विकासन्युज

सामसङ क्यू एलईडी टिभी नेपाली बजारमा सार्वजनिक, यस्ता छन् आर्कषक विशेषता

काठमाडौं । सामसङको नेपालमा आधिकारिक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सामसङ क्यू एलईडी टिभी (दि नेक्स्ट इनोभेसन इन टिभी) नेपाली बजारमा सार्वजनिक गरेको छ । भदौ ११ गते काठमाडौंको सोल्टी क्राउन प्लाजामा सम्पन्न कम्पनीकाे डिलर्स मिटले उक्त टिभी सार्वजनिक गरेको हो । ४०० भन्दा बढि डिलरहरु नेपालका विभिन्न क्षेत्रबाट डिलर्स मिटमा सक्रिय रुपमा सहभागी भएका थिए । नेपालका लागि सामसङका देशिय निर्देशक, वोन तथा हिम इलेक्ट्रोनिक्स प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले डिलरहरुलाई सम्बोधन गरेका थिए । क्यू एलईडीका विशेषताहरु: क्यु पिक्चरः सहि समिश्रणको कलरमा परिवर्तन गराउने एक्लुसिभ क्वान्टम डट्सका साथमा आउने हाम्रो क्यू एलईडी टिभी हो, जसले १०० प्रतिशत कलर भोलुम प्राप्त गर्ने पहिलो यस्तो प्रकारको टिभी हो । १०० प्रतिशत कलर भोल्यूम कम्पनीका अनुसार सामसङ क्यूएलईडी टिभीहरुमा १०० प्रतिशत कलर भोल्यूम तथा १० लाखभन्दा बढि रंगहरुको संयोजन संयोजन गरिएको छ । सामसङ क्वान्टम डट्स मार्फत अनुभव गर्नुहोस् उत्कृष्ट जीवन्त रंगहरु जुन अत्यन्तै उज्यालो दृश्यले अन्य टिभीमा भने फुस्रो पर्दछ । बोल्ड कन्ट्रास, दिन वा रात्री क्यू कन्ट्रास दिउँसोको समयमा उज्यालो कोठामा टिभी हेर्नु निकै चुनौतीपूर्ण हुने गरेको छ, तर सामसङको क्यूएलईडीले सूपेरियर पिक ब्राइटनेसको माध्यमबाट त्यसलाई कटाएर स्क्रीनको आवश्यक भागमा मात्र चहकिलो बनाउँछ । क्यूवेईङ एंगल हरेक एंगलबाट टिभी हेर्न सकिन्छ । क्यू एभ्री भ्यू, कलर हरेक कुनाबाट उत्तिकै स्पष्ट हुन्छ, त्यसैले प्रत्येक सिट उत्कृष्ट सिट हुन्छ ।

नाडा अटो शो: चार कम्पनीका प्रतिस्पर्धी कार, यस्ता छन् मूल्य र फिचर्स

काठमाडौं । नाडा अटो शोमा विभिन्न कम्पनीले विभिन्न नयाँ मोडल तथा विशेष फिचर्सका गाडीहरु प्रदर्शनीमा राखेका छन् । मूख्य रुपमा मेलामा चार पाङ्ग्रे गाडीहरु आकर्षणका केन्द्रमा छन् । मेलामा हुन्डाईको ग्राण्ड आइ १० म्याग्ना, सुजुकीको स्विफ्ट भिएक्सआइ र इग्निस डेल्टा, भोक्सवागेनको पोलो कम्फर्ट र निस्सानको माइक्रो एक्टिभ एक्स भी कारहरु विशेषरुपमा प्रतिस्प्रर्धीका रुपमा देखा परेका छन् । हुण्डाई ग्राण्ड आइ १० म्याग्ना हुण्डाईको ग्राण्ड आइ १० म्याग्नाको मूल्य २६ लाख ९६ हजार रुपैयाँ रहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले यसलाई गत मार्चमा लन्च गरेको थियो । यसमा डिओएचसी ईञ्जिन प्रयोग गरिएको छ ।११९७ सिसि डिस्प्लेसमेन्ट क्षमताको यो कारको बुट स्पेस २२५ लिटरको छ । यसले चार हजार आरपिएममा ११६ एनएम क्षमताको अधिकतम टर्क प्रदान गर्छ भने ६००० आरपिएममा ८३ पिएसको पावर प्रदान गर्छ । यसको ह्विलबेस २४२५ एमएम रहेको छ । यसमा पार्किङ सेन्सर जडान गरिएको छ । सुजुकी स्विफ्ट भिएक्सआइ र  इग्निस डेल्टा सुजुकीको स्विफ्ट भिएक्सआइमा मल्टिप्रोजेक्सन इञ्जिन प्रयोग भएको छ । यसको मूल्य २८ लाख ४९ हजार रुपैयाँ रहेको छ । ११९७ सिसि डिस्प्लेसमेन्ट क्षमताको यो कारको बुट स्पेस २०५ लिटरको छ । यसले चार हजार आरपिएममा ११५ एनएम क्षमताको अधिकतम टर्क प्रदान गर्छ भने ६००० आरपिएममा ८३ पिएसको पावर प्रदान गर्छ । यसको ह्विलबेस २४३० एमएम रहेको छ ।  यसमा स्मार्ट मिटर पनि जडान गरिएको छ । सुजुकी इग्निस डेल्टाको मूल्य २८ लाख ८९ हजार रुपैयाँ रहेको छ । यसको डिस्प्लेसमेन्ट ११९७ सिसि क्षमताको रहेको कम्पनीले जानकारी दिएको छ । कारमा रहेको २ सय ६५ लिटरको ठूलो बुट स्पेशका कारण यसमाभारी तथा ठूला लगेज समेत सजिलै अटाउन सकिन्छ । कारमै जडान गरिएको ट्याब्लेट, त्यसको लुक, फिल र पोजिसनिङले ईग्निसको स्टाइल निकै आकर्षक बनाइ दिएको छ । कारमा पेट्रोल जडित प्रमाणित भीभीटी ईञ्जिनले ४ हजार २ सय आरपीएम र ६ हजार आरपीएममा १ सय १३ एनएम टर्क र ८३ पिएसको शक्ति उत्सर्जन गर्ने क्षमता रहेको कम्पनीले जानकारी दिएको छ । यसको ह्विलबेस २४३५ एमएमको छ । भोक्सवागेन पोलो कम्फर्ट भोक्सवागेन पोलो कम्फर्टमा एमपिआइ इञ्जिन जडान गरिएको छ । यसको मूल्य मूल्य ३० लाख ९५ हजार रुपैयाँ रहेको छ । कारमा एमपिआइ ईञ्जिनले ३ हजार ७ सय ५० आरपीएम र ५ हजार चार सय आरपीएममा १ सय १० एनएम टर्क र ७५ पिएसको शक्ति उत्सर्जन गर्ने क्षमता रहेको कम्पनीले जानकारी दिएको छ । यसको ह्विलबेस २४६९ एमएम छ भने यसको बुट स्पेस क्षमता २८० लिटरको छ जसमा भारी लगेज पनि अटाउन सकिने कम्पनीले जानकारी दिएको छ । निस्सानको माइक्रा एक्टिभ एक्स भी निस्सानको माइक्रा एक्टिभ एक्स भीमा डिओएचसी इञ्जिन प्रयोग भएको छ । यसको मूल्य २६ लाख ९९ हजार रुपैयाँ रहेको छ । ११९७ सिसि डिस्प्लेसमेन्ट क्षमताको यो कारको बुट स्पेस २५१ लिटरको छ । यसले चार हजार आरपिएममा १०४ एनएम क्षमताको अधिकतम टर्क प्रदान गर्छ भने ५००० आरपिएममा ६८ पिएसको पावर प्रदान गर्छ । यसको ह्विलबेस २४५० एमएम रहेको छ ।  यसमा स्मार्ट मिटर पनि जडान गरिएको छ ।  

अख्तियारद्धारा चावहिल मालपोतका १२ कर्मचारी विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएर गैरकानूनी श्रेस्ता तयार पार्ने मालपोत कार्यलयका १२ जना कर्मचारी विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । मालपोतका १२ जना कर्मचारीले १८ लाख ८२ हजार रुपैयाँ लिएर गैरकानूनी श्रेस्ता तयार पार्ने कार्यमा सहयोगी भूमिका निर्बाह गरेको जिकिर गर्दे बुधबार अख्तियारले मालपोतका अधिकृतद्वय चेतनाथ ढकाल र तिर्खाराम अर्याल कम्प्युटर अधिकृत प्रमोद भट्टराई, तत्कालिन नायब सुब्बाद्वय भोजराज पोखरेल र रामबाबु प्रसाद अर्याल, नायब सुब्बात्रय सुन्दरकुमार कार्की, उमेश पोखरेल र शिवराम पुडासैनी विरुद्ध आरोपपत्र दायर भएको हो । यस्तै सहायक कम्प्युटर अपरेटर लक्ष्मणप्रसदा खतिवडा र खरिदार दिव्यराज घिमिरेको आपसी मिलेमतोमा अधिकार, हैसियत र अहोदाको दुरुपयोग गरेको ठहर अख्तियारको छ । कर्मचारी र अन्य व्यक्ति समेतको मिलेमतोमा काठमाडौ जिल्ला साविक गोठाटार, बालुवा, मुलपानी, विष्णु गा.वि.स लगायतका स्थानमा अवस्थित बिभिन्न जग्गाहरुको गैरकानूनी श्रेस्ता तयार गरी बिक्रिबितरण गरेको पाइएको अख्तियारले जनाएको छ । साविक गोठाटार, वालुवा, तथा मुलपानी लगायतका स्थानमा अवस्थित जग्गाको गैरकानूनी रुपमा श्रेस्ता खडा, कार्यालयमा रहेको दर्ता बाँकी श्रस्ता केरमेट, प्रमाणित, कार्यालयबाट बैधानिक रुपमा निर्णय नै नभएका जग्गाको विवरण ठिक छ भनि रुजु र स्वीकृत गरेको अख्तियारको दावी छ । यस्तै कानून बमोजिम हाल दर्ता नै नखुलेका र नभएका जग्गाहरुको अनलाईन सिस्टममा प्रबृष्टी समेत गरी बदनियतपूर्वक दर्ता नभएको फर्जी श्रेस्ता खडा गरी वैधानिकता प्रदान गर्ने गराउने र विक्रिरबितरण गर्ने कार्यमा संलग्न भई भ्रष्टाचार निवारण ऐन बमोजिमको कसूर गरेको पुष्टी हुन आएकाले विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारले स्पष्टपारेको छ ।  

मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास आवश्यकः सञ्चारमन्त्री बस्नेत

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास हुनुपर्ने बताएका छन् । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज)को चौथो वार्षिक साधारणसभाका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा मन्त्री बस्नेतले पर्यटन प्रवद्र्धनको मुख्य आधार सूचना क्षेत्र भएकाले पर्यटन भित्र्याउन सही सूचना सम्प्रेषण गर्नुपर्ने बताए ।  उनले व्यापार प्रवद्र्धनका लागि विदेशमा नेपालको तर्फबाट वाणिज्यदूत नियुक्त गरेजस्तो विदेशमा सही सूचना सम्प्रेषण गर्नका लागि सूचनादूत नियुक्त गर्ने कार्यलाई मन्त्रालयले अगाडि बढाएको जानकारी दिए । उनले इमेल, इन्टरनेट लगायतका अत्यावश्यक सूचनाका सामग्री पर्यटन मार्गमा कसरी पुर्याउन सकिन्छ भन्नेबारेमा सञ्चार मन्त्रालय गम्भीर भएर लागेको बताए । मन्त्री बस्नेतले दूरसञ्चार क्षेत्रलाई सहज र सुलभ बनाउनका लागि आगामी हप्ता देशभरका टेलिकम क्षेत्रमा काम गर्ने कम्पनीको राष्ट्रिय गोष्ठी आयोजना गर्न लागिएको जानकारी दिए । अर्को फरक प्रसंगमा मन्त्री बस्नेतले नेपाली जनताको झण्डै सात दशक लामो प्रतिक्षापछि संविधान निर्माण भएको भन्दै यसलाई कार्यान्वयन गर्नका लागि तोकिएकै समयमा सबै तहको निर्वाचन गर्न सरकार लागेको बताए। उनले भने, “अब चाँडै मुलुकको राजनीतिक समस्यालाई समाधान गरेर आर्थिक समृद्धिमा लाग्नुपर्छ ।” नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य राजेन्द्रप्रसाद सापकोटाले आन्तरिक पर्यटन तथा बाह्य पर्यटनको विकासका लागि सञ्चारकर्मीको ठूलो भूमिका रहेको बताए ।  राष्ट्रिय पर्यटन व्यवसायी संघ (निट) नेपालका अध्यक्ष दीपक महत, नेपाल पर्यटन व्यवसायी संगठनका अध्यक्ष नवराज दाहाल लगायतले पर्यटन पत्रकारिताका क्षेत्रमा कलम चलाएको नाटोजको उच्च प्रशंसा गरे । देशभरका पर्यटन क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारलाई एकीकृत गर्दै विसं २०७० मा स्थापना भएको नाटोजले देशका विभिन्न ठाउँमा जिल्ला शाखा स्थापना गरी काम गरिरहेको नाटोजका अध्यक्ष शिव अधिकारीले जानकारी दिए । दुई पत्रकारलाई पुरस्कार, व्यवसायीलाई सम्मान सो अवसरमा दुई पत्रकारलाई ‘नाटोज पर्यटन पत्रकारिता’ पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सञ्चारमन्त्री बस्नेतले रेडियो नेपालका समाचारवाचिका एवम् वरिष्ठ पत्रकार कृष्णा ताम्राकार र रातोपाटी डटकम अनलाइनका पत्रकार राजकुमार सिग्देललाई १० हजार रुपैयाँ नगदसहित ताम्रपत्रद्धारा सम्मान गरे । पुरस्कार प्रदान गर्दै सञ्चारमन्त्री बस्नेतले आफूले सानो छदै ताम्राकारले वाचन गरेको समाचार सुन्दा आनन्द लाग्ने गरेको स्मरण सुनाउँदैै ताम्राकारलाई सम्मान गर्न पाउँदा आफू ज्यादै खुशी लागेको बताए । यस्तै व्यवसायी मोहन लम्साल, अनिल लामा, गीता गुरुङ, दीपेन्द्र अधिकारी, दावा छिरी शेर्पा, पुष्प बाँस्कोटा, मीनप्रसाद सापकोटा नाटोजका सल्लाहकार मनोजकुमार श्रेष्ठ, , रामशरण कार्की, पत्रकारद्वय विष्णु निष्ठुरी, शरदराज सुवेदी कानुनी सल्लाहकार रामशरण थपलियालाई सम्मान गरिएको थियो । रासस

सिविआईएल क्यापिटलले ५ प्रतिशत नगद लाभांश दिने, आइपीओ जारी गर्ने प्रकृयामा

काठमाडौं । सिविआईएल क्यापिटलले सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बुधबार बसेको कम्पनीको एघारौं वार्षिक साधारण सभाले सो मात्रामा लाभांश दिने कम्पनीको निर्णयलाई  पारित गरेको हो । साथै, सोही सभाले कम्पनीको हाल कायम चुक्ता पुँजी १० करोड रुपैयाँलाई शतप्रतिशत वृद्धि गर्ने भएको छ । सो प्रयोजनको निमित्त २० प्रतिशत सेयरलाई सार्वजनिक निष्कासन(आइपीओ) गर्ने प्रकृया अघि बढाउने साभाले जानकारी गराएको छ । त्यस्तै, साभाले सो मात्राको सेयर निष्कासन गरे पश्चात कम्पनीको संस्थापक समूहको ८० प्रतिशत तथा सर्वसाधारण समूहमा २० प्रतिशत स्वामित्व कायम रहने गरी कम्पनीको शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गरेको छ । सिविआईएल क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हो । क्यापिटलले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक, धितोपत्र प्रत्याभूति कर्ता (अण्डर राइटर) शेयर रजिष्ट्रार तथा लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट) को काम गर्ने साथै डि-म्याट खाता खोल्ने, शेयरहरु अभौतिकीकरण गर्ने, सामुहिक लगानी कोषको प्रर्वद्धन गर्ने जस्ता लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त गरिसकेको छ ।

साना किसान विकास बैंकको सीइअाेमा कोइराला

काठमाडौं । साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा डा. शिवरामप्रसाद कोइराला नियुक्त भएका छन् । बैकको सञ्चालक समितिको बुधबारको बैठकले चार वर्षका लागि सिईओमा डा कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको हाेे । व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधि गरेका डा कोइरालाले कृषि विकास बैंकमा २७ वर्ष सेवा गरेका थिए । उनी वित्तीय दिगो विकास एवं लघुवित्तका ज्ञाता पनि मानिन्छन् ।

३५ दिनभित्र काम सुरु नगरे जीएमआरको लाइसेन्स खारेज गर्ने ऊर्जामन्त्रीको चेतावनी

काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजनाले काम नगरे जीएमआर अपरकर्णाली हाइड्रोपावर लिमिटेडको अनुमतिपत्र (लाइसेन्स) खरोज गर्ने बताएका छन् । सरकारले आयोजनालाई जग्गा उपलब्ध भएको स्पष्ट पार्दे उनले भने “३५ दिनभित्र काम सुरु नगरे जीएमआरसंग भएको सम्झौता रद्ध हुने छ ।” सरकारले जीएमआरलाई दिएको समयसीमा आउदो दुई सातामा सकिने छ । उनले नेपालका खोला झोला बोकेर हिड्नेले विद्युतको नाममा धेरै कमाएको उल्लेख गर्दै ३५ दिनभित्र जिम्मा लिएका आयोजनाको यथाशिघ सुचारु नगरे सिधै सम्झौता रद्ध गर्ने चेतावनी दिए । रिपोटर्स क्लवले बुधबार आयोजना गरेको सात्क्षत्कारमा मन्त्री शाहीले भने, “जिम्मेवार कम्पनीलाई प्रत्येक महिनाको कार्यप्रगतिका बारेमा सरकारलाई जानकारी गराउन निर्देशन दिएको छु ।” मन्त्री शाहीले विद्युत प्राधिकरणका केही कर्मचारीले आफ्नो हैसियत चिन्न नसेको कारण जनतालाई सबै किसिमका सुविधा दिन नसकेको भन्दै समाजलाई सभ्यता सिकाउनको लागि सरकारी कर्मचारी सबै भन्दा पहिले कर्तव्यवान र अनुशासित हुनुपर्ने बताए । नयाँ विद्युत उत्पादनका काम देशैभर अघि बढेका र केही आयोजनाको काम सुरु भैसकेको बताउदै मन्त्री शाहीले यही ढंगबाट विद्युत उत्पादनको काम बढेर समयमै परियोजना सम्पन्न भएमा १ वर्षभित्र भारतबाट आयात गरिने विद्युत पूर्ण रुपमा कटौती हुने दावी गरे । २२ प्रतिशत चुहावटलाई शुन्यमा झार्न प्रभावकारी काम नभएसम्म भारतबाट आयात गरिने बिजुलीलाई प्रतिस्थापन गर्न नसकिने उनले स्पष्ट पारे । मन्त्री शाहीले नेपाल दक्षिण एसियामै सबैभन्दा बढी विद्युत चुहावट हुने मुलुकको सूचिमा रहेको र यसका लागि अहिलेसम्म भएका सरकारी प्रयास पूर्ण प्रभावकारी हुन नसकेकोले आफूले निजी क्षेत्रसँगको सहकार्यमा विद्युत चुहावट अन्त्य गर्ने योजनासहित काम गरिरहेको सुनाए । विद्युत प्राधिकरणको नाममा कमाउन पल्लेकेका माफियाहरुले सामग्री खरिदको नाममा अर्बौ रुपैयाँ राज्यको सम्पतिको दुरुपयोग गरेको आरोप लगाउँदै उनले विद्युत सामग्रीहरुको गुणस्तर र क्षमताको बारेमा आधिकारिक जानकारी दिनको लागि विज्ञ टोलि गठन गर्ने बताए । विद्युत प्राधिकरण निरन्तर घाटामा गएको भन्दै प्राधिकरणलाई नाफामा लैजान मन्त्रालयले हर कोसिस गरिरहेको बताए । मन्त्री शाहीले भने,“विद्युत प्राधिकरणलाई साच्चै जनताको बनाउँनको लागि हामी लागेका छौ,साना साना कामहरुले पनि सेवा अवरुद्ध बन्ने हुन्छन् ।”  

बुधबारको सेयर बजारमा १४ अंकको गिरावट

काठमाडौं । बुधबारको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सो दिन १४ दशमलब ५५ अंकले ओरालो लागेर १५९८ अंकमा झरेको छ । बजारमा परिसूचकमा ओरालो लागेता पनि सेयर कारोबारमा सुधार आएको छ । बुधबार ९७ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो कारोबारको तुलनामा ७ करोड रुपैयाँ बढी हो । अघिल्लो कारोबारमा ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बुधबार बीमा समूहको परिसूचक सबैभन्दा बढी १०६ अंकले ओरालो लागेको छ । त्यस्तै, उत्पादनमूलक र अन्य समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक ओरालो लागेका छन् । सो दिन सबैभन्दा बढी सिद्धार्थ इक्विटी ओरिन्टेड स्किमका लगानीकर्ताले १० प्रतिशत गुमाएका छन् । त्यस्तै, नबिल ब्यालेन्स फण्ड १, हिमालयन पावर पार्टनर र हिमालयन डिष्टीलरीको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।