यो ।’ बैंकको नीतिअनुसार सिस्टमले देखाएको कुल लगानीको ८० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्था पनि गरिएको छ । बैंकका अनुसार साना किसानले आफै बिजनेस प्लान बनाउन नसक्ने, बाहिर बनाउँदा १०-१५ हजार रुपैयाँ खर्च लाग्ने र त्यो प्लान व्यवहारिक नहुने समस्या अब हट्नेछ । सिस्टममा कतिवटा भैंसी चाहिन्छ, कस्तो गोठ बनाउने हो, कति जनाले काम गर्छन् भन्ने विवरण हालेपछि सिस्टमले आफै एनालाइसिस गर्छ । एउटै भैंसी पालन पहाड र तराईमा लागत फरक-फरक हुने भएकाले हरेक पालिकाको सूचना सिस्टममा अपडेट गरिएको छ । ‘सिस्टमले प्रोसेसिङ गरेर कुन ठाउँका लागि कति लागत चाहिन्छ, कति कर्जा आवश्यक पर्छ, फाइदा हुन्छ कि घाटा हुन्छ भन्ने सबै जानकारी निकाल्छ,’ कट्टेल भन्छन्, ‘१० वटा भैंसी पालन गर्दा घाटा हुन्छ भने १५ वटा पालन गर्न सुझाव दिन्छ, यदि सम्भव छैन भने नपाल्न सुझाव दिन्छ ।’ यसले किसानको वित्तीय साक्षरता बढाउने र बैंकिङ पहुँच विस्तार गर्ने विश्वास बैंकको छ । ‘साना किसान बैंकबाट टाढिए भन्ने भाष्यलाई यसले चिर्नेछ,’ कट्टेल भन्छन्, ‘यसले किसान र बैंकका कर्मचारी दुवैलाई सहज बनाउनेछ ।’ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले बैंकिङ सेवा क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगलाई तीव्र रूपमा अगाडि बढाइएको बताए । उनका अनुसार विश्व एआई प्रविधिको युगमा प्रवेश गरिसकेको सन्दर्भमा कृषि विकास बैंकले पनि सोही प्रविधिको उपयोग गर्दै ग्राहक संवाद तथा सञ्चार सुविधाको बजारीकरण, कर्जा प्रशोधन, विश्लेषण, निर्णय प्रक्रिया लगायत समग्र बैंकिङ सेवाको विशिष्टीकरणका लागि काम सुरु गरिसकेको छ । कृषि विकास बैंकका सीईओ गोविन्द गुरुङ । ‘स्मल स्टेप्स एट अ टाइम’को अवधारणाअनुसार कार्य अघि बढाइएको उल्लेख गर्दै गुरुङले त्यसको उदाहरणका रूपमा ‘वन मिनेट बिजनेस प्लान’ सेवा रहेको बताए । उनका अनुसार यस सेवाले ग्राहकलाई छोटो समयमा व्यवसायिक योजना तयार गर्न सहयोग पुर्याउनेछ, जसले कर्जा प्रवाहलाई समेत सहज बनाउने अपेक्षा गरिएको छ ।