विकासन्युज

लक्ष्मी लघुवित्तले २६ प्रतिशत लाभांश दिने

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले २६ प्रतिशत लाभांश दिने भएको छ । संस्थाको सोमबार बसेको ८५ औं सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर १६.३२ प्रतिशत नगद लाभाँश दिने प्रस्ताव गरेको जानकारी दिएको छ । लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र वितरण हुने छ ।

एप्पल इभेन्टको मूख्य आकर्षण बन्यो आईफोन एक्स, फिचर्स र मूल्य सहित

काठमाडौं । अमेरिकी कम्पनी एप्पलले आफ्नो १० औं वार्षिकोत्सवको अवसर पारेर तीनवटा नयाँ मोडलका आईफोन सार्वजनिक गरेको छ- आइफोन ८, ८प्लस र आइफोन एक्स । यसै अवसरमा एप्पल टिभी र एप्पल स्मार्ट वाच पनि सार्वजनिक भएको छ । यो सबै उत्पादन आगामी सेप्टेम्बर २२ देखि बजारमा उपलब्ध हुनेछन् । नेपाली समय अनुसार मंगलबार राती पौने एघारे बजे सुरु भएको यो इभेन्टमा आइफोन सार्वजनिक गर्दै १० औं वार्षिकोत्सव मनाइएको थियो । सन् २००७ जनवरी नौ मा पहिलो आइफोन सार्वजनिक गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले कम्पनीका संस्थापक स्टिभ जब्सलाई स्मरण गर्दै भने, ‘हामीले सधै स्टिभ जब्सलाई सम्झिएका छौं ।’ कम्पनीले यसको सबैभन्दा विशेष उत्पादन आईफोन एक्स अन्तिममा लन्च गरिएको थियो। कुकले यी उत्पादनलाई क्यालिफोर्नियाको हेडक्वार्टर एप्पल पार्कमा ‘स्टिभ जब्स थियटर’मा सार्वजनिक गरेका थिए । यो समारोहको विशेष पाटो रहेको छ ।  यो भूमिगत थियटरमा एक हजार वटा सिट छन् । आईफोन एक्स आईफोन एक्स यो इभेन्टको आकर्षणको केन्द्रबिन्दु बन्न सफल रह्यो । यसको शानदार लुक्स नै यसलाई अन्य आईफोनको तुलनामा पृथक राख्न सक्यो । यसमा हझम बटन छैन । यसको स्क्रीनमा तलदेखि माथीसम्म स्वाइप गरेर होममा जान सकिन्छ । यसमा फेस रिकग्निशन अनलक सिस्टम छ ।  साथमा यसमा पासकोडको पनि सुविधा छ। यसको टपमा इन्फ्रारेड क्यामरा छ जसले अध्यारोमा पनि प्रयोगकर्ताको फेस डिटेक्ट गर्न सक्छ। बिल्ट-इन न्यूरो इञ्जिनको साथ यसमा ट्रु डेप्थ क्यामरा सिस्टम पनि छ। यसमा थ्रीडी  टच फीचर तथा वायरलेस चार्जिंगको पनि सुविधा छ। यो माइक्रो स्कोपिक लेभलमा पानी तथा धुलो प्रतिरोधात्मक छ। यसमा वाइड एंगल १२  मेगापिक्सल क्यामरा छ। यसको सुरुवाती मूल्य ९९९ अमेरिकी डलर रहेको छ । आईफोन ८ र ८ प्लस यो दुवै फोन आईफोन ७ र ७ प्लस भन्दा खासै फरक छैन । आईफोन ८ को सुरुवाती मूल्य ६९९ रहेको छ । आईफोन ८ प्लसको मूल्य ७९९ अमेरिकी डलर रहेको छ । यो दुवै फोन ग्लास फ्रन्ट तथा ब्याकका साथमा सिल्भर, स्पेस ग्रे, न्यू गोल्ड कलरमा सार्वजनिक भएका छन् । नयाँ आईफोनको ग्लास अहिलेसम्मकै टिकाउ मानिएको छ । यो पनि एक्स जस्तै पानी र धुलो प्रतिरोधात्मक रहेको कम्पनीले जानकारी दिएको छ । वायरलेस चार्जिंगको साथमा यसमा पनि थ्रीडी  टच तथा ट्रू टोन डिस्प्ले रहेको छ । सात हजार सिरिज आल्मुनियम, लेजर वेल्डेड स्टील तथा कपर स्ट्रक्चरको साथमा आईफोन ८को स्क्रीन साइज ४.७ इञ्चको छ । आईफोन ८ प्लसको डिस्प्ले ५.५ ईञ्चको छ । दुवै फोनमा १२ मेगा पिक्सलको क्यामरा रहेको छ ।

सुर्या लाइफको १० प्रतिशत बोनस र ४० प्रतिशत हकप्रद सेयर पारित

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद सेयर पारित भएको छ । बिराटनगरमा मंगलबार सम्पन्न कम्पनीको ९ औं बार्षिक साधारण सभाले १० प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय पारित गरेको हो । कम्पनीका लगानी कर्ताले १० प्रतिशत बोनस सेयर जारी भएपछि कायम हुने चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद सेयर पाउनेछन् । कम्पनीले आव २०७२।७३ को नाफाबाट ५ प्रतिशत बोनस सेयर जारी गरेको थियो ।

सिभिल बैंकलको शुन्य मौज्दातमा साढे ८ प्रतिशत ब्याज योजना

काठमाडौं । सिभिल बैंकले शुन्य मौज्दातमा वार्षिक साढे ८ प्रतिशत ब्याज दिने बचत योजना ल्याएको छ ।  नेपालीका लागि नेपाली बचत खाता भन्ने नाराका साथ बचत योजना ल्याएको हो । यो योजना अन्र्तगत एटीएम कार्ड, इन्टरनेट बैकिङ एसमएसलगायत अन्य सुविधा पाउने बैंकले जनाएको छ ।

६ प्रतिशत ब्याज दिने गरी सिटिजन बैंकले ल्यायो गोल्डेन वचत योजना

काठमाडौं । सिटिजन बैंकले गोल्डेन वचत योजना ल्याएको छ । बैंकले ६ प्रतिशत ब्याज दर दिने गरी वचत योजना ल्याएको हो । मासिक ६ प्रतिशत ब्याज भुत्तानी गर्ने बैंकले जनाएको छ । न्युनतम् ५ सय रुपैयाँमा खाता खोल्न, मोवाइल बैकिङलगायत सबै सेवा प्रदान गरिने बैंकले जनाएको छ ।

जलविद्युत र सडक बनाउन अमेरिकाले नेपाललाई ५० अर्ब सहयोग दिदै, बिहीबार अमेरिकामा सम्झौता हुने

काठमाडौं । जलविद्युत प्रसारणलाइन र सडकलगायत अन्य पुर्वाधार निर्माण गर्न नेपाललाई अमेरिकाले (५० करोड डलर) ५० अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ । अमेरिकाले आफनो कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत सो रकम सहयोग गर्ने भएको हो । पुर्वाधारमा लगानी गर्नका लागि नेपालमा ४ वर्षअघि नै एमसीसीको कार्यलय स्थापन भई आयोजना छनौटको काम भइरहेको छ । सहयोग विद्युत र यातायात क्षेत्रमा केन्द्रीत हुने एमसीसीले जानकारी दिएको छ । अमेरिकी कंग्रेसमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको विष्लेषण गर्दे यो रकम स्वीकृति गरेको हो । यो सहयोग रकम मध्ये १५ अर्ब रुपैयाँ भन्दा बढी ३ सय किलोमिटर लामो ४ सय केभी उच्च भोल्टेजको प्रसारणलाइन निर्माणमा खर्च हुने नेपालस्थित एमसीसीको कार्यलयले जनाएको छ । यसका लागि आयोजना छनौट भइसकेका छन् । यस्तै सडक निर्माण र पुराना सडक र पुल मर्मतका लागि पनि रकम खर्च हुने छ । सडक आयोजना छनौट भइसकेको एमसीसी कार्यलयले जनाएको छ । सहयोग सम्झौतापत्रमा हस्ताक्षर गर्न अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत अर्थका अधिकारी अमेरिका पुगिसकेका छन् । सहयोग सम्बन्धि सम्झौतापत्रमा नेपालको तर्फबाट अर्थमन्त्री कार्की र अमेरिकाका उपविदेशमन्त्री जोहन जे सुल्भियानले हस्ताइक्षर गर्ने कार्यक्रम तय भएको एमसीसीले जनाएको छ । अमेरिकाले दिएपछि अपुग रकम नेपालले थप्ने सहमति भएको छ । नेपालले करिव १३ अर्ब रुपैयाँ थप्ने संभावना छ । सम्झौता भएको ५ वर्षभित्र आयोजनाको काम सम्पन्न हुनुपर्ने छ । नत्र रकम फिर्ता जाने छ ।

टाइम फर्मास्युटिकलको औषधी न्युन गुणस्तर, फिर्ता लैजान विभागको निर्देशन

काठमाडौं । नवलपरासीको मुकुन्दपुरमा रहेको टाइम फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको औषधी न्युन गुणस्तर पाइएको छ । औषधी व्यवस्था विभागले बजार अनुगमनको क्रममा संकलन गरिएको औषधीको नमुना परीक्षण गर्दा टाइमले उत्पादन गरेको जिलिपाइड २ जिलिम्प्राइड ट्यावेलेट न्युन गुणस्तरको भएको विभागले जानकारी दिएको छ । विभागले औषधी बिक्री रोक्का गरी तुरुन्त फिर्ता लैजान टाइमलाई भनेको छ । औषधी पसललाई सो कम्पनीको औषधी बिक्री वितरण नगर्न विभागले भनेको छ । न्युन गुणस्तर हुनुको विवरण एक साताभित्र पेश गर्न विभागले टाइमलाई निर्देशन दिएको छ । टाइमले उत्पादन गरेको सो औषधीको डिजुलुसन परीक्षण असफल भएको विभागले जानकारी दिएको छ ।

दशैंका लागि आजदेखि नयाँ नोट, प्रतिव्यक्ति २७ हजारसम्म पाइने, ४० अर्ब वितरण हुने

काठमाडौं । दशैलाई लिक्षित गरेर नेपाल राष्ट्र बैंकले बुधबारदेखि सर्वसाधारणलाई नयाँ नोट साट्न थालेको छ । बैंकले प्रतिव्यक्ति बढीमा २७ हजार रुपैयाँका दरले नयाँ नोट साट्ने भएको छ । राष्ट्र बैंकले यस वर्ष बैकिङ्ग कार्यलय थापाथलीका अतिरित्त राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकका गरी १६ शाखाबाट नयाँ नोट वितरण गर्ने निर्णाय भएको नोट व्यवस्थापन विभागले जानकारी दिएको छ । राष्ट्र बैंकको सटही काउन्टरबाट ५, १०, २० ५० र १०० का नयाँ नोट बढीमा २७ हजार र वाणिज्य बैंक, कृषि विकास र नेपाल बैंकबाट बढीमा २० हजार रूपैयाँसम्म नयाँ नोट सटही हुने छ । दशैलाई ४० अर्ब रुपैयाँ नयाँ नोट वितरण गर्ने राष्ट्र बैंकले जनाएको छ । सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोथिमी, विशाल बजार र नक्साल, नेपाल बैंकको न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर, कृषि विकास बैंकको गौशला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजारबाट सफा नोट पाइने छ । राष्ट्र बैंकको थापथली काउन्टरबाट नयाँ नोट साट्न पाइने छ । सरकारी निकायलाई नोटको उपलब्धता हेरी भदौ २१ देखि ३० गतेसम्म सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थाले आवश्यकता अनुसार नयाँ नोट पाउने छन् । यस्तै बैंक तथा वित्तीय संस्थाले नयाँ नोट सटही गर्नका लागि थप जनशक्ति र बीमालगायत खर्च हुने भएपछि आफना ग्राहकलाई मात्र सटही सुविधा दिने गरेका छन् । यस्तै उपत्यका बाहिर जिल्लास्थित राष्ट्र बैंकको शाखा कार्यलबाट नयाँ नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ ।